खच्चडको हुलसँग एक बिहान



२१ भदौ २०७५, काठमाडौं

झण्डै छ वर्ष अगाडीको कुरा हो । त्यतिबेला मुगु जिल्लालाई सडकले छोइसकेको थिएन । तत्कालको सुदुर पश्चिमको अछाम अनि बाजुरा हुँदै म मुगु पुगेको थिएँ । अछामको साँफेबगर सम्मको बस यात्रा अनि त्यहाँबाट बाजुराको तिपडा सम्मको जिप यात्रा पछि मेरो पैदल यात्रा रारालेक तिर लम्मिएको थियो ।

हामी एकाबिहानै रारा छाडेर ओरालो लागेका थियौँ, माझघट्टातिर । चिसो असाध्य थियो । बरफ जमेजस्तो । रारा तालको दक्षिण पश्चिम किनाराबाट निस्केको पानीको निकास खत्याड नदि बनेर हाम्रो देब्रेतिर हामी सँगै ओरालो लाग्दै थियौँ । जङ्गलको बाटो सुनसान थियो । कतै कुनै चरो कराएको पनि सुनिएको थिएन । घामको स्पर्शले जङ्गललाई अझै छोई नसकेकोले सायद चराहरू पनि बिउँझिएका थिएनन् । एकोहोरो ओरालो झर्दो खोलाको सुसाइ मात्रै सुनिन्थ्यो । खत्याडले आफ्नो बहावसँगै एउटा सुन्दर चित्रजस्तो दृश्यको रचना कोरेको थियो । खोलाको छेउछाउमा फिक्का पहेँला र राता रङका पात भएका वृक्षहरू उभिएका थिए । कतै कतै मोटा मोटा रूखहरू पानी माथि सर्लक्क ढलेका थिए ।

माझघट्ट गाउँमा दुईचार कटेराहरू थिए, तिनमा साना साना पसलहरू । जाडोले काम्दै हिँडेका हामी, आफ्ना रकस्याकहरू भित्तामा अड्याएर एउटा चिया पसलको अघि उभियौँ । पसलभित्र गुनगुन आवाज आइरहेको थियो । चार पाँच जना मान्छेहरू भित्र आगो ताप्दै चिया पिइरहेजस्तो लाग्यो ।

साँझ नपर्दै पर जुम्लाको सिँजानजिक पुग्नु थियो त्यसैले हामीले पसलभित्र पसी आगो तापेर समय नखर्चने विचार गर्यौं । पसलेले बाहिरै दुई कप कालो चिया ल्याइदियो । उभिएरै पिउन थालेका थियौँ । भित्रका मान्छेहरूले बोलेको सुनेर थाहा पाइयो कि ती खच्चड चालकहरू रहेछन् ।

‘दाइ, खच्चडहरू कहाँसम्म लाने हो?’ ढोकाबाट भित्र चिहाउँदै मेरो साथीले सोध्यो ।

‘गोठिजुग्ला ।’  भित्र बसेको एक जना बोल्यो ।

हामीलाई त्यहीँसम्म पुग्नु थियो । त्यहाँबाट मोटर चढेर सुर्खेत जान पाइन्छ भनेर सुनेका थियौँ ।

‘हाम्रो झोलाहरू खच्च्डमा हाल्दिनुस् न मिल्छ भने । कति लाग्छ तिरौँला ।’  मेरो साथीले अनुरोध गर्याे ।

गएको पाँच दिनदेखि भारी बोकेर हिँड्दा हामी लखतरान भइसकेका थियौँ । सुदूर पश्चिमको बाजुरा जिल्ला काटेर हामी मध्य पश्चिममाको मुगु जिल्लामा रहेको रारा ताल हेर्न आइपुगेका थियौँ । अब जुम्लासम्म पुग्न पाए हाम्रो पैदल यात्राको अन्त्य हुन्थ्यो । खच्चड धनीले झोलाहरू लगिदिने भनेपछि मैले खुब सन्तोष महसुस गरेँ । हिँडाइको अन्तिम दिन हलुँगो हुने भयो भनेर । तिनका खच्चडहरू तल सानो चौरजस्तोमा चर्दै थिए । त्यहाँबाट मास्तिर लागेपछि चुच्चेमारा भन्ने लेकको उकालो सुरु हुन्थ्यो । त्यो लेक काटेर गएपछि हामी मुगु छाडेर जुम्ला पुग्थ्यौँ । खच्चडहरू हुम्लामा चामल खेपेर फर्किएका रहेछन् । रित्ता थिए सबै ।

एउटा खैरो रौँ भएको खच्च्डमा दुइटा झोलाहरू कसेपछि हामी रित्तो ज्यान लिएर उकालिन थाल्यौँ । चुच्चेमारा लेकको उकालो दक्षिणतिर लागेको थियो । खत्याड खोला हामीलाई छोडेर पश्चिमतिर ओरालो हानियो, तल जुगल भन्ने ठाउँमा पुगेर कर्णाली नदीसँग समागम हुन । खोलो बन जङ्गल थर्काउँदै तेज गतिमा बग्दै थियो । अलि माथि पुगेर मैले अन्तिमपटक खत्याडलाई हेरेँ । र, आफ्नो उकालोको यात्रा जारी राखेँ । केही छिनपछि खोला सुसाएको आवाज पनि आउन छाड्यो ।

जङ्गलको बिचमा साँघुरिएको बाटोमा हामी हिँड्दै थियौँ । मेरो साथी अल्लि अगाडि पुगिसकेको थियो । म खच्चड चालकहरूसँग गफ मार्न थालेको थिएँ । त्यो समूहमा सात जना थिए । तिनीहरूसँग जम्मा त्रिचालीस वटा खच्चडहरू रहेछन् । खच्चडवालाहरूको समूहमा एउटा तेह्र वर्षे किशोर थियो । धीरेन्द्र राउत नाउँ गरेको त्यो किशोर नै त्यो समूहको कान्छो सदस्य थियो । त्रीचालिसमध्ये पाँचवटा खच्चडहरू उसैका रहेछन् ।

‘स्कूल जाँदैनौ ?’ मैले सोधेँ ।

‘छ कक्षा पढ्दा पढ्दै छोड्या हौँ ।’ अलिअलि खस र अलि अलि हामीले बोल्ने जस्तो भाषा मिसाएर उसले भन्यो ।

‘अब नपढ्ने?’ मैले फेरि सोधेँ ।

ऊ मलाई उछिनेर अलि माथि पुगिसकेको थियो ।

‘अब यसले खच्चड पढ्छ ।’

उसको समूहको अलि पाको सदस्यले त्यसो भन्दा सबै जना हाँसे । मैले पनि खिस्स गरेँ ।

अर्को एउटा ठिटो थियो, अठार वर्षे । तीर्थ रोकाया नाउँ गरेको त्यो ठिटोलाई पनि मैले त्यस्तै प्रश्न गरेको थिएँ ।

‘एस्एल्सीमा तीन सब्जेक्टमा फेल खाया हुँ ।’ उसले पनि त्यै लवजमा जवाफ दियो ।

‘मैले त राम्रै लेख्या थियाँ । कापी जाँच्नेले खत्तम पार्दिया ।’

उसले थप्यो । उसको कुराले उसैका तीनचार जना साथीहरू हाँसे । खच्चडवालाहरूको समूहमा सबभन्दा पाको उमेरको मान्छे थियो हरि राउत । अठ्तीस वर्षे राउत विगत वाह्र वर्षदेखि यो पेसामा रहेछ । त्यसअघि ऊ खेती किसानी गथ्र्यो रे । कुन पेसा सजिलो भनेर सोध्दा उसले दुवैमा दुख र मेहेनत गर्नै पर्ने भएकोले उस्तै हुन् भन्यो । पढाई लेखाईको कुरा गर्दा ऊ अलि उदास जस्तो देखियो  ।

