गर्भवती महिलालाई मुसा खुवाउने रेष्टुरेन्ट बन्द



जायबू चीनको प्रख्यात रेष्टुरेन्ट हो । जहाँ एक गर्भवती महिलाको खानामा मुसा भेटिएपछि हंगामा मच्चिएको छ । पुरै चीनमा ७ सय ५९ शाखा रहेको रेष्टुरेन्टको गुडविलमै असर पर्ने गरी एउटा भाइरल दृश्यका कारण रेष्टुरेन्टको शेयरमै १२ प्रतिशत गिरावट आएको छ । क्षतिको नेपाली रुपैयाँमा रुपान्तरण गर्ने हो भने लगभग १२ अरब रुपैयाँ क्षति भएको छ ।

दृश्यमा एउटा मुसा दम्पतीले खाइरहेको खानाभित्र परेको छ । महिला गर्भवती थिइन् । उनीहरुले मगाएको मासु र तरकारीको समिश्रणबाट बनाइने एक प्रकारको खानामा मुसा भेटियो र रेष्टुरेन्ट म्यानेजरसँग खानाबारे गुनासो गरियो । जवाफमा रेष्टुरेन्टका म्यानेजरले भने, ‘खानामा मुसा भेटिएकाले तपाईंकी श्रीमतीको पेटमा बढिरहेको बच्चाको स्वास्थ्यमा असर पर्छ भने तपाईंहरु गर्भपतन गराउनु सक्नुहुन्छ । गर्भपतनका लागि लाग्ने रकम हामी बेहोर्न तयार छौँ ।’

दम्पतीले बताएअनुसार, रेष्टुरेन्टले उनीहरुलाई दुई लाख रुपैयाँ दिने प्रस्ताव गरे र उनीहरुले प्रस्ताव अस्वीकार गरे । लगत्तै उनीहरु अस्पताल गए र गर्भजाँच गराए, बच्चा स्वस्थ थियो । साउथ चाइना पोष्टका अनुसार, पछि रेष्टुरेन्टले गर्भवती महिला र उनका पतिलाई ५२ लाख रुपैयाँ दिने प्रस्ताव गरेकामा उनीहरुले लिए नलिएको जानकारीमा आएको छैन । रेष्टुरेन्ट चीनको शानदोङ प्रान्तमा छ । त्यो दृश्य भाइरल भएपछि स्थानीय प्रशासनले रेष्टुरेन्ट बन्द गराएको छ ।

प्रतिक्रिया दिनुहोस्