एन्फा ग्रासरुट फुटबल क्याम्प इटहरीमा सुरु



३१ भदौ २०७५, इटहरी

बिद्यालय स्तरमा अध्यायन गर्दै आएका बालबालिकामा खेल प्रतिको मोह जगाउन र उक्त मोहलाई प्रयोग गरी ब्यवसायीक खेलाडी उत्पादन गर्ने उद्देश्यले सुनसरीको इटहरीमा फुटवल प्रशिक्षण सुरु भएको छ । एन्फा ग्रासरुट फुटबल क्याम्प नाम दिईएको उक्त्त प्रशिक्षण जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको हो । क्याम्पको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम र नेपाल फुटबल महासंघ एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । क्याम्प हरेक शनिवार इटहरी रंगशालामा संचालन हुनेछ ।

फुटबलको आधारभुत तह मानिने ग्रास रुट शनिबारदेखी नेपालभरीका ४७ जिल्लामा सुरु भएको हो । इटहरीमा सुरु भएको फुटबल क्याम्पमा सुनसरीका दुइ दर्जन बढी संस्थागत र सामुदायिक बिद्यालयहरुका ५ सय बढी बिद्यार्थीहरु सहभागी छन । उनीहरुलाई प्रशिक्षण दिन २१ जना राष्ट्रिय खेलाडीलाई खटाईएको अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीका अध्यक्ष केशव कार्कीले जानकारी दिए ।

कक्षा ८ सम्मका बालबालिका सहभागी रहेको सो क्याम्प हप्ताको एक दिन प्रत्येक शनिबार सञ्चालन हुने कार्यक्रम संयोजक एवंम एन्फा सुनसरीका कोषाध्यक्ष कोबितजंग कार्कीले जानकारी दिए । चार बर्षसम्म जारी रहने सो क्याम्पका लागी राष्ट्रिय खेलाडीहरु सहभागी बालबालिकाहरुलाई फुटबलका आधारभूत सीपहरु सिकाउने मुख्य प्रशिक्षक एवंम पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले जानकारी दिए । क्याम्पमा सुनसरीका ग्रामिण क्षेत्रका बिद्यालयका बिद्यार्थीहरु समेत सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्