२० भदौ २०७५, काठमाण्डौ
शिक्षा शास्त्र संकाय अन्तर्गतको मनोविज्ञान विषयको पहिलो सेमेष्टर परीक्षा मंगलबार स्थगित भएको छ । परीक्षा सुरु हुनु अगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको हो ।
प्रश्नपत्र बाहिरिएको जानकारी प्राप्त गरेपछि शिक्षा शास्त्र संकायको डिन कार्यालयले परीक्षा स्थगित गरेको हो । देशभरका ३० वटा परीक्षा केन्द्रको परीक्षा स्थगित भएको शिक्षा शास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमले बताए ।
प्रश्नपत्र सामाजिक सञ्जालमा भेटिएकाले कुन केन्द्रबाट बाहिरिएको हो भन्ने विषयमा छानविन सुरु भएको गौतमले जानकारी दिए । परीक्षा स्थगित भएपछि परीक्षा केन्द्रमा पुगेका विद्यार्थी घर फर्केका छन् ।