भावको कोशी माथि उडान भर्दै डा.विदुर चालिसे



१५ भदौ २०७५, काठमाडौं

मानवजीवन र आफु बाँचेको युगको यथार्थतालाई उद्घाटन गर्न  सक्नु  काव्य  विधाको  एक  मुख्य  गुण  हो । यस्ता विषयवस्तुमा समेटिएका विषयहरूलाई कलात्मक बान्कीमा ढालिदिंदा कविता अव्वल सावित हुनपुग्छन । यसर्थ साहित्यको यति बलशाली विधामा कुनै पनि स्रष्टाको सिर्जनाको समीक्षा गर्नु गाह्रो विषय हो ।

कवि डा.विदुर चालिसेको नयाँ कवितासङ्ग्रह ‘कोशीका उडान’ शब्दार्थ प्रकाशनले भर्खरै प्रकाशन गरी बजारमा उतारेको छ ।  आकर्षक  कलेवरमा सजिएको तथा   साजसज्जाको दृष्टिले उन्नत र आकर्षक यस कविता संग्रहमा  फरकफरक स्वरूपका पचासवटा कविताहरू समाविष्ट छन् ।

अभिलेखीय नेपाली भाषा र व्याकरणको क्षेत्रमा गहिरो अनुसन्धानमा व्यस्त, प्राध्यापनमा रमाउने तथा नेपाली गद्यकविताको क्षितिजमा समेत स्थापित रहेका अग्रज कवि चालिसे ‘कोशीका उडान’ कवितासङ्ग्रहमा प्रखर बिम्बवादी कविका रूपमा देखिन्छन् ।

‘युगबोल्छ (कवितासङ्ग्रह)’, ‘सिसिफसको श्रापित मांसपिण्ड(लघुकाव्य)’, ‘अभिलेखीय नेपाली क्रिया(अनुसन्धान ग्र्रन्थ)’, ‘ऐतिहासिक नेपाली अव्यय(अनुसन्धान ग्रन्थ)’, ‘अभिलेखीय नेपाली व्याकरणको इतिहास(अनुसन्धान ग्रन्थ)’, ‘सेनेगल(कवितासङ्ग्रह)’, ‘अभिलेखीय नेपाली नामधातु(अनुसन्धान ग्रन्थ)’, ‘स्मृतिका पहाड(कवितासङ्ग्रह)’ पछि नवौं कृतिका रूपमा ‘कोशीका उडान(कवितासङ्ग्रह)’ आएको देखिन्छ ।

उनका कविताहरूमा फरक स्वादका रूपमा विशिष्ट शैलीको प्रयोग तथा गद्यकवितामा गेयात्मक धर्म प्रचुर मात्रामा रहेका पाइन्छ भने उनका कविताको वैचारिक धरातल प्रगतिशील चेतबाट अगाडि आएको पाइन्छ । जीवनप्रतिको आशावादितालाई उनका कविताहरू बर्बराउँछन् । कवितामा प्रयुक्त विषयवस्तुहरू राष्ट्र र राष्ट्रियताप्रति चिन्तित छन् । कतिपय कविताहरूमा जीवनलाई प्रकृतिसँग जोडेका छन् र जीवनवादी चेत र दृष्टिले भरिपूर्ण लाग्छन् ।

समसामयिक नेपाली जीवन परिवेशका कतिपय दृश्यहरूलाई यो कवितासङ्ग्रहले चित्रण गरेको छ । मान्छेका दिनानुदिनका अनि पलपलका भोगाइहरू शव्दहरूमा खिपिएका छन् । कविताले रचना धर्मको भावावेगलाई उचालेर मानव जीवनका झङ्क्रित तरङ्गहरू बोलिदिएका छन् । कवि मनको भावलाई अत्यन्तै कोमलतामा प्रसार गरेका उनले कतैकतै संवेदनशील अभिव्यक्तिहरूका झल्का दिएका छन् ।

यथार्थको चित्रण गर्नु उनका कविताकलाको मुख्य ध्येय पाइन्छन् । उनी आफुले देखेभोगेका कुराहरू आफनो मन मुटुबाटै अभिव्यक्त गर्न सिपालु देखिन्छन् अनि युगीन यथार्थको धरातलमा उभिएर कविता लेख्छन् । मानवीयता उनको कविताहरूको मुल सन्देश भएकोले कविताहरू अस्तित्ववादको सीमासम्म प्रकासिएका पाइन्छन् । तसर्थ कृतिमताको रत्तिभर गन्ध आँउदैन्, यथार्थमा भरिपूर्ण लाग्छन् । यसर्थ कविले एउटा सचेत नागरिकको दायित्व समेत निर्वाह गरेको भन्न सकिन्छ ।

समाजमा व्याप्त विकृतिको अन्त्य र विसंगतीहरूको पर्खाल ढाल्न यस कवितासङ्ग्रहले आम जनजीवनमा उत्साह भर्न सक्छन् । आफ्ना रचनाहरूमा श्रष्टा इमान्दार भएर पोखिनुपर्छ भन्ने मान्यतामा उनी निकट छन् । प्रकृतिको मनमोहक दृष्यमा रमाउँदै समाजमा व्याप्त विभेदहरूमा आक्रोशित भएर चिच्याउँछन् ।

