१२ असोज २०७५, ललितपुर
ललितपुर १४, नखिपोट निवासी संजय अधिकारी पेशाले शिक्षक हुन् । उनले अंग्रेजी साहित्यमा एम ए सम्मको अध्ययन गरेकाछन् भने डेभलपमेन्ट स्टडीमा एम फिल गरेकाछन् । उनको एक उपन्यास र थुप्रै कथा अनि कविताहरु राष्टिय दैनिक र पत्रिकाहरुमा प्रकाशित भैसकेका छन् । हाल उनि युलेन्स स्कूल र सान कलेजमा अध्यापन गर्दछन् । एक साहित्यकारको रुपमा उनि आफूलाई प्रयोगबादी र अराजक लेखकको रुपमा प्रस्तुत गर्न चाहान्छन् ।
परिवर्तन खबरका प्रबन्ध सम्पादक अजय वानप्रस्थी ले उनिसँग लिएको छोटोे अन्तर्वाता यहाँ प्रस्तुत छ ।
अजय वानप्रस्थी : तपाइँको बिचारमा साहित्य भनेको के हो ?
संजय अधिकारी : मलाई लाग्छ साहित्य भनेको शब्दहरु र अक्षरहरुको कलात्मक रुप हो । भाषाको सौन्दर्यात्मक पक्ष हो । सामाजिक र काल्पनिक आयामहरुलाई शब्दहरुले सिंगारेर एक पठनिय प्रस्तुति बनाएपछि त्यो साहित्य बन्छ ।
अजय वानप्रस्थी : साहित्यको उपयोगिता के छ ?
संजय अधिकारी : साहित्यको उपयोगिताको फरक फरक आयामहरु हुँन सक्छन् । एक साहित्यकारलाई यो उपयोगि हुन्छ किनकी उसले आफ्नो मनको उथलपुथललाई कलात्मक रुप दिएर साम्य पार्न सक्छ । साहित्यले समाजलाई पनि देन दिईरहेको हुन्छ । साहित्यको अध्ययन गर्नाले मानिस वा पाठकको भावनात्मक पक्षलाई सक्रिय बनाई राख्छ। अर्थात साहित्यले समाजलाई रुखो र निरास हुनबाट बचाउँछ। यसले समाजको समस्याग्रस्त पक्षलाई पनि कलात्मक रुपले झकझकाउने गर्छ ।
अजय वानप्रस्थी : तपाइँ चाही किन साहित्य लेख्नु हुन्छ ?
संजय अधिकारी : साहित्यले समाजको चित्रण गर्छ । तर यसले गर्ने चित्रणमा मगजको भन्दा हृदयको रंग बढि प्रयोग गरेको हुन्छ । साहित्य लेख्दा मनले एक अनौठो र अब्यक्त सन्तुष्ठि दिन्छ । साथै साहित्य लेखिरहँदा म एक समानान्तर संसारको रचना गरिरहेको हुन्छु जसमा म निर्बाध रुपले पूर्ण स्वतन्त्र भएर बाँच्न पाउँछु ।
अजय वानप्रस्थी : तपाइँलाई साहित्यको कुनकुन बिधामा कलम चलाउनुहुन्छ ?
संजय अधिकारी : मैले सबै भन्दा धेरै कविता लेखेको छु । त्यस पछि केहि कथाहरु अनि एउटा उपन्यास प्रकाशित भएको छ । थुप्रै कविताहरु लेखे पनि थोरै मात्र प्रकाशित छन् । आजकल म उपन्यास मा केन्द्रित हुन खोज्दैछु ।
अजय वानप्रस्थी : के लेख्नुमा सबै भन्दा बढी आनन्द आउँछ ?
संजय अधिकारी : तुलना गर्न मिल्दैन । कविता लेख्नु भनेको मनका सुक्ष्म कम्पनहरुसँग समाहित हुनु हो । त्यहाँ बिम्बहरुसँग सम्बाद गर्नु पर्छ । एकाग्र चित्तले ध्यान गरे जस्तै हो कबिता लेख्नु । त्यसको मजा अतुलनिय छ । उपन्यास लेख्दा फराकिलो र स्वतन्त्र मैदानमा असिमित हिँड्न पाइन्छ । पात्रहरुको संसार बनाएर त्यहाँ बाँच्न पाइन्छ । महिनौँ सम्मलाई एउटा अलौकिक दुनियाको रचना हुन्छ उपन्याश लेख्दा । मैले मेरा पात्रहरुलाई सपनामा देखेको छु । उपन्यास लेख्नु भनेको सामान्य दुनियाँबाट अलगिएर एक गहिरो संसारमा बिलाउनु हो । अहिले मेरो रुचि उपन्याश अर्थात् आख्यान तिर बढि भएकोले त्यसैमा ज्यादा आनन्द पाउँछु ।
अजय वानप्रस्थी : तपाइँको बिचारमा उपन्यास अर्थात आख्यान के हो ?
