साफ च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्दै, जित्नै पर्ने दबाब



२१ भ्दौ २०७५, काठमाडौं

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार अपराह्न ३ः४५ मा सुरु हुने जनाईएको छ । पहिलो खेलमा पाकिस्तानसँग २–१ पराजित नेपाल पहिलो जितको खोजीमा भौतारिरहेको छ ।

साफमा नेपाल र भुटानले दुई पटक दुई खेल खेलिसक्दा पनि खेलको नतिजा नेपालकै पोल्टामा परेको छ । साफमा भुटानविरुद्ध नेपालको अपराजित कीर्तिमान छ । त्यसैले भुटानविरुद्ध मैदान उत्रदाँ नेपालको लक्ष्य अपराजित यात्रालाई निरन्तरता दिनुपर्ने छ । पराजित भए नेपाल पुनः समूह चरणबाट घर फर्कने पक्का छ । तर, उपाधि जित्ने लक्ष्य बोकेको नेपालले भुटानलाई हराउन सबै अस्त्र प्रयोग गर्नेछन् ।

यो खेलबाट पाठ सिकेर भोलिको दिनमा जित निकाल्न आवश्यक छ, जितको लागि स्कोर गर्नु पर्ने हुन्छ, भुटानविरुद्धको खेलअघि प्रशिक्षक बाल गोपाल महर्जनले भने, त्यहीँ अनुसार तयारी गरेका छौं । खेलाडीलाई निर्देशन गरेका छौं । हाम्रो सम्भावना सकिएको छैन । तर, जित बाहेक अन्य विकल्प छैन । समुह ए मा रहेको नेपाल र भुटान अंकविहिन रहेको छ । भुटान आयोजक बंगलादेशसंग २–० ले पराजित भएको थियो । यो समूहमा बंगलादेश र पाकिस्तानले ३–३ अंक जोेड्दै गर्दा नेपालसंगै भुटानलाई पनि नेपालविरुद्धको खेल महत्वपूर्ण रहेकोछ ।

अघिल्ला खेलको नतिजा हेर्दा नेपाललाई भुटान सहज प्रतिद्वन्दी हुनेछ । नेपालले भुटानसंग सन् २००३ को साफमा प्रतिस्पर्धा गरेको थियो । ढाकामै भएको खेलमा नेपालले भुटानलाई २–० ले हराएको थियो । उक्त खेलमा निराजन रायमाझि र कुमार थापाले गोल गरेका थिए । यस्तै नेपालले पाकिस्तानको कराचीमा सन् २००५ मा सम्पन्न साफमा भुटानलाई ३–१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्