‘स्कुल त थियो सर् । तर पाँच कक्षा पढ्दापढ्दै छोडेको । पढ्न गाह्रो लाग्यो ।’ उसले भन्यो ।

खस भाषाको लवज आए पनि ऊ राम्रोसँग आधुनिक नेपाली भाषा बोल्न जान्दथ्यो ।

हाम्रा झोलाहरू जुन खच्चडमा लादिएका थिए त्यो खच्च्ड मालिक भने जुम्लाको सदरमुकामको कलेजमा बि.एड्. पहिलो वर्षमा पढ्दै रहेछ । अहिले कलेज बिदा भएकोले काममा हिँडेको कुरा बतायो । अरू बेलामा उसका दाइहरूले खच्चड चलाउँछन् रे ।

कोणधारी पात भएका रूखहरूको जङ्गलबिच हामी क्रमश उक्लँदै थियौँ । बुङ्बुङ् धुलो उड्ने बाटो एककनासले उकालोतिर तेर्सिएको थियो । भारी बोकेर उक्लिनुपरेको भए झन् कति कठिन हुन्थ्यो होला हिँडाइ ? म सोच्दै थिएँ । खच्चड चालकहरूसँग हिँड्दा रमाइलो पनि भइरहेको थियो । यद्यपि, तिनीहरूको हिँडाइसँग चाल मिलाउन भने मलाई हम्मे हम्मे पर्दै थियो । म  फाट्ट फुट्ट फोटो खिचिरहन्थेँ । एस्एल्सी मा फेल भएको अठाह्र वर्षे ठिटोले मोबाइल फोनमा देउडा भाकाको गीत बजायो । मैले त्यसको फोटो खिचेँ । उसले चाल पाएछ ।

‘मेरो फोटो दामी आया होलान् सर् ।’ उसले हाँस्दै भन्यो ।

डिजिटल क्यामराको सानो स्क्रिनमा मैले उसलाई त्यो फोटो देखाइदिएँ ।

‘सरले तँलाई अब क्यामरामा बोकेर काठमाण्डौ लैजान्छ ।’  अर्को एउटा साथीले उसलाई उल्याउँदै भन्यो । ऊ खिस्स हाँस्यो । म पनि अलिअलि हाँसे । हिँड्न छाडेर एउटा खच्चड दायाँतिर जंङ्गलमा चर्न लागेको रहेछ । तेह्र वर्षे सानो केटोले बेस्कन लौराले बजाएपछि खच्चड फेरि हिँड्यो ।

‘अर्को जुनीमा यो खच्चड मान्छे बन्छ । तँ चाहिँ खच्चड बन्छस् । अनि यसले तँलाई यसै गरी लौराले पिटेर बदला लिन्छ ।’ अलि पाको एउटाले भन्यो ।

‘तिमी नै भया हौ खच्चड अर्को जुनिमा ।’

सानो केटो झोक्किँदै अघि लाग्यो छिटो छिटो । अरूहरू हाँसे । जङ्गल माथितिर आकाशमा घाम तात्दै थियो । उकालो हिँड्दा जाडो कता भाग्यो कता । मेरो साथी निकै माथि पुगिसकेको थियो क्यार । ऊ मभन्दा निकै छिटो हिँड्न सक्ने हो ।

‘ती सर् त बलिया हुन् । फटाफट गया छन् ।’ एउटा ले भन्दै थियो ।

म भने खच्चडहरू बारे जान्न उत्सुक भएको थिएँ । त्यसैले तिनिहरूसँग सोधपुछ गर्दे हिँडिरहेँ, बिस्तार बिस्तार भन्दा अलि छिटो छिटो ।

खच्चड चालकहरूको पनि सङ्गठन हुँदो रहेछ । सङ्गठनले प्रत्येक महिना एउटा खच्चड बापत पाँच सय रुपैँया सङ्कलन गरेर राख्छ र यदि कसैको खच्चड मर्याे भने नयाँ खच्चड किन्दा आधा मोल दिन्छ । यो नियमले खच्चड धनीहरूको भलो नै गर्दो रहेछ । एक प्रकारले भन्दा यो नियम खच्चडको वीमा गरेको जस्तै रहेछ ।

