२१ भदौ २०७५, काठमाडौं
सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित हेमकुमार राई (सुरबीर) पाचौँ चीन भ्रमणमा गएका छन् । चौथों चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शन कार्यक्रममा सहभागि हुन सांसद राई चीन प्रस्थान गरेका हुन् ।
नेपाल चीन हिमालीमैत्री समाजले २०७५ भाद्र २२ देखि २६ गतेसम्म ल्हासामा आयोजना गर्ने उक्त कार्यक्रमका लागि पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलको नेतृत्वमा सांसद राईसहित प्रतिनिधि सभा सदस्यहरु महेश बस्नेत, खेम लोहनी, पाल्देन गुरुङ तथा प्रदेश सभा सदस्य, पूर्व सांसद, स्थानीय तहका प्रमुखलगायत सहभागि रहेको दश सदस्यीय टोली विहिबार विहान त्यसतर्फ प्रस्थान गरेको छ । सांसद राईको निर्वाचित भएपछि यो पहिलो विदेश भ्रमण हो । प्राप्त जानकारीअनुसार सो कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरासमेत सहभागि हुनेछन् ।
आफ्नो चीन भ्रमण विशेषतः हिमाली क्षेत्रको अर्थतन्त्रसँग जोडिएको राईको भनाई छ । ‘यो कार्यक्रम खासगरी दुई पक्षबीचको मैत्रीपूर्ण भेटघाट हो’ उनले भने । ‘कार्यक्रम दुई देशीय सम्बन्ध कायम गर्ने एउटा माध्यम बन्नेछ र यसले विशेषगरी दुई देश तथा सिमाना जोडिएको सोलुखुम्बु जिल्लाको पर्यटन प्रबद्र्धन र संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।’
हिमालय क्षेत्रको प्रकृति, पर्यावरण तथा त्यहाँ बसोबास गर्ने मानिसको रहनसहत, संस्कृति उजाग गर्ने उद्देश्यले नौ वर्षअघि यो संस्था स्थापना भएको थियो ।