ओली–देवेगौडा भेट



२३ भदौ २०७५, काठमाडौं

प्रधानमन्त्री केपी ओलीसँग भारतीय पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले शिष्टाचार भेटवार्ता गरेका छन् । दुईदिने धार्मिक भ्रमणमा रहेका देवेगौडाले प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा पूर्वप्रधानमन्त्री देवेगौडाले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री ओलीलाई बधाई तथा धन्यवाद दिए । यस्तै, प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै त्यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याएको धारणा राखे । जवाफमा प्रधानमन्त्री ओलीले दुई देशका सरकार प्रमुखबीचको आपसी भ्रमणले दुई पक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताएका थिए । ‘दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट खास गरी तीनवटा कुरामा उपलब्धि भएको छ । जलमार्ग, रेलमार्ग र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धि भएको छ,’ ओलीले भने ।

देवेगौडाको स्वागतमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार ‘ब्रेकफास्ट मिटिङ’ आयोजना गरेका थिए । ब्रेक फास्ट मिटिङमा आपसी हितका विषयमा केन्द्रित रहेर कुराकानी भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । ब्रेकफास्ट मिटिङमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालालगायत सहभागी थिए ।

यो खबर आजको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्