प्रभावकारी गुरुकुलीय शिक्षाको अपेक्षित नीति



०५ असोज २०७५, काठमाडौं

व्यष्टिको कुल
पुर्खाले ५ कुल सञ्चालन गरे । देवकुल, राजकुल, ऋषिकुल, आर्षकुल, गुरुकुल । प्रत्येक कुलका आ–आफना विशेषताहरु थिए । तीमद्धे बाँचे बचाइएको गुरुकुल मात्र हो । कुल भनेको स्कूल हो । स्कोलाबाट स्कूल भन्ने कि कुलबाट स्कूल भन्ने विवाद छिन्ने हामी नै हौं । यसले संकेत गर्छ हामीले समष्टिमा सोचेनौं कि ? प्रत्येक कुललाई स्कूल बनाएनौं कि ? बनाउँन जानेनौं कि ? चाहेनौं कि ? आवश्यकतै ठानेनौं कि ? प्राचीन धरोहरहरुको जगेर्ना गर्ने हो भने पाँचै कुलको स्वरुप बनाउँनुपर्छ । पुर्नखोजबाट । पुर्नचिन्तनबाट । पहिलो नीति यहीं हुनसक्छ ।

गुरुकुलहरु पनि आ–आफना शैलीका छन् । त्यसको स्पष्ट खाका छैन । उद्देश्य के हो ? पाठ्यविषयहरु के हुन् ? शिक्षणविधि के हो ? व्यवस्थापन के हो ? समकक्षता के हो ? यी र यस्ता कुराको खोजी गर्न जरो किलो प्रतिष्ठान भर्खर लागेको छ । यसले संकेत गर्छ – हाम्रा कुलहरुको लेखाजोखा जरुरी छ । मन्दिरमा चलेका छन् । पिढींमा चलेका छन् । भवनमा चलेका छन् । वेद विद्याश्रमको रुपमा छन । महेश संस्कृत गुरुकुलको रुपमा छन । संस्कृत विद्यालयको रुपमा छन । यी वहुरुपका शिक्षालयहरुको जोड्ने सूत्र के हो ? जोडने सूत्रको रुपमा अर्थववेदी नारदपरिव्राजकोपनिषद (पृ १३८ र १३९), तथा परव्रह्मोपनिषद (पृ.१८६ र १८७) जस्ता उपनिषदहरुले जनैलाई उदाहरण दिए । भनिदिए -त्रिविद्या त्यहीं छ । त्रिदेव त्यहीं छ । नवग्रह त्यही छ । २७ नक्षत्र त्यही छ । चक्रीय सिद्धान्त त्यही छ । सूत्रबाट व्रह्म बुझने ज्ञान त्यहीं छ । तर त्यही संस्कृत विधाका गुरुकुलहरु जोडिन्नन् । तिनको स्वतन्त्र अस्तित्व हुने कि सूत्रमा जोड्ने ? नेपाल संस्कृत विश्वविद्यालयको अध्ययन टोली (२०७३) ले उल्लेख गरेझैं संस्कृत विश्वविद्यालयमा जोड्ने एउटा सोच हुनसक्छ । मूलधारकै शैक्षिक व्यवस्थापनमा जोडने अर्को सोच हुनसक्छ । संस्कृत विद्यालयको संरचनामा राख्ने अर्को दृष्टिकोण हुनसक्छ । सबै गुरुकुलहरुको संघ बनाई गुरुकुल नै भन्ने अर्को सोच हुनसक्छ । यी र यस्ता कुराको निर्णायक चिन्तन जरुरी छ । यसका लागि संस्कृतज्ञले निक्र्यौल दिनैपर्छ । दोस्रो नीति यही बन्न सक्छ ।

गुरुकुलका गुरु
द्योपनिषदले वेदका ज्ञातालाई गुरु मान्यो । मन्त्रको भक्तलाई गुरु मान्यो । पुराणज्ञलाई गुरु ठान्यो । आचरणमा सम्यक व्यक्तिलाई गुरु मान्यो (पृ. १२५) । कृष्ण यजुर्वेदीय व्रह्मविद्योपनिषद (पृ. २१४), शुक्ल यजुर्वेदीय पैङ्गलोपनिषद (पृ. २०७) तथा स्वसंवैद्योपनिषदले गुरुलाई ठूलो मान्ने आधार दियो । ती उपनिषदहरुले भने -सम्पूर्ण जगत प्रकाशित भएको व्यक्ति गुरु हो (पृ. ३४१) । त्यसैले उसैको सेवाले मात्र ज्ञान प्राप्त हुने कुरा लेख्यो । यसको अर्थ हो – हर व्यक्ति गुरु होइन । हुन पनि सक्तैन । शास्त्र वर्णित गुरुको खोजी र निर्माण गुरुकुलको नीति हुनुपर्छ । अहिले गुरुकुलमा अध्यापनरत सबैले गुरु हुने ताकत राख्तैनन् भने तिनलाई गुरु बनाउँने व्यवस्था गर्नु पनि गुरुकुलको नीति हुनुपर्छ । गुरु शव्दको सस्तिँदो प्रयोगले यो कुराको अपेक्षा गर्छ । त्यसैले तेस्रो नीति यही हुन सक्छ ।

गुरुकुलका गुरुहरु पनि खण्डित छन् । खण्डितले पूर्णताको अर्थ दिँदा शास्त्रीय मर्यादा घट्छ । जस्तो ॐ प्रणव हो (पृ. १६) । अथर्ववेद सम्मत अर्थवशीर उपनिषद त्यही भन्छ । ॐ शव्द उच्चारण गर्दा स्वास खिचिन्छ । त्यही प्रणव शव्दलाई अथर्ववेदी नारदपरिव्राजकोपनिषदले नाद, विन्दू, कला र शक्तिको संयोग भएकोले त्यसलाई प्रणव भनेको छ (पृ.१६६) । प्रणवलाई पनि श्रृष्टि, संहार र उभयात्मक प्रणव मानेको छ । उभयात्मकलाई वाह्य र अन्त प्रणव मानेको छ ।  यस अर्थमा प्रणव मानिएको ॐलाई व्यष्टि तथा समष्टि दुवै मानेको छ । व्रह्मविद्योपनिषदले ॐलाई आकारित गरेको छ । लक्ष्मीको रुपमा । सरस्वतीको रुपमा । कालीको रुपमा । तीनवटै रुपलाई जोडेर महेश्वर हुन्छ भनेको छ । प्रश्नोपनिषदले (पृ. २३८) जाग्रत हुँदा ॐ निधारमा बस्छ भनेको छ । सुत्दा घाँटीमा । निदाँउदा ह्रदयमा । अर्थात् शास्त्रैपिच्छेका अर्थ छन् । विस्तार छन् । गुरुकुलका गुरुहरु के भन्छन् ? तिनको समष्टिगत जानकारी सहितको एउटै बोली बनाउँन सक्नुपर्छ । कि स्रोत दिन सक्नुपर्छ । कि मेरो अनुभूतिले यो भन्छ भन्न सक्नुपर्छ । अहिलेका गुरुहरुको तागतले त्यो कुरा दिदैन । ध्यान गर्दा भृकुटीमा ज्योति हेर्न लगाउँने राजयोगवादी, स्वास हेर्न लगाउँने रजनीशवादी, टाउको खाली बनाउ भन्ने विपश्यनावादी, ॐ पूर्ण हो त्यही जप भन्ने जपवादीहरुको मिलनविन्दू भनिदिनुपर्छ । कुन स्वभावको व्यक्तिलाई कसरी सिकाउँने भनी निर्णय दिनुपर्छ । त्यसो गर्न सकिन्न भने गुरुहरु सम्प्रदायका गोटी बन्न पुग्छन् । बनाउँन पुग्छन् । कमसेकम यी विभिन्न व्याख्याहरुमद्धे म यहाँ छु भन्न सक्नुपर्छ । त्यसका लागि गुरुहरुको तयारी जरुरी छ । चौथो नीति यही हुनसक्छ ।

जातजातीयता बोकेको गुरुकुल
कृष्ण यजुर्वेदीय अथश्वेताश्वेतरोपनिषद भन्छ – नश्वरको ज्ञान अविद्या हो । अविनाशी जीवात्माको ज्ञान विद्या हो (पृ. ४११) । सर्वेसारोपनिषद अनुसार मनको चञ्चलताले निर्णित ज्ञान अविद्या हो । चैतन्य भावको ज्ञान विद्या हो (पृ. ४२७) । कृष्ण यर्जुवेदीय कठोपनिषद अनुसार भोगी जान्ने कृत ज्ञानी हुन् । पढी जान्ने स्मृत ज्ञानी हुन् । व्रह्म ज्ञानी विनिर्गत ज्ञानी हुन् । यी र यस्ता ज्ञान बोक्ने गुरुकुलका गुरुहरुले जात किन बोके । जातीयता किन बोके । किन बोकाए ? एकाध अपवाद हुन् । यजुर्वेद सम्मत निरालम्बोपनिषद अनुसार जातजाती त व्यवहार भेद हो । शरीर भेद होइन (पृ. २२३) । त्यही शास्त्र मान्ने गुरुकुलमा चाहिं व्राह्मणका सन्तती चाहिन्छ भन्ने सोचले गुरुकुल साँघुरिएको छ । जातजातीय भेदसँगै साँस्कृतिक सम्पदामा पनि भेद हुन्छ भन्ने शास्त्रीय मान्यता स्वीकार्ने हो भने सम्पदा फेरिएकोमा पनि चिन्तन गर्नुपर्छ । जात जातीवादी हाम्रा चिन्तन फेर्न नारदपरिव्राजकोपनिषद, मण्डलव्राह्मणोपनिषद, वज्रसूचीकोपनिषद तथा निरालम्बोपनिषदको आधार लिन सकिन्छ । तिनले भनेको व्राह्मण जात हैन । जातीय हैन । वर्ग हैन । नारदपरिव्राजकोपनिषद अनुसार सम्मानलाई विष मान्ने र अपमानलाई अमृत मान्ने पो व्राह्मण हो (पृ. १३३) । मण्डलव्राह्मणोपनिषद अनुसार (पृ. २३१) पाँच किसिमका व्राह्मण हुन्छन् । अष्टाङ्ग योगी पहिलो व्राह्मण हो । आत्मतत्वरुपी व्यक्ति दोस्रो व्राह्मण हो । परमात्मज्ञानी तेस्रो व्राह्मण हो । सिद्धिप्राप्त व्यक्ति चौथो व्राह्मण हो । व्रह्म साक्षात्कार गरेको व्यक्ति पाँचौं व्राह्मण हो । अब, प्रश्न गरौं कुन व्राह्मणका सन्ततीलाई हामीले व्राह्मण भनी गुरुकुलमा भित्र्यायौं ? वज्रसूचीकोपनिषदलाई आधार मान्ने हो भने जीव व्राह्मण होइन । शरीर व्राह्मण होइन । ज्ञानी व्राह्मण होइन । धार्मिक व्यक्ति पनि व्राह्मण होइन । बरु व्रह्मभावले सम्पन्न व्यक्ति पो व्राह्मण हो (पृ. २७१) । ध्यानविन्दूपनिषद अनुसार ॐ कारसँग अनभिज्ञ व्यक्ति व्राह्मण होइन (पृं ९२) । उपनिषदीय चिन्तनहरुलाई ध्यान दिँदा व्राह्मण सन्तती मात्रै गुरुकुलमा राख्नेहरु अष्टावक्रको शव्दमा छालाका पारखी मात्रै भयौं कि ? गुरुकुल सञ्चालकले सोच्नुपर्ने पाँचौ नीतिगत कुरा हुनुपर्छ ।

गुरु अनुकुलका गुरुकुल
प्राचीन गुरुकुलमा तीन किसिमका गुरुहरु थिए । गुरु, उपाध्याय, र आचार्य । संस्कार दिने गुरु हुन्थे । जीविकाको लागि वेद वेदाङ्ग सिकाउने उपाध्याय हुन्थे । वेद वेदाङ्गका रहस्य समेत बताउन सक्नेहरु आचार्य हुन्थे । दश हजार चेला चेलीलाई खानपान, आवास, तथा पठनपाठनको एकसाथ प्रवन्ध मिलाउन सक्ने आचार्यहरु कुलपति हुन्थे । अहिलेका हाम्रा गुरुकुलहरुमा भने थरिथरिका गुरुहरु छन् । द्वयोपनिषदले भनेझैं (पृ १२५) । व्रह्मविद्योपनिषदले भनेझैं (पृ २१४) । पैङ्गलोपनिषदले भनेझैं (पृ २०७) । स्वसंवैद्योपनिषदले भनेझैं (पृ ३४०) । ती गुरुहरुले केमा चेलाचेलीलाई पारंगत बनाए ? त्यसै आधारमा गुरुहरुलाई वर्गीकृत गर्नुपर्छ । यो छैठौं नीतिगत व्यवस्था हुनुपर्छ । यो व्यवस्था लागु गर्नाले गुरुकुल, आश्रम आदिको विज्ञता थाहा हुन्छ । कतै कर्मकाण्डीय विज्ञता होला । कहीं वैदिक विज्ञता । कहीं पुराणमा विज्ञता । यी र यस्ता विज्ञताका गुरुकुल कुन कुन हुन् ? वेद र उपनिषदसम्मत गुरुकुल कहाँ छन ? कहां विश्ववारा, घोषा, गौतमी, गार्गी जस्ता विदूषी बनाउने गुरुकुल छन ? कहां स्वामी प्रपन्नाचार्य जस्ता विद्धान बनाउँने गुरुकुल छन् ? कहाँ रैक्क ऋषि र विदूर जन्माउँने गुरुकुल छन् ? कहाँ वशिष्ठ, विश्वामित्र तथा मुद्गल बनाउँने गुरुकुल छन् ? कहाँ अष्टावक्र, शिरध्वज जनक, याज्ञवल्क्य र कपिलमुनी बनाउँने गुरुकुल छन् भनी नक्साँकन गर्नु सोही नीतिको अंग हुनुपर्छ ।

सीमा र सीमाहीन गुरुकुल
शुक्ल यजुर्वेदी कण्व शाखाको सतपथ व्राह्मणको वृहदारण्यकोपनिषद भन्छ (पृ. २५५) -वर्णाश्रम मानव भेद होइन । श्रृष्टिकालमा सबै ब्राह्मण हुन् । तिनै व्राह्मणले क्षेत्री सिर्जना गरें । इन्द्र, सोम, बरुण, पर्जन्य, मृत्यु, यम, इशान सबै क्षत्री हुन् । क्षेत्रीले वैश्य सिर्जना गरे । बसु, रुद्र, आदित्य, मरुत, विश्वदेव सबै बैश्य हुन् । बैश्यले शूद्र सिर्जना गरे । पुषा, पृथ्वी आदि शूद्र हुन् । यसरी हेर्दा वर्णाश्रम धर्ममा २५ वर्षे पढाइको उमेरले कता संकेत गर्छ ? शायद स्मृति तथा पुराणको कुरा मात्र भन्छ । रामायण र महाभारतको उदाहरण दिने हो भने न रामले २५ वर्षे उमेरसम्म पढे । न कृष्णले पढे । यस्को अर्थ हो – हाम्रा गुरुकुलहरु वर्षवादी थिएनन् । क्षमतावादी थिए । कुनै बेलाको एकपासे । दुईपासे जस्ता । अहिलेका गुरुकुल वर्षवादी बनेका छौं । पारंगतवादी बन्नु बनाउँनु सातौं नीति हुनुपर्छ । फलानो गुरुकुलमा पढेपछि म फलानो विषयमा पारंगत हुन्छु भन्ने जानकारी जनमानसमा जानुपर्छ ।

खोजका गुरुकुल
देवता कति छन् ? पुराणहरुले भने तेत्तीस कोटी । कोटी भनेको करोड हो – गुरुहरुले अथ्र्याए । ऋग्वेदको पहिलो मण्डलको १.७.२ ले चाहिँ देवतालाई तीन समूहमा बाड्यो । पहिलो वसु समूह । दोस्रो रुद्र समूह । तेस्रो आदित्य समूह । ऐत्तिरिय व्राह्मणले प्रियज, अनुयज्ञ र उपयज्ञ भन्यो । वृहदारण्यकोपनिषदले पनि तीनकै भाषा बोक्यो । अनि भन्यो -त्यहीं तीन नै तीनसय हो । तीन हजार हो । तीन हजार तीन सय हो । त्यो भनेको विभूति हो (पृ. २९६ र २९७) । तसर्थ देवता भनेका ३३ वटा छन् । आठ वसु । एघार रुद्र, वाह्र सूर्य, एक इन्द्र र एक प्रजापति । यसरी हेर्दा वैदिक र उपनिषदीय पुर्खाले तीन देव चिने । त्यो पनि प्रकृतिमा । तिनै प्रकृतिलाई आफैंमा आरोपित गरे । पौराणिक, स्मृति र पुरोहित पुर्खाले तेत्तीस करोड बनाइदिए । हाम्रा गुरुकुलका गुरुहरुको सन्देश के हुने ? देवता, विभूति, व्रह्म, सिद्ध आदिमा के फरक छ ? ५ कलाको व्यक्ति कसरी भगवान हुन्छ ? अर्थात् हाम्रो संस्कृतिको बहुदेव पूजनलाई केमा जोड्ने ? वेदान्तको बोलीमा एक नै अनेक हो र अनेक नै एक हो भन्ने कि ? कपिलमुनिको बोलीमा प्रकृति र पुरुषकै भेद भन्ने कि ? ऋग्वेदकै भाषामा वसु, रुद्र र आदित्य समूहलाई त्रिदेव भनी स्वीकार्ने कि ? छान्दोग्यपनिषद (६.२.२१) लाई स्वीकारेर एकभेव द्वितीयम भनेर एउटै ईश्वर मान्ने ? अर्थात् बुझने कसरी ? मान्ने कसरी ? यस्ता कुराहरुको खोजमूलक ज्ञान सम्प्रेषण गर्नु आठौं नीति हुनुपर्छ ।

समाजमुखी गुरुकुल
समाजमा गृहस्थीहरु छन् । सन्यासी छन् । अरुहरु पनि छन् । गृहस्थीको सँख्या अत्यधिक छ । अथर्ववेद सम्मत आश्रमोपनिषदले गृहस्थीलाई पनि चार भागमा बाँडेको छ । पहिलो वार्ताकवृतिवाला गृहस्थी । यिनीहरु कृषक हुन् । पशुपाला हुन् । व्यापारी हुन् । दोस्रो शालीनवृतिवाला गृहस्थी । यिनीहरु यज्ञ गर्छन् । पढ्छन् । तेस्रो यायावर गृहस्थी हुन् । यिनीहरु यज्ञ पनि गर्छन् । अरुलाई पनि गराउँछन् । चौथो, घोर सन्यासी । यिनीहरु खेतबारीको टिपनटापन खान्छन् (पृ. ४४ र ४५) । यी चारमध्ये गुरुकुलको सेवा कस्ले पायो ? अनुभवले भन्छ – निश्चित जातले । निश्चित जातीले । तिनैको दान दातव्यवले गुरुकुलहरु चलेका पनि छन् । तर समाजले के पायो त ? यो प्रश्नको जवाफ गुरुकुलले दिन सकेको छैन । एकाध गुरुकुलले योग सिकाएर र पुराण लगाएर त्यसको जवाफ दिएका छन् । ती अपवाद हुन् । संस्थागत रुपमा चारै समूहका गृहस्थको घरमा गुरुकुल पुग्नुपर्छ । यो नवौं नीति हुनुपर्छ ।

