२५ भदौ २०७५, काठमाडौं
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत् सहप्राध्यापक, आधुनिक नेपाली गद्यकविताका प्रखर कवि, साहित्यकार एवं प्राचीन तथा मध्यकालीन नेपाली भाषाका अनुसन्धाता डा. विदुर चालिसेसँग परिवर्तन खवरका प्रबन्ध सम्पादक अजय वाणप्रस्थीले आजको नेपाली गद्यकविताको परिवेशका साथै नेपाली साहित्यका विविध विषयमा केन्द्रीत रहेर लिएको अन्तर्वार्ता को मुख्य अंश :
अजय वाणप्रस्थी : तपाईको विचारमा साहित्य के हो ? कसरी परिभाषित गर्नुहुन्छ ?
डा.विदुर चालिसे : साहित्य, मानवको चेतना विकास एवं अस्तित्वको विषय हो । आफ्ना विचारवान् कल्पनाहरूलाई विषयवस्तुको मेरूदण्डमा अड्याएर कलात्मक शैली एवं उन्मुक्त भावचेतनाका मार्फत जीवनजगत्का खास सत्यको रहस्योदघाटन गरिदिनु अनि प्रस्तुत विषयमार्फत मानव समाजका खास अनुभूतिहरूलाई खास जीवनसँग प्रकट गराइदिनु नै साहित्य हो ।
अर्को अर्थमा परिवेशमा रहेका प्रकृति, जीवन र प्रेम बीचको सम्मिलनबाट उत्पादित, विचार, घटना, आदर्श, मूल्य एवं मान्यताको चरम अनुभूतिमा उत्कर्षको मस्तिष्क प्रक्षेपण नै साहित्य हो । साहित्यका परिभाषामा अटाउने विभिन्न विधाहरूमध्ये कविता विधा गेयात्मक परम्पराको विशिष्टता हो ।
अजय वाणप्रस्थी : साहित्यको मानव जीवनमा के उपयोगिता छ ?
डा.विदुर चालिसे : जसरी प्रकृति विना जीवको उत्पादन र विकास, चेतना विना कल्पनाको प्रयास र मनोविज्ञानको उद्बोदन तथा प्रेमसँग कोमलताको संलग्नता जस्तो हुन्छ । साहित्य पनि मानव जीवनका लागि अत्यन्त उपयोगी विषय हो ।
विशेषत् यो कल्पनाको फूलबारीबाट साहित्यको सिर्जना हुने हुँदा स्वभाविक रूपमा साहित्यले मानव जीवनको सुख, दुख, पीडा, निराशा, उत्साह, उमंग, छटपटी आदिलाई अनुभूतिका रूपमा प्रकट गरिदिने हुँदा, मानव मस्तिष्कले साहित्यका तिनै मर्महरूको स्वादन, प्रकटीकरण वा अनुशीलनबाट आफ्नो जीवनमा आनन्दको भोग गर्दछ । जुनसुकै भावमा लेखिएको साहित्य भएपनि खासमा साहित्यले मानिसको विभिन्न अवस्थामा रहेको भावानुभूतिका माध्यमले आत्मसन्तुष्टि प्रदान गर्दछ ।
साहित्यले मानिसका यावत् प्रवृत्तिहिरूलाई भेट्टाउनु पर्दछ । आफ्ना मनका आवाजलाई पाठकहरूले भेट्टाउन सके र सर्जकहरूले ती व्यतित एवं कुण्ठीत आवाजहरूलाई आफ्ना साहित्यकलाका मार्फत पाठक वा स्रोताका बीचमा पुर्याइदिन सके भने त्यस्तो साहित्यले समग्रतामा मूल्य स्थापित गर्दछ । अनि त्यही साहित्य मानव जीवनका लागि सत सावित हुन पुग्दछ ।
