‘बुद्ध वाज वर्न इन नेपाल’ भन्ने सन्देश लिएर ९० देश भ्रमण गरेका चन्द्रदीपको जीवन कथा



२ असोज २०७५,काठमाडौँ

विक्रम संवत् २०२६ सालमा खोटाङमा जन्मिएका चन्द्रदीप राईले ‘बुद्ध वाज वर्न इन नेपाल’  भन्ने सन्देश लिएर ९० वटा भन्दा बढी देशको भ्रमण गरिसकेका छन् ।

एक सय देशमा सो सन्देश पुर्याउने योजनामा रहेका राईले बाल्यकाल सम्झदै भने, मेरो बाल्यकाल गरिबी र अभावमा बित्यो । घरमा आमा, दाइ र दिदी हुनुहुन्थ्यो । बुवा भने म सानै छँदा परदेशीनु भएको रे पछि सम्पर्कमा आउनु भएन । दाइ र दिदी काठमाण्डौ लागेपछि घरमा आमा र म मात्रै भयौँ । घरमा  ६ महिनामात्रै खान पुग्थ्यो । मैले ६ वर्षको उमेरबाट नै मेलापात, खेताला जाने गर्थेँ , जतिबेला मैले दुई रुपैयाँ पाउथेँ ।  ५–६ वर्षकै उमेरमा खेत जोत्न गइन्थ्योँ ,हलोमा झुण्डिएर खेत जोतेको सम्झन्छु ।’

चन्द्रदीप घर भन्दा केहि समय तल रहेको  गोठको काम सकेर फर्कन्थेँ । आमाले पकाएको भातमा आफूले दुहेको दुध मिसाएर खान्थे अनि विद्यालय जान्थे । उनी कक्षा सातसम्म पढ्दा सबै ठिकै चल्दै थियो । जब आमाको निधन भयो अनि उनको जीवनमा झनै पीडा थपियो । कार्तिक महिनामा आमा बितेपछि दुहुना भैंसी, हल गोरु, कुखुरा, सुंगुर, खेतीपाती सबैको जिम्मा चन्द्रदिपलाई लगाएर उनका दाजु पुनः काठमाण्डौ फर्किए ।

उनी बिहान बस्तुभाउलाई घासँपात गरेर विद्यालय जान्थे । उनले शनिबार- शनिबार काम गरेर धान, कोदो थन्काए । शनिबार मल बोकेर बाँझैमा मकै छरे र राती १२ बजेदेखि विद्यालय जानु अघिसम्म बारी जोते । त्यसरी काम गरेको देखेर उनलाई छिमेकीहरुले आमा बितेपछि बैलाएछ पो भन्न थाले ।

‘एसएलसी परीक्षा दिदाँ मलाई घरको व्यवस्थापन गर्न झनै गाह्रो भयो । परीक्षा केन्द्र पुग्न एक दिनको बाटो हिड्नुपर्थ्यो । घरमा बस्तुभाउ भएकाले परीक्षा सक्ने बित्तिकै घर फर्कन्थेँ । राती एक बजेतिर टर्च बालेर  घर आइपुग्थेँ । फेरि बस्तुभाउलाई  केहि दिनका लागि घासँपातको व्यवस्था गरेर परीक्षा दिएर आउँदा घरमा बस्तुभाउको विजोग हुन्थ्यो । कुखुरा स्यालले लगिसकेको हुन्थ्यो भने केहि खान नपाएर मरिसकेको हुन्थ्यो , उनले सम्झिए ।

उनले २०४६ सालमा पृथ्वी माद्यामिक विद्यालयबाट विभिन्न समस्याकाबीच  पनि तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । एसएलसी सकेपछि उनी जागिरका लागि विभिन्न विद्यालय गए तर जागिर पाएनन् । भाषण जानेको राजनैतिक व्यक्ति भए राम्रो हुन्थ्यो भन्दै उनलाई जागिर दिइएन् ।

तत्पश्चात आफन्तलाई सबै घरबारी जिम्मा लगाएर उनी अध्ययनका लागि काठमाण्डौ झरे । रत्न राज्यलक्ष्मी क्याम्पसमा राजनीतिशास्त्र विषयमा आइए अध्ययन गर्न थाले  । पाटनमा बस्न थालेका चन्द्रदीपलाई जागिर नपाएर खानबस्नका निकै समस्या भयो । उनी अरुले सुन्तला, केरा खाएर फालेको बोक्रा टिपेर खाने स्थिती पो आइपुगे ।