तुरीय र मायावी ज्ञानका गुरुकुल
निर्वाणोपनिषद (पृ. १७५) र नारदपरिव्राजकोपनिषद अनुसार ज्ञान तुरीय पनि छ । मायावी पनि छ । गुरुहरु दुवै ज्ञानका छन् । तुरीय ज्ञानका गुरुले विदेह बन्न बनाउँन सिकाउँछन् । अध्यात्मोपनिषद (पृ. १९) त्यही भन्छ । जीव र ईश्वरको भेद चिनाउँनुपर्छ । जावल्युपनिषद त्यसै भन्छ (पृ. ११२) । अद्धैतभावमा पु¥याउँनुपर्छ । मैत्रेयुपनिषद त्यही भन्छ । शरीरप्रतिको अहंभाव छुटाउँनुपर्छ । सर्वसारोपनिषद (पृं. ४२५) त्यसै भन्छ । तर मायावी गुरुहरु फलासामा यज्ञ गराउँछन् । अवधूतोपनिषद अनुसार ती अज्ञानी हुन् (पृं. ४०) । अथवा ती मायावी ज्ञानी हुन् । यहीं प्रश्न रह्यो- मायावी ज्ञान दिने कि तुरीय ज्ञान दिने गुरुकुल हो हाम्रो भनी टुँगो गर्नु दशौं शैक्षिक नीति हो । किनकि कुल, गोत्र, नाम, जाती र लिँगभेदमा मायावी ज्ञान आधारित हुन्छ । स्थूल शरीरको ज्ञान (आत्मोपनिषद, पृं. ३९) । विदेह बन्ने बनाउँने चाहिँ तुरीय ज्ञान हो । कामन्दक नीति अनुसार त्रयी, आन्वीक्षिकी (तर्कशास्त्र), र दण्डनीति (लोक मर्यादा, न्याय र अनुशासन) विद्या अन्तर्गत पर्छन । प्रविधि प्रधान विषयवस्तु चाहिं शिक्षा अन्तर्गत पर्छन । अहिलेका प्राविधिक विषयवस्तु शिक्षा हुन । प्रश्न हो -कुन कुन गुरुकुलहरु के के गरिरहेका छन ? अर्थात शिक्षामा छन कि विद्यामा छन ? कि मिश्रित व्यवस्थापनमा छन ? सार्वजनिक जानकारी छैन ।

आजका समस्या
आजका हाम्रा गुरुकुलहरु विद्यालय हुन कि शिक्षालय ? विद्यालयले शिक्षा दिन्छ । शिक्षालयले ज्ञान दिन्छ । विद्यालय शिक्षाले जगत सम्वन्धी सामान्य जानकारी र जीवन जिउने सीप दिन्छ ।  शिक्षालयले जीव, जगत र व्रह्म जोडने ज्ञान दिन्छ । हाम्रा कुन कुन गरुकुलहरु के के गर्दैछन ? केकसलाई पढाइरहेछन ? केकसरी खर्च जुटाइरहेछन ? कुन कुन व्यवस्थापनमा जान चाहन्छन ? लगानीको कुन ढांचाको अपेक्षा गर्छन ? गुरुहरुकै सेवा सुरक्षाको के कस्तो प्रवन्ध हुनुपर्छ ? पाठ्यक्रम र पाठ्यपुस्तकमा के के कुरा राखिनुपर्छ ? यी र  यस्ता पेचिला प्रश्नहरु आजका समस्याहरु हुन ।

अपनाउनु पर्ने शिक्षा नीति
मेकाले (सन् १८३५) र ह्यूग बी उड (सन् १९५६) ले संस्कृत शिक्षाबारे एउटै बोली बोले । यो संयोग हो कि नियोजित समयले बताउँला । उनीहरुको जिकिर थियो – संस्कृतको ज्ञानले बैज्ञानिक युगमा काम गर्दैन । यसले रोजगारी दिदैन । यही कुरालाई नेपालका आधुनिकतावादी, कडा साम्यवादी र जनजातीले अक्षरशः स्वीका¥यौं । यो स्वीकारले संस्कृत शिक्षामा धमिरो लाग्यो । परिणामतः संस्कृत मदौरु बन्यो । बनाइयो । संस्कृतज्ञहरुको पढाउँने शैली र उदासीन मान्यताले आगोमा घ्यूको काम ग¥यो । अहिले संस्कृतलाई कर्मकाण्डभन्दा माथि ठान्नेहरुको जमात सानो छ । संस्कृतमा भएका दर्शन, विज्ञान, संस्कृति आदिबारे खोज गर्नेहरुको जमात नगन्य स्वरुपको छ । संस्कृत विश्वविद्यालय पनि बौरिएको छैन । यस स्थितिमा गुरुकुललाई कसरी लाने भन्ने कुराको नीतिगत बाटो पहिल्याँउन पनि कठिनाइ देखिन्छ । यही परिवेशमा गुरुकुलको शिक्षा नीति निम्न स्वरुपको हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

क) कुलहरुमध्येको एक कुलको रुपमा
पाँचै कुललाई व्युँताई छोटो अवधिका पारँगतवादी कुल बनाउँनु सान्दर्भिक देखिन्छ । यसो गर्नाले वैदिक तागतको पुर्नप्राप्ति हुनसक्छ । यसो गर्दा कक्षागत ज्ञान खोज्ने तथा उमेरगत ज्ञान खोज्ने अहिलेको संस्कारमा गुरुकुल क्रान्तिकारी संरचना बन्न सक्छ । गुरुहरुको सामुहिक निर्णयले यो काम गर्न सक्छ । लगानीका लागि स्थानीय सरकारलाई क्रियाशील बनाउन सकिने संभावना छ ।

ख) विद्यार्थी पहुँचमा
‘कुलीन’ विद्यार्थी पढाउँन अभ्यस्त गुरुकुलहरु साझा बनाउनुपर्छ । साझापनले नवीन सोच र विद्यार्थीमैत्री शिक्षणशैली खोज्छ । अनवरत अनुसन्धान खोज्छ । यसका लागि गुरुहरुको तयारी जरुरी छ । यो तयारीमा परंपरागत सोच र आधुनिक सोचबीच समन्वय गरिनुपर्छ । पुराना सोचको खोजी गरी आधुनिक भनिएका ज्ञानलाई चुनौती गर्नुपर्छ । समानता र भिन्नता खोज्नुपर्छ । यो काममा गुरुकुलको नेतृत्व नै प्रभावकारी हुन्छ ।

