०१ कार्तिक २०७५, काठमाडौं
श्रीदुर्गायै नमः
अथ श्रीदुर्गासप्तशती
पञ्चमोऽध्यायः
ऋषिले भने- उहिले शुम्भ र निशुम्भ दुई असुरले बलका घमन्डले त्रैलोक्यको राज्य र शचीपति इन्द्रको यज्ञभाग खोसे । ती दुवैले सूर्य, चन्द्रमा, कुबेर, यम र वरुणको अधिकार उपयोग गर्न लागे । वायु र अग्निको काम पनि उनै गर्न लागे । त्यसैले देवताहरू अपमानित, राज्यभ्रष्ट र पराजित भएपछि अधिकार खोसेर देवताहरू लखेटिए । ती दुई महासुरबाट तिरस्कृत भएपछि अपराजिता देवीलाई स्मरण गरे । उनैले आपद्मा स्मरण गर्यौ भने तिम्रो आपत्ति तुरुन्त नाश गरिदिनेछु भनेकी थिइन् र सबै देवताले त्यही विचार गरेर गिरिराज हिमालयमा गएर उनै भगवती विष्णुमायाको स्तुति गरे ।
देवताहरूले भने- देवी, महादेवी र शिवालाई सधैँ नमस्कार छ । प्रकृति र भद्रालाई प्रणाम छ । हामी तनमनपूर्वक उनलाई नमस्कार गर्दछौँ । रौद्रालाई नमस्कार, नित्या, गौरी र धात्रीलाई नमस्कार । ज्योत्स्ना, इन्दुरूपिणी र सुखस्वरूपालाई सधैँ नमस्कार छ । शरणागतलाई कल्याण गर्ने वृद्धि र सिद्धिरूपालाई नमस्कार गर्छौं । नैर्ऋति, राजालक्ष्मी शर्वाणीका रूपमा तिमीलाई नमस्कार छ । दुर्गा, दुर्गपारा, सारा, सर्वकारिणी, ख्याति, कृष्णा र धूम्रालाई नमस्कार छ । अति सौम्या, अति रौद्ररूपालाई विनम्रतासाथ नमस्कार । जगत्की आधारभूता कृति देवीलाई बरम्बार नमस्कार छ । सबै प्राणीहरूमा भएकी विष्णुमाया नामकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा चेतना नाम भएकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा बुद्धि रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा निद्रा रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा क्षुधा रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा छाया रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा शक्ति रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा तृष्णा रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा क्षमा रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा जाति रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा लज्जा रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा शान्ति रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा श्रद्धा रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा कान्ति रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा लक्ष्मी रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा वृत्ति रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा स्मृति रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा दया रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा तुष्टि रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा माता रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ । सबै प्राणीहरूमा भ्रान्ति रूपले रहेकी देवीलाई बारम्बार नमस्कार छ ।