जब कुनै प्रकृतिका विभिन्न घटना, परिघटना, अवस्था, परिस्थिति एवं परिवेश, सामाजिक जीवनका विविध व्यवहार तथा नियमित सामाजिक गतिविधि, मानव मनका बीचमा उत्पादित विभिन्न मनोतरंग एवं सामाजिक सांस्कृतिक प्रभावहरूले मानिसको व्यवहारिक जीवनलाई डोर्याइरहेको हुन्छ ।
त्यतिबेलाको मानव जीवनका भोगाइमा आएका यावत् सन्दर्भहरू साहित्यकारका भाव चेतनामा उकुसमुकुस भएर लहरिन्छन् । त्यस्तो अवस्थामा साहित्य सिर्जना र उपयोगका माध्यमले आम मानिसहरू आफ्नो जीवनको तत्क्षणिक सुखको अनुभूति गर्न पुग्दछ भने पाठक वा स्रोताहरू पनि साहित्यकारको रचनामार्फत आफ्ना मनका भाव तरंगहरूलाई सापेक्षित रूपमा सिर्जनाभित्रका विभिन्न घटनाक्रममा संलयित भएर साहित्यको अध्ययनमार्फत सुखानुभूति अनुभव गर्न पुग्दछन् ।
साहित्यबाट नै मानिसहरूले नयाँ विषय जान्ने, बुझ्ने र सिक्ने काम गर्दछन् । तसर्थ साहित्य मानव जीवनको अत्यन्त उपयोगी विषय हो ।
अजय वाणप्रस्थी :यहाँको दृष्टिमा काव्यलाई कसरी परिभाषित गर्न सकिन्छ ?
डा.विदुर चालिसे : ‘काव्य’ शब्दले वैदिक संस्कृतको आदिग्रन्थ ‘ऋग्वेद’(कम्तीमा इ.पू. पन्ध्रौं शताब्दी)देखि लौकिक संस्कृत, प्राकृत अपभ्रंश हुँदै नेपालीको आधुनिक युगसम्मका विभिन्न खुड्किलाहरू पारगर्दै एवं व्यहोर्दै आएको कविता विधाका सूक्ष्म संरचनाका मुक्तकदेखि प्रबन्ध काव्य(गीतिकाव्य, खण्डकाव्य तथा महाकाव्य) सम्मका संरचनालाई बुझाउँछ ।
‘काव्य’ शब्दलाई पूर्वीय साहित्यिक दर्शनको संस्कृत साहित्य शास्त्रीय मान्यतामा कविको भाव ‘कवित्व’ वा ‘कविकौशल’ को प्राप्तिका रूपमा बुझेको पाइन्छ । कविको कर्म, कार्य, क्रिया वा कृति वा कृतित्वका तात्पर्यमा काव्यलाई कविकृत रचना वा सिर्जना मानेको भेटिन्छ ।
त्यस्तै पाश्चात्य परम्परामा प्राचीन ग्रीसदेखि नै कवि र काव्यको चर्चा थालिएको पाइए पनि प्राचीन ग्रीसका आदिकवि होमरेस(होमर)देखि नै काव्यसृष्टिको तत्वजिज्ञासा थालियो भन्ने मान्यता प्रबल रूपमा रहेको छ । त्यसपछि प्लेटो र अरस्तुले काव्यका सन्दर्भमा आफ्ना आफ्ना व्याख्या गरे तापनि ‘पोइट्री’ भन्ने शब्दलाई नै ‘काव्य’ शब्दको रूपमा परिभाषित गरेको देखिन्छ ।
सचेत प्राणीअन्र्तगत आउने सृष्टिपिण्ड हो मानव । मानव मनोवृत्ति आफ्नो सचेतताअनुसार विविध ज्ञान सामग्रीद्वारा आप्लावित हुन्छ । यी मनोवृत्तिगत सामग्री भावनात्मक प्रवाहमा बगी समानसम्मुख मुखरित हुन लालायित बन्दै आत्माभिव्यक्तिको क्रममा जनसमक्ष भएर आउन प्रेरित हुन्छन् । जो स्वभावत: मानव हृदयमा उद्बुद्ध हुने एकप्रकारको स्थितिबाट सिर्जित सिर्जना नै आत्माभिव्यक्ति हो, जसलाई पूर्वीय तथा पाश्चात्य परम्परामा काव्यको रूपमा हेरिन्छ ।
