सप्तशतीको पाठसार नेपालीमा (९–१३ अध्याय)



०२ कार्तिक २०७५, काठमाडौं

श्रीदुर्गायै नमः
अथ श्रीदुर्गासