१२ भदौ २०७५, काठमाडौं
चञ्चले स्वभाव र बोली मार्फत अरुलाई प्रभाव पार्न सक्ने क्षमता भएका उनी राती मानिस किन सुत्छन्, सुत्न नपरेपनि हुन्थ्यो भन्ने सोचाई राख्थे । खेल्न, रमाइलो गर्न, हाँसी मजाक गर्न मनपराउने भएकाले सुत्न नपरेपनि हुन्थ्यो भन्ने बाल्यकालिन सोचाई समय अनुसार परिवर्तन हुँदै गयो ।
इलाममा जन्मिएका दिवश श्रेष्ठको परिवार नेपाल विद्युत प्राधिकरणका जागिरे बावुका कारण २०४९ मा विराटनगर बसाई सर्यो । विराटनगर बस्न थालेपछि दिवसको मामाको सहयोबाट उनकी आमाले वेत बाँसको व्यवसाय सुरुवात गरिन् ।
कक्षा ४ सम्म इलाममा पढेका श्रेष्ठ विहान विद्यालय जाने र दिउँसो आमालाई सहयोग गर्न पसलमा बस्ने गर्थे । पसलमा बस्दा बस्दै वेत बाँसबाट निर्मित कलात्मक सामाग्रीले उनको लोभ्याउन थाल्यो । २०५५ मा विराटनगबाट एसएसलसी दिएका साथीभाइसँग भेटघाट गर्न,घुमघाममा निस्कन मनपराउने भए । भन्छन्, ‘पसलमा बस्दा बस्दै पैसा खेलाउन सिकेँ अनि साथीभाइसँग घुमफिर गर्न जान थालेँ ।
विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट २०५६–५७ मा पिसिएल गरेका श्रेष्ठले स्नातक भर्ना भए । तर उनको पढाईप्रति रुची घट्दै गयो । विदेश जाने सोच त्यागेका श्रेष्ठले व्यवसाय गर्ने अठोट गरे तर आँट भने गर्न सकेनन् । २०५८–५९ मा काठमाण्डौ झरेका श्रेष्ठ मामाको वेत बाँसको व्यवसायमा सहयोग गर्न थाले । केहि समयपछि आफैँ केहि गर्ने सोचका साथ विराटनगर फर्किएका श्रेष्ठले वेत बाँसको पसल सञ्चालन गर्न थाले ।
मामा र आमाले वेत बाँसकै पसल चलाइरहेको देखेका श्रेष्ठलाई अन्य काम गर्ने मनशाय पनि भएन । एक वर्ष भन्दा बढी पसल सञ्चालन गरेका श्रेष्ठले कमाई बढ्दै गयो । तर उनी मोजमस्तीमा खर्च गर्न लागे ।
भन्छन्, ‘मोजमस्तीतर्फ ध्यान गयो कमाइ गरेको रकम उढाउन थालेँ । र पछि पसल छाडिदिएँ ।’ त्यसपछि पुनः काठमाण्डौ फर्किएका श्रेष्ठले व्यवसाय सुरु गर्ने प्रयत्न गरे तर सफल भएनन् । त्यसपछि केहि समय दैनिकी चलाउनका लागि जागिर खाए । तत्पश्चात उनका मामाले व्यवसायको हिस्सा बन्न आग्रह गरे ।
त्यहि समयमा उनको विवाहको कुरा चल्यो र २०६९ मा मागी विवाह गरे । तत्पश्चात मामासँग काम गर्न थाले । त्यहि क्रममा उनले आफैँले केहि गरौँ भन्ने विचारका साथ किराना पसल सुरु गरे । उनी २०७० सालमा छोराको बावु पनि भए । भन्छन् ,‘पारिवारिक भार बढ्दै गयो , भूकम्प र नाकाबन्दीको मारमा परियो ।’
२०७२ सालमा उनले छोराको नामबाट आर्यामन हस्तकला नामक वेत बाँसको सवै किसिमका सामाग्री पाइने व्यवसायको सुरुवात गरे । भन्छन्, ‘विभिन्न संघर्षपछि आँट गरेर वेत बाँसको पसल सुरु गरेँ । जतिबेला मेरो साथमा २५००० थियो ।
मामाको पसलबाट ३००० पैसा तिररे ३४००० को सामान ल्याएँ ।’विभिन्न उतारचढावकाबीच सुरुवात गरेको व्यवसाय फस्टाउँदै गयो । तत्पश्चात उनले कलंकीमा वेत बाँसको सामाग्री बनाउने कारखानाको पनि स्थापना गरे ।
श्रीमतिले जागिर खान थालिन भने छोटै समयमा फस्टाउँदो व्यवसायबाट कमाई गरेको रकमले विलासी बन्ने चाहना राखेनन् । आफूसँग भएको रकमले प्रत्यक्ष रोजगारी पाउन नसक्नेहरुलाई रोजगारी दिलाउने सोच बनाए । त्यस्तै विभिन्न ठाउँमा पुग्दा नेपालीपन झल्कने रेष्टुरेन्ट खासै नभएको महशुस गरेर ६ महिनाअघिबाट नेपालीपन झल्कने रेष्टुेन्ट बनाउने निर्णय गरे ।
