१५ वर्षदेखी तिनचुली-सुन्धारामा टेम्पो चलाउँदै निशा पौडेल



२२ भदौ २०७५, काठमाडौं

‘कसैले तपाईहरु माइती नेपालबाट आएको रे हो भन्थे त कसैले महिलाले चलाएको रहेछ यहि झरौँ भन्थे’, १५ वर्षदेखी टेम्पो चलाउँदै आएकी निशा पौडेलले विगत सम्झँदै भनिन् ।

निशा टेम्पो चालक बन्दा लगभग ७ जना महिलाले मात्र टेम्पो चलाउँथे । हिजोआज प्रायजसो टेम्पोमा महिला चालकहरु देखिन्छन् । परिवर्तन खबरको भेटमा उनले आफ्नो विगत फर्केर हेर्ने प्रत्यन्न गरिन् । हामीले पनि उनको संघर्षलाई शब्दमा उतार्ने जमर्को गरेका छौँ ।

२०३५ सालमा मोरङमा जन्मिएकी निशाको पारिवारिक अवस्था राम्रै भएकाले उनको बाल्यकाल सुखमा नै बित्यो । उनले सुकुना माविबाट कक्षा आठसम्म अध्ययन गरेकी छिन् । काभ्रेका गोकुल पौडेल उनको आफन्त र निशाको घर नजिकै थियो । गोकुल बेलाबखत आफन्तको जाने गर्थे । त्यहि समयमा निशा र गोकुलको देखादेख भयो र केही समयमा उनीहरु प्रेममा परे ।

उनीहरुको सम्बन्ध २०५२ सालमा विवाहमा परिणत भयो । भन्छिन्, ‘१७ वर्षको उमेरमा भागी विवाह गरियो । जब विवाह भयो अनि मेरा दु:खका दिन सुरु भयो । घरमा सासू हुनुहुन्थ्यो । माइतमा खासै काम गर्न नपरेकाले गाग्रीमा पानी बोक्न समेत जान्दैनथेँ ।  तर हामी केहि समयमात्रै गाउँमा बस्यौँ र काठमाण्डौ प्रवेश गर्यौँ ।

सबै कुरा ठिकठाक चल्दै थियो । उनलाई श्रीमानले अर्को विवाह गरेका छन् भन्ने थाहा थिएन् । जब उनले आफू कान्छी श्रीमती भएको थाहा पाइन्, त्यसपछि उनको जीवनले फरक मोड लिन थाल्यो । उनी भन्छिन्, ‘काठमाण्डौमा कोठा भाडा लिएर बस्न गाह्रै हुन्छ झनै मेरो श्रीमानको त अर्को परिवार पनि थियो । पेटमा बच्चा थियो । काठमाण्डौ बस्न असहज हुन थाल्यो ।’ त्यसपछि उनी कामको खोजीमा भौँतारिन थालिन् । उनले एक निजी विद्यालयमा सात वर्ष काम गरिन भने सुष्मा मेमोरीयल कलेजमा डेढ वर्ष काम गरिन् ।

उनले दु:खका दिन सम्झिइन, स्कुलमा काम गर्दा मैले ६ महिनाको छोरालाई तुनामा डोरीले बाँधेर समेत काम गरेँ । १८ महिनाको भएपछि स्कुल पढाउन थालेँ । त्यतिबेला मैले स्कुलबाट ६ सय रुपैँया पाउँथे । छोरो चार बर्षको भएपछि माइत पठाइदिएँ । मलाई श्रीमानले कुनै पनि सहयोग नगेपनि माइतीबाट निकै सहयोग पाएँ । छोरा एसएसलसी दिएपछि मात्र यता आएको हो ।’

उनको नागरिकता नबनेका कारण उनले गरिरहेको जागिर पनि गुमाउनुपर्यो । त्यसपछि उनले नागरिकता बनाउनका लागि श्रीमानलाई मनाउन निकै प्रयत्न गर्नुपर्यो । एक जना आफन्तको सहयोगले नागरिकता त बन्यो । त्यसपछि उनी पुनः कामको खोजीमा भौँतारिन थालिन् । त्यहि क्रममा महिलाले टेम्पो चलाएको देखिन् । भन्छिन्, ‘एक महिलाले टेम्पो चलाएको देखेँ । उनीसँग कुरा गर्न जगेवागेश्वरीबाट चाबहिलसम्म दैडिएँ । तर त्यो टेम्पो भेटाउन सकिन ।’ त्यसपछि उनी महिललाई टेम्पो चलाउन सिकाउने ठाउँ खोज्न थालिन् । सो क्रममा उनले पुतलीसडमा जनउत्थानमा टेम्पो सिकाइन्छ भन्ने थाहा पाइन् तर त्यहाँ पुग्दा कोटा सकिएको रहेछ ।

