०१ असोज २०७५, काठमाडौँ
पशुपति मित्र माद्यामिक विद्यालयमा हालसालै प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका घनश्याम राज काफ्लेले ३० वर्षको शैक्षिक अनुभव संगालेका छन् । करिब २५ वर्षदेखि पशुपति मित्र माविमा आवद्ध रही ७ वर्ष साहायक प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका काफ्ले विद्यालयल समय बाहेको खाली समयमा क्याम्पस पनि पढाउँदै आएका छन् । आफूलाई अंग्रेजी भाषा साहित्यको विद्यार्थी भन्न रुचाउने काफ्लेसँग कुञ्जरमणि भट्टराईले गरेको कुराकानीको सारांश :
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै जानुलाई कसरी लिनुभएको छ ?
२०४६ सालको खुला शिक्षा नीति पछि २०५० साल तिरबाटै निजी विद्यालय पढाउने पसलको रुपमा विकास हुन थाल्यो । मानिसहरु सकिनसकी आफ्ना छोराछोरीले अंग्रेजी बोलेको सुन्ने चाहना राख्न थाले र उनीहरुलाई निजी विद्यालयमा पढाउन थाले । घोकाएरै भएपनि अंग्रेजी पढाउन पर्छ भन्ने मानसिकताका कारण जस्तोसुकै काम गरेर पनि महंगो रकम बुझाएर निजी स्कुल पठाउन थाले । सरकारी तलव खाएका शिक्षकहरुको लापवार्हीले झनै विद्यार्थीहरु निजी विद्यालय जाने कुरामा मलजल गर्यो । सरकारी विद्यालयका शिक्षकहरु विभिन्न संगठनमा आवद्ध भएर १५–२० वर्षमा पनि आफ्नो योग्यता बढाउनतर्फ ध्यान दिएनन् । उनीहरुले अध्ययन अनुसन्धानतर्फ ध्यान नदिएर आफ्नो योग्यतामा वृद्धी गरेनन् र राज्यलाई ठगी गरिरहे र अझै गरिरहेका छन् । जसकारण सामुदायिक विद्यालयको विश्वास घट्दै गयो । तथापी यस्ता विषयमा करिव एक डेढ वर्षदेखि वहस सुरु भएको छ । कुनैकुनै सामुदायिक विद्यालयले उदाहरणीय काम गरेर विद्याथीहरु खचाखच भएका पनि छन् । तर पछिल्लो समय सामुदायिक विद्यालयहरु आफूले गुमाएको विश्वास आर्जन गर्न जुर्मुराएका छन्, जिम्मेवारी वहन गरेको व्यक्तिले आफू जिम्मेवार बन्दै अरुलाई जिम्मेवारी बोध गराउँदै गएमा यो असम्भव पनि छैन् । २०५१ सालमा म पशुपति मित्र माद्यामिक विद्यालय आउँदा १४ सय विद्यार्थी थिए । द्वन्द्व सुरु भएपछि भने मानिसहरु काठमण्डौमा केन्द्रिकृत हुन थाले । सामुदायिक विद्यालयहरुमा विद्याथीहरुको चाप पनि बढ्न थाल्यो । द्वन्द्व सकिएपछि भने मानिसहरु पुन गाउँ फर्कन थाले अनि विद्याथीर्को संख्या पनि घट्न थाल्यो ।निजी विद्यालयमा लाइसेन्स नभएका, तालिम नलिएका, अनुभव नभएका शिक्षकहरु हुँदा पनि अभिभावकहरु महंगो रकम बुझाई रहेका छन् । अभिभावकहरुले आफूले महगों रकम तिर्दा बालबच्चाहरुले त्यस अनुसारको शिक्षा पाएका छन् कि छैनन् बुझ्नु आवश्यक छ ।
पशुपति मित्र माविले अरुको भन्दा केहि फरक काम भएको छ कि ?
