नेपालद्वारा थाईल्याण्डलाई १७३ को लक्ष्य, यससँगैं नेपाल तेस्रो स्थानमा



२१ असोज २०७५, काठमाडौं

मलेशियामा भईरहेको आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले तेस्रो खेलमा थाइल्याण्डलाई १७३ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिलो ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १७२ बनाउन सफल भएको हो ।

नेपालका लागि करन केसीले तीन छक्का हान्दै ४० रन बनाएका थिए । करनले १४ बलमा ४ छक्का र २ चौकाको मद्धतले ४० रन बनाएका थिए । उनले अन्तिम ओभरमा २१ र सोमपालले ३ रन बनाए । त्यसैगरि शरद भेस्वाकरले ३४ रन, दिपेन्द्र सिंह ऐरीले ३० रन, अनिल कुमार शाहले २५ रन र बिनोद भण्डारीले १५ रन बनाएका थिए । त्यसैगरि आरिफ सेखले ८ रन बनाएका थिए भने सोमपाल कामीले ४ रन बनाएका थिए। मिडल अडरमा खेलेका नेपाली कप्तान पारस खड्का र उपकप्तान क्रमश ५ र ७ रनमा आउट भएपछि नेपालले ठुलो स्कोर गर्न असफल भएपनि करनको विष्फोटक पारीले नेपालले राम्रो लक्ष्य दिन सफल भएको छ ।

थाइल्याण्डका बलर  पयुपुथ संगनार्डले ४ विकेट लिए भने विचनाथले २ विकेट लिएका थिए ।  प्रतियोगितामा दुई खेल खेलेको नेपाल २ जित सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेल खेल्दै समान जित निकालेको सिंगापुर नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ । यस्तै ३ खेल खेल्दा २ जित र १ खेलमा नतिजा बिहिन रहेको थाइल्याण्ड अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो र दोश्रो खेलमा म्यानमार र मलेसियालाई समान ८ विकेटले पराजित गरेको छ । उता थाइल्याण्डले भने प्रतियोगिताको आफ्नो पहिलो खेलमा चाइनाले दिएको ३६ रनको लक्ष्य कुनै विकेट नगुमाई पुरा गरेको थियो । पहिलो खेलमा १० विकेटको जित निकालेको थाई टोलीले दोस्रो खेलमा भने बर्षा बाधक बनेपछि मलेसियासंग अंक बाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्