सडक दुर्घटनामा घाइते राधा बराइलीलाई प्रवासी नेपाली मञ्चको सहयोग



२६ भदौ २०७५, काठमाडौं / पुष्कर शर्मा युएई

प्रवासी नेपाली मञ्च युएईले सडक दुर्घटनामा घाइते भएकी मञ्चकी सदस्य राधा बराइलीलाई आर्थिक सहयोग गरेको छ ।

सडक पार गर्ने क्रममा पछाडिबाट आएको कारले ठक्कर दिएर गम्भीर घाइते भएकी बराइलीलाई  हस्पिटलको उपचारपछि अन्य खर्चको लागि मञ्चका सदस्यहरुले आर्थिक संकलन गरेर २ लाख भन्दा धेरै नेपाली रुपैया सहयोग प्रदान गरेका हुन ।

प्रवासी नेपाली मञ्च युएई राहत तथा उद्धार समितिको समन्वय तथा आबुधावी राज्य कमिटी उपसंयोजक विपिन सापकोटाको अगुवाईमा सहयोग रकम संकलन गरि हस्तान्तरण गरिएको हो ।

गत हप्ता सारजाहको स्विस बेल होटलमा प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई प्रशिक्षण दिइने कार्यक्रम रहेको थियो । प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपालबाट आएका नेकपाका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री युवराज कार्कीको प्रमुख आतिथ्यमा र जनप्रगतिशिल मञ्चका कार्यवाहक अध्यक्ष बाबुराम विश्वकर्माको आतिथ्यमा भएको कार्यक्रममा प्रशिक्षण, अन्तरक्रियासँगै  पिडितलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

प्रवासी नेपाली मञ्च लामो समय देखि राजनीति भन्दा सामाजिक कार्यमा अगुवाई गर्दै अगाडी बढिरहेकोले प्रवासीहरु प्रति लोकप्रिय संगठनको रुपमा स्थापित भईसकेको छ ।

विदेशमा नेपालीलाई परेका सुख दुःखमा साथ दिने संगठनको रुपमा स्थापित संगठनको कार्यलाई प्रशंसा गर्दै पुर्व मन्त्री कार्कीले राजनैतिक, समसामयिक र आफ्ना राजनैतिक जीवनकाल सम्बन्धी कार्यकर्ताहरुसँग चर्चा गरेका थिए ।

नेकपाको प्रवास संगठन एकीकरण कार्यदलमा समेत रहेका कार्कीले अन्तरक्रिया मार्फत प्रवासी कार्यकर्ताका जिज्ञासालाई प्रष्ट पारेका थिए । युएईमा रहेका पुर्व एमाले र पुर्व माओवादीका उल्लेख्य कार्यकर्ताको उपस्थित रहेको कार्यक्रम प्रवासी नेपाली मञ्चका महासचिव भेषराज ढकालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्