२३ भदौ २०७५, काठमाडौं
बालिकादेखि वृद्धासम्म सुरक्षित नरहने नेपाली समाजमा यौन शिक्षाको विषयमा खुलेर छलफल हुने गर्दैन । यद्धपी बढ्दो जनसंख्याको चाँपलाई रोक्न तत्कालिन सरकारले गर्भान्तरण बढाउने सशक्त माध्यमको रुपमा विवाहित जोडीलाई लक्षित गरी सरकारी संचार माध्यामबाट कण्डमको आक्रामक प्रचारप्रसार गरियो ।
कण्डमको उपयोगिता थाहै नपाउने स्कुले बालबालिकादेखि लक्षित वर्गले आ–आफ्नो ढंगले बुझे र त्यहीँ रुपमा कण्डमको प्रयोग गरे । स्वास्थ्य संस्थामा निःशुल्क रुपमा वितरण गरिने कण्डमलाई स्कुले बालबालिकाले बेलुनको रुपमा पनि प्रयोग गरे । कण्डमको प्रयोग सम्बन्धि दिईने सचेतनामुलक तालिममा प्रशिक्षकले हातको बुढीऔंलामा प्रयोग गरी सिकाउँदा निरक्षर युवाहरुले आफ्नो वास्तविक यौन जीवनमै सोही किसिमले प्रयोग गरेर गर्भ नरोकिएको घटनाहरु समेत समाजमा निकै समयसम्म ख्याल ठट्टाको रुपमा चलिरहे ।
कण्डमको अत्याधिक प्रचारले विवाहित युवा जोडीलाई राम्ररी तान्यो र यसको प्रयोगमा विस्तार भयो । बढ्दो लोकप्रियताले लक्षित वर्गभन्दा पार गरी अविवाहित तन्नेरीले समेत फाईदा लिए । प्रयोगमा निरन्तर सफलता पाईरहेको वस्तुको उत्पादनमा विश्वभरका कम्पनीहरुले विभिन्न ब्राण्ड र गुणस्तरमा यसको विकास विस्तार गरी नै रहे । धेरै फाईदा हुँदाहुँदै पनि पुनः प्रयोग गर्न नसकिने कारणले यसको प्रयोग खर्चिलो समेत बन्ने गरेको सुनिन्छ । अझ प्रष्ट भाषामा भन्दा प्रयोग गर्नु र फाल्नु नै कण्डमको खास विशेषता हो ।
काग सबैले चिन्ने चरा भएपनि आफ्नै प्रचारमा रमाउने विशेषताले संसारभर प्रिय बन्न सकेन । धेरै फोहोर गर्ने, दुःख दिने, घाममा सुकाएको विस्कुन खाएर हैरान गर्दा समेत परेवालाई स्वाभावकै कारणले विश्वभर माया गरिन्छ । प्रिय चराको रुपमा बुझिन्छ । कागप्रतिको वितृष्णा बढ्दै जाँदा आफ्नो बारेमा आफैँ बढाईचढाई गर्ने साथीलाई “कागजस्तो” भन्ने शब्दावली बोलीचालीको भाषामा लामो समयदेखि प्रयोग हुँदै आएको छ ।
पूर्वीय संस्कृतिको प्रभाव दैनिक जीवनमा घट्दै र पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएपछि हाम्रो संस्कृतिका माया, प्रेम, सहयोग, मेलमिलाप, दान जस्ता विशेषताहरु लोप हुने अवस्थामा पुगेका छन् । भुल्दै गएको आफ्नै संस्कारले व्यक्तिका प्रायः सम्बन्धहरु व्यक्तिगत नाफाघाटामा संचालन भएका देखिन्छन् ।
निश्चित स्वार्थ पुरा गर्न जो सुकैसँग सहकार्य, एकता, घनिष्ट मित्रता कायम गर्ने र आफ्नो स्वार्थ पुरा भएसँगै मित्रता टुटाएर बोलचाल नै बन्द हुनेसम्मका सम्बन्धहरु नेपाली समाजमा सामान्य बन्दै गएका देखिन्छन् । त्यस्ता सम्बन्धलाई विशेषगरी युवा पुस्ताले “कण्डमे साथी” को संज्ञा दिने गर्दछन् । एकपटक प्रयोग गर्न अति उपयोगी हुने र प्रयोग गरेपछि फाल्नै पर्ने योजनामा यस किसिमका सम्बन्धहरु लोकप्रिय बन्दै गएका छन् । राजनीतिकर्मीले भने यस्ता सम्बन्धलाई वैधता दिन “राजनीतिमा असम्भव केही हुन्न” भन्दै आफ्ना जस्तासुकै निर्यणहरु समेत ढाकछोप गर्ने गर्छन ।
नाम कम्युनिष्ट भएपनि समाजवादी चरित्र समेत त्याग्न थालेका नेताहरुमा बढ्दै गएको व्यक्तिवादले कतिपय अवस्थामा आफ्नै कार्यकर्तालाई समेत बिझ्ने गरेको देखिन्छ र सुनिन्छ । व्यक्तिगत शक्ति आर्जनको लागि पार्टीको आन्तरिक जीवन नै अस्तव्यस्त बनाएको सुनिन्छ । सानो स्वार्थले आफु सहभागी हुने कार्यक्रम बोल्ने भाषा, विषयवस्तु, सहभागी हुनुपर्ने कारणबारे स्थानीय कमिटीसँग समन्वय र सूचना संकलन गर्न समेत जरुरी ठान्दैनन् । बढ्दो व्यक्तिवादी चिन्तनले पछिल्लो मारमा पूर्व एमालेका जननिर्वाचित राष्ट्रिय नेताहरु परेका देखिन्छन् । जसलाई तन्नेरी भाषामा “कण्डमे नेता” भन्ने गरिन्छ ।
यसको पछिल्लो उदाहरण हो, कपन स्थित एउटा नीजि विद्यालयको सामान्य कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलको तेश्रो वरियताका नेता झलनाथ खनाल प्रमुखको उपस्थिति । धेरैलाई लाग्न सक्छ विद्यालयको कार्यक्रममा पूर्व प्रधानमन्त्री आउनु सामान्य विषय हो, यद्धपी एउटा सामान्य नीजि विद्यालयको अति सामान्य कार्यक्रममा राष्ट्रिय स्तरका नेताहरु सहभागी हुँदा कार्यक्रमको महत्व र उचाई बुझ्नु पर्छ कि पर्दैन ?
स्थानीय पार्टी नेताले बताए अनुसार न खनालले आफू आउनु भन्दा अगाडि स्थानीय संगठनलाई सोध्न जरुरी ठाने न विद्यालय संचालकको पृष्ठभूमि नै बुझे । नजिकै रहेको सामुदायिक विद्यालयको १० वर्षे नेतृत्वमा रहँदा एकपटक पनि विपक्षी पार्टीका नेतालाई प्रमुख स्थान नदिने शिक्षा व्यवसायी, जसले नेपाल सरकारको प्रचलित शैक्षिक नियमको विपरित सरकारी तलब खाएर सरकारी विद्यालय व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारीमा रहँदै गर्दा केही सय मिटर पर नीजि विद्यालय संचालन गरी आफ्नो पदको दुरुपयोग गर्दै सरकारी जिम्मेवारीलाई नीजि विद्यालय र पार्टी हितमा प्रयोग गरे ।
अर्का स्थानीय नेता भन्दै थिए, खनालले त्यहीँ मन्चमा उभिएर उनको विद्यालयको प्रशंसा गर्दै थिए, जहाँ विद्यालय संचालकले उनको पार्टीका उम्मेदवार हराउन नेपाली कांग्रेस कार्यकर्ता मार्फत क्षमता विकासको नाममा केहि हजार युवाहरुलाई भाषणकला, कार्यक्रम संचालन, रेडियो कार्यक्रम संचालन जस्ता आकर्षक कार्यक्रम निर्माण गरी काँग्रेस पार्टीको संगठन विस्तारको आधारशिला तयार गरेका थिए ।
विद्यालय संचालकको निमन्त्रणालाई बूढानीलकण्ठ नगरपालिकाका प्रमुख र उपप्रमुखले वेवास्ता गरे । त्यतिमात्र होईन, नगरपालिकाले न्यायिक समितिका सदस्य पठाउन समेत आवश्यक ठानेन । वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारीले औपचारिकता पुरा गर्न समेत जरुरी ठानेनन्, वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई र १२ का वडाध्यक्ष शम्भु भट्टराईले आफ्नै पार्टीका सम्मानित नेताले नबोल्दै सँगैको मंच छोडेर कार्यक्रम स्थलवाटै बाहिरिए । यी सबै घटनाहरु संयोग मात्र होईनन, अर्का नेकपाका स्थानीय नेताले थपे ।
दोश्रो घटना सरकारले उपलब्ध गराएको जग्गामा शहिद जीवराज आश्रीत परिवारलाई बस्ने घर बनाउन सहयोग गर्ने राधिका पोखरेलको चर्तिकला हो ! प्रवासमै रहेर एमालेलाई सहयोग, समर्थन वा विशिष्ट योगदान पुर्याउन सक्छिन् । थोरै सहयोग गरेर स्वघोषित वरिष्ठ समाजसेवी पनि हुन सक्लिन । उनले गरेका राम्रा कामहरु प्रशंसनीय वा प्रेरणादायी समेत हुन् सक्लान । तर उनले संसारमै कहिँ नभएको चलन जीवराज आश्रित जस्तो राष्ट्रिय शहिदको अपमान गरी परिवारका जीवित सदस्यलाई दवाव दिएरै गरिन् । त्यसलाई स्थानीय पार्टी नेताहरुले जानेर वा बुझपचाएर स्वीकार गरे ।
भवन निर्माणमा उनको पुरा लगानी पनि होईन तर सहयोगी मध्ये उनले धेरै लगानी गरेकी होलिन् । यद्धपी शालिकमा भवन निर्माण समितिको नाम सहित आफ्नो रङ्गीन फोटो नै राखिन् । त्यतिले मात्र उनको प्रचार भोक तृप्त हुन सकेन् । पार्टीका अध्यक्ष सहित ३ पुर्व प्रधानमन्त्रीलाई आमन्त्रण गरी घर बाहिरको शालिक अनावरण गराईन । जहाँ आफ्नो रङ्गीन फोटो समेत सजिएको थियो ।
कामको शिलशिलामा उनी फेरी अष्ट्रेलिया फर्किन् । देशका ३/३ जना पूर्व प्रधानमन्त्री आएको कार्यक्रममा आफू साना ठूला सबै संचार माध्याममा छाउने पोखरेल सपना पुरा भएनछ । व्यक्तिगत सन्कीको भरमा पत्रकार बोलाएर सोही स्थानमा निर्माण गरिएको शालिक ढालेर फेरी सोही स्थानमा निर्माण गरी मन्त्री र पार्टीका उच्च नेता बोलाउन सके, देशभर आफ्नो प्रचार हुने सोचाईले शहिद पत्नी र परिवारका सदस्यले हुँदैन भन्दा भन्दै उनले पेलेरै योजना सफल बनाईन् ।
व्यक्तिगत वा पार्टीगत सम्बन्धको आधारमा तत्कालीन एमाले महासचिव तथा रक्षामन्त्रीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिन् तर उनी आएनन् । पार्टीनेता पोखरेल ठूलो भएर नआएको आरोप लगाउँदै लोकप्रिय नेता तथा मन्त्री लालबाबु पण्डित आएको भन्दै निकै प्रसंशा र सम्मान ब्यक्त गरिन् । तीन प्रमुख नेताले अनावरण गरेको सोहि स्थानको शालिक निहित स्वार्थमा पुर्ननिर्माण गरी अनावरण गर्ने कार्यक्रममा रक्षामन्त्री तथा तत्कालिन महासचिव ईश्वर पोखरेल, विशिष्ट अतिथिका रुपमा निम्त्याइएका नेकपाका नेता तथा परराष्ट्रविद् डा. राजन भट्टराई कसरी सहभागी हुन सक्थे र ?
अन्तिम समयमा नेताहरुले राधिकाको प्रचार भोक बुझेर कार्यक्रम बहिष्कार गरे । जनप्रिय नेता तथा मन्त्री लालबाबु पण्डित भने आश्रितको नामले नतमस्तक भएर गर्वका साथ कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भए । उनी आउनुभन्दा अघि न स्थानीय पार्टी संगठनलाई वास्तविकता बुझ्न जरुरी ठाने न पार्टी नेताले पछिल्लो समयमा रद्द गरेको कारण बुझ्न चाहे ।
लामो समयदेखि स्थानीय कार्यकर्ताहरु पार्टी निर्माणमा मैनबत्ति बनेका छन् । नेताहरु आलोपालो सत्ताको स्वादमा रमाईरहेका छन् । उनीहरुले आफ्नो विगत वा ईतिहासलाई हेर्न जरुरी नै ठान्दैनन् । विगत हेर्दा आफू रुढिबादी हुने डर छ । विदेशी राष्ट्र प्रमुख आफ्नो छेउमा आफैँ छाता ओडेर फटाफट हिड्दै गर्दा नेपाली क्रान्तिकारी कम्युनिष्ट नेताहरु कर्मचारीलाई छाता ओडाएर हिड्न लाज मान्दैनन् । विदेशी राष्ट्र प्रमुखको स्वागतमा अतिथिलाई ध्यान नदिई फोटो पोजिसन दिँदै लाज पचाएरै ङिच्च हाँस्छन् ।
हिजोदेखि आजसम्म पार्टीलाई निस्वार्थले सेवा गर्ने कार्यकर्ता र नागरिकहरुको अवस्था जहाँको त्यहिँ छ । सुनेर, भोगेर, जानेर पनि राष्ट्रिय नेताहरु सिमित स्वार्थका कारण आफ्नो गरीमा विर्सिएर गर्ने व्यवहार, बोलि र उपस्थितिले आफ्नालाई पार्ने प्रभाव प्रति ध्यान नै दिंदैनन् ।
विशेषगरी कम्युनिष्ट नेताहरुले आफ्नो उपस्थिति, बोली, व्यवहार र चरित्रलाई रुपान्तरण नगर्ने हो भने मंचमा हल्लिएर बोल्दा बोल्दै ठूलो भुडी थेग्न नसकी सानो पेटी चुडिएर पाईन्ट र कट्टु समेत खस्छ, सुनिरहेका कार्यकर्ता लाजले हेर्न नसकी आखाँ छोप्छन । बोल्ने नेतालाई आफ्नो बोलीको प्रभावले आखाँ नै बन्द गरी कार्यकर्ताले सुने भन्ने भ्रम सिर्जना हुन दशक बढी कुर्नु नपर्ने अवस्था देखिन्छ ।
यो पनि पढ्नुहोस्