ग) व्यवस्थापनमा
शास्त्रीय व्यवस्थापनले सोपान खोज्छ । आधुनिक व्यवस्थापनले सहकर्मी ढाँचा खोज्छ । आचार्यले सञ्चालन गरेका कुलमा न सोपानी व्यवस्थापन हुन्छ । न सहकर्मी । त्यसमा अध्ययनरत चेलाचेलीहरु आफैं व्यवस्थापक बन्छन् । अनुसिकी बन्छन् । अनुकरणकारी बन्छन् । सर्जक बन्छन् । गुरुकुलहरुले यो नीति अबलम्बन गर्नुपर्छ । सम्वन्धित गुरुकुलले नै यसको जिम्मा लिनुपर्छ ।

घ) शिक्षण व्यवस्थापनमा
श्रवण, मनन र निधिध्यासन हाम्रो मूलभूत शैक्षणिक सम्पदा हो (कामन्दकीय उक्ति अनुसार यसमा उत्प्ररणा, श्रवण, ग्रहण, धारण, तर्क, वितर्क, अर्थज्ञान र तत्वज्ञान थप सम्पदाहरु हुन) । अहिलें श्रवणमा बढी जोड छ । मनन र निधिध्यासन सम्पदाहरु ओझेलमा परेका छन् । मननले गुन्न सिकाउँछ । निधिध्यासनले गर्न सिकाउँछ । घोकन्ते शिक्षणले संज्ञानात्मक तागत बढाँउछ । अर्थात् हाम्रो परंपरामा संज्ञान, सूझ र निर्माणवादको मिलित ढिक्का छ । आचार्यको अनुशरणमा अवलोकन र आफनोपना जोड्ने गुञ्जाइस छ । यो कुरालाई उत्खनन् र आकारित गर्नु जरुरी छ । शैििक्षक जनशक्ति केन्द्र र पाठयक्रम विकासकेन्द्रको सहकार्यमा नेपाल संस्कृत विश्वविद्यालयले यो काम अघि बढाउन सक्छ ।

ङ) मूल्यांकन प्रक्रियामा
गुरुकुलका गुरुहरु आफैं निर्णायक हुन् । पश्चिमाहरु पनि त्यसै गर्दछन् । हामी भने अरुबाट विद्यार्थी परीक्षण गराउँने क्रममा छौं । ‘भेडा बेच । नून किन । त्यही भेडालाई नून बोकाएर ल्याउँ’ । प्रश्न यही हो । यी र यस्ता प्रश्नले विद्यार्थी जाँच्ने गुरुकुलीय परंपरा हो । व्यावहारिक ज्ञान दिने परंपरा । अहिले अव्यवहारिक पढाइ छ भन्नेलाई चड्कन दिने परंपरा । यस्ता परंपराहरुको उत्खनन् अबको नीति हुनुपर्छ । गुरुकुल आफैंले योकाम गर्न सक्छ ।

च) लगानी प्रबन्धमा
गुरुकुलहरु आवासीय छन् । दान दातव्यबाट चलेका छन् । सरकारले केही गुरुकुलमा प्रति विद्यार्थी लागत पनि दिएको छैन । यस स्थितिमा लगानीको नीतिमा फेरबदल गर्नुपर्छ । आवासीय विद्यार्थीलाई दिइने लगानीको रुपमा । दिवा विद्यार्थीलाई दिइने लगानीको रुपमा । अर्को विकल्प हुन सक्छ गुठी खडा दिने । पुर्खाले सोचेको गुठी प्रणाली जस्तो । अहिलेको गान्धीको चर्खा प्रचारक महागुठीको तरीका जस्तो । यो काममा नेपाल सरकार र गाउंपालिका तथा नगरपालिका महासंघ क्रियाशील हुनसक्छ ।

छ) गुरुहरुको व्यवस्थापनमा
स्वामि (१०८, १००८) बनाउने आफनै प्रक्रियाहरु छन् । सामवेदीय अरण्युपनिषद (पृं. ४२ र ४३) तथा कृष्ण यजुर्वेदीय कठरुद्रोपनिषद (पृं. ४९) ले सन्यासी बन्ने तरीका पनि दिएको छ । तर गुरुकुलमा पठनपाठन गराउँने गुरुहरुको व्यवस्थापनको प्रबन्ध छैन । मठको रुपमा जाने एउटा तरीका हुनसक्छ । सौनकादि ऋषिहरुको तरीकामा जाने अर्को बाटो हुनसक्छ । स्थानीय सरकारको व्यवस्थापनमा रहने तेस्रो तरीका हुनसक्छ । शिक्षा, विज्ञान र प्रविधि मंत्रालयको प्रबन्धमा बस्ने चौथो तरीका हुनसक्छ । नेपाल संस्कृत विश्वविद्यालयको संरचनामा रहने पाँचौं तरीका हुनसक्छ । मदरसाका मौलवी तथा मौलानाझैं आफनै संरचनामा रहने छैठौं नीति हुनसक्छ । कर्मचारी व्यवस्थापनमा पनि यो चिन्तन ल्याउनुपर्छ । यस्तो कुरामा अन्तर गुरुकुल छलफल जरुरी छ । निर्णय लिनु जरुरी छ । गुरुकुलकै नेतृत्वले यो काम गर्नसक्छ ।

