नेपाल भारतको ‘ए’ टिमसँग ८ विकेटले पराजित



२९ भदौ २०७५, काठमाडौं

भारतमा जारी चौकोणीय यू–१९ एकदिवसीय क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो हार पनि ब्यहोरेको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा नेपाल शुक्रबार भारतको ए टोलीसंग ८ विकेटले पराजित भएको हो । दोस्रो हारसँगै सिरिजको फाइनल खेल्ने नेपालको सम्भावना कमजोर बनेको छ ।

लखनउमा नेपालले दिएको १५७ रनको लक्ष्य भारतले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा वाई भी राठोदले अविजित ५९ तथा प्रभसिमरण सिंहले अविजित ४६ रन जोडे । यस्तै कप्तान अनुज रावतले ४७ रन जोडे । नेपालका पवन शारफ र कमल सिंह ऐरीले समान १र१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले ६६ रनको अर्धशतकीय इनिङस खेले । यस्तै तृत राज दासले ४६ रन जोड्दा भिम सार्कीले २८ रन जोडे । भारतका अजय देव गड र याई डी माङवानीले ४, ४ विकेट लिए ।

अब नेपालले अफगानिस्तानको यू–१९ टोलीसँग खेल्नेछ । यस अघि पहिलो खेलमा नेपाल भारतको यू–१९ को बि टिमसँग ४० रनले पराजित भएको थियो । भारतको ए टिमको भने यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा अफगानिस्तानको यू–१९ टोलीलाई १४० रनले हराएको थियो ।

भारतीय क्रिकेट बोर्डको आयोजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक एक यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्