यसै सन्दर्भमा काव्यको समग्र परिभाषालाई हेर्दा ‘अभिव्यक्तिका माध्यमबाट भावनात्मक प्रतिक्रियागत अभिलेखलाई स्थायित्व दिएर मानव समाजलाई विशेष प्रस्तुती दिनु’ नै काव्यको परिभाषाको बान्कीमा राखिदिएको पाइन्छ ।
तसर्थ पूर्वीय तथा पाश्चात्य साहित्य शास्त्रीय परम्पराका आधारमा काव्यका परिभाषाहरू जस्ता भए पनि आधुनिक विश्वसमाजका मानवीय चेतनामा आएको वैज्ञानिक खोज, अनुसन्धान तथा उपलव्धीले साहित्यका तिनै पूर्वबर्ती सिद्धान्तका मुख्य मौलोमा केही नवीन दृष्टिकोणहरू पनि जोडिएर आएका देखिन्छन् ।
शास्त्रीय रूपमा सीमाबद्ध केही रूपगत संरचना वा खाकाका मान्यताका बीचमा विशेषत् कविता विधाका केही नयाँ रूपगत एवं शैलीगत ढाँचा र बान्कीहरूले आजको विश्व काव्य बजारलाई नयाँ परिभाषातिर लैजान खोजेको समेत देखिन्छ ।
तसर्थ काव्यका अथाह प्रतिभा, विश्लेषक वा समीक्षकहरूले आफ्ना आफ्ना कोणबाट काव्यको परिभाषा समेत गरेको देखिन्छ । तसर्थ काव्यको परिभाषा ‘खास ढाँचामा संरचित, आत्माभिव्यञ्जित, मानव समाजका लागि प्रस्तुत भावनापुञ्जहरूको अभिलेख’ नै काव्य हो भन्न सकिन्छ ।
अजय वाणप्रस्थी : यहाँको विचारमा काव्य को उपयोगिता र सान्दर्भिकता के हो ?
डा.विदुर चालिसे : काव्य को उपयोगिता मानव जीवनको विभिन्न आरोह अवरोहमा देखापर्ने घटनावलीहरूलाई साहित्य कलाको कलात्मक चेतनाका आधारमा सर्जकको मन मस्तिष्क माझबाट उत्पादित सामग्रीले समाजमा रहेका विभिन्न तह तप्काका मानिसहरूका भावना, चेतना, विचार, आदर्श र आवश्यकतालाई अन्तर मनसम्म छुने गरी सिर्जित काव्यले जीवनको सौन्दर्य र उल्लासलाई आत्मसात् गरिदिंदा खास अर्थमा साहित्य सिर्जनाको उपयोगिताको महत्व ठहरिन्छ ।
त्यस्तै साहित्यले मानिसको जीवनमा दिने गुण वा दोषको सन्देश प्रवाहले तिनका मनमा पार्ने प्रभाव नै साहित्यको सान्दर्भिकता हो । तसर्थ साहित्यको उपयोग र सान्दर्भिकता एक आपसका परिपूरक पनि हुन् । सर्जकको चेतनाले ठम्याएका विषयवस्तुमा आधारित बिम्ब वा प्रतीकहरूले दिन खोजेको सन्देश पाठक वा स्रोताको मनमा कति गहिराइसम्म प्रभाव छोड्न सक्छन् । त्यसैले नै साहित्यको मूल्य जँचिन्छ अनि उपयोगिता र सान्दर्भिकताको महत्व त्यहीं प्रकट हुन्छ ।
अजय वाणप्रस्थी : गद्य काव्य (गद्यकविता) को प्रारम्भका बारेमा केही बताइदिनुहुन्छ कि ?