सबै प्राणीमा इन्द्रियवर्गकी अधिष्ठात्री भएर सदैव व्याप्त रहने व्याप्ति देवीलाई बारम्बार नमस्कार छ । चैत्यन्यरूपले सम्पूर्ण जगत्मा व्याप्त रहेकी देवीलाई बारम्बार नमस्कार छ । लक्ष्य प्राप्ति भएपछि देवताहरूले जसको स्तुति र देवराजले धेरै दिन सेवा गरे, ती ईश्वरीले हाम्रो कल्याण र मङ्गल गरी विपत्ति नाश गरुन् । उद्दण्ड दैत्यले सताएका हामी सबै देवता जसलाई नमस्कार गर्दछौँ, भक्तिसाथ विनम्र व्यक्तिले स्मरण गर्दा तत्काल उनैले सम्पूर्ण विपत्ति नाश गर्छिन् ।
ऋषिले भने- हे राजपुत्र ! देवताहरूले यसरी स्तुति गरेका बेला गङ्गामा स्नान गर्न पार्वती आइन् । ती राम्रा आँखीभौँ हुनेले देवगणलाई- तिमीहरू यहाँ कसको स्तुति गर्दै छौ भनी सोधिन् र उनकै शरीरकोशबाट प्रकट भएकी शिवा बोलिन् । शुम्भदैत्यले हेपेका र निशुम्भसँग युद्धमा हारेका यी देवताहरू भेला भएर मेरो स्तुति गर्दै छन् । पार्वतीका शरीरकोशबाट निस्केकी अम्बिका नै लोकमा कौशिकी भइन् । कौशिकी निस्केपछि पार्वती काली भइन् र कालिका नामले हिमालमा बस्न थालिन् । चण्ड र मुण्ड नामका शुम्भनिशुम्भका सेवक त्यहाँ आउँदा परम मनोहर रूपक लिएकी अम्बिकालाई देखे ।
तिनले शुम्भसँग भने- हे महाराज ! हिमालै चम्काउने कुनै अति सुन्दर स्त्री छ, । त्यति राम्रो रूप कहीँ कसैले देखेको नहोला । हे असुरराज ! ती देवी को हुन् भनी पत्ता लगाएर ग्रहण गर । सबै दिशा ज्योतिले चम्काएर ती सुन्दर अङ्ग भएकी स्त्रीरत्न बसेकी छन् । हे दैत्यराज ! तिमीले देख्न सक्छौ । हे प्रभु ! त्रिलोकमा भए जति मणि, हात्ती, घोडा अहिले तिम्रा घरमा सजिएका छन् । हात्तीहरूको रत्न ऐरावत, यो पारिजात वृक्ष र उच्चैःश्रवा घोडा इन्द्रबाट लिएकै छौ । हंस जडिएको, अद्भुत, रत्न समानको यो विमान पहिले ब्रह्मासँग थियो । यहाँ ल्याएपछि तिम्रा आँगनमा सजिएको छ । यो महापद्म निधि कुबेरसित खोसेर ल्यायौ । कहिल्यै नओइलाउने कमलको किञ्जल्किनी माला समुद्रले दिए । वरुणको सुन बर्साउने छत्र र उहिले प्रजापतिसँग भएको वरिष्ठ रथ पनि तिम्रै घरमा रहेको छन् । मृत्युको उत्क्रान्तिदा नामको शक्ति पनि तिमीले खोस्यौ, वरुणको पाश र सबै जातका समुद्री रत्न तिम्रा भाइ निशुम्भका अधिकारमा छन् । दुई अग्निशौच वस्त्र अग्निले दिएका छन् । यसरी सबै रत्न तिमीले जम्मा पारिसकेपछि ती कल्याणमयी स्त्रीरूप रत्नलाई किन अधीनमा लिँदैनौ ?
ऋषिले भने- शुम्भले चण्ड–मुण्डको यस्तो कुरा सुनेर महासुर सुग्रीवलाई दूतका रूपमा देवीकहाँ पठायो । मेरो भनाइ अनुसार यसो यसो भन्नू र जसरी सजिलै आउँछिन्, त्यस्तै सरल उपाय गर्नु । पर्वतीय अति सुन्दर ठाउँमा ती देवी जहाँ बस्थिन्, त्यहाँ त्यो गयो र मधुर वाणीमा नम्र वचनले बोल्यो ।