टेम्पो सिक्ने उनको तिव्र इच्छाले रोक्न सकेन् । त्यसपछि कानमा लगाएको गहना बेचेर ६००० मा १५ दिन टेम्पो चलाउने तालिम लिइन् ।भन्छिन्,‘त्यसपछि मलाई टेम्पोको लाइसेन्स लिनको लागि अझै धेरै सिक्नुपर्छ जस्तो लाग्यो । अनि धरान गएँ । लाइसेन्स फाँटमा रहनुभएको ठूलोबुवालाई कुरा गरेँ । उहाँ तिमी पनि टेम्पो सिक्नै भन्दै हाँस्नुभयो । तैपनि त्यहाँबाट एक हप्तामा लाइसेन्स लिएर काठमाण्डौ आएँ ।’काठमाण्डौमा फेरीे १५ दिन टेम्पो चलाउन सिकिन् । लाइसेन्स भएपनि चालकको रुपमा अरुले चाँडै विश्वास गर्ने कुरा भएन् । उनले कम्पनीलाई विश्वास दिलाएर ४५९८ नम्बरको टेम्पो निकालिन् । तत्पश्चात तिनचुली–सुन्धारा रुटमा टेम्पो चलाउन थालेकी निशा हाल पनि त्यहि भेटिन्छिन् ।

संयोग कस्तो रह्यो भने टेम्पो चलाउन सुरु गरेकै दिन घण्टाघरमा श्रीमानलाई देखिन् । ट्याक्सी चालक उनका श्रीमानले आफूलाई किन नभनेको भनेर सोधे । उनले श्रीमानलाई भनिन्, ‘मैले तपाईको जागिर खाइदिन्छु भनेको थिईनँ र ।’श्रीमानले साथ नदिएपछि उनलाई कतिपयले विवाह गर भन्ने सुझाव पनि दिए तर उनलाई त्यो सोच आएन् । त्यस्तै उनले भनिन्, ‘गुजारा चलाउनका लागि हिम्मत आयो टेम्पो चलाउन थालेँ ।’

एक वर्षपछि उनले किस्तामा तीन लाख ६० हजार बराबरको टेम्पो किनिन् । केहि समयपछि उनले अर्को पनि पनि थपेकी थिइन तर चालकको लापर्वाहिका कारण त्यो बेचिदिइन् । भन्छिन्, ‘टेम्पोको आम्दानीबाट छोरो पढाएँ अनि घर चलाएँ ।’ टेम्पो चलाउने क्रममा उनले थुप्रै घटनाको सामना गर्नु पर्यो । एक घटना सम्झिँदै भनिन्, ‘सुन्धारामा राती १२ बजे टेम्पो बिग्रिएकाले रोएर बसेको छु । त्यतिबेला लोडसेडिङ हुन्थ्यो । असारको समयमा पानी परिरहेको थियो । केहि गर्दा पनि टेम्पो बनेन् । अर्को गाडीले तान्नुपथ्र्यो ।’

‘त्यस्तै एकपटक त मैतिदेवी पुल वारीबाट चढेका तीन युवा महिलाले चलाएको रहेछ भन्दै पारी गएर उत्रिए । नराम्रो नजर लगाउने र गलत सोच भएका मान्छेहरु पनि हुन्थे तर मैले पाखा लगाएँ । कहिलेकाँही त आफूले राम्रो बोल्दा बोल्दै पनि नराम्रो बोल्नुपर्ने हुँदो रहेछ, यो लाइनै यस्तो , उनले भनिन् ।’छोरा विरामी भएर राति १२ बजे अस्पताल पुगिन् । तीन दिन अस्पताल राख्दा पनि श्रीमान भेटन आएनन्, त्यसले उनलाई निकै दुखी तुल्यायो । आफैँ बिरामी हुँदा पनि श्रीमान् आउन गाह्रो माने तर आए । भन्छिन्, ‘श्रीमान् हुँदाहुँदै पनि एकल भएर बाँच्नुपर्यो, त्यो गाह्रो छ । तथापी

यहाँसम्म आइपुग्न मेो माइती घरको साथ छ ।’दैनिक १० टिप गर्दा सबै खर्च कटाएर २५ सय जति कमाई गर्ने निशा यहि कामलाई नै निरन्तरता दिने सोचमा छिन् । संघर्षले जीवनमा धेरै ज्ञान दिने बताउने निशाको पढने इच्छा पनि छ । भन्छिन्, ‘समय मिलेमा पढ्ने सोच छ ।’

प्रतिक्रिया दिनुहोस्