डा.विदुर चालिसे : अघि नै उल्लेख गरिए झैं ‘काव्य’ शब्दले वैदिक संस्कृतको आदिग्रन्थ ‘ऋग्वेद’देखि नै परिभाषित गरेको छ । तथापि चार चरणले युक्त श्लोक वा कविताको अर्थ दिने छन्दसहितको रचनालाई पद्य तथा छन्दविहीन रचनालाई गद्यकविताको रूपमा पूर्वीय साहित्यमा व्याख्या गरिएको छ । त्यस्तै पाश्चात्य परम्परामा पनि प्राचीन ग्रीसदेखि नै कविहरूले काव्यको रचना गर्दा भर्स(पद्यकविता बान्की) तथा फ्री भर्स(गद्यकविता बान्की)को रचना गरेको पाइन्छ ।
विभिन्न कालखण्डका कवि एवं समीक्षकहरूले यस बारे चर्चा थालिएको पाइए पनि प्राचीन ग्रीसका आदिकवि होमरेस(होमर)देखि नै यसको सूक्ष्मतम रूपमा गद्यकविताहरूको बान्की फ्री भर्सको रूपमा केही प्रयोग भएको भेटिन्छ । त्यसपछि प्लेटो र अरस्तुले काव्यका सन्दर्भमा आफ्ना आफ्ना व्याख्या गरे तापनि ‘भर्स’ भन्ने शब्दलाई नै ‘पद मिलेका’ र ‘फ्री भर्स’ भन्ने शब्दलाई नै ‘पद नमिलेका’ शब्दको रूपमा परिभाषित गरेको देखिन्छ । यस अर्थमा हेर्दा पूर्वीत तथा पाश्चात्य साहित्य सन्दर्भलाई केलाउँदा प्राचीनकालदेखि नै दुवैतर्फ गद्यकविता लेख्ने र परिभाषाहरू खोज्ने काम भएको देखिन्छ ।
नेपाली गद्यकविताको सन्दर्भमा सबैभन्दा पहिला औपचारिक रूपमा क्रान्ति चेतको उद्घोषसाथ गोपालप्रसाद रिमालले नेपाली कविता विधाको सिर्जनकलामा स्थापित पद्यकविताको शैैलीगत परम्पराको मान्यतालाई तोड्दै गद्यकविता बान्कीमा आधुनिक नेपाली कविता सिर्जनाको प्रारम्भ गरेको देखिन्छ ।
नेपाली गद्यकविताका क्षेत्रमा गोपालप्रसाद रिमालको कविता लेखनको उदयले पछ्याएका भूपी शेरचन, बालकृष्ण सम, मोहन कोइराला, ईश्वर बल्लभ, बैरागी काइँला, क्षेत्रप्रताप अधिकारी, कालीप्रसाद रिजाललगायत् एवं छत्तीस सालपछिको समयामयिक धारापछिका जीवन्त कविहरूका स्वशैलीगत सिर्जन कलाले हालको नेपाली गद्यकविता परिपुष्ट बनेको छ ।
अजय वाणप्रस्थी : गद्यकविता र अन्य कविता ढाँचामा के भिन्नताहरू छन् ?
डा.विदुर चालिसे : गद्यकवितामा मात्रा वा अक्षर गणना गरेर खास ढाँचाको लयात्मक शैलीमा कविताको मोडलको रूपमा प्रयोग गरिदैन । यसका लेखकीय आफ्नै स्वशैलीगत ढाँचा एवं वाचन कलाहरू हुन्छन् । कविता संरचनाको वाक्यात्मक घटकहरूमा गरिने संचलन, विशेष शब्दहरूमा गरिने उच्चारण वा लयगत बलाघात, कृदन्तीकरणका आधारमा कवितात्मक वाक्यसंरचनाको संयोजन, कवितामा प्रयुक्त भाषाको संरचना भंगक्रम र शीर्षक र कवितात्मक सन्देशबीचको कसिलो भावव्यञ्जना यसको प्रमुख आधार हो भने यसलाई परम्परागत रूपमा मुक्त शैलीको रूपमा लिइन्छ । बरू ‘एलाक’ जस्लाई ‘एक लाइन कविता’ भनिन्छ । यस्ता कविताहरूका बान्कीहरूले भने चाँहि गद्यकविताका बान्कीहरूलाई साथ दिएको पनि देखिन्छ ।
त्यसै गरी प्रचलित गेयात्मक शब्दचयन र प्रयोग, प्राय अन्त्यानुप्रास विहीन, प्रतिकात्मकता अनि बिम्बहरूको प्रयोग यसको अर्को मान्यता हो । तर अन्य(पद्यकविता, गजल, हाइकु, तान्का) जस्ता कविताहरूका बान्कीमा अक्षर वा मात्रा गन्ने, ध्वनि पुनरूक्ती गर्ने, अन्त्यानुप्रास मिलाउने वा शास्त्रीय सूत्रहरूलाई प्रयोग गरिने काम गरिन्छ । परम्परागत रूपमा यसलाई बद्ध शैलीको रूपमा लिइन्छ ।
अजय वाणप्रस्थी : नेपाली भाषामा गद्यकविताको उदय र यसको पृष्ठभूमि बारेमा केही भनिदिनुहुन्छ कि ?