२०१२ सालमा एलसएलसी परिक्षामा सामेल भएको यो विद्यालयले २०३० सालमा पशुपति मित्र माद्यामिक विद्यालयको नाम पाएको हो । २०३३ सालको एसएलसीमा अनिल तुलाधरले वोर्ड फस्ट गरेको रेकर्ड छ । हामीले १० वर्ष अघिबाट अंग्रेजी र नेपाली दुवै माध्यमबाट अध्ययापन गराउन थाल्यौँ । हाल अंग्रेजी र नेपाली माध्यम गरी एउटा कक्षामा तीनवटा सेक्सन छन् । हामी अरु सामुदायिक विद्यालय भन्दा फरक छौँ । किनकी हाम्रोमा क्याम्पसमा जस्तै विभिन्न विषयको विभाग छ र विभाग प्रमुख पनि तोकेका छौँ । त्यस्तै विभागको वैठक महिनाको अन्तिम दिन गर्छौ । त्यस्तै हामीले त्रैमासिक परिक्षाको उत्तरपुस्तिका विद्यार्थीको कमजोरीबारे जानकारी गराउँदै उनीहरुलाई नै फिर्ता गरिदिन्छौँ ।
बिहान लाइन बस्दा सामुहिक प्रश्न पनि गर्ने गर्छौँ । जसमा एउटा विद्यार्थीले प्रश्न गर्छ र अरुले त्यसको उत्तर खोज्ने प्रयत्न गर्छन् । यसले विद्याथीहरुलाई विभिन्न विषयको ज्ञान हुन्छ । मैले नेपालीको उखानहरुलाई अंग्रेजीमा कसरी भन्ने प्रश्न गर्ने गरेको छु । यस्तै विद्यालयमा इको क्लव, बाल क्लवले विभिन्न कार्यक्रम पनि गर्ने गर्छन् । शुक्रबार गरिने कार्यक्रमको पुरस्कार लाइनमै वितरण गर्ने गरेका छौँ । त्यस्तै शैक्षिक सत्रको सुरुवातमा एक हप्ता शिक्षकलाई तालिम दिने गरेका छौँ । कक्षामा कसरी बोल्ने, विद्यार्थीलाई कस्तो व्यवहार गर्ने लगायतका विषयमा शिक्षकले शिक्षकलाई तालिम दिने गरेका छौँ । विद्यालयमा ५० जना कर्मचारी छौँ । जसमध्ये ४४ जना शिक्षक र ६ जना अन्य रहेका छौँ । हाम्रा २२ जना शिक्षकले स्नातककोत्तर गर्नुभएको छ । हामीसँग तीन वटा भवन रहेको छ । विद्यालयको शिक्षक योग्य हुनुहुन्छ । खाजाखाँदा, खाली समयमा पनि विद्यार्थीहरुकै बारेमा कुरा हुन्छ । हामीसँग अनुशासन र परामर्श समिति पनि छ । जसले बालबालिकाहरुले गरेका गलत क्रियाकलापको बारेमा अभिभावकलाई सचेत गराउँछ । त्यस्तै लामो कपाल बनाएर विद्यालय आउने विद्यार्थीहरुलाई कपाल काट्नका लागि एक हप्ताको समय दिन्छौ, अझै नकाटेमा विद्यालयमै कपाल काट्ने व्यवस्था समेत मिलाएका छौँ । शिक्षकहरुले अस्थायी वा स्थायी रुपमा तालिम लिनुभएको छ ।
भइरहेका अन्य कामहरु ?
