भाषावैज्ञानिक अध्ययन नै प्राचीन भाषिक पहिचानको मूलसूत्र



०२ असोज २०७५, काठमाडौं

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत् सहप्राध्यापक, आधुनिक नेपाली गद्यकविताका प्रखर कवि, साहित्यकार एवं प्राचीन तथा मध्यकालीन नेपाली भाषाका अनुसन्धाता डा. विदुर चालिसेसँग परिवर्तन खवरका प्रबन्ध सम्पादक

अजय वाणप्रस्थीले भाषाविज्ञानका विषयगत परिवेशका विषयमा केन्द्रीत रहेर लिएको अन्तर्वार्ता को मुख्य अंश।

अजय वाणप्रस्थी  :  भाषाविज्ञान के हो, यसले के को अध्ययन गर्दछ ?

डा.विदुर चालिसे : मानव समाजको अस्तित्वदेखि नै भाषाको प्रयोग भए तापनि भाषाका विषयमा धेरैपछि मात्र चिन्तन मनन हुन थाल्यो । संस्कृत तथा ग्रीक-ल्याटिन भाषाका वाङ्मयमा उपलव्ध भाषिक चिन्तनका प्राचीनतम ग्रन्थहरू आफ्ना समयका महत्वपूर्ण सिद्धान्तका साथै भाषिक विश्लेषणका विधिका रुपमा पनि थिए ।

भाषालाई अध्ययन गर्ने यस्तै खालका परम्परागत विधिलाई विगतमा भाषा अध्ययनको शास्त्रीय परम्पराको अभिन्न अंगको रुपमा लिइने काम गरिन्थ्यो । परम्परागत रुपमा भएका कतिपय भाषिक अध्ययनहरू तुलनात्मक दृष्टिले हेर्दा पछिल्ला कालखण्डमा केही अनुमानित तथ्य र सन्दर्भहरूको व्याख्याहरूमा पनि हुन पुगे ।

पूर्वमा संस्कृतको भाषिक चिन्तन ई.पू. १५०० तिरदेखि रहेको निरन्तर विकासक्रमलाई हेर्दा वैदिक युगदेखि नै वेदका छ अंगहरूमध्ये शिक्षा, कल्प, ज्योतिष, निरुक्त, छन्द र व्याकरणमा अध्ययन भएको पाइन्छ । समयक्रममा पाणिनीपूर्वका अध्येताहरूले व्यवस्थित व्याकरणको अध्ययनमा जोड दिए पनि व्याकरणको सारपूर्ण रुपमा व्याकरणको गहिराइको अध्ययन गर्न सकिरहेका थिएनन् ।

तर ई.पू ५०० शताब्दिमा देखापरेका पाणिनीको उदयपछि संस्कृत व्याकरणको व्यवस्थित उचाइ अत्यन्त माथि उठ्यो । यसै उचाइका आधारमा टेकेर  अगाडि बढेका ई.पू. ४५० तिरका कात्यायन तथा ई.पू. तेस्रो शताब्दी तिरका पतन्जलीले पूर्वीय भाषिक चिन्तन परम्परामा महत्वपूर्ण भूमिका खेले ।

पूर्वमा झैं पाश्चात्य जगत्मा भाषिक चिन्तन वा व्याकरण ज्ञान छुट्टै विषयका रुपमा आएन । पाश्चात्य जगत्मा भाषाको चिन्तन ग्राीसेलीहरूले फिलोसोफियाका रुपमा दर्शन र तत्वज्ञानको स्रोतको अर्थमा व्याकरणलाई हेर्ने काम गरे भने ल्याटिनेलीहरूले भाषाका वाङ्मय-ग्रन्थहरूको माध्यमबाट भाषा अध्ययनको भूमिका खेले ।

पूर्वमा पाणिनी, कात्यायन तथा पतन्जलीले गरेको ध्वनि, वर्ण, वार्तिक तथा भाष्यहरूको बारेको चिन्तन मनन एवं पाश्चात्यमा प्लेटो(ई.पू.४२७-३४७) तथा एरिष्टोटल(ई.पू.३८४-३२२)ले चलाएको प्राचीन भाषिक अध्ययन शैली पछिल्ला कालमा आएपछि भाषाशास्त्रका रुपमा भाषा अध्ययनको एउटा सैद्धान्तिक मान्यताका अर्थमा बुझ्न र व्याख्या गर्न थालियो ।

यसै प्रचलनमा संरचित तथा व्यवस्थित भएर आएका भाषाका अनुसन्धान तथा खोज र दस्तावेजीकरणका मान्यताहरूलाई भाषाशास्त्र समेत भन्न थालियो । यसपछिका पछिल्ला अध्ययनहरू परम्परागत तथ्य र ढाँचाका आधारमा रहे भने अर्कोतर्फ रुढ बन्दै अनुमानित तथ्यांकका आधारका परम्परित केही व्याख्याहरू पनि रहे । पछिल्ला समयहरूमा यसलाई पनि भाषाशास्त्रको एउटा परम्परित शास्त्रीय परिधिभित्र राखिने समेत गरियो ।

जब भाषामा रहेका सत्यतथ्य विशेषतामा टेकेर तथ्यहरू प्रकाशित गर्न थालिए र खोजका नवीन विधि तथा चिन्तन प्रणालीहरू आए । तब विशेषत् पाश्चात्य जगतका दोनातुस, प्रिस्सियन, फ्रेन्च पोर्ट रोयल वैयाकरणहरू, विलियम जोन्स, हेनरी थोमस कोलब्रुक, फ्रान्ज बोप, ए. सपियर, ब्लुमफिल्ड, तथा फर्डिनाण्ड डि सस्यूरका मान्यताहरू देखापरे पछि भाषाविज्ञानको उत्तरार्धमा देखापरेका फ्रेडरिक भान स्लेगल, विल्हेल्म भान स्लेगल, रास्मन, याकोब ग्रिम, ऐतिहासिक भाषविज्ञानका लागि म्याक्समुलर, ह्विटली आदिले शास्त्रीय भाषिक अध्ययनको परम्परालाई उचाइमा पुर्याए तापनि भाषाविज्ञानको नयाँनयाँ पद्धतिहरूको खोजी गर्ने कार्य ग्रास्मन, अस्कोली, हर्मन, कार्ल भर्नर आदिले गरे ।

पाश्चात्य जगतमा देखापरेका विभिन्न भाषिक सम्प्रदायहरूले भाषाका क्षेत्रमा प्रयोग हुँदैआएको शास्त्रीय शब्दलाई विज्ञानको रुपमा प्रयोग गर्न थाले । भाषाको शास्त्रीय कालमा भाषाका संरचना पक्षका साथै अर्थतात्विक पक्षलाई समेत व्याख्या गरिएको भए पनि पछि अनुसन्धानका आवश्यक विधिहरूलाई प्रयोग गरेर भाषासँग जोडिएको समाज, मनोविज्ञान, दार्शनिक चेतना, भाषिक कार्यसम्पादन क्षमता, भाषा रुपान्तरण तथा भाषा व्यवस्थाजस्ता विषयलाई समेत क्रमिक व्यवस्थाहरूको खोजका आधारमा निष्कर्षहरू दिन थालियो र आधुनिक समयमा यसैलाई भाषाविज्ञानका रुपमा लिइयो ।

भाषा, मानव जीवनको सर्वोत्तम चेतन प्रवाह, विकास एवं समूल अस्तित्वको पनि विषय हो । मानिसका विचारवान् कल्पनाहरूलाई मानव शरीरका ध्वनि संयन्त्रबाट प्रकाशित विभिन्न विषयवस्तुमा संलयित भएर संकेत वा संकेतित मार्फत विचार आदान प्रदानको कार्यसम्पन्न गर्ने विषय भाषा हो ।

भाषाका आफ्ना नियमित अभ्यासगत व्यवस्थाहरू हुन्छन् । त्यस्ता अभ्यासमा रहेका नियमित तथ्यहरूको पहिचानका आधारमा भाषाका विभिन्न संरचना तहको ध्वनि, वर्ण, रुप, उपवाक्य, वाक्य तथा महावाक्य लगायत भाषिक व्यवस्थासँग जोडिएको सामान्य र प्रायोगिक, सूक्ष्म र बृहत्,  मनोभाषा र समाज भाषा, कार्य सम्पादन क्षमता तथा समाजका भाषाका अन्य विविध समग्र विषयमा खास पहिचान एवं खोज गरेर निष्कर्ष दिनु भाषाविज्ञानको काम हो ।

यसले समाजमा रहेका ब्यक्तिबोली, समाजको मनोभाषा, भाषाको ऐतिहासिक पक्ष, समभाषाहरूको कालक्रमिक तुलना, अन्यभाषाहरू बीचको तुलना, सांकेतिक भाषाको अध्ययन, एककालीक वा समकालीक भाषालगायतका समग्र क्षेत्रको समेत अध्ययन गर्दछ ।

अजय वाणप्रस्थी  : भाषाविज्ञानको उत्पत्ति कहिलेदेखि भयो  ?