त्यसपछि उनले ३ महिना अघिबाट बखुण्डोलमा ८० प्रतिशत नेपालीपन झल्कने वास घर नामक रेष्टुरेण्ट सञ्चालन गरेका छन् । वेत बाँसको समान बनाउने कारखाना, पसल र रेष्टुरेन्ट सञ्चालन गरिरहेका श्रेष्ठ राष्ट्रिय युवा उद्यमी पुरष्कार २०७५ बाट सम्मानित भएका छन् ।
एक लाख पुरष्कार राशी रहेको उक्त पुरष्कारबाट सम्मानित भएका श्रेष्ठ भन्छन्, सो पुरष्कारले अझै केहि गर्ने उर्जा थपेको छ । साथै जिम्मेवारी बोध पनि गराएको छ ।’बिशेषगरी चियाका लागि प्रसिद्व बाँस घरमा टाढाटाबाट चियाका पारखीहरु आउने गरेका छन् ।
सहजै रोजगारी नपाएका मानिसहरुलाई रोजगारी दिने उद्देश्यले बहिरा महासंघसँग कुराकानी गरेर उनीहरुलाई तालिम पनि दिए श्रेष्ठले । हाल उनको रेष्टुरेण्टमा सुन्न बोल्ने नसक्ने ३ जना महिला सहित ७ जनाले रोजगारी पाएका छन् ।
बाँस घरमा बाँसको टेबल,बाँसको कुर्सी, कुर्सीमा मकैको खोष्टाको चकटी, बाँसको ट्रे, बाँसकै पर्दा, बाँसकै घडी रहेको छ । २१ किसिमको अर्गानिक चिया पाइने उक्त पसलमा एक प्याला चियाको मूल्य ६०–३०० रुपैया रहेको छ ।
बाँस घरमा एक किसिमको दुध चिया , ८ प्रकारको ग्रीन टि, एक किसिमको सिस्नो चिया, एक प्रकारको व्युमिङ टि र ९ किसिमको कालो चियाको स्वाद लिन सकिन्छ । उनी चियाको किसिम बढाउने योजनामा पनि छन् ।
मसला रहित अर्गानिक चिया पाइने बाँस घरमा ७०० एमएलदेखि १००० एमएलको भाडोमा पाइने चियाको मूल्य भने १००–७०० रुपैँया रहेको श्रेष्ठ बताउछन् । उनी छिट्टै चिया मात्र पाइने गरी बाँस घरको शाखा विस्तार गर्ने योजनामा पनि छन् ।
मनिसले कामको सम्मान गर्नुपर्ने , सकारात्मक सोचको विकास गर्नुपर्ने र आफूबाटै परिवर्तन गर्न सकिन्छ भन्ने सोच राख्नुपर्ने बताउँछन् ।विलासी जीवन बिताउने इच्छा त्यागेका श्रेष्ठ कमाइलाई अन्यत्र लगानी गरेर प्रत्यक्ष रुपमा रोजगारी पाउन नसक्ने मानिसलाई रोजगारी दिने अभियानमा लागेका छन् ।
हाल १४ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका श्रेष्ठ २–३ महिनाभित्रै वेत बाँसकै व्यवस्थित कारखाना खोल्ने योजनामा छन् । भन्छन्, ‘सुरुवातमा २५–३० जना सहजै रोजगारी पाउन नसक्ने व्यक्तिहरुलाई रोजगारी दिने कारखाना खोल्दै छु ।’काममा विश्वास गर्ने श्रेष्ठ भन्छन्, काम नगरी बस्नु भनेको आयू घटाउनु हो जस्तो लाग्छ ।’
विलाशिताले समाजलाई बिगार्दै लगेको बताउने श्रेष्ठ आफूसँग लाखौँ हुदाँ र नहुँदा श्रीमतीलाई समान व्यवहार गर्ने श्रीमान् र श्रीमान् जस्तोसुकै अवस्थामा हुँदा पनि साथ दिने श्रीमती आफूलाई राम्रो लाग्ने बताउँछन् ।
कर्मचारीले आफूले काम गर्ने कार्यालयलाई आफ्नो र सञ्चालकले कर्मचारीलाई आफ्नो ठाने छिट्टै प्रगति हुने बताउँदै भने,‘ मेरी श्रीमतीजस्तो इमान्दार कर्मचारी पाए हरेक कार्यालय छिट्टै सुध्रन्छ ।’कामलाई सम्मान गर्नुपर्ने धाराण राख्ने श्रेष्ठ ३५ वर्षीय एक उदाहरणीय युवा हुन् ।जोे समाजमा सकारात्मक काम गर्न चाहने युवाको प्रेरणा बन्न सक्छन् ।