हामी बालमैत्री वातावरणमा अध्यापन गराउँदै आएका छौँ । कक्षा ११ सम्म गरी हाल विद्यालयमा करिव सात सय विद्यार्थी रहेका छन् । तीन वर्ष भित्र एक हजार विद्यार्थी पुर्याउने लक्ष्य लिएका छौँ । त्यो लक्ष्य भेटाउन हामीसँग आधारहरु पनि प्रशस्तै छन् । हामीसँग ३९ वटा कम्युटर छन् । आइसिटी ल्याव पनि छ , जहाँ कक्षा दशसम्मका विद्याथीहरुलाई दैनिक प्रोजेक्टरबाट श्रव्यदृश सामाग्री प्रस्तुत गर्ने गरेका छौँ । हामीले विद्यार्थीहरुलाई प्रविधिसँग कसरी नजिक हुने भन्ने ज्ञानदिन्छौँ । विद्यार्थीहरुलाई गुगल प्रयोग गर्न पाउने वातावरण बनाउने लक्ष्य राखेका छौँ । त्यस्तै अभिभावलाई म्यासेञ्जर मार्फत सुचना पठाउने योजनामा छौँ । मात्र इ-लर्निङ गराउनका तीन जना शिक्षकलाई तालिममा पनि पठायौँ । हामीसँग छ हजार पुस्तक भएको इ-लाइब्रेरी पनि छ ।
कक्षा ११ यस वर्षबाट सुरु भएको हो ?
यो शैक्षिक सत्रबाट कक्षा ११ पनि सञ्चालनमा ल्याएका छौँ । कक्षा ११ मा हाल १२ जना मात्रै विद्यार्थी छन् । हामीले कक्षा ११ मा शिक्षा, मानविकी र व्यवस्थापन संकाय राख्ने निणर्य गरेका थियौँ । तर व्यवस्थापन संकायको मात्रै अनुमति पाएका कारण कतिपय विद्यार्थीहरु फर्काउनु पर्यो । यस्तै विभिन्न एम एम रेडियोबाट विज्ञापन दिँदा समेत विद्यार्थीको संख्या बढेन् भर्खरै मात्र कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम राख्यौँ । स्वास्थ्यका लागि योगाका कक्षा राख्ने योजना पनि छ ।
विद्यालयका आगामी योजनाहरु कस्ता छन् ?
वल्र्ड बैंकले नेपाल सरकारलाई ऋण दिएर केहि विद्यालयहरुमा भूकप्प प्रतिरोधी भवन बन्दैछन् । त्यसमा हाम्रो विद्यालय पनि समेटिएको छ र त्यसका लागि चार चरणको काम भइसकेको छ । एक डेढ वर्षमा भुकम्प प्रतिरोधी, अपाङ्गमैत्री तीन तले भवन निर्माण हुँदैछ । हामीले त्यसमा पार्किङ्ग राख्नुपर्ने पहल पनि गरेका छौँ । त्यस्तै विद्यालयलाई सभाहल अत्यावश्यक छ । सभाहल पाँच वर्षमा बनाउने योजना रहेको छ ।
अंग्रेजी पढ्नका लागि अभिभावकहरुले कति महंगो शुल्क बुझाई रहेका छन् । हामीले निशुल्क अध्यापन गराउँदै आएका छौँ । हामी आधुनिक प्रविधीको प्रयोग गरी पढाउने योजनामा भएको हुँदा विद्यार्थी फर्कनछन् । श्रव्य दृश्य सामाग्रीको माध्यमबाट विद्यार्थीहरुलाई पढ्दै रमाउने वातावरण निर्माण गर्दैछौँ । हामीसँग महत्वाकांक्षी योजना छैनन् । सबै आवश्यक योजना भएकाले सहयोगी हातहरु अघि बढिसकेका छन् । सहयोगी हातहरुसँग सहकार्य गर्दै अघि बढ्छौँ । पशुपति मित्र मावि उदाहरणीय बन्छ । सामुदायिक विद्यालय होस् त यस्तो भन्ने बन्नेछ । हामी प्रगतिको प्रक्रियामा छौँ र प्रतिफल पनि राम्रै पाएका छौँ । हामी सहि प्रक्रियामा भएकाले छिट्टै नै राम्रो रिजल्ट आउँछ । सामुदायिक विद्यालयको चुनौती भनेको प्रक्रियागत रुपमा अघि बढ्दा समस्या आउने गर्दछन् । आफूले चाहने बित्तिकै काम गर्न सकिदैन् । हाम्रो पनि त्यो एउटा चुनौती हो । हाल आफूले गुमाएको विश्वास आर्जन गर्न सामुदायिक विद्यालय जुर्मुराएको अवस्था हो । छिट्टै नै प्रतिक्रिया देखिएला ।