डा.विदुर चालिसे : माथि  भनेअनुसार शास्त्रीय अध्ययन पाणिनी तथा प्लेटो अनि एरिष्टोटलका अध्ययन परम्पराबाटै शुरु भएपनि भाषाको व्यवस्थित एवं क्रमिक अध्ययनलाई नै भाषावैज्ञानिक अध्ययन भनिने हुनाले जब भाषाको खोज एवं अनुसन्धान गर्ने विधिबाट प्राप्त निष्कर्षहरूलाई भाषाविज्ञानको आधारको रुपमा हेर्न थालिएपछि उन्नाइसौं शताब्दीमा पाश्चात्य जगत्मा ऐतिहासिक भाषाविज्ञानको जन्मसँगै भाषाविज्ञानले उन्नाइसौं शताब्दीदेखि नै वैज्ञानिक अध्ययनको मान्यताको रुप धारण गरेको हो ।

यस समयमा ऐतिहासिक भाषिक अध्ययनको अत्यधिक विकास भएको हुँदा यस अवधिलाई ऐतिहासिक भाषाविज्ञानको स्वर्णकाल भनिन्छ । यसै समयमा तुलनात्मक भाषिक अध्ययनको अध्यधिक प्रगति भएका कारण यसै समयदेखि भाषाशास्त्रले भाषाविज्ञानको नाम पनि पाएको हो ।

अजय वाणप्रस्थी  : दक्षिण एशियाका साथै विशेषत् नेपाल र भारतमा भाषाविज्ञानको  अध्ययनको शुरुवात् कहिलेदेखि भयो ?

डा.विदुर चालिसे : दुवै जगत्मा देखापरेका विभिन्न भाषिक सम्प्रदायहरूले भाषाका क्षेत्रमा प्रयोग गर्दैआएको भाषा अध्ययनको परम्परा दक्षिण एशियामा पनि पर्न थाल्यो । विशेष गरी दक्षिण एशियाइ देशहरूको भाषाहरूको खोजी र अध्ययन बृटिश साम्राज्यकालीन समयका बेला नै भएको थियो ।

इष्ट इण्डिया कप्पनीको स्थापना भएपछि उनीहरूका आफ्ना आवश्यकता पूर्तिका लागि दक्षिण एशियाइ मुलुकका विभिन्न स्थानीय भाषाहरूको सर्वेक्षण र खोजी कार्यमा उनीहरूको चासो बढ्यो । त्यसै पेरिफेरिमा उदाएका पाश्चात्य जगत्का भाषा अध्येताहरूले पश्चिमा जगत्मा विस्तारै विकास भइरहेको ऐतिहासिक, संरचनात्मक तथा तुलनात्मक भाषा विज्ञानको केन्द्रीयतामा बसेर दक्षिण एशियाइ देशका भाषाहरूको वैज्ञानिक अध्ययन गर्न शुरु गरे । यद्यपि पूर्वीय भाषिक चिन्तनले यतिवेलासम्म आफूलाई विभिन्न सामाजिक, राजनीतिक तथा परिवेशगत संकटमा फस्नुपरेका कारण विभिन्न स्तरमा भाषाको शास्त्रीय परम्पराका अध्ययनहरू भए तापनि भाषा अध्ययनको वैज्ञानिक कारण र मान्यताहरू प्राप्त गर्न सकेन ।

भारतीय भाषाहरूको अध्ययन गर्ने क्रममा सन् १७९४ मा विलियम क्यारेले स्थापना गरेको सेरामपुरको मिसनको स्थापनापछि बोलीचालीमा रहेका त्यहाँका भाषाहरूमध्ये विलियम फोर्ट कलेजका बंगाली, मराठी तथा संस्कृतका प्राध्यापक विलियम फोर्ट क्यारेले भारतीय थुपै्र भाषाहरूको सन् १८०१ मा संकलन गरे । यसै समयमा बिसप काडबेलले २० वर्ष लगाएर दक्षिण भारतको द्रविड भाषाहरूको तुलनात्मक व्याकरण लेखेको पाइन्छ भने १८ वर्षको मेहनतपछि जोनबिम्जले भारतको विहारको भारतीय भाषाहरूको तुलनात्मक अध्ययन गरेको पाइन्छ । यसपछि पनि भारत र नेपालका भाषाहरूका बारेमा अध्ययन गर्ने थुप्रै अध्येताहरू रहेका छन् ।

यसपछि नै भारतीय तथा नेपाली भाषाहरूको भाषावैज्ञानिक अध्ययन सुरु भएको मानिन्छ भने सोही कलेजका जे.एन. एटनले सन् १८२० मा ‘मुन्सीका तीन आहान’ भन्ने पाठलाई नेपाली भाषाका व्याकरणका बारेमा केही लेखी दिएपछि नेपाली भाषाको पहिलो व्याकरण लेखे भन्ने तथ्यहरू जुटेका छन् ।

अजय वाणप्रस्थी  : ‘भाषावैज्ञानिक अध्ययनको उपयोगिता के हो ?

