१२ असोज २०७५, चितवन
सशस्त्र द्वन्द्वका बेला प्रयोग गरिएका हतियार, दस्तावेज लगायतलाई संकलन गरेर युद्ध संग्रहालय बनाउन गृहकार्य शुरु भएको छ ।
तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध संग्रहालय निर्माणका लागि पहल शुरु गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शक्तिखोरमा युद्ध संग्रहालय बनाउनुपर्ने घोषणा गरेपछि गृहकार्य शुरु भएको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
विश्वमा द्वन्द्व भएका विभिन्न मुलुकका संग्रहालयहरुको जानकारी दिँदै श्रेष्ठले कुन ठाउँमा कस्तो संग्रहालय बनाउने भन्ने विषयमा छलफल भइरहेको बताए ।
उक्त क्षेत्रका प्रदेश सांसद घनश्याम दाहालले पूर्व लडाकूहरू रहेको तेस्रो डिभिजनमा हाल नेपाली सेना रहेको भन्दै सेना हटेर औद्योगिक क्षेत्र बन्ने क्रममा ठाउँ तय गरी युद्ध संग्राहलय बनाइने बताएका छन् ।
सो क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बन्ने प्रक्रिया अघि बढेको छ । दाहालले १० वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने कला कुँदेर समेत देखाइने जानकारी दिए ।
युद्ध संग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने उनको अनुमान छ । सो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहानजिक पर्छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले विश्वका युद्ध भएका विभिन्न मुलुकमा युद्ध झल्कने संग्रहालय रहेको बताए ।
ती ठाउँहरू स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने भएकाले चितवनको शक्तिखोरमा युद्ध संग्रहालय बनाउन सकेमा पर्यटक प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने बताए ।