डा.विदुर चालिसे : विशेषत् परम्परागत पद्य कविता शैलीमै रमाइरहेको नेपाली भाषाको कविताको क्षेत्रमा राणा शासनले नेपाली समाजमा पारेको दमनको पीडा र त्यस पीडाबाट उन्मुक्त हुन चाहेको नेपाली समाजको मनोविज्ञान तथा वि.सं. १९८६ तिर नेपालीहरूका मनका उत्पीडनका बीचमा जन्मिएको संगठीन राजनीति आन्दोलनका लागि गठन भएको प्रजा परिषद्देखि नेपाली उकुसमुकुस उत्पीडन, अभाव, गरिबी, छुवाछुत तथा तड्पाइका भावनाले समुल रूपमा नेपाली कविहरूका मनमा पारेको विद्रोहको प्रभाव स्वरूप कविताका विषयवस्तुमा मात्र नभई कविताका शैलीमा पनि विद्रोहको स्वरप्रकट गर्ने क्रममा प्रजा परिषद्को राजनीतिक अभियानसँगै पछि जन्मिएका कांग्रेस तथा कम्युनिष्ट पार्टीहरूको आन्दोलनको प्रभाव र तयारीका बीचमा क्रान्तिचेतका प्रखर कवि गोपालप्रसाद रिमालबाट नै वि.सं. १९९२ सालमा ‘कविताको गान’ बाट नै हल्का रुपमा गद्यकविताको शैली र ढाँचा प्रस्तुत भयो भने विजय मल्ल पनि यसै धरातलको गद्यकविताका बान्किला स्वरमा उदाए ।
तथापि गोपालप्रसाद रिमालले वि.सं. २००६ सालमा प्रकाशित ‘आमाको सपना’ कविता गद्यकवितामार्फत आफ्ना गद्यकविताका औपचारिक प्रखर शैलीमार्फत गद्यकविताको सैद्धान्तिक रूप प्रस्तुत गरे । यद्यपि महाकवि देवकोटाका कतिपय कविता बान्कीमा गद्यकविताका रमरम प्रयोग नभएका भने होइनन् तर पनि समयक्रमका क्रान्ति सन्दर्भहरूलाई जोडेर गद्यकविताको सैद्धान्तिक व्याख्या रिमालबाटै गरिन्छ ।
जसरी गद्यकविताले विभिन्न चरणको देशको क्रान्ति आन्दोलनहरूमा आफ्ना अभियानहरू चाल्यो । वास्तवमा गद्यकविताको उर्वरता र कविहरूको कविता प्रस्फुटनको समय सन्दर्भ क्रमश वि.सं.२००७, वि.सं.२०१७, वि.सं.२०३६, वि.सं.२०४६, वि.सं.२०६२÷६३ का आन्दोलनहरू प्रमुख रहे । यस समयका कविताका स्वरहरू क्रन्ति चेतना, विद्रोह, प्रगतिशीलता, अभाव एवं पीडा आदिमा केन्द्रीत रहेर धेरैभन्दा धेरै कविहरूले गद्यकविताहरू लेखिदिए ।
अजय वाणप्रस्थी : नेपाली भाषा साहित्य र विशेष गरी कवितामा हाल प्रमुख प्रवृत्तिहरू के के छन् ?
डा.विदुर चालिसे : नेपाली साहित्यको सिर्जनात्मक लेखनको शुरूवात वि.सं. १८२५ को मानिएको सुवानन्ददाशको ‘पृथ्वी नारायण’ भन्ने कवितालाई नेपाली भाषाको पहिलो सिर्जनाको रूपमा मानिन्छ । यसभन्दा अघि विभिन्न समयमा लेखिएका ताम्रपत्र, रजतपत्र, कनकपत्र, स्वर्णपत्र, शिलालेख, भोजपत्र, ताडपत्र, सनद्सवालहरू तथा स्याहाश्रेस्ताहरूका साथै संस्कृत एवं ब्रज भाषाबाट तत्कालीन नेपाली भाषामा अनुवाद गरिएका लेख्य संरचनालगायत्का विषय वा प्रसंगहरूले नेपाली भाषाको विस्तार, प्रभाव र प्रयोगमा पर्याप्त सहयोग गरेको छ ।
पृथ्वीनारायण शाहको वि.सं. १८३१ को भनी प्रकाशमा आएको दिव्योपदेशभन्दा अगाडि सिर्जनात्मक नेपाली साहित्यले आफ्नो अगाडिको पाइला सार्न सकेको थिएन । तर पनि संस्कृतलगायत अन्य देशीय भाषामा रहेका ज्योतिष, औषधोपचार, ग्रह नक्षत्र, आनीबानी तथा शिकार विद्याजस्ता मूल ग्रन्थका अन्य भाषाहरूबाट नेपाली भाषामा अनुवाद गरी विभिन्न प्रतिभाहरूले नेपाली भाषाको साधना गरेको देखिन्छ भने साहित्य विधा अन्तरगत मूलत: संस्कृत भाषामा रहेका वेद, पुराण, रामायण, महाभारत, मनुस्मृति एवं गीताका उपजीव्य कथावस्तुको केन्द्रमा रहेका विभिन्न संस्कृत साहित्यिक विधाका कथा, नाटक एवं कविताहरूलाई अनुवाद गरेर नेपाली साहित्यको शून्यताको बीचमा प्रचारित एवं प्रसारित गरिने काम गरिएको पाइन्छ ।
तसर्थ नेपाली साहित्यको युग सिर्जनाका हिसाबले पृथ्वीनारायण शाहको शासन कालभन्दा अगाडि जानसकेको देखिंदैन । नेपाली साहित्यको समग्र विधागत हिसाबले पृथ्वीनारायण शाहको शासनकालको सेरोफेरोमा सिर्जनात्मक साहित्यको प्रारम्भ भएको र त्यसभन्दा अगाडि अनुवाद कालको रूपमा मात्र रहेको स्पष्ट छ ।
नेपाली भाषाको इतिहास भने प्राचीनकालको प्रारम्भदेखि पृथ्वीनारायण शाहको शासन कालको सरोफेरोसम्म आइपुग्दा अत्यन्त समृद्ध रूपमा अगाडि बढिसकेको कुरा भाषावैज्ञानिक खोज तथा अनुसन्धानका तथ्यहरूले प्रमाणित गरिसकेको विषय हो । भाषाको समृद्धिको इतिहास पृथ्वीनारायण शाहको शासन कालसम्म अत्यन्त प्रखर बनिदियो भने साहित्य सिर्जनाको इतिहास प्रस्थान विन्दुको रूपमा रहिदियो ।
विशेष गरी नेपाली कविता विधाको प्राचीनकाल विरतावादी चेतना, भक्तिवादी चेतना एवं श्रृंगारिक चेतनाबाट अगाडि सरेको देखिन्छ । त्यसै गरी माध्यमिक कालका कविताहरूमा सशक्त रूपमा श्रृंगारिक भावधाराको चेतनाको अगुवाइमा भक्ति तथा विरधाराका प्रवृत्तिहरू पनि सँगसँगै अगाडि बढेको देखिन्छ ।