डा.विदुर चालिसे : कतिपय भाषा व्याकरणहरूको अध्ययन अनुमानित तथ्यका आधारमा व्याख्या गर्ने र लामो समयसम्म भाषाभित्रका आन्तरिक भाषिक शक्तिलाई परम्परागत रुढ मान्यताका आधारमा मात्रै बुझ्ने शैली भाषा चिन्तन, मनन तथा अध्ययनको क्षेत्रमा इतिहासको लामो कालखण्डसम्म रहँदै आउँदा कतिपय भाषाका शास्त्रीय मान्यताहरू जब्बर र रुढ बनिदिए ।

भाषाका परिवर्तनशील नियमहरू समय क्रममा परिवर्तन भइसक्दा पनि समाजमा प्रयोग भएका भाषाका अन्तर्तात्विक परिवर्तनहरू दस्तावेजमा मात्र सीमित रहेका र पछिल्ला समयमा परिवर्तित कतिपय भाषाका सारभूत भाषिक, व्याकरणिक तथा अर्थ परिवर्तनका मान्यताहरूलाई पहिचान्न नसकिएका कारण भाषाको एउटा लामो परम्परा शास्त्रीय ढंगले मात्रै अगाडि बढ्यो ।

तर भाषामा भएका अन्तर्तात्विक अन्तर्वस्तुलाई आधुनिक विज्ञानले विकास गरेका विभिन्न दार्शनिक मान्यताका आधारमा भाषाको संरचना, अर्थ र मानिसका व्यवहार सम्बन्धहरूलाई केलाएर स्थापित सिद्धान्तअनुसारको निगमनात्मक मान्यताका आधारमा भाषाको विश्लेषण गर्ने पद्धतिका विरुद्ध मानिसका समाजमा प्राप्त सत्यतथ्यका आधारमा आगमनात्मक मान्यताका आधारमा नयाँ सिद्धान्तहरूको व्याख्या गर्ने मान्यताहरू अगाडि बढ्यो । यसर्थ भाषा शास्त्रीयतावादी मान्यताले विषयको व्याख्यालाई प्रधानता दिइन्छ भने भाषा वैज्ञानिकतावादी मान्यताले तथ्यको निरुपणले बनाउने नवीन सिद्धान्तको निष्कर्षलाई प्रधानता दिन्छ ।

विशेषत् पाश्चात्य जगतको अठारौं शताब्दीपछिको ऐतिहासिक भाषविज्ञानको अध्ययन प्रारम्भपछि आगमनात्मक अध्ययनको पद्धतिले संसारको भाषाहरूको अध्ययनको उचाइलाई वर्तमान अवस्थामा पुर्याएको छ । भाषावैज्ञानिक अध्ययनका क्षेत्रमा नयाँनयाँ सैद्धान्तिक मान्यताहरू पनि विकास भएर आएका छन् ।

यस्तो अध्ययनले मानव समाजमा व्यवहरित रहेको संसारको चारहजारभन्दा बढी भाषाहरूको विशिष्ट अध्ययनमा विशिष्ट सहयोग समेत पुगेको छ । संस्कृत तथा ग्रीक-ल्याटिन भाषिक चिन्तन परम्पराले शास्त्रीय रुपमा स्थापित गरेको भाषिक सैद्धान्तिक मान्यताको विकसित रुपमा नवीन भाषावैज्ञानिक सिद्धान्तहरूको समेत विकास भएका छन् ।

भाषावैज्ञानिक अध्ययनले मानव समुदायको अविकसित रुपमा सुषुप्त भएर समाजमा रहेका समाज भाषाहरूको खोजी, भाषिक इतिहासहरूको अध्ययनका साथै ज्ञानविज्ञानका क्षेत्रमा जोडिएका विषयहरूको अध्ययन, संचार एवं विज्ञानको युगमा छनौट भएका मानवीय आवश्यकताका लागि भाषाहरूको वैज्ञानिक व्यवस्थापनका लागि भाषाको वैज्ञानिक अध्ययन अत्यन्त उपयोगी रहेको छ । यसका साथै ज्ञान विज्ञानका अन्य क्षेत्रमा समेत यसले आफ्नो वैज्ञानिक अध्ययन विधिमार्फत भाषिक विषयवस्तुको अध्ययनलाई उपयोगी रुपमा सिद्ध गर्दछ ।

अजय वाणप्रस्थी  : भाषाविज्ञानका नवीन सिद्धान्तका उल्लेखनीय मान्यताहरू बारे बताइदिनुहुन्छ कि ?

डा.विदुर चालिसे : उन्नाइसौं शताब्दीको अन्त्यतिर भाषाविज्ञानको क्षेत्रमा आधुनिक युगको मजबुत प्रारम्भको रुपमा लिइन्छ । यसपछि भाषाविज्ञान भाषाको वर्णनात्मक अध्ययन गर्नतिर अगाडि सर्यो  र भाषिक संरचनाको विश्लेषणमा आकर्षित भयो ।