‘पाँच सय रुपैँया त रक्सी खाएरै उडाइन्छ सर् । सङ्गठनलाई दिनु राम्रो कुरा हो ।’ सब भन्दा पाको सदस्यले भनेको थियो ।

हिँड्दा हिँड्दै भिरबाट खसेर अनि बिरामी भएर कहिलेकाहीँ खच्चडहरू मर्ने गर्छन् । तर हराउने चाहिँ अत्यन्त दुर्लभ घटना रहेछ । वर्षातको बेला झन्डै दुई महिना खच्चडहरू चल्दैनन् । तिनलाई पाटन अर्थात् ठूला ठूला घाँसे मैदानमा लगेर छाडिन्छ । चरनमा ती आफैं चर्छन् । कसैले हेरविचार गर्नु पर्दैन । कहिलेकाहीँ एक दुई खच्चडहरू चोरी हुन सक्छन् । तर त्यो नगण्य घटना हो । हिँड्दा हिँड्दै बाटो बिराए पनि खच्चड आफैं बाटो पैल्याएर आई हाल्छ । हराउने सम्भावना एकदम कम हुन्छ । बरु बेला बेलामा बिरामी हुन्छन् । चिन्ह र लक्षणहरू हेरेर सामान्य रोग त खच्चड धनीहरूले नै पत्ता लाउँछन् । चालकहरू अलिअलि औषधिहरू पनि साथमा बोकेर हिँड्छन् ।

एउटा खच्चड किन्नु पर्याे भने अहिले असी नब्बे हजारदेखि झन्डै डेढलाख सम्म पर्छ । एकले अर्कालाई खच्चड बेच्दा सङ्गठनको मान्छे साक्षी राखेर भर्पाई गर्नुपर्छ । ल्याप्चे लगाउनुपर्छ ।

खच्चडहरू केही भारतबाट आयात हुन्छन् र केही चाहिँ नेपालकै सूदूर पश्चिम र मध्य पश्चिमको पहाडी भेगमै उत्पादन हुन्छन् । घोडा र गधा बिचको प्रजनन कृयाबाट खच्चड जन्माइन्छ । खच्चडको आफ्नो प्रजनन क्षमता हुँदैन । ति केवल भारी बोक्नकै लागी जन्माइएका हुन्छन् । करिब चार पाँच वर्षको भए पछि खच्चडले भारी बोक्न सुरु गर्छ । एउटा बलियो र वयस्क खच्चडले साठी देखि नब्बे किलोग्राम भारि बोक्न सक्छ । भारी बोक्ने क्षमता खच्चडको जात र प्रकारमा पनि भर पर्छ । जङ्गल र घाँसे चौरमा चराउनुको अलावा यिनलाई तयारी अवस्थामा रहेको दाना किनेर खुवाउनुपर्छ । एउटा खच्चडले दिनमा तिन किलो सम्म दाना खान्छन् । आफुले खाने दाना यिनले आफैंसँग बोकेर हिँड्छन् ।

कर्नालीमा मोटरबाटो पुगेपछि खच्चडका हुलहरू क्रमश मास्तिर धकेलिँदै छन् । मोटरबाटो पुगेको ठाउँबाट बिस्तार बिस्थापति हुँदै छन् । तर नेपालको पहाडी भेगमा पर्ने प्रत्येक गाउँमा मोटरक बाटो पुग्न अझैं कति वर्ष लाग्ला ? त्यो निकै टाढाको कल्पना हो । त्यसैले खच्चडहरूको भविष्य नेपालमा अझैं कैयौँ वर्ष सम्मको लागि सुरक्षित नै छ ।

