२५ असोज २०७५, काठमाडौं
साढे एक दशक पहिलेसम्म विदेशमा बस्ने हामी नेपालीहरु नेपाल र नेपालका लागि केही गर्नुपर्छ भनेर व्यक्तिगत रुपमा अलग अलग बसी चिन्तन–मनन गथ्र्याैं । तर, त्यस्ता कुनै पनि प्रयत्न गैरआवासीय नेपालीहरुलाई जोड्ने कडी हुन सकेनन् । त्यसैले एउटा सामूहिक या संस्थागत अभियानको आवश्यकत्ता खड्किरह्यो ।
विदेशमा बसेर हामी जे जस्तो पौरख गरिरहेका छौं या दुःख पाइरहेका छौं । अब पनि देशलाई अगाडि बढाइएन या समृद्ध बनाइएन भने हामी मात्र होइन, हाम्रा सन्तान–दरसन्तानले सन्ततिले सधैंभरि दुःख पाइरहने भए । त्यही भावनालाई कसरी सही र मूर्त रुप दिने भनेर एकखाले छटपटी भइरह्यो ।
देशलाई समृद्धिको बाटोमा अगाडि लैजाने संयुक्त प्रयास के हुन सक्छ त ? हामीले मस्कोमा बसेर गहन छलफल ग-यौं । र, विभिन्न देशमा बसिरहेका साथीहरुसँगको भलाकुसारी र सरसल्लाहपछि मनको अन्तरकुन्तरमा एउटै कुरा भेटियो– एउटा संस्था या एउटा अभियान जरूरी छ । त्यही महसुस गरेर सन् २००३ को अक्टोबरमा गैरआवासीय नेपालीहरुको पहिलो सम्मेलन भयो, नेपालमा ।
अक्टोबर छानिनुको कारण के हो भने विदेशमा बस्ने नेपाली लामो समय घर फर्किएका हुन्नन् । ‘फेस्टिभ मुड’ मा परिवारसँग बसेर दसैं, तिहार मनाउने चाहना जो कोहीलाई हुन्छ । चाडबाडमा सबैलाई नेपाल जान मन लाग्ने र फर्किने सिजन पनि भएकाले अक्टोबर जति सुहाउँदो महिना अरु के हुन सक्थ्यो ?
गैरआवासीय नेपालीको मर्म, उद्देश्य अनि सही रुपमा अगाडि बढाउन खोजिएका कामबारे नेपाल सरकारसँगै नेपाली दाजुभाइ, दिदीबहिनी जानकार छन् । उनीहरुले के महसुस गरिसकेका छन् भने एनआरएनए वास्तवमै पवित्र सामाजिक संस्था हो ।
नेपालीको हित अनि नेपालको समृद्धि र विकासका लागि केही गरौं भन्ने एक मात्र भावनाले नै यो संस्था अगाडि बढेको छ । र, गैरआवासीय नेपालीले केही गर्न खोजेका छन्, केही गर्न सक्षम छन् र अति नै इमानदारी र संवेदनशीलताका साथ त्यसमा अगाडि बढिसकेका छन् भनेर नै नेपाल सरकारले ११ अक्टुबरलाई गैरआवासीय नेपाली दिवस मनाउने निर्णय ग-यो । यो गैरआवासीय नेपालीका लागि गौरवशाली दिन हो । र, ठूलो जिम्मेवारीको दिन पनि हो । यसले प्रत्येक गैरआवासीय नेपाली मित्रहरुको जिम्मेवारी बढाइदिएको छ । यसमा तपाईंहरुको साथ सदैव आवश्यक छ ।
हामीले संसारभर नै गैरआवासीय नेपाली दिवस मनाउँदै आएका छौं । गैरआवासीय नेपाली दिवस ‘फेस्टिभल’ का रुपमा मात्र होइन, मातृभूमिप्रतिको माया, जिम्मेवारीका साथै केही गर्न सकिन्छ कि भनेर छलफल गर्ने ‘प्लेटफर्म’ पनि भएको छ ।
एनआरएनएमा लामो समयसम्म (पुँजी) मात्रै बहसको विषय बन्थ्यो । तर, नेपालको पछौटेपनमा पैसाको मात्र अभाव हो जस्तो मलाई लाग्दैन । हामीले आर्जन गरेका अथाह ज्ञान र सीपलाई अब मुलुकको समृद्धिका लागि प्रयोग गर्नु जरुरी छ । त्यसैले ज्ञान, सीप तथा प्रविधिबारे बहस सुरु गरौं भनेर यसपालि नयाँ अवधारणा अघि सारेका छौं, विज्ञ सम्मेलन ।
अहिले संसारमा दुईवटा कुराको अति नै महत्व छ, एउटा पैसा र अर्को इनोभेटिभ आइडिया । गैरआवासीय नेपालीहरु अहिले संसारका ठूल्ठूला इन्स्टिच्युट, मल्टिनेसनल कम्पनी र विश्वविद्यालयमा आबद्ध छन् । तिनीहरु विज्ञान र कृषिमा निकै अगाडि बढिसकेका छन् । तिनले नयाँ इनोभेसनलाई व्यावहारिक रुपमा कसरी ल्याउन सकिन्छ भनेर मुलुकलाई प्रशस्त योगदान गर्न सक्छन् ।