दूतले भन्यो- हे देवि ! तीनै लोकका परमेश्वर दैत्यराज शुम्भ हुन् । म उनैले पठाएर यहाँ तिमी भएका ठाउँमा आएको हुँ । देवताहरू सबैले उनको आदेश निर्विरोध मान्छन् । सबै देवतालाई जितेका उनले जे भने, त्यो सुन । तीन लोक मेरो, देवता मेरा अधीनमा छन् र म एकएक यज्ञभाग खान्छु । तीनै लोकका श्रेष्ठ रत्न सबै मेरा अधीनमा छन् । इन्द्रको वाहन रत्न जस्तो हात्ती पनि मैले लिएको छु । क्षीरसागर मन्थन गर्दा उत्पन्न भएको उच्चैःश्रवा नामको रत्न जस्तो घोडा पनि उनीहरूले झुकेर समर्पण गरेका छन् । हे सुन्दरी ! देवता, गन्धर्व र नागसँग भएका अरू रत्न जति मेरै लागि हुन् । हे देवी ! हामीले तिमीलाई रत्न जस्ती स्त्री मान्छौँ, त्यसैले तिमी यहाँ आऊ । किनभने रत्नको भोग हामी नै गर्छौं । हे चञ्चल आँखा हुने सुन्दरी ! म अथवा मेरो पराक्रमी भाइ निशुम्भसँग आऊ । किनभने तिमी रत्न जस्तै छौ । मलाई रोज्दा अकुत ऐश्वर्य पाउँछ्यौ, बुद्धिले विचार गरेर मेरै पत्नी बन ।
ऋषिले भने- त्यसो भनेपछि यस जगत्लाई थाम्ने ती कल्याणी, भगवती दुर्गाले मनमनै हाँस्तै गम्भीर वाणीमा देवीले भनिन्- तिमीले केही नढाँटीकन सत्य भन्यौ । तीन लोकका अधिपति शुम्भ र निशुम्भ त्यस्तै छन् । तर यसमा जे प्रतिज्ञा गरेँ, त्यसलाई कसरी झुटो पार्नु ? बुद्धि नपुगी उहिले नै जस्तो प्रतिज्ञा गरेकी छु, त्यो सुन । जसले मलाई युद्धमा जित्छ, मेरो सेखी झार्छ र संसारमा म जति नै बलियो हुन्छ, मेरो स्वामी त्यही होला । यसैले महासुर शुम्भ वा निशुम्भ यहाँ आओस् र झट्टै मलाई जितेर सजिलै मसँग बिहा गरोस्, ढिलो किन गर्नु ?
दूतले भन्यो- हे देवी ! यस्तो घमन्डी कुरो मसँग नगर । तीनै लोकमा शुम्भ वा निशुम्भका सामु टिक्न सक्ने कोही छैन । हे देवी ! युद्धमा अरू दैत्यकै सामु पनि देवता टिक्न सकेनन् भने तिमी एक्ली स्त्रीले कसरी युद्ध गरौली ? निशुम्भ आदिका सामु युद्धमा इन्द्रादि देवता अडिन सक्तैनन्, तिमी स्त्री एक्लै तिनका सामु कसरी जान्छ्यौ ? त्यसैले मैले भनेझैँ शुम्भ वा निशुम्भसँग जाऊ । त्यसो गर्दा अपमान गर्दै केश पक्रेर तान्दैनन् ।
देवीले भनिन्- शुम्भ बलियो छ र निशुम्भ पनि पराक्रमी छ भनेको ठिकै होला, तर मैले उहिल्यै विचार नगरी गरेको प्रतिज्ञालाई के गर्नु ? त्यसैले तिमी गएर मैले भनेको कुरो ढुक्कले असुरराजलाई सुनाऊ । उनलाई जसो गर्न उचित लाग्छ, त्यसै गर्लान् ।
श्रीमार्कण्डेयपुराण अन्तर्गत सावर्णिक मन्वन्तरमा देवीको माहात्म्य बताउने क्रममा देवी र दूतको संवाद नामको पाँचौँ अध्यायः यस प्रकार बयान भयो ।।५।।
षष्ठोऽध्यायः
ऋषिले भने- देवीको त्यस्तो कुरो सुनेर दूत रिसाउँदै आयो र दैत्यराजलाई सबै समाचार सविस्तार सुनायो । असुरराजले त्यस दूतको त्यस्तो कुरो सुनेर रिसाएर सेनापति धूम्रलोचनसँग भन्यो । हे धूम्रलोचन ! चाँडै आफ्ना सेनासँगै गएर त्यस दुष्टालाई कपालमा समातेर बलले घिसार्दै ल्याऊ । त्यसको रक्षा गर्ने देवता, यक्ष वा गन्धर्व कोही रहेछ भने उसलाई पनि मार्नु ।
ऋषिले भने- उसको आज्ञा पाएर त्यो धूम्रलोचन दैत्य साठी हजार असुरसेना लिएर तत्काल गयो । त्यहाँ उसले हिमालमा बसेकी ती देवीलाई देखेर चर्को स्वरले भन्यो- हे देवी ! तिमी शुम्भ निशुम्भकहाँ हिँड । यदि तिमी खुसीले हाम्रा राजाकहाँ जान्नौ भने, म बलपूर्वक कपालमा समातेर तान्दै लैजान्छु ।
देवीले भनिन्- दैत्यका राजाले पठाएर सेनासँगै आएका छौ र मलाई बलपूर्वक लैजान्छौ भने म तिमीलाई के गर्न सक्छु ?