संजय अधिकारी : मेरो बिचारमा आख्यान समाजको चित्र हो । यस्तो चित्र जसमा चित्रकारले आपनो रुचि अनुसार रंग लगाएको हुन्छ । आख्यानले साँचो कुरानै प्रस्तुत गरे पनि त्यो लेखकको नजरियाले छोपिएको हुन्छ । वास्तबिक समाजमा निरिह र निशब्द भएका कमजोर पात्रहरु आख्यानमा बलिया भएर आउँछन् । त्यसैले आख्यान वास्तबिक संसारकै एक प्रतिबिम्ब हो ।
अजय वानप्रस्थी : आख्यान र कवितामा तुलना गर्दा कुन बिधा बढी जिवन्त छ ?
संजय अधिकारी : आख्यानमा पूर्ण जीवन छ भने कवितामा जीवनको आत्मा छ । आख्यान फराकिलो छ तर कविता मिहिन छ । आख्यानले पात्रहरुको र तिनले वाँचेको समाजको बाहिरी र भित्री रुप दुबैको स्पस्ट खाका बनाउँछ भने कबिताले पात्रहरुको भावनाको अमूर्त चित्र कोर्छ ।
अजय वानप्रस्थी : तपाइँ मूलत आफूलाई कस्तो प्रकारको लेखक ठान्नुहुन्छ ?
संजय अधिकारी : प्रथमत म लेख्न कोशिष गरिरहेको ब्यक्ति मात्र हुँ । लेखक बनिसकेको छु कि छैन थाहा छैन । तर म लेखनमा नयाँ तरिकाको प्रयोग गर्न रुचाउँछु । लेखनका स्थापित मान्यतामा मात्र सिमित रहन चाहन्न । साथै म लेखन र साहित्यमा एक अराजक सोच राख्ने मान्छे पनि हुँ । समाजले बनाएका मूल्य मान्यताहरुलाई कम्तिमा साहित्यमा भए पनि भत्काउन मन पर्छ ।
अजय वानप्रस्थी : तपाइँको प्रकाशित उपन्यास धर्सोको बारेमा केहि भन्नु हुन्छ कि ?
संजय अधिकारी : उपन्यास धर्सो मेरो पहिलो प्रकाशित उपन्यास हो । कथालय पब्लिकेशन मार्फत यो प्रकासित भएको दुइ वर्ष भन्दा धेरै समय भयो । यसमा समाजका मूर्त अमूर्त दुवै पाटाहरुलाई उतार्ने कोशिस गरेको छु ।
अजय वानप्रस्थी : उपन्यासको विषय बस्तु,परिवेश, र पात्रहरुको बारेमा केहि भनिदिनु हुन्छ की ?
संजय अधिकारी : यस उपन्यासमा कोहि मूल पात्र र कोहि सहायक पात्र भनेर म छुट्याउँदिन भलै किताबका पानामा कसैले धेरै स्थान पाए होलान भने कसैले थोरै । वास्तविक संसारमा सबै जना आपनो लागी मूल पात्र भएर बाँचेका हुन्छन् । बिशेष गरि पहाडी समुदा र र मधेसी समुदाय बिचको द्वन्दले विषय बस्तुको रुप पाएको छ । साथै उपन्यासमा पाटन सहरको एतिहासिक र सँस्कृतिक पक्षलाई पनि परिवेश बनाईएको छ । समाजले भनेको मूलधार र सिमान्तिकृत धार दुबै थरीका केहि सिमित पक्षहरु उपन्यासमा अटाएका छन् ।
अजय वानप्रस्थी : यो उपन्यास वास्तबिक हो वा काल्पनिक ?
संजय अधिकारी : समाजको वास्तबिकतालाई मैले आफ्नो कल्पनाको रंगमा घोलेको छु । उपन्यासका घटनाहरु सबै वास्तबिक हुन ् । पात्रहरु यसैै समाजका हुन् । तर तिनलाई औपन्याशिकिकरण गर्दा केहि कल्पना र केहिी अतिशयोक्ति पनि जरुरी हुन्छ ।
अजय वानप्रस्थी : उपन्यास धर्सोमा मधेसको कुरालाई नै उठाउनु पर्ने कारण चाहिँ के हो ?