तिनको ज्ञान, सीप, अनुभवको लगानीलाई पैसासँग मात्र दाँजेर हेर्न मिल्दैन । त्यो ज्ञान, सीप र अनुभवको आधारमा हामीले केही कुरा दिन सक्यौं भने नेपाललाई धेरै ठूलो फाइदा हुन सक्छ । र, नेपालमा यसको ठूलो भविष्य छ भनेर नेपाली मित्र, गैरआवासीय मित्र र विदेशी मित्रहरु लगानी गर्न अगाडि बढ्नेछन् । विज्ञ सम्मेलनको महान् उद्देश्य यही हो ।
विभिन्न देशमा काम गरिरहेका प्राध्यापक, अनुसन्धाताका साथै विभिन्न क्षेत्रमा रहेका ठूला विज्ञहरुका लागि एउटा ‘प्लेटफर्म’ हुनेछ, विज्ञ सम्मेलन । नेपालमा कुन कुरा छिटो सिक्न सकिन्छ ? कुन कुरा छिटो उत्पादन गर्न सकिन्छ र नेपालको माटो, हावापानी, यहाँको संस्कृति, आवश्यकता र बजार सुहाउँदो छ ? सम्मेलनमा हामीले विदेशमा पढेका, सिकेका, कमाएका र व्यावहारिक अनुभवका आधारमा विज्ञहरुबीच छलफल चलाउने जमर्को गरेका हौं ।
पक्कै पनि वृहत् छलफलपश्चात् नयाँ कुरा, नयाँ आविष्कार र नयाँ क्षेत्रका कुरा पाइनेछ । विस्तृत अध्ययनका रुपमा आउने निश्चित कार्ययोजनालाई हामी नेपाल सरकार, नेपालमा भएका विभिन्न संघसंस्था र नेपाली लगानीकर्तालाई दिने छौं । यो अभियानमा गैरआवासीय नेपाली मित्रहरुलाई पनि आह्वान गर्नेर्छौं । त्यसले आर्थिक रुपमा दीर्घकालीन सोच पैदा गरी अगाडि बढाउन सघाउ पुग्नेछ साथै नेपालको समृद्धिमा ठूलो भूमिका खेल्नेछ ।
एनआरएनए ७९ वटाभन्दा बढी देशमा नेश्नल च्याप्टर रहेको एउटा ठूलो संस्था भइसकेको छ । पहिला विदेशमा बस्ने नेपालीहरु नेपालमा सुरक्षा छैन, भ्रष्टाचार बढी भयो, नेपाल गरिब भयो भनेर मात्र कुरा काटिरहेका हुन्थे । तर, पछिल्लो समय केही गैरआवासीय नेपालीमा मैले नेपालका लागि के गरेको छु त ? नेपालमा गरिबी छ, अशिक्षा छ र मैले बाहिर बसेर कुरा मात्र गर्नुभन्दा नेपालमा सुधारका लागि के गरेको छु त भन्ने गहन भावना समेत जागृत भएको छ । त्यो एकदमै ठूलो कुरा हो ।
साँच्चै राष्ट्रले मलाई के दियो भनेर मात्रै होइन, मैले चाहिँ के दिएको छु त भनेर सोच्ने बेला आएको छ । किनकि हिजोका दिनमा हामीसँग प्रशस्तै बहानाबाजी थिए, मुलुकको परिवेशलाई लिएर, अस्थिरतालाई लिएर । तर, आज फेरि त्यस्तै कुरा दोहो-याइरहनु गलत हो । लामो संक्रमणकालको अन्त्यपछि मुलकमा एउटा सहज वातावरण बनेको छ । सम्भावना देखिएको छ । त्यही सम्भावनाको आडमा हामी मुलुकको भविष्य निर्माणमा योगदान गर्न सक्छौं ।
बुझ्नैपर्ने अर्को महत्वपूर्ण कुरा के पनि हो भने, यस्तो ठूलो संस्थालाई भावनाका रुपमा मात्र होइन, व्यावहारिक र वैधानिक रुपमा अघि बढाउनु समेत जरुरी छ ।
एनआरएनए नेपालको संसदबाट विशेष कानुन पारित भएर दर्ता भएको संस्था हो । नेपाल सरकारले हामीलाई कति ठूलो इज्जत दिएको छ, गैरआवासीय नेपालीलाई कति मद्दत गरेको छ र उनीहरुबाट नेपालले कति ठूलो आशा राखेको छ भन्ने दर्शाउन यति नै पर्याप्त छ ।
जगजाहेर छ– एनआरएनए ठूलो संख्यामा सदस्य भएको सामाजिक संस्था हो । हाम्रो विधान विभिन्न देशमा भएका नेश्नल च्याप्टर र केन्द्रसँग समन्वय गरी कसरी अघि बढ्न सकिन्छ भन्नेबारे सम्बन्धित छ । यसलाई व्यावहारिक एवं वैधानिक रुपमा कसरी अगाडि लैजान सकिन्छ भन्नेमा हामी दत्तचित्त छौँ । त्यसैले परिवर्तित परिवेशमा धेरै देशमा भएको समितिलाई सबल ढंगबाट सञ्चालन गर्नका लागि हामी एनआरएनएको विधान संशोधन पनि गर्दै छौँ ।
हाम्रो संस्थाका कार्यकारिणी समितिका नेतृत्वमा रहेका साथीहरु जो छन्, उनीहरु आफ्नै काममा व्यस्त हुन्छन् । फुर्सदको बेला सामाजिक संघसंस्थामा पनि समय दिनुपर्ने भएकाले यी सबैलाई सन्तुलन गरेर कसरी अगाडि बढाउन सकिन्छ भनेर अहिले हाम्रो विधानमा के–के थप्नुुपर्छ, के–के कुरा हटाउनुपर्ने छ र यसलाई प्राविधिक रुपमा पनि सरल र सहज रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिनेछ ।
विज्ञ, कानुन एवं न्यायका क्षेत्र तथा विभिन्न देशमा बटुलेका अनुभवका आधारमा एनआरएनएको विधानमा के कस्तो परिवर्तनको खाँचो देखिएको छ, त्यसलाई केलाएर संशोधन गरिने मलाई पूर्ण विश्वास छ ।
निश्चय पनि प्रत्येक दुई वर्षमा हुने संघको महाधिवेशनमा विभिन्न देशबाट आएका राष्ट्रिय च्याप्टरका प्रतिनिधिहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्नुपर्ने र नेतृत्व चयन गर्नुपर्ने भएकाले विद्यानमा विस्तृत छलफल गर्न हामीसँग समय पर्याप्त हुँदैन् ।विधान आन्तरिक कुरा हो । त्यसकारण बन्द सत्रमा नै यसको छलफल गर्नुपर्ने हुन्छ । महाधिवेशनमा समयको अभाव भएकै कारणले नै अहिले विद्यानलाई छलफल गर्न विशेष विद्यान सभाको व्यवस्था गरिएको हो ।
कुनै पनि देशको संविधान भनौं या कुनै संस्थाको विधान अपरिवर्तनीय हुन सक्दैन । समय, आवश्यकता र परिस्थिति अनुसार छलफल गरेर संशोधन गर्न सकिन्छ । त्यसैले एनआरएनएको विधान पनि त्यही अनुसार संशोधन भइरहन्छ । विगतमा सिकेका ज्ञान र भोगेका अनुभवका आधारमा सही र विस्तृत रुपमा छलफल गरेर संशोधन गर्नुपर्छ भन्ने आवश्यकता हामीले महसुस गरेका छौं ।
गैरआवासीय नेपाली दिवसकै बेलामा विधान सभाको पनि बैठक गर्ने र बैठकमा विस्तृत छलफल गरेर त्यहाँबाट आएका कुरालाई प्राथमिकताका आधारमा एनआएनएको महाधिवेशनबाट पारित गरिने छ ।
यसपालि हामीले नेपालको विकासको बाटोमा, नेपालको समृद्धिको अभियानमा र नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई आत्मसात गरेर विभिन्न देशमा भव्यताका साथ गैरआवासीय नेपाली दिवस मनाउँदै छौं ।
हामीले पहिलेदेखि भन्दै आएका छौं– व्यक्तिगत सफलता जुनसुकै उचाइमा पुगे पनि देश समृद्ध भएन भने त्यसको कुनै अर्थ रहँदैन । त्यसैले त हामी ‘नेपालीहरुका लागि नेपालीहरुद्वारा’ भन्ने नारा लिएर अगाडि बढेका हौं ।
म दोहो-याउन चाहन्छु– अनुसन्धानका साथै विभिन्न विधाका विज्ञ गैरआवासीय नेपाली मित्रहरुको सहभागितामा नेपालमा पहिलोपल्ट विज्ञ सम्मेलन हुन लागेको छ । विज्ञ सम्मेलनमा मैले, हामीले नेपालका लागि के गर्नुपर्छ, के गर्न सक्छौं भन्ने कुरामा छलफल हुन्छन् ।
गैरआवासीय नेपाली, नेपाल सरकार प्रतिनिधि, नेपालका विज्ञ, सामाजिक क्षेत्रमा प्रतिनिनिधिको छलफलपछि व्यावहारिक रुपमा नेपाललाई समृद्धिको बाटोमा अगाडि बढाउन हामीले के कसो गर्न सक्छौं ? त्यसमा अगाडि बढ्नका लागि म सबैसँग आग्रह गर्न चाहन्छु ।
अन्त्यमा, सम्पूर्ण साथीहरुलाई गैरआवासीय नेपाली दिवससहित आउन लागेका चाडबाड दसैं, तिहार, छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । प्रत्येक नेपाली सुखी, स्वस्थ र समृद्ध होऊन् भनी भगवान्सँग प्रार्थना समेत गर्न चाहन्छु ।
(एनआरएन ग्लोवलको विषेशांकबाट सम्पादित अंश)