आधुनिक भाषाविज्ञानको प्रारम्भ भएपछि बीसौं शताब्दीको सुरुतिर युरोप र अमेरिकामा भाषावैज्ञानिक अध्ययनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरूलाई संरचनावाद भनी साझा नाम दिइएको पाइन्छ । विभिन्न देशका भाषिक विश्लेषण पद्धतिका आफ्नै विशेषता र मान्यता छन् तापनि विभिन्न देशका खासखास भाषा विद्याकेन्द(क्अजययष्लिन) का रुपमा रहेका सहरहरूमा विभिन्न प्रतिभाहरूका योगदानबाट विभिन्न भाषिक समुदायहरू विकसित भएका छन् ।

फर्डिनाण्ड डि सस्यूरलाई आधुनिक भाषाविज्ञानका पिता पनि मानिन्छ । उनले स्थापना गरेको जेनेभा सम्प्रदायले संरचनावादी भाषावैज्ञानिक भाषिक अध्ययन गर्ने मान्यताको विकास गरे । यसका साथै उनीबाट प्रशिक्षित रसियाको कजान विश्विद्यालयका बाउदिन कुर्तने र क्रुजेप्स्की, प्रागको मेथेसिस समेतको संरचनावादी भाषा अध्ययनले सस्यूरको भूमिकालाई थप बल प्रदान गर्यो । कोपनहेगन, बेलायत, फ्रान्स, डेनिस तथा अमेरिकी संरचनावादी भाषिक अध्ययन परम्पराले पाश्चात्य जगत्मा भाषाविज्ञानको अध्ययनको मजबूत जग बसालिदियो ।

फर्डिनाण्ड डि सस्यूरले विकास गरेको जेनेभा सम्पदायको यही पेरिफेरिमा संरचनावादले भाषाभित्र रहेका भाषाका संरचनागत भिन्नता, समानता तथा आधारभूत मान्यताहरूको अध्ययन गर्ने कार्यसमेत गर्यो । यसै परम्पराबाट संरचनात्मक भाषाविज्ञानअन्तर्गत विशिष्ट भाषिक सिद्धान्तका रुपमा ग्लासिम विज्ञान, ट्यागमिमिक विज्ञान, व्यवस्थापरक भाषाविज्ञान तथा स्तरीकरणात्मक भाषाविज्ञानका भाषावैज्ञानिक अध्ययन अनुसन्धानका साथै व्याकरणहरूको नवीन भाषावैज्ञानिक सैद्धान्तिक व्याख्याहरू प्राप्त भए ।

पछि विकसित भएको अमेरिकी संरचनावादी पद्धतिका प्रयोक्ता फ्रान्ज बोआस तथा एडवर्ड सपियरहरूले सस्यूरकै मान्यतामा आधारित रहेर अमेरिकी संसरचनावादी भाषिक अध्ययन पद्धतिमा योगदान गरे । अमेरिकी संरचनावादको विकासमा योगदान गर्ने थुप्रै भाषाविद्हरूका आधारभूत मान्यतालाई हेर्दा “समाजका व्यक्तिले परस्परमा व्यवहार गर्ने यादृच्छिक वाक्प्रतीकहरूको व्यवस्था” को रुपमा भाषालाई परिभाषित समेत गरे ।

सस्यूरले स्थापना गरेको भाषाको संरचनात्मक पक्षमा जोड दिँदै अमेरिकी संरचनावादले भाषामा संरचना मात्र हैन अर्थको पनि त्यक्तिकै महत्वपूर्ण भूमिका हुन्छन् भन्ने मान्यताका आधारमा अगाडि बढ्यो । भाषाको आफ्नो निजीपनको कुरा सबै संरचनावादीहरूले मानेका छन् र यसका लागि उनीहरूले व्यतिरेकी मान्यतालाई आत्मसात् गरेका छन् ।

के एल पाइकको रुपार्थपरक व्याकरणको परिष्कार तथा जे.आर. फर्थको व्यवस्थापरक व्याकरणको पुनव्र्याख्यासम्म आइपुग्दा संरचनावादको सैद्धान्तिक मान्यताले अग्रस्थान कायम गरेको पाइन्छ । यसले वर्ण, रुप तथा वाक्यका संरचनात्मक तहसम्मको अध्ययन समेत गरेको छ भने अर्थको खोजी के एल पाइक तथा फर्तका व्याकरणात्मक सैद्धान्तिक व्याख्याहरूमा समेत पाइन्छ ।

सन् १९५७ मा नोम चम्स्कीको रुपान्तरण व्याकरणको मान्यताको विकासपछि भाषालाई भाषिक कार्य क्षमता र सम्पादन क्षमतासँग जोडेर चम्स्कीले भाषालाई मानव मनको विशिष्ट मस्तिष्क क्षमताका रुपमा व्याख्या गर्दै हरेक मानवसँग भाषिक क्षमता नैसर्गिक रुपले जन्मजात रुपमा उसका मस्तिष्कमा संरचित भएर आएको हुन्छ र नैसर्गिक रुपमा मानव मस्तिष्कमा रहेको भाषाको तह आन्तरिक रुपमा मस्तिष्कमा रहन्छ अनि वस्तुगत रुपमा वर्ण, व्याकरण, अर्थ आदिका आधारमा बाह्य प्रकटीकरण हुन्छ  भन्ने मान्यता अगाडि सारे ।