सुन्तला, केराको बोक्रो खानुपर्ने अवस्था आएपछि उनी होटलमा काम गर्न थाले । तर उनका आफन्तले आफूहरुलाई होटलमा काम गर्दा लाज लाग्ने भन्दै त्यहाँ  काम नगर्न आग्रह गरे । आफन्तसँग सहयोग माग्दा आफैँले गरेर खानुपर्छ भन्ने जवाफ पनि पाए, उनले । त्यसपछि उनी राजा विरेन्द्रको जेठी सासूको घरमा काम गर्न पुगे ।

‘घरभित्रै काम गर्नुपर्ने भएकाले बाहिरको घटना खासै थाहा पाइदैनथ्यो । मैले पढ्दैछु भन्ने उहाँहरुलाइ थाहा थिएन ,आइएको परीक्षा दिने बेलामा बताएँ । त्यहिँबाट परीक्षा दिएँ । म त्यहाँ दुई वर्ष बसेँ ।’तत्पश्चात उनी पाटनमा बस्न थाले । उनका  दाजु पर्नेले  झिटिमिटी गुन्टाको व्यापार गर्ने काम लगाइदिए । त्यहाँबाट केहि पैसा कमाएपछि उनले मासिक २५० पर्ने कोठाभाडामा लिएर बस्न थाले ।

उनी सम्झन्छन्, ‘कोठामा सुत्नका लागि केही थिएन् । लगनखेलमा टिभीको सोरुमले फालेको कार्टुनलाई ओछ्यान बनाएँ । गाउँबाट बुनेको एउटा कपडा थियो त्यसलाई ओड्ने बनाएँ । खाना बनाउनको लागि एउटा भाडोँ किनेँ र सबैथोक मिसाएर त्यहि भाडोँमा पकाएर खान थालेँ । 

मैलै काम गरेको रकम बैंकमा जम्मा गरेको थिएँ । एक वर्षमा १५ हजार जम्मा भएछ । विभिन्न काम गर्दै ८० हजार जम्मा गरेँ । त्यति जम्मा भएपछि पसल गर्ने सोच बनाए पनि त्यो गरिन् । खाना पनि खुवाउने शर्तमा पाटनको एक साहुजी कहाँ काम गर्न थालेँ । उनको ट्रेकिङ अफिस पनि भएकाले बेलाबेलामा चन्द्रदीप सोलुखुम्बु, कञ्चनजघां लगायतका ठाउँमा जाने गर्थेँ ।’

त्यसपछि उनले बैंकमा जम्मा गरेको रकमले २०५२ सालतिर दुई लाख रुपैँयामा भक्तपुरमा आधा रोपनी जग्गा किने । अर्को वर्ष काठमाण्डौको भद्रवासमा चार रोपनी जग्गा किने । त्यो जग्गा बेचेर उनले घर किनेबेच गर्न थाले । भन्छन्, अहिलेसम्म नौवटा घर किनबेच गरेँ । अहिले केहि घर मसँग छन् ।’

२०५२ सालमा आइए उतीर्ण गरेर छाडेका चन्द्रदीपलाई  पत्रकारिता पढ्ने इच्छा भएर २०६३ सालमा पशुपति क्याम्पसमा प्लसटुमा भर्ना भए । उनले स्नातकसम्म अध्ययन गरेका छन् । ‘माओवादीका स्थानीय नेताले हामीले जस्तो कानुन र पत्रकारिता कसैले बुझेको छैन भन्थे । मैले उनीहरुलाई पैसा नदिएको  भन्दै ६–७ दिन कठघरामा पनि राखे । त्यसपछि मैले पनि कानुन र पत्रकारिता जान्नुपर्छ भन्ने लागेर पत्रकारिता र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेँ , उनले भने ।

