२३ असोज २०७५, काठमाडौं
मलेशियामा जारी आईसिसि विश्व टी–ट्वान्टी एशिया छनौटको समुह बी मा नेपालले लगातार चौंथो जित निकाल्न सफल भएको छ । मंगलबार (आज) सम्पन्न खेलमा नेपालले भुटानलाई ११७ रनले पराजित गरेको हो । नेपालले दिएको १५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भुटान १६ ओभर ४ बलमा अलआउट हुँदै ३३ रनमा समेटियो ।
नेपालका ललित नारायण राजवंशीले ४ रन खर्चेर ३ विकेट, सन्दीप लामिछानेले ६ रन खर्चेर ३ विकेट, बसन्त रेग्मीले २ तथा दिपेन्द्र सिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट लिए । त्यसैगरि भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले अर्वाधिक ११ रन, संजिवन गुरुङले ६, रमेश गुरुङ ४ रनमा अविजित रहे । यसअघि युकेएम वाईएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो । नेपालका लागि प्रदिप ऐरीले अर्धशतकीय पारी खेलेका थिए । त्यसैगरि नेपालका लागि अनिल कुमार साहले २७, आरिफ शेखले १३ र दिपेन्द्र सिंह ऐरीले १५ रन जोड्न सके ।
भुटानका जिग्मी सिङ्गे, संजिवन गुरुङ, थिन्ले र रमेश गुरुङले समान एक एक विकेट लिए । जितसंगै शीर्ष स्थानको नेपालले ४ खेलबाट ८ अंक जोडेको छ । नेपालले एसिया छनौटको दोस्रो चरण पक्का गरेको छ । अब नेपालले बुधबार चीन र शुक्रबार सिंगापुरसंग खेल्नेछ ।