यसर्थ यतिवेलासम्म मानव मस्तिष्कमा रहेको भाषाले आफ्नो भाषिक कार्य क्षमता र कार्यसम्पादन बौद्धिकता एवं चेतनाले गर्दछ भन्ने मान्यता रुपान्तरण व्याकरणले अगाडि बढायो । विशेषत् रुपान्तरण व्याकरण संरचनावादको वाक्यसम्बन्धी मान्यताको व्याख्याका क्रममा समीक्षा गर्दै अगाडि बढेको यो व्याकरण समग्रमा वाक्यमा केन्द्रीत रहेर व्याख्या गरिएको व्याकरण हो ।

यसै गरी रुपान्तरण व्याकरणले वाक्यका सन्दर्भमा व्याख्या गरेको अर्थसम्बन्धी मान्यता र कारकीय अर्थसँग सम्बन्धित रहेको विषयलाई फिल्मोरले कारकीय नवीन व्याकरणको रुपमा समेत व्याख्या गरेको पाइन्छ । संसारमा हाल लगभग यिनै मान्यतामा आधारित रहेर व्याख्या गरिने भाषाका अध्ययनहरूलाई नवीन भाषा वैज्ञानिक अध्ययन भनिने गरिन्छ ।

अजय वाणप्रस्थी  : नेपाली भाषाको भाषावैज्ञानिक अध्ययनको सुरुवात कहिलेदेखि भयो ?

डा.विदुर चालिसे : विलियम फोर्ट कलेजका प्राध्यापक जे.एन. एटनले सन् १८२० मा ‘मुन्सीका तीन आहान’ भन्ने पाठलाई नेपाली भाषाका व्याकरण बारेमा केही लेखी दिएको नेपाली भाषाको पहिलो व्याकरणपछि नेपाली अध्येताहरू संलग्न भएर भाषा व्याकरण बारे शास्त्रीय भान्यतालाई पछ्याउँदै जयपृथ्वीबहादुर सिंह, पहलमानसिं स्वाँर, वीरेन्द्र केशरी अज्र्याल राममणि आचार्य दीक्षित, हेमराज शर्मा, सोमनाथ सिग्देल, गोपाल पाण्डे असीम, गोर्खा भाषा प्रकाशिनी समिति आदिले प्रयास गरे पनि भाषावैज्ञानिक अध्ययनको प्रारम्भ वि.सं. २००७ सालको परिवर्तनसँगै त्रिभुवन विश्वविद्यालयको स्थापना, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना, मदनपुरस्कार गुठीको स्थापनाका साथै छर्रोवादी भाषिक आन्दोलनमा संलग्न प्राज्ञ प्राध्यापकहरूको साथले नेपाली भाषाको व्यवस्थित भाषावैज्ञानिक अध्ययनको ढोका खोलेको हो ।

अजय वाणप्रस्थी  : नेपाली भाषाको  भाषावैज्ञानिक अध्ययनबाट प्राप्त केही उल्लेखनीय जानकारी  दिनुहुन्छ कि ?

डा.विदुर चालिसे : माथि भनिए झैं नेपाली भाषाको भाषावैज्ञानिक अध्ययन मात्रै होइन नेपाली भाषाबाहेकका नेपालका इतर भाषाहरूको समेत व्यवस्थित अध्ययनको प्रारम्भ भएपछि नेपाली भाषालगायत् देशभित्रका अन्य भाषाहरूको ध्वनितात्विक, वर्णतात्विक, रुपतात्विक, वाक्यतात्विक तथा व्याकरणतात्विक अध्ययनहरू भए । यसका साथै एककालिक भाषाहरूको तुलनात्मक अध्ययन, ऐतिहासिक भाषाहरूको अध्ययन, समकालीन भाषाहरूका बीचमा तुलनात्मक अध्ययन, लिखित तथा कथ्य भाषाका तथ्यहरूका आधारमा व्याकरणहरूको खोजी तथा प्रमाणिकरण गर्ने काम नेपाली भाषाको भाषावैज्ञानिक अध्ययनबाट प्राप्त निष्कर्षहरू हुन् ।

त्यस्तै पाश्चात्य जगत्मा उदाएको नवीन भाषावैज्ञानिक सिद्धान्त एवं पद्धतिको सीमा भित्रबाट नेपाली भाषावैज्ञानिकहरूले तथ्य प्रमाणिकरण, विश्लेषण तथा निष्कर्षहरू दिने काम गरेका छन् । कथ्य परम्परामा रहेको नेपाली लगायत् अन्य भाषाहरू तथा दस्तावेजीय रुपमा रहेको लिखित नेपाली भाषालगायत् अन्य केही भाषाहरूको अझै गहिराइमा पुगेर अध्ययन गर्नुपर्ने आवश्यकताहरू रहेका समेत छन् ।