सेवाभावले चले चलाइएका गुरुकुलका गुरु तथा कर्मचारीहरुको सुरक्षाका लागि योगदानमा आधारित सञ्चयकोष र निवृत्तिभरणको व्यवस्था पनि उत्तिकै जरुरी छ । हेलम्बु गाउँपालिकाले अस्थायी, करार, राहत, तथा प्रति विद्यार्थी लगानीका सरकारी शिक्षकहरुलाई दिने गरेको योगदानमा आधारित सञ्चयकोष र निवृत्तिभरण एउटा उपाय हुनसक्छ । स्थानीय सरकारले यो काम गर्न सक्छ ।

ज) पाठ्यक्रम र पाठ्यविषयको व्यवस्थापन
मदरसा र गुम्बामा झैं गुरुकुल तथा आश्रममा पनि गुरुको निर्णय नै पाठ्यक्रम हो । पाठ्यपुस्तक हो । धार्मिक विद्यालयहरुको मूल प्रबाहिकरण अभियानले यसमा नयाँ विषयहरु थपेको छ । बजारसँग जोडिएका विषयहरु पढ्नु पढाँउनु एउटा उपाय हुनसक्छ । त्यसैमा बहुधार बनाउँनु अर्को नीति हुनसक्छ । निश्चित उमेरका बालबालिकालाई सानै उमेरमा भर्ना गर्नु अर्को तरीका हुनसक्छ । जुनसुकै उमेरकालाई पनि जुनै विषयमा प्रवेश दिनु पनि उत्तिकै जरुरी हुन्छ । यस स्थितिमा तीन धार चलाउँने नीति उर्पयुक्त हुन्छ । पूर्णकालीन आवासीय गुरुकुलीय धार । छोटो अवधिको रहरगत आवासीय तथा दिवा धार । नवीन विषय जोडिएका आवासीय तथा दिवा धार । गुरुकुल संचालकहरुले यसको खाका बनाउनुपर्ने हुन्छ ।

झ) सशुल्क र निशुल्क व्यवस्थापन
गुरुकुलमा आर्जेर पढाउनेहरु गुरुहरु छन । अरुको आर्जनमा पढाउँनेहरु पनि छन् । निशुल्क पढाउँनेहरु पनि छन् । यसैले समाजोपयोगी आर्युवेद, योग, कर्मकाण्ड जस्ता विषयमा सशुल्क सेवा गरिनुपर्छ । धर्मशास्त्रसम्मत जनज्ञानका लागि निशुल्क सेवा । समाजमा गरिने निशुल्क सेवाबाट गुरुकुलले समाजको माया र सहयोग पाउँछ । सशुल्क सेवाले गुरुकुलले केही रकम संकलन गर्न सक्छ । गुरुकुलहरुको साझा निर्णयले यो काम गर्न सकिन्छ ।

ञ) गुरुकुल संघको प्रबन्ध
यो प्रबन्धले गुरुकुल कहाँ छ भन्ने थाहा हुन्छ । कुन हालतमा छ भनी पहिचान गर्न सकिन्छ । एक अर्कालाई सघाउँने नीति बनाउँन सकिन्छ । सौनकादि ऋषिहरुको तागत आर्जन गर्न सकिन्छ । कर्मकाण्डीय हथ्यौडी सिकाँउने गुरुकुलदेखि स्नातकोत्तर तहसम्म पढाउँने गुरुकुलबीचको जीवन्त सम्बन्ध बनाउँन सकिन्छ । स्थानीय सरकारको सहकार्यमा एकसाथ अगाडि बढ्ने आधार बन्छ । प्रदेश र संघीय सरकारसँग उच्च शिक्षाको लागि सहयोग लिन सकिन्छ । गुरुकुलको नेतृत्वले यो काम गर्न सक्छ ।

ट) अनुसन्धान र लेखन
सोच र खोज ऋषि परंपरा हो । अवलोकन, आप्तवाक्य, अनुभूति, संवाद हाम्रै शोधीय तरीका हुन् । प्रश्नले उठान गर्ने र विस्तारमा उत्तर दिने हाम्रै शोधग्रन्थीय परंपरा हो । यी र यस्ता हाम्रा अनुशीलन प्रक्रियाको खोजी गर्नुपर्छ । एकै विषयवस्तुलाई कस्ले कसरी बुझयो भनी ससाना पुस्तिका प्रकाशन गर्नुपर्छ । ब्लग लेख्नुपर्छ । सामाजिक सञ्जालमा पढाउँनुपर्छ । वेभपेज बनाउँनुपर्छ । लेखहरु लेख्नुपर्छ । आफूमै शोध गरेर अनन्त व्रह्माण्ड पहिल्याँउने हाम्रो पुख्र्याैली तागत पुर्नप्रस्तुती गर्नुपर्छ । हकिन्सको बहुव्रह्माण्डलाई हाम्रा अनन्त व्रह्माण्डले प्रतिस्थापित गर्नुपर्छ । हिग्स बोसनको दैवी अणुलाई हाम्रो व्रह्मको विस्तार र संकुचनले चुनौती गर्नुपर्छ । सांख्यको द्वय, द्वयोपनिषदको द्वय, मार्कसको द्वय र डेरिडाको द्वयको मिलन र विछोड विन्दूमा शास्त्रास्त्र गर्नुपर्छ । आइन्स्टाइनको उर्जा र पर्दाथ एक अर्कामा रुपान्तरित हुन्छन् भन्ने कुरालाई हाम्रा प्रकृति र पुरुषको अन्तर सम्बन्धीय चिन्तनले पछार्नुपर्छ । हाम्रा पुर्खाले भनेको व्रह्म उर्जालाई अणु देख्ने हिग्स, बोसन र उर्जा देख्ने हकिन्सलाई जिस्क्याँउनुपर्छ । यसका लागि पश्चिमी विज्ञान र पूर्वीय विज्ञान जानेकाहरुको टोली बनाई शोध गर्ने परिपाटी बसाँउनुपर्छ । नेपाल सरकार र नेपाल संस्कृत विश्वविद्यालयले यो काममा गति दिनसक्छ ।