संजय अधिकारी : कुनै प्राकिधिक कारण छैन । तर मलाई जहिले पनि नेपालका दुई समुदायबिचको दुरी र द्वन्दले केहि भावनात्मक आभास दिइरहेको हुन्थ्यो । मलाई लाग्दथ्यो मधेसी नेपालीहरु प्रति सामाजिकरुपमा साँच्चै अन्याय र विभेद भएको छ । यद्यपी म राजनैतिक अभियन्ता होइन ।
मैले देखेको र महसुस गरेको सत्यलाई कलात्मक रुपमा प्रस्तुत गर्न खोजेको हुँ । मेरो ब्यक्तिगत बिचारले पुस्तकमा स्थान भने पाएको छ । बिरगन्ज र जनकमुरमा मधेसी पाठकहरुको माझ धर्सोको अन्तरकृया भएको थियो । मधेसी पाठक र बौद्यिकहरुले यो पुस्तकको प्रशंसा गरेका थिए ।
अजय वानप्रस्थी : हाल के लेखिरहनु भएको छ ?
संजय अधिकारी : मैले दुई वटा उपन्यासहरु लेख्न सुरु गरेको छु । एउमटा नेपाली भाषामा र अर्को अंग्रेजी भाषामा । तर म पहिला नेपाली उपन्यासलाई यो वर्ष भरिमा सिध्याउने कोशिष गर्नेछु ।
अजय वानप्रस्थी : हाल लेखिरहनु भएको ति दुइ उपन्याशहरुको बारेमा केहि भन्न सक्नुहुन्छ ?
संजय अधिकारी : अहिले धेरै केहि पनि भन्दिन । दुबै उपन्यास सामाजिक विषयसँग जोडिएकाछन् । त्यत्ति हो । लेखि सक्दा कस्ता हुन्छन् म आफैँ भन्न सक्दिन ।
अजय वानप्रस्थी : तपाइँ आफैँ चाही कसको पुस्तक पढ्नु हुन्छ ?
संजय अधिकारी : मैले नेपाली भाषामा प्रकाशित थुप्रै पुस्तकहरु पढेको छु । सके जति पढ्छु । पारिजातका उपन्यासहरुहरु मेरा सबैभन्दा प्रिय हुन । नयालेखकहरुमा म प्राय सबैको पढ्न खोज्छु । अंगे्रजी भाषमा नन नेटिभ राइटरहरुको पढ्न मन पर्छ । विशेष गरि इन्डियन अंग्रेजी लेखकहरु । अरुनदती रोय, झुम्पा लहेरी, सल्मान रुस्दी आदी । नेपाली अंग्रेजी लेखकहरुमा सम्राट उपाध्याय मेरा रुचिका लेखक हुन् । वास्तवमा भन्दा म लेखकहरुको दायरा साँघुरो पार्न चाहान्न । भेटे सम्म र भ्याए सम्म पढ्छु ।
अजय वानप्रस्थी : साहित्य पढ्नु र गैर साहित्यिक पुस्तक पढ्नुमा के फरक हुन सक्छ ?
संजय अधिकारी : गैर साहित्य वा गैर आख्यानले पाठकको मस्तिस्क पक्षलाई बढि असर गर्छ । गैर साहित्य समाजको तथ्यमा बढि आधारित हुने भएकोले यो अलि रुखो हुन्छ । तर साहित्य वा आख्यानले समाजको सत्यलाई कलात्मक भाषको लेप लगाएको हुन्छ त्यसैले यो मिहिन र भावनात्मक हुन्छ । यसले पाठकको मन पक्षलाई धेरै प्रभावित पार्छ । गैर आख्यानमा कल्पना र भावुकताकोलागी ज्यादा स्थान हुँदैन ।
अजय वानप्रस्थी : तपाइँको भविस्यको योजना र जीवनको लक्ष के हो ?
संजय अधिकारी : अवस्य पनि म एक स्थापिन लेखक बन्न चाहान्छु । अरु थुपैै रचनाहरु गर्न चाहान्छु । थुप्रै विषयबस्तुहरुले घचघच्याईरहेका छन् । तिनलाई शान्दिक रुपमा ल्याउनु छ । साथै म शिक्षाको क्षेत्रमा काम गरिरहेकोले पेशागन रुपमा यसै पेशासँग आगामी दिनहरुमा पनि जोडिएर रहन्छु ।