१५ असोज २०७५, काठमाडौं
यो संसारमा सायद दुख नपाएको मानिस कोहि हुँदैन होला । आ–आफ्नो ठाउँमा सबैलाई धेरै दुख परेको हुन्छ । तर कसै–कसैलाई चाहिँ सहनै नसक्ने गरी दुख परेको छ । एउटा यस्तै दुःखी परिवार जसको कथा सुनेर वा हेरेर नरुने मानिस सायद कोहि पनि नहोला ।
ओखलढुङ्गा घर भएका पृथ्वी बहादुर खत्रीको पारिवारिक स्थिती निकै दयनीय छ । उनको परिवारमा श्रीमती एक छोरा र एक छोरी छिन् । छोरीछोरी निकै साना र अबुझ छन् । उनीहरुको दैनिक गुजारा चलाउनको लागि श्रीमती अर्काको घरमा भाडा माझ्ने, लुगा धुने, रातको २ बजे बालुगा इट्टा बोक्ने काम गर्छिन् ।
खत्रीको आर्थिक स्थिति यति कमजोर छ कि बिहान बेलुका एक छाक टार्न उनीहरुलाई निकै धौ–धौ पर्छ । चाहेर पनि पृथ्वी बहादुर र उनकी श्रीमतीले उनीहरुको छोराछोरीलाई राम्रो लाउन र खान दिन पाएका छैनन् । त्यति मात्र होइन विद्यालयको फि तिर्न नसकेर उनीहरुले आफ्ना छोराछोरीलाई बिचैमा विद्यालयबाट निकाल्न बाध्य भएका छन् । साच्चैँ नै पृथ्वी बहादुको परिवारलाई दैवले पनि ठगेको छ ।
उनी शारिरीक रुपमा निकै अस्वस्थ्य छन् । घरमा भन्दा बढी बास उनको अस्पतालको बेडमा हुने गर्छ । एक महिनाको रासन आउने पैसा उनको औषधी उपचारमा खर्च हुने गर्छ । आफूले काम गरेर खाने उमेरमा पृथ्वीले अरुसँग मागेर खानुपर्ने अवस्था छ । ती साना छोराछोरीलाई काखमा च्यापेर रुदैँ पृथ्वी र उनकी श्रीमती कोठा भाडा नतिरेको ४ महिना बितिसकेको र घरबेटीले समेत कोठा छोडेर जा भन्छन् भन्दै आफ्नो दुख पोख्दै गरेको भिडियोमा देख्न सकिन्छ ।
केहि पैसा कमाउने उद्देश्य बोकेर केहि समय अघि साउदी गएका पृथ्वी आफ्नो स्वास्थ्य अवस्था निकै कमजोर भएपछि नेपाल फर्किएका थिए । नेपाल फर्किएर चेकअप गराउँदा थाहा भयो कि उनको दुवै मृगौला फेल भएका रहेछन् । यो कुरा थाहा पाएर पृथ्वी निकै दुखी भए । उनको कमजोर आर्थिक अवस्था भएका कारण उनको उपचारको लागि पैसा जुटाउन निकै कठिन थियो । आफूले पढ्न नपाए पनि आफ्ना छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना बोकेका पृथ्वीको स्वास्थ्यका कारण उनले आफ्ना छोराछोरीलाई पढाउन पाएका छैनन् । उनको उपचारको लागि निकै धेरै रकम लाग्ने र उपचार नभएको खण्डमा उनी कहिले पनि काम गर्न सक्षम हुन नसक्ने चिकित्सकले बताएका छन् ।
पृथ्वी यतिधेरै अशक्त छन् कि कसैको सहारा बिना उनी कतैपनि जान सक्दैनन् । उनका साना–साना छोराछोरी भोकले रुन्छन् । राती खानेकुरा नहुँदा भोकै सुत्नु परेको छ भन्दै उनको छोराछोरी दुःख पोख्छन् । हुन पनि लाउलाउ खाउखाउ भन्ने उमेरमा ती साना बच्चाले न त पढ्न पाएका छन् न त राम्रोसँ खान नै पाएका छन् । तर पनि पृथ्वीका ती साना छोराछोरीले पछि डाक्टर बनेर बाबाको उपचार गरी बाबालाई नयाँ जीवन दिने सपना रहेको बताउँछन् ।
पृथ्वीकी श्रीमतीले निकै दुःख सहेर आफ्नो परिवार पालिरहेकी छिन् । उनी दिनभरि आफ्नो श्रीमान्लाई अस्पताल लिएर जान्छिन् भने रातका २ बजे खोलाको किनारको बालुवा झार्न जान्छिन् । उनी दिनरात आफ्नो परिवारको पेट पाल्न संघर्ष गरिरहेकी छिन् तर यो समाजले उनलाई निकै नराम्रो नजरले हेर्ने गरेकोमा दुःखी हुँदै निकै रुन्छिन्– उनी अर्थात पृथ्वीकी श्रीमती ।
पृथ्वीको परिवार चाहन्छन् की कसैले उनीहरुलाई आर्थिक सहयोग गरोस् । साच्चैँ नै आफ्नो उपचारका लागि पृथ्वी र उनको श्रीमती सबैसँग आग्रह गरिरहेका छन् ।