यस सङ्ग्रहभित्रको कविताहरूको खास विशेषता भनेको सामाजिकता हो । यसकै आधारमा कविले समाजमा यत्रतत्र देखेका सादृश्य घट्नाहरूका साथै आफु बाँचेको विकृत समाजको नाङ्गो हुनेगरी चित्रण गरेका छन् । वर्तमान समाजको मनोदशा उतार्नसक्नु उनको कविताको विशिष्टता हो । यथार्थवादी प्रबृृतिका कवि एक कुशल चित्रकारजस्तै लाग्छन् र त युगीन समाजको यथार्थता चित्रण गर्न सफल छन् ।

जीवनप्रतिको चिन्तन र संवेदनशीलता, मानवतावादको उच्चता, समाजमुखी दृष्टिचेत, युगप्रतिको सचेतता, मानवमुल्यको खोजजस्ता विषयले कविको ध्यान गहिरोसँग खिचेको देखिन्छ भने सामाजिक मुल्य र मान्यताहरूलाई मानिसको वशको रूपमा स्थापित गरिनुपर्छ भन्ने संकेत गरेको पाइन्छन् ।

कविताहरूमा भएको शिष्टता र विषयवस्तुप्रतिको गम्भिरता उल्लेख्य छन् । कविता लेखनको शैली, शिल्प आदिमा केही पृथक अनि कविताहरू कलात्मकताले भरिपूर्ण छन् । कविले लोपोन्मुख विविध शब्दहरूको खोजी गरी तिनलाई बिम्बहरूको रूपमा प्रयोग गरेर कवितालाई मिठास बनाएको पाइन्छ । कुनैपनि विषय वा घट्नालाई एउटा विशिष्ट कथानकको निर्माण गरेर शब्दमा त्राण भर्दै कविता कथ्न सक्नु उनको विशिष्टता हो ।

उनका कविताहरू वर्तमान समयको बकपत्र वन्न सफल छन् । अत्यन्तै सुक्ष्म तहमा कविताहरू गहन र ओजपूर्ण ढंगले बुुनिएका छन् । प्रेम, प्रकृति र जीवनको यथार्थलाई वर्तमान परिवेश र सन्दर्भको गहनतामा प्रवेश गरेर लेखिएका कविताहरू  मानवीय मूल्य र मान्यताको धेरै निकट छन् ।

‘कोशीका उडान’ कवितासङ्ग्रहमा लयात्मकता, कोमलता, विषयगत विविधता, मौलिक झर्रा लोपोन्मुख शब्दहरूको बिम्बात्मक प्रतिकहरूको प्र्रयोगको प्रचुरताजस्ता विशेषताले भरिएका गह्रुगाँ कविताहरू छन् । कतिपय कविताहरू दार्शनिक चेतले भरिएका अनि कविताहरूमा कविले आफ्नो विचार पाठकहरूमाथि लाद्ने यत्न नगरेको पाइन्छ । मध्यम आकारमा रहेका कविताहरू काव्यचेतको हिसाबले उचाईमा चुलिएका देखिन्छन् ।

कविका अन्य कविता संग्रहहरु झै यो संग्रह पनि गद्य कविताहरुको संग्रह हो । भूमिकामा डा. चालिसेले भन्नु हुन्छ “गद्यकविता स्वतन्त्र शैलीमा गाउने विषय भएपनि यसका सिद्धान्तगत केही बौद्धिकताको प्रस्तुति अनि दार्शनिक पक्षहरू सबल रूपमा प्रस्तुत हुने सिर्जना नै गद्यकविताको आधार स्तम्भको रूपमा पाइनेहुँदा त्यति सजिलै गद्यकविताले फुर्कनु हुँदैन ।”

उनका भनाइहले विगतका शास्त्रीय मान्यतामा आधारित गद्यकविताका ढाँचाहरूले अचेलका सिर्जनाकला त चलेका त छन्, तथापि नयाँ तयार भइरहेका सैद्धान्तिक मान्यताहरूलाई पनि जोडेर गद्यकविताको रूप र सारलाई प्रस्तुत गर्न सकिन्छ भन्ने दृष्टिकोण रहेको देखिन्छ ।गद्यकविताको घनत्व, मूल्य स्थापना, गद्यकविताको परिभाषा र गद्यकविताको मूल्यको प्राप्ति तब मात्रै प्राप्त गर्न सकिन्छ ।

गद्यकविताको सबैभन्दा ठूलो दोष क्लिष्ट अनि दुर्बोध्यताको आयामलाई सबै समीक्षकहरूले मान्दछन् । तरपनि कविको विचारमा गद्यकविता कहिल्यै क्लिष्ट अनि दुर्बोध्य हुन सक्दैनन् । बरू मानिसका ज्ञानका चेतना अनि क्षमताले निर्धारण गर्ने प्रतिबिम्बात्मक कसरत नै गद्यकविता हुन पुग्दछ । त्यहीनेर कुनै कमजोरी रहन्छन् र भनिदिन्छन् ‘गद्यकविता क्लिष्ठ अनि दुर्बोध्य’ हुन्छ ।

कविता, साहित्यमा धेरै शक्तिशाली विधा मानिए तापनि अहिले कविता एउटा साँघुरो परिभाषामा सीमित गर्नु उपयुक्त हुँदैन । कला र भावको मिश्रणले कविता बन्दछ भने गद्यकविताको मूलमर्म त्यही हो ।

प्रतिक्रिया दिनुहोस्