ऋषिले भने- त्यसो भनेपछि त्यो धूम्रलोचन असुर उनीतिर दौडेको थियो, अम्बिकाले हप्कीले नै त्यसलाई खरानी बनाइन् । अनि रिसाएका असुरको महासेना र अम्बिकाले बाण, शक्ति, बञ्चरा बर्साउन थाले । अनि देवीको वाहन, रिसाएको सिंह भयङ्कर गर्जिंदै जगर हल्लाएर असुरका सेनामाथि हाम फाल्यो । त्यसले कसैलाई पञ्जा हानेर, कसैलाई दाह्रेर र कैयौँलाई पछारेर मार्यो । सिंहले नङ्ग्राले कतिको पेट फोर्यो, पञ्जा हानेर कतिको टाउको चुँडायो । जगर हल्लाएर कतिका हात चुँड्दै कतिको टाउको निमोठी, कतिको पेट फोरेर रगत चुस्यो । देवीको वाहन त्यस अति रिसाहा महाबली सिंहले एकै छिनमा उसको सबै सेना सिध्यायो । देवीले धूम्रलोचनलाई मारेको र उनका सिंहले सेना सकेको सुनेपछि रिसले ओठ कँपाउँदै दैत्यराज शुम्भले चण्ड र मुण्ड भन्ने दुई महासुरलाई आज्ञा दियो । हे चण्ड मुण्ड ! धेरै सेनासँग तिमी दुवै त्यहाँ गएर उसलाई चाँडै ल्याओ । जगल्ट्याएर वा बाँधेर घिसार्दै ल्याओ । शङ्का लागे सबै शस्त्रास्त्र र असुरसेनाले युद्धमा मारिदिनु । त्यो दुष्टलाई मारेर सिंह पनि मारेपछि अम्बिकालाई बाँधेर चाँडै ल्याओ ।
श्रीमार्कण्डेयपुराण अन्तर्गत सावर्णिक मन्वन्तरमा देवीको माहात्म्य बताउने क्रममा शुम्भनिशुम्भादि सेनानी र धूम्रलोचन वध नामको छैटौँ अध्यायः यस प्रकार बयान भयो ।।६।।
सप्तमोऽध्यायः
ऋषिले भने- शुम्भको आदेशमा चण्ड मुण्ड आदि दैत्य चतुरङ्गिणी सेनासँगै शस्त्रास्त्रले सजिएर हिँडे । हिमालको सुनौलो अग्लो चुचुरामा पुगी तिनले मुस्काउँदै सिंहमाथि बसेकी देवीलाई देखे । उनलाई देखेर तिनले पक्रने प्रयास गर्दै कसैले धनुष र कसैले तरबार तयार पारे, कोही नजिक पुगे । अनि अम्बिका ती शत्रुसँग खुब रिसाइन् र रिसले उनको मुखै कालो भयो । उनका आँखीभौँ बङ्गिँदा बीच निधारबाट तत्काल विकराल मुखकी, तरबार र पाश लिएकी काली प्रकट भइन् । अनौठो खट्वाङ्ग बोकेकी, हात्तीको छाला बेरेकी, नरमुण्डमाला गहना भएकी, मांस शुष्क भएकी, अति डर लाग्दी ठूलो मुख बाएकी, जिब्रो निकालेकी, आँखाका टोड्का राता भएकी, कराएर दिशा थर्काउने वेगसँग बलिया असुरहरू मार्दै दैत्यका सेनामा झम्टिएर उसका सेनालाई खान थालिन् । पाश्र्वरक्षक, हात्ती चालक, योद्धा र घण्टासँगै हात्तीलाई एकै हातले टिपेर मुखमा हाल्न लागिन् । त्यसरी नै घोडा, सारथि र रथीसँगै रथ मुखमा हालेर भयानक रूपले दाँतले चबाइन् । कसैको टुपी, कसैको घाँटी समातेर, कसैलाई लात्तले, कसैलाई छातीले हानेर मारिन् । ती असुरले हानेका ठूला शस्त्रास्त्र पनि रिसले समाउँदै मुखमा हालेर दाँतले धुल्याइन् । बलिया, दुष्ट असुरको त्यस