साथै यो समयमा उर्दू फारसीका नमूना कविता बान्की र गजलका शैलीहरू पर्याप्त प्रयोग भएको भए तापनि श्रृंगारिक भाव चेतनाको परिष्कारवादी धरातललाई कुल्चेर प्रकृतिपरक स्वच्छन्दावादी प्रवृत्तिका कविताहरू पनि सल्बलाए जसका कारण आधुनिक नेपाली कविताले यो कालको प्रारम्भमा स्वच्छन्दवादी प्रवृत्तिहरू देखायो ।
प्रजातन्त्रको उदयसँगसँगै प्रगतिवादी नेपाली कविताहरूको स्वर, यथार्थवादको कलेवरमा विसंगतीबोधको स्वर, नेपाली सामाजिक आन्दोलनका कुण्ठाहरूका बीचमा जटिल एवं दुर्बोध्यता, यथार्थवादको विगतको संलयनमा मनोवैज्ञानिक एवं समसामयिक स्वरका रूपमा विभिन्न कविहरूका कविताहरूमा प्रवृत्तिका स्वरूपहरू देखापरे ।
तसर्थ नेपाली कविताको प्रवृत्तिगत दृष्टिले विरतावादी चेतनाबाट उठेको कविताका प्रवृत्तिहरू आजका समसामयिक नेपाली मनका विद्रोहका कुण्ठा, निराशा, अभाव, आवश्यकता, राष्ट्रिय एकता, विदेश पलायनका मर्म तथा तिनसँग जोडिएका विषयवस्तुमा आधारित सिर्जनात्मक प्रवृत्तिहरू भएर देखिएका छन् ।
अजय वाणप्रस्थी : नेपाली गद्यकवितामा प्रवृत्तिहरू के के छन् ?
डा.विदुर चालिसे : नेपाली गद्यकविताको प्रारम्भिक चरणका कविताहरूका बारेमा माथि पनि चर्चा गरिसकिएको छ । तथापि गद्यकविताको प्रवृत्तिगत दृष्टिकोणले हेर्ने हो भने प्रारम्भदेखि हालसम्म क्रान्ति चेतनाका धरातलमा यथार्थवादी, प्रगतिवादी एवं समसायिकी प्रवृत्तिहरू नि:शर्त रूपमा कविहरूका गद्यकविताहरूमा अग्रगामी विषयवस्तु बनेर देखिएका छन् । तरपनि यस चेतका धरातलमा छेउकुनामा संलयित भएर आएका विकृति विसंगतीप्रति व्यंग्य चेत, कुण्ठीत एवं जटिल प्रस्तुती शैलीका कारण दुर्बोध्य कविताहरूले पनि परिवर्तनमुखी जीवनदृष्टिलाई आत्मसात गरेको देखिन्छ । मूलत नेपाली गद्यकविताको उर्बरताको अवस्था विभिन्न कालखण्डमा भएका जनविद्रोहको प्रमुख कारक तत्वका आधारमा जीवनका सापेक्षताका आवश्यक गद्यकविताले प्रवृत्ति र स्वरहरूलाई मूल रूपमा अँगालेको देखिन्छ ।
अजय वाणप्रस्थी : आफ्नै गद्यकविताका प्रवृत्तिहरू के के हुन् ?
डा.विदुर चालिसे : यो बडो कठीन प्रश्न हो मेरा लागि, तर पनि वि.सं.२०४७ सालमा प्रकाशित ‘युगबोल्छ’ भन्ने कवितासंग्रहमा प्रकाशित कविताहरूमा प्रगतिवादी चेतले ओतप्रोत भएका अनि प्रवृत्तिका रूपमा मूलत तत्कालीन समाजको विकृति विसंगतिप्रति आक्रोसका स्वरहरू उक्त संग्रहका कविताहरू देखिन्छन् ।
वि.सं.२०५१ सालमा लघुकाव्यका रूपमा प्रकाशित अर्को कृति ‘सिसिफसको श्रापित मांसपिण्ड’ हो । यस काव्यमा मूलत नेपाली समाजको अस्तित्ववादी चेतनाको धरातलमा ग्रीसेली मिथकमा रहेको ‘सिसिफस’ भन्ने पात्र जीवनप्रति आशावादी रहेको तर जीवनको उपलव्धी निराशामा गएर टुंगिएको कथ्यतालाई आधार बनाएर वर्तमान नेपाली समाजमा एउटा सतत् परिश्रमी पात्र कसरी परिस्थिति एवं परिवेशले उसलाई निराशामा बदलिदिन्छ भन्ने मान्यतामा आधारित रहेको छ । उक्त कृतिमा पनि अनस्तित्वप्रतिको मान्यतामा विरोध, विद्रोह एवं जीवनप्रतिको मूल्यबोधको प्रवृत्ति देखिन्छ ।