झन्डै अढाई घण्टा जति उक्लिएपछि चुच्चेमारा लेक आइपुग्यो । पसिनाले शरीर भिजेर निथ्रुक्क भयो । ज्याकेट फुकालेर काँधमा हालेँ । खच्चडहरू अघि पछि हिँड्दै थिए । जङ्गल सकिएको थियो ।

घाँसै घाँसको ठुलो चौरमा म उभिएँ । खच्चडहरू हिँड्न छाडेर चर्न थाले । चार जना खच्चड चालकहरू त्यतै अल्मलिए । बाँकी तीन जना अघि लागे । अघि लागेकाहरूले अलि पर रहेको होटलमा गएर खाना पकाउन लगाउने अनि त्यतै रहनेले चाहिँ एक घण्टा जति खच्चड चराएर लैजाने रहेछन् ।

डाँडाको टुप्पोमा धागोजस्तो तन्किएको बाटोमा एकछिन हिँडेपछि रारा ताल देखियो । म केहीबेर त्यहीँ अडिएँ । फोटो खिच्न थालेँ , निकै तल निलो रङमा स्थिर बसेको रारा तालको । अनि,  डाँडामा लस्कर लागेर हिँड्दै गरेका खच्चडहरूको क्याराभानको । दुवै दृश्यहरूले मेरो क्यामराको लेन्सलाई उत्तिकै लोभ्याइरहेका थिए ।  पर पर उत्तरमा हिमलहर टल्किरहेको थियो । ती हिमालहरूको नाउँ के होला? मैले सोचेँ ।

नीलो गहिराइमा जमेको रारामा बिहानीको आकाशको छायाँ प्रतिबिम्बित थियो । हामी राराको किनारमा दुई दिन बिताएर आएका थियौँ । तस्बिरमा देखिने राराभन्दा वास्तविक रारा अझ सुन्दर थियो । अथाह थियो । मध्यान्हमा घाम चरक्क हुँदा पानीको रङ निख्खर गाढा नीलो हुन्थ्यो । आकाशभन्दा धेरै नीलो । वरिपरिका जङ्गल र घाँसे मैदानले तालको सुन्दरतामा हरित पत्र थपिदिए जस्तो लाग्यो ।

तालको डिलमा बसेर हामी थुप्रै बेर पानीको नीलो तह र त्यो भन्दा मुनिको अथाह गहिराइमा हराएका थियौँ । त्यसैबेला एउटा सेतो प्वाँख भएको चरो तालको बिचतिरबाट उड्दै आएर हामी नजिकैको डिलमा अडियो । फेरि एकछिनमै भुर्र उड्यो । नीलो जलराशिको तह माथि सेतो चरोको उडानले, मानौँ एउटा सुन्दर तर अस्थिर क्यानभासको रचना गरेको छ । पर घाँसे चौरमा दुईवटा घोडाहरू चरिरहेका थिए । ती र ती जस्ता थुप्रै सुन्दर दृश्यहरूको स्पर्श बोकेर म हिँडेको थिएँ ।

त्यसैले, चुच्चेमाराको लेकमा उभिएर पनि हामीले रारालाई निकै बेर हेर्यौं । अब त्यहाँबाट दक्षिणतिर झरेपछि फेरि हामी रारा देख्न सक्दैनथ्यौँ ।

खच्चडहरू त्यतै चर्दै थिए । खच्चड चालकहरू चौरको घाँसमा बसेर थकाइ बिसाउँदै थिए । फुच्चे केटो लमतन्न भएर आकाशतिर हेरेर पल्टिएको थियो ।

डाँडाको टुप्पोमा तेर्सिएको बाटो ओरालो आरालो हुँदै तलतिर झर्दै थियो । हामी फटाफट हिँडि रह्यौँ । उत्तरका हिमालहरू र रारा तालसँग हाम्रो दूरी लम्बिँदै गयो । हामीलाई साँझ नपर्दै अझै निकै पर पुग्नु थियो । सिँजाको नजिक गोठिजुग्लासम्म । हिँउदको दिन न्यानो छिप्पिन नपाउँदै, सूर्य दक्षिण आकाशतिर पुगिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्