ठ) संस्कृति र भाषामा सहखोज
संस्कृत साझा हो । देशका सबै संस्कृति र भाषाहरुमा यसको संबन्ध छ । अंग्रेजले ग्रीक र ल्याटिनको सम्बन्ध देखायो । हामीले भारोपेली समूहमा मात्रै संस्कृतको सम्बन्ध बुझयौं । बुझायौं । त्यसैले अबको नीति हुनुपर्छ – संस्कृतका शव्दावली कुन कुन भाषामा छन् खोज्ने । जर्नादन घिमिरेले शव्द सन्दोह लेखेझैं । संस्कृत सन्दोहबाट नेपालका कुन कुन भाषाहरु सिक्न सिकाउँन सकिन्छ भन्नुपर्छ । अष्ट्रेलियाको माउरी भाषाले संस्कृतको मूल पहिल्याए जस्तो । यसका लागि नेपाल संस्कृत विश्वविद्यालयसँग सहकार्य गर्नुपर्छ । गुरुकुलका गुरुहरुको जत्था बनाउँनुपर्छ । गुरुकुलले नै यसको जिम्मा लिनुपर्छ ।

ड) चाखको सिर्जना
अ, इ, उण, ऋ, लृक पढाउँने हाम्रो शास्त्रीय विधि हो । सहजबाट जटिल अहिलेको शिक्षण विधि । विधिले घोकाइ माग्यो । अहिलेको विधिले सोचाइ खोज्यो । अर्थात् संस्कृत शिक्षण विधिले सरलता माग्यो । सन्निकटता माग्यो । ‘कथाले माँगेको’ विधिले संस्कृत सबैको विषय बन्छ । यसका ज्ञानहरुको सहज प्रस्तुतीले सबैको चाख बन्छ । गुरुकुलका गुरु तथा तागतवार सहकर्मीहरुको टोलीले संस्कृत र पूर्वीय संस्कृति सबैको खोजाइ बनाउँन सक्छ । थोपारिएको भनिएको आजको संस्कृत सर्व स्वीकार्य बन्न सक्छ । इच्छाधीन विषयको रुपमा । सबैको रुचीको विषयको रुपमा । पूर्वीय ज्ञानहरुको तुलनात्मक अध्ययन सामग्री बने बनाएमा अनिवार्य विषयको रुपमा । विद्यालयमा । क्याम्पसमा । विश्वविद्यालयहरुमा । परिणामतः मेकाले र ह्यूगबी उडको चुनौतीको सामना हुन्छ । संस्कृतमा लेखिएका ज्ञान तथा विज्ञान खोजेर । तिनलाई आधुनिकीकरण गरेर । संस्कृतका ज्ञान तथा विज्ञानलाई रोजगारीका विषयको रुपमा विकसित गरेर । तिम्रा अंग्रेजीले पनि त जागीर दिन छोड्यो नि त भन्नु पर्छ । स्वामी प्रपन्नाचार्यको हिन्दू विज्ञानमा उल्लेखित ज्ञान तथा विज्ञानको संकलनमा थप काम गर्नुपर्छ । आचार्य तहका गुरुहरुले यो काम गर्नपर्छ ।

स्वीकारोक्ति
गुरुकुलीय शिक्षाको नीति लेखें । शीर्षकले त्यही भन्छ । कुनै नीति बने । कुनै कार्यनीति । कुनै गुरुकुलकै जिम्माका नीति बने । कुनै शिक्षा आयोगका । कुनै नेपाल संस्कृत विश्वविद्यालयका । कुनै शिक्षा, विज्ञान तथा प्राविधिक मंत्रालयका । कुनै बेनीति पनि बने । मेरै रहरका । यी र यस्ता कुरा छुट्टयाँउने जिम्मा प्राज्ञहरुमा छाडे । यसको एउटै कारण हो – मेरो विषयगत अज्ञानता । यस अर्थमा अध्याँरोमा हानेको झटारो हुनसक्छ यो लेख । मेरो विश्वासले भन्छ – गुरुहरुलाई ठोस नीतिका लागि वकालत गर्ने पूर्वाधार बन्न सक्छ । भोलिको शिक्षामा यो नीति राखौं भन्ने व्यावहारिक दृष्टिकोण बन्न सक्छ । परिणमतः गुरुकुलले वैज्ञानिकता, रोजगारी र विश्वमा प्रतिस्पर्धा गर्नसक्ने विद्यार्थी जन्माउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्