उनी सन् २००६ मा मेलेसिया भ्रमणका लागि थाइल्याण्ड  पुगेका थिए । उनले मलेसिया भ्रमण थाइल्याण्डबाट सुरु गरेको थिए । त्यहाँ बुद्ध भारतमा जन्मिएका भनेको सुने । त्यस्तै मलेसियामा पनि बुद्ध भारतमा जन्मेको भन्न थाले । बुद्ध  भारतमा जन्मिएका हुन भन्ने सुनेपछि उनी बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश दिनुपर्यो भन्ने निर्णयमा पुगे । त्यसपछि उनी नेपाल आएर ५५०० वटा बुद्ध वाज वर्न इन नेपाल भन्ने लोगो राखेर टिसर्ट छपाए । उनी आफ्नो अभियान लिएर पर्यटन विभाग पुगे । तर त्यहाँ उनको कुरा सुनुवाई नभएपछि उनी एक्लै सन्देश लिएर अघि बढे ।

त्यसपछि उनी श्रीलंका, माल्दिभ्स, इण्डोनेशिया, भियतनाम, लावोस लगायतका देशमा बुद्ध वाज वर्न इन नेपाल नेपाल भन्ने सन्देश लिएर पुगे । जापान, कोरिया, चाइना लगायतका देशमा पुग्दा उनले त्यहाँका संग्रालयमा बुद्ध पाचौँ शताब्दिमा भारतबाट आएका हुन् भन्ने लेखेको देखे । भन्छन्, ‘त्यो कुराले साह्रै चित्त दुख्यो । त्यहाँ बुद्ध नेपालका हुन भन्दै टिसर्ट बाँडे ।

जपानको एउटा मिडियाले बुद्ध नेपालको मात्रै हो भन्न खोजेको हो भनेर सोध्यो । मैलै बुद्ध नेपालको मात्रै होइनन् नेपालमा जन्मेका हुन भन्न खोजेको हो भनेँ ।’म नेपालबाट एक्लै जान्छु तर त्यहाँ पुगेपछि हाम्रो टिम हुन्छ  ।  त्यहाँ विभिन्न देशबाट आएका मानिसहरुले आफ्नो देशको परिचय दिन्छन् । त्यहाँ मैले हिमाल पहाड,तराइको वर्णन गर्दै नेपाल चिनाउने गरेको छु ,उनले भने ।

कतिपय देशमा नेपालबाट आएको भन्दा नेपाल भन्ने देश कहाँ छ भन्ने प्रश्न आउँछ उनलाई ।उनले चीन र भारतको बीचमा रहेको सुन्दर देश र बुद्ध जन्मिएको देश भनेर चिनाउने गरेका छन् । कतिपयले नेपाल भारतले चलाएको देश हो रे भन्छन् । मलाइ चाहिँ हाम्रो देशका विशिष्ठ कर्मचारी र नेता भारतप्रति लुप्त भएका कारण त्यसो भनेका हुन जस्तो लाग्छ । अब साउथ अफ्रिकी मुलुक भ्रमण गर्ने योजनामा रहेका चन्द्रदीप अहिलेसम्म नेपाली नपुगेको मुलुक ग्रिनल्याण्ड जाने लक्ष्य लिएका छन् ।

जीवनलाई संघर्षको रुपमा लिने चन्द्रदीप मानिसले पैसा, शक्ति र सुन्दरताको घमण्ड गर्न नहुने  बताउछन् । भन्छन्, ति क्षणिक वस्तु हुन् ,पहिले हेप्ने मानिसहरु अहिले आफ्नो शरणमा आएका छन् ।’

बुद्ध वाज वर्न इन नेपाल भन्ने सन्देश बोकेर आफ्नै खर्चले विभिन्न देशमा पुगिरहेका चन्द्रदीपलाई राज्यले सहयोग नगर्नु निकै दु:खद पक्ष हो । भन्छन्, राज्यको तर्फबाट कुनै पनि सहयोग पाएको छैन् । देशलाई आफूले सकेको गर्ने हो कसैको आश र भरोसा पनि गर्दिनँ । मैले नेपालकै बैंकमा केहि रकम जम्मा गरेको छु । त्यहिबाट आएको व्याजले उक्त सन्देश लिएर अघि बढिरहेको छु ।  म कुनै पनि राजनैतिक दलको पछाडि नलाग्ने भएकोले होला कुनै पुरस्कार पनि पाएको छैन् , उनले भने ।’

 

प्रतिक्रिया दिनुहोस्