०१ असोज २०७५, काठमाडौं
गुलरिया नगरपालिकाले पश्चिम नेपालकै पहिलो दिशाजन्य लेदो पदार्थ र फोहोर ब्यवस्थापन केन्द्र बर्दियामा स्थापना गरेको छ । नगर क्षेत्रमा उत्पन्न हुने फोहोरमैला ब्यवस्थापन गर्न उक्त केन्द्र नगरपालिकाले सञ्चालनमा ल्याएको हो ।
केन्द्रबाट फोहोर मैला ब्यवस्थापन सहज भएको र ब्यवस्थापन भएको फोहोरबाट समेत आम्दानी गर्न सकिने भएकाले यसको निकै महत्व रहेको छ । पश्चिम नेपालको दिशाजन्य लेदो पदार्थ र फोहोर ब्यवस्थापन केन्द्र नेपालकै पहिलो भएको गुलरिया नगरपालिका सूचना अधिकृत मुकुन्द अर्यालले जानकारी दिएका छन् ।
१ करोड ५० लाखको लागतमा स्थापना गरिएको केन्द्र सञ्चालनमा आएपछि उक्त केन्द्रमा ४ जना कर्मचारीहरुले समेत रोजगारी पाएका छन् ।
बजारमा संकलन गरिएको सडे-गलेर जाने र नजाने गरि छुट्याईन्छ । सडेर जानेलाई कम्पोष्ट पिट भित्र राखिन्छ र त्यसलाई मलको रुपमा उत्पादन गरि बिक्री बितरण गर्ने उदेश्य गुलरिया नगरपालिकाले राखेको छ । धेरै जसो समय गुलरिया नगरपालिकालाई टाउँको दुखाई बनेको फोहोरमैला प्रशोधन केन्द्रमा पुग्न थालेपछि अहिले स्थानीयले समेत राहतको महसुस गर्न थालेका छन् ।
केन्द्र स्थापना भएपछि घर घरमा भरिएको सेफ्टी टंयाकीबाट समेत फोहोर निकालेर त्यसलाई मलमा परिणत गरि बिक्री बितरण गरि केन्द्रबाट बार्षिक ८ देखि १० लाखसम्म आम्दानी हुने लक्ष्य नगरपालिकाले लिएको अर्यालले जानकारी दिएका छन् ।