मूलत प्रगतिशील विचारको कलेवरमा रंगिएको उक्त कृतिले नेपाली समाजको विवशता, परम्परा र धार्मिक आस्थालाई ‘सिसिफस रूपी नेपाली जीवनको पात्र अस्तित्वबोधका लागि चुनौती भोगिदिन्छन् ।
तर वि.सं. २०७४ मा प्रकाशित कवितासंग्रह ‘सेनेगल’ तथा २०७५ मा प्रकाशित कवितासंग्रहहरू क्रमश : ‘स्मृतिका पहाड’ र ‘कोशीका उडान’ मा आधुनिक नेपाली गद्यकविताको लेखकीय परिष्कारका रूपमा अगाडि आएको छ । यी तिनैवटा कवितासंग्रहहरूमा गद्यकविता शैलीका हिसाबले प्रकृति, जीवन र प्रेमको त्रिपक्षीय विषयवस्तुहरूको संयोजनमा समाजका विभिन्न पीडा, निराशा, कुण्ठा, अभाव, अस्थिरता, भ्रष्टाचार, राष्ट्रिय एकता, राष्ट्रिय विद्वैष, राजनीतिक अन्यौलता एवं विकृति आदि बारेका विषयवस्तुलाई समेटेर विभिन्न बिम्ब एवं प्रतीकका माध्यमबाट कविताहरू प्रकट भएका छन् ।
यी तिनैवटा कवितासंग्रहमा मूलत, गद्यकवितामा श्रुतिललित शब्दहरूको प्रयोग र आन्तरिक लय सिर्जना, कथ्य भाषामा केन्द्रीत कोमलता, नवीन प्राचीन कथ्य शब्दहरूको प्रयोग, कथ्यतामा भूतकालिक क्रियाहरूको प्रयोग र अनुभूति, दार्शनिक तहमा प्रगतिशीलताको निरन्तरता, समसामयिक बहुमुखी विषयवस्तुको छनौट, बौद्धिक हार्दिकताका साथ बहुमुखी दार्शनिक चेत, प्राचीन तथा मध्यकालीन समयमा प्रयोग भएका शब्दहरूको प्रयोग, नामधातुका आधारमा क्रिया संरचनाको बनोट र प्रयोग, गद्यकविता भइकन पनि भाषिक प्रस्तुतीमा लयात्मकता, अन्त्यानुप्रासको प्रयोगको अभ्यास, अधिक बिम्बहरूको प्रयोग, एउटै कवितामा अनेकौं बिम्बहरूको स्थापन, कविताको सन्देशात्मक परिस्थितिलाई पाठक वा स्रोता आफैले खुट्याउन स्वतन्त्र छोडिदिनु र कवि स्वयम् कविताको न्यायाधीस नबनीदिनु कवितासंग्रह भित्र प्रकाशित कविताहरूका प्रवृत्तिहरू रहेको अनुभव हुन्छन् ।
तसर्थ अन्त्यमा भन्नुपर्दा कविताले समसामयिक चेतनाको मूल स्वरलाई अँगाल्दै नयाँ गद्यकवितात्मक स्वशैलीलाई मुख्य प्रवृत्तिको रूपमा अँगालेको छ ।
अजय वाणप्रस्थी : गद्यकविताको भविष्य के लाग्छ ?
डा.विदुर चालिसे : गद्यकविता पद्यकवितासँगसँगै दाँजिएर सर्जकहरुको चेतना र सिर्जना कलामा अगाडि बढेको छ । समय सन्दर्भका बीचमा गद्यकविताको भविष्य अत्यन्त राम्रो छ । यो, कविता कलाको छुट्टै एउटा शैलीको रुपमा आएकोले भविश्यका ज्ञानका क्षेत्रमा हुने व्यापकताले गद्यकविता अझ परिष्कृत भएर अगाडि बढ्छ भन्ने विश्वास लाग्छ ।