सेनालाई कतै पेल्दै, कुनै खाँदै, कसैलाई कुट्तै सबै धुलो बनाइन् । कोही दरबारले काटिए, कुनै खट्वाङ्गले कुटिए, कति दाँतले पिसिए सबै असुर विनाश भए । उसको असुर सेना एकै छिनमा सखाप पारेको देखेपछि ती डर लाग्दी कालीतिर चण्ड दगुर्यो । महासुर मुण्डले भयानक बाणवर्षा र हजारौँ चक्र हानेर ती भयानक देवीलाई पुर्यो । ती चक्रहरू उनका मुखमा सूर्यका बिम्बहरू बादलभित्र पसेझैँ देखिन्थे । तब डर लाग्दो कराउने काली अति रिसाएर अट्टहास गर्दा विकराल मुखका हेर्न नसकिने दाँतको प्रभाले ती अत्यन्त उज्ज्वल देखिइन् । हातमा ठूलो तरबार लिएर हुङ्कार गर्दै देवीले चण्डलाई झम्टिइन् र कपालमा समातेर त्यही तरबारले उसको घाँटी काटिदिइन् । चण्डलाई मारेको देखेर मुण्डले उनलाई झम्टियो । उनले रिसाएर त्यसलाई पनि खड्गले हानेर पृथ्वीमा गिराइन् । महावीर चण्ड र मुण्ड मरेको देखेर बाँकी सेना डराउँदै चारैतिर भागे । अनि चण्ड र मुण्डका टाउका हातमा लिएर चण्डिका सामु गई अट्टहास गर्दै कालीले भनिन् । चण्ड र मुण्ड यी दुई महापशु तिमीलाई यहाँ दिएँ । शुम्भ र निशुम्भलाई युद्धयज्ञमा आफैँ मार्नेछ्यौ ।
ऋषिले भने- त्यहाँ चण्ड र मुण्डलाई ल्याएको देखेर कल्याणी चण्डिकाले कालीसित मधुर वाणीमा भनिन् । चण्ड र मुण्डलाई लिएर तिमी आएकी हुनाले नै संसारमा चामुण्डा नामले तिमी प्रसिद्ध हुनेछौ ।
श्रीमार्कण्डेयपुराण अन्तर्गत सावर्णिक मन्वन्तरमा देवीको माहात्म्य बताउने क्रममा चण्डमुण्ड वध नामको सातौँ अध्यायः यस प्रकार बयान भयो ।।७।।
अष्टमोऽध्यायः
ऋषिले भने- चण्ड दैत्य मारिएपछि मुण्ड पनि मारियो र धेरै सैन्यको संहार हुनाले असुरको राजा शुम्भलाई मनमा रिस उठ्यो र सबै दैत्य सैनिकलाई युद्धमा जानका लागि तयार हुने आदेश दियो । आज उदायुधका छयासी र कम्बुका चौरासी दैत्य सेनापतिहरू सेनासँगै कोटिवीर्यका पचास, धौम्रका सय असुर सेनापतिहरू मेरा आज्ञाले सेनासँग प्रस्थान गरुन् । कालक, दौर्हृद, मौर्य, कालकेय आदि असुर तयार भएर मेरा आज्ञाले तत्काल प्रस्थान गरुन् । कडा शासन गर्ने असुरराज शुम्भ यसरी आज्ञा दिएर आफू हजारौँ ठूला सेना लिई युद्धमा निस्कियो । त्यसका भयङ्कर सेना आएको देखी चण्डिकाले धनुषको टङ्कार गर्दा पृथ्वी र आकाशको मध्यभाग गुञ्जायमान भयो । हे राजा ! त्यसपछि सिंहले ठूलो गर्जन गरेर अम्बिकाको घण्टाको ध्वनिलाई झन् चर्को बनायो । धनुष, सिंह र घण्टाका ध्वनिले दिशा गुञ्जिए । कठोर शब्दसँग कालीले विकराल मुख बाएर नै तिनलाई तर्साइन् । त्यस्तो ध्वनि सुनेर दैत्यका सेनाले वरिपरिबाट देवी, सिंह र कालीलाई रिसले घेरा हाले । हे राजा ! त्यसै बीच असुरको संहार र देवगणको कल्याण गर्न अति वीर सेनासँगै ब्रह्मा, विष्णु, शिव, कार्तिकेय र इन्द्र आदि देवशक्ति शरीरबाट निस्केर तिनकै रूपमा चण्डिकासँग आए । जुन देवताको जुन रूप, वेश र वाहन थिए, उनैले सम्पन्न भई दैत्यसँग ती शक्तिले युद्ध गरे । अक्षमाला, जनै र कमण्डलु लिई हाँसको विमानमा अगाडि आएकी ब्रह्माकी शक्तिको नाम ब्रह्माणी थियो । वृषमा चढेकी र त्रिशूल लिएकी माहेश्वरी महानागको बाला र चन्द्रको मुकुटले विभूषित थिइन् । कार्तिकेय शक्ति कौमारी अम्बिका उनकै जस्तो मयूरमा चढी हातमा शक्ति लिई दैत्यसँग लड्न युद्धमा आइन् । त्यस्तै विष्णुकी शक्ति वैष्णवी गरुडमा बसेर शङ्ख, चक्र, गदा, शाङ्ग, धनुष र खड्ग हातमा लिएर आइन् । अनुपम यज्ञवराह रूप हरिले लिएको जस्तै उनकी शक्ति पनि वराह शरीर लिएर त्यहाँ आइन् । नृसिंह जस्तै रूप लिई जगर हल्लाउँदै र नक्षत्र छर्दै नारसिंही आइन् । उसरी नै गजराजमा चढेर अनि महादेवले चण्डिकालाई- मेरो खुसीका लागि शीघ्र असुर मार, भने । हजार आँखा भएकी, इन्द्र जस्तै रूपकी ऐन्द्री शक्ति आइन् । अनि देवीका जिउबाट सयौँ भयानक उग्रचण्डी निस्केर स्याल झैँ कराए । ती अपराजिताले ध्वाँसे जटा हुने शिवलाई बोलाइन् र- हे भगवान् ! तिमी दूत भएर शुम्भ र निशुम्भकहाँ जाऊ घमन्डी शुम्भनिशुम्भ दानव र लड्न तम्सेका दानवहरूलाई यसो भन इन्द्रले त्रिलोकको राज्य र देवताले यज्ञभाग पाऊन्, बाँच्ने मन भए तिमीहरू पाताल जाओ । यदि घमन्डले युद्धकै रहर छ भने आओ, तिमीहरूको काँचो मासुले मेरा शिवाहरू अघाउलान् । शिवलाई दूत बनाएर दैत्यसँग पठाउनाले नै ती शिवदूती कहिन्छिन् । शिवबाट देवीको कुरो सुन्दा ती महासुर रिसले मुर्मुरिँदै कात्यायनी भएकै ठाउँमा पुगे । उहाँ पुगेर रिसाहा दैत्यले देवीमाथि बाण, शक्ति र ऋष्टि आदि बर्साए । तिनले प्रहार गरेका सबै शस्त्रास्त्र तीखा बाणले देवी काट्थिन् र उनीहरूले पनि बाणले देवीका शस्त्रास्त्र काटे । अनि काली सामुन्ने आएर शत्रुगणलाई शूलले हान्दै र खट्वाङ्गले हिर्काउँदै विदीर्ण पार्न लागिन् । ब्रह्माणीले रणभूमिमा चारैतिर कुदेर कमण्डलुको जल छर्किई शत्रुको पराक्रम नष्ट पारिन् । माहेश्वरीले त्रिशूल, वैष्णवीले चक्र र कौमारीले शक्ति हानेर दैत्यको रिसाउँदै संहार गरे । इन्द्रशक्तिले वज्र हानेर ढालेका सयौँ दैत्यदानवको रगतले पृथ्वीमा खोलो बग्यो । वाराही शक्तिले थुतुनाले, दाह्राले र चक्रले छाती फोरेका अनेकौँ शत्रु ढले । नारसिंही युद्धमा महासुरलाई नङले च्यात्दै, खाँदै र सिंहनादले आकाश थर्काउँदै घुमिन् । प्रचण्ड अट्टहासले डराएर पृथ्वीमा ढलेका अनेक असुरलाई शिवदूतीले गाँस बनाइन् । यसरी रिसाएका मातृगणले अनेक किसिमले असुरहरूको मर्दन गरेको देखेर शेष सैनिक डराई भागे । मातृगणले दैत्यहरू मासेका र भागेका देखेर रक्तबीज भन्ने महासुर रिसाएर युद्धमा अघि सर्यो । त्यसका जिउबाट रगतको थोपो भुईंमा खस्ता उस्तै असुर पृथ्वीमा बन्थ्यो । त्यस महाअसुरले हातमा गदा लिएर इन्द्रशक्तिसित युद्ध गर्यो र ऐन्द्रीले वज्रले रक्तबीजलाई हानिन् । बज्रले हानेर धेरै रगत बगेपछि उस्तै रूप र पराक्रमी योद्धा उब्जिए । त्यसका जिउबाट रक्तका जति थोपा झरे, उति नै उस्तै बल पौरख भएका पुरुष उत्पन्न भए । ती रक्तबाट उत्पन्न पुरुष पनि डर लाग्दा शस्त्र हान्दै त्यहीँ मातृगणसँग घोर युद्ध गर्न लागे । वज्र हानेर फेरि त्यसको टाउको फुटेर रगत बग्दा हजारौँ पुरुष उब्जिए । त्यस दैत्य सेनापतिलाई युद्धमा वैष्णवीले चक्रले र ऐन्द्रीले गदाले हिर्काए । वैष्णवीका चक्रले काटिँदा बगेको रतगबाट उस्तै हजारौँ महासुर निस्केर धर्तीमा भरिए । कौमारीले शक्ति, वाराहीले खड्ग र महेश्वरीले त्रिशुल हानेर रक्तबीज महासुरलाई घाइते पारे । रिसाएका त्यस रक्तबीजले पनि सबै मातृलाई विभिन्न गदाले प्रहार गर्यो । शक्ति, शूल आदिले हान्दा भुईंमा रगतको धारा बग्यो र त्यहीँबाट सयौँ असुर उब्जिए । त्यसरी रगतबाट उब्जेका असुरले संसारै ढाक्ता देवता डरले काँप्न थाले । देवताहरू चिन्तित देखेर चण्डिकाले कालीसित हतारिँदै- हे चामुण्डा ! मुख ठूलो पार, भनिन् । मैले शस्त्र हान्दा आउने रक्तबिन्दु र त्यसबाट उत्पन्न हुने महादैत्यहरूलाई तिमी वेगसँग त्यही मुखले खाँदै जाऊ । रक्तबाट उत्पन्न महादैत्यहरू खाँदै रणमा डुल । त्यसरी रक्त सकिएपछि आफैँ मर्नेछ । तिमी उग्रले खाइरहँदा अरू उब्जिँदैनन् । यति भनेर देवीले त्यसलाई त्रिशूलले हानिन् । कालीले रक्तबीजको रक्त मुखमा थापिन् । अनि उसले चण्डिकालाई गदाले हिर्कायो । गदाले हिकाउँदा केही दुखेन । उसका घाइते जिउबाट धेरै रगत बग्यो । त्यो रुधिर चामुण्डाले मुखमा थापिन् । रक्तपातले उनका मुखमा जति महादैत्य उत्पन्न भए चामुण्डाले तिनलाई पनि खाइन् र तिनको रगत पनि निलिन् । देवीले त्रिशूल, वज्र, बाण, तरबार र ऋष्टिले हान्दै चामुण्डाले रगत खाइसकेका रक्तबीजलाई धेरै हतियार हान्दा ऊ भुईंमा पसारियो । हे राजा ! रक्तहीन भएर महासुर रक्तबीज मरेपछि देवताहरूलाई अपार हर्ष भयो । तिनका रक्तको मातले मातृगण पनि उद्धत भएर नाचे ।
श्रीमार्कण्डेयपुराण अन्तर्गत सावर्णिक मन्वन्तरमा देवीको माहात्म्य बताउने क्रममा रक्तबीज वध नामको आठौँ अध्यायः यस प्रकार बयान भयो ।।८।।