आधुनिक नेपालको उच्चशैक्षिक प्रणालीेमा विकास भएको भाषावैज्ञानिक पद्धतिको अध्यापन गराउने विश्वविद्यालयहरूको पाठ्यक्रमको विकास, विदेशमा अध्ययन गरेका विद्यार्थीहरूले सिकेका भाषाविज्ञानका पद्धति र मान्यताका आधारमा नेपाली भाषालगायत् नेपालका अन्य भाषाहरूको खोज तथा अनुसन्धानका निष्कर्षहरू भाषावैज्ञानिक अध्ययनबाट प्राप्त केही उल्लेखनीय कार्यका रुपमा समेत रहेका छन् ।

अजय वाणप्रस्थी  : नेपाली भाषाको भाषावैज्ञानिक अध्ययनबाट यहाँले प्राप्त गर्नुभएका उपलव्धीहरू के के छन् ?

डा.विदुर चालिसे : मैले अध्ययन गरेको नेपाली भाषाको विषय अभिलेखीय नेपाली भाषाको खोज अनुसन्धान हो । वि.सं. १८३१ को पृथ्वीनारायण शाहको दिव्योपदेशभन्दा अगाडि लेखिएर विभिन्न स्थानमा छरिएर गुमनाम रहेका शिलालेख, ताम्रपत्र, कनकपत्र, रजतपत्र, स्वर्णपत्र, ताडपत्र, भोजपत्र, स्याहास्रेस्ता, सनदसवाल तथा विभिन्न समयमा लेखिएका चिठ्ठीपत्रहरूमा रहेका प्राचीन तथा मध्यकालीन नेपाली भाषाको वैज्ञानिक अध्ययन हो ।

नेपाली व्याकरणको लेखनको इतिहास त्यति लामो छैन । आधुनिक कालमा विभिन्न व्याकरणका जानकारहरूले लेखेको नेपाली भाषाको व्याकरणहरू छन् । उनीहरूले कथ्यपरम्परामा आधारित भाषिक तथ्यहरूलाई केलाएर शास्त्रीयतावादी मान्यताका आफ्ना अनुभवका ज्ञानहरूलाई व्याकरणका सीमाभित्र लेखिदिए ।

अभिलेखीय भाषाको अध्ययन अत्यन्त जटिल हुँदाहुँदै पनि विभिन्न समाजको आत्मा भाषा भएकाले मानवको चेतना तथा ज्ञानको विकासको उन्नतस्तरको पहिचानका लागि अभिलेखीय भाषाको भाषा वैज्ञानिक अध्ययन गर्नु महत्वपूर्ण कुरा हो ।

यसै सन्दर्भमा अध्ययनको केन्द्रभाग अभिलेखीय नेपाली भाषामा प्रयोग भएका व्याकरणिक तथ्यहरूको क्रमिक विकासको खोज तथा अनुसन्धान हो । कालक्रमका आधारमा प्राचीन तथा मध्यकालीन नेपाली भाषाका तत्कालीन कथ्य तथा अभिलेखमा लेख्य रुपमा सिमित रहेका भाषाका व्याकरणका  तथ्यहरू के कस्ता क्रमिक रुपमा विकास भएर आएका थिए ।

कति लोप भए, कति समयक्रममा नयाँ विकास भए तथा कति यथावत् वर्तमान नेपाली वक्ताहरूले प्रयोग गरिरहेका नेपाली भाषाको व्याकरणमा आबद्ध छन् भन्ने खोजको निष्कर्ष तथा व्याकरणका ऐतिहासिक तथ्यहरूको प्रमाणिकरण नै मेरो खोज अनुसन्धानको विषय हो ।

अभिलेखीय नेपाली भाषाको विकासमा खसराज्यको राजनैतिक सीमाङ्कन तथा त्यसताका विकसित इतिहास, संस्कृति र भूगोलले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ भने पछिल्ला समयमा विभाजित बाइसी तथा चौविसी चाज्यको विकासले नेपाली भाषा खस शासनकालमा जति एकात्मक थियो त्यति रहन सकेन । राज्य विभाजनसँगै सिंजाली(नेपाली) भाषामा पनि स्थानीय भेदको विकास तिब्रतर रूपमा देखियो । पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि मात्रै नेपाली भाषाले स्तरियता पाउन थाल्दछ र यसको विस्तारमा अझ तिब्रता आएको पाइन्छ ।

तसर्थ पृथ्वीनारायण शाह(बि.सं.१८३१)देखि बाँमुखँड्का(बि.सं.११५१)सम्मको नेपाली भाषामा लेखिएका अभिलेखलाई केलाउँदा ती अभिलेखीय सामग्रीमा प्रयोग भइरहेका व्याकरणका विविध रूप तथा रूपावलीलाई खोजी गरी प्राप्त भएका तिनै व्याकरणका विभिन्न व्याकरणिक कोटीहरूलाई नियालेर निष्कर्षहरू दिने प्रयास गरिएको छ भने तत्कालीन सिंजाली भाषादेखि हालको नेपाली भाषासम्म भएका व्याकरण तत्वको क्रमिक विकासको निक्र्यौल एवं निर्धारण तिनै आधुनिक युगमा प्रचलित भाषावैज्ञानिक सिद्धान्तका आधारमा खोज अनुसन्धान गरिएको छ ।

अभिलेखको भाषिक अध्ययन त्यति सजिलो नभए पनि विभिन्न कोणबाट नियालेर सिंजाली भाषादेखि खस÷मल्ल÷पर्वते  तथा वर्तमान नेपाली व्याकरणमा प्रयुक्त भएका व्यारणिक रूपलाई पहिचान गरिएको छ । तसर्थ प्राप्त भएका नेपाली भाषाका अभिलेखको पाठहरूलाई मूल विषय बनाई आधुनिक नेपालीमा प्रयोग भएका व्याकरणिक तथ्यहरूलाई आधार मानेर केलाई तत्तत् समयमा त्यतिबेला के रहेछ भन्ने सत्य निरूपण पनि गरिएको छ ।

अजय वाणप्रस्थी  : यहाँको अध्ययनबाट निस्केका  केही निष्कर्षहरू के के छन् ?

डा.विदुर चालिसे : मैले अभिलेखीय नेपाली भाषाका सामग्राीमाथि गरेका खोज अनुसन्धानले क्रिया(आख्यात)का रुपमा प्रयोग भएका व्याकरणिक एकाइहरू सम्पन्न पक्ष, पूर्ण पक्ष, अभूत ज्ञात, भूत अज्ञात, अभूत अज्ञातका प्रत्ययहरू अभिलेखमा पाइएका छन् । त्यस्तै असम्पन्न पक्ष, अभूत, भूत प्रत्ययहरू पनि अभिलेखमा प्रयोग भएका छन् । त्यस्तै अभ्यास पक्षको अभूत प्रत्ययहरू भनि भेटिन्छन् । असम्पन्न पक्षको सातत्य भूत, सातत्य अभूत प्रत्ययहरू अभिलेखमा प्रयोग भएका छन् ।

आधुनिक नेपालीका व्याकरण तत्वका तुलनामा अभिलेखमा प्राप्त सम्पन्न पक्षको प्रत्यय प्राचीन कालको मौलिक विशेषताको रूपमा रहेका छन् । पछिल्ला कालमा यी सम्पन्न पक्ष जनाउने उपसर्ग तथा प्रत्ययको प्रयोग लोप भएको छ ।

आधुनिक नेपालीमा प्रयोग हुने पूर्ण पक्षको अभूत ज्ञातका लागि बझाङको आदित्य मल्लको वि.सं. १३७३ को अभिलेखमा प्रयोग छ भने प्राचीन तथा मध्यकालीन नेपालीमा यो प्राचीन तत्वको प्रयोग हो । आधुनिक नेपालीका जुम्ली भाषिकामा अहिले पनि यी तत्वहरू बोलचालमा जीवित देखिन्छन् । साथै इच्छार्थ भाव, विध्यर्थ भाव तथा सम्भावनार्थ भावका प्रत्ययहरू  समेत अभिलेखमा प्रयोग भएका पाइन्छन् ।

मिलित क्रिया, अकरण, प्रेरणार्थक तथा प्रतिप्रेरणार्थक, संयुक्त क्रिया, कृदन्तीकरण, भावकर्म वाच्य, कोटिकार, सार्वनामिक अवधारणार्थक, सार्वनामिकता, आदरार्थी, लिङ्ग, वचन, पुरुष, कारक, पदसङ्गति, निपात, परस्थानिक, संयोजक तथा वाक्यात्मक संरचनाहरूमा समानाधिरकण पदहरूको अभिलेखीय नेपालीमा प्रयोग भएर वाक्य बनेका  समेत पाइन्छन् भने मुख्य पद र पूरकको प्रयोग पनि प्राचीन काल देखिनै प्रयोग भएको देखिन्छ । त्यस्तै घटकहरूको क्रम(पदक्रम), कृदन्त संयोजकहरूले वाक्यको विस्तारमा नेपाली भाषाको प्राचीन कालदेखिनै खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको समेत पाइन्छ ।

अन्त्यमा अभिलेखीय नेपाली भाषाको अध्ययनको यो गहिराइ भाषावैज्ञानिक पद्धतिले नै सम्भव तुल्याएको हो । तसर्थ भाषावैज्ञानिक अध्ययन नै प्राचीन ऐतिहासिक भाषिक पहिचानको मूल सूत्र समेत हो ।

प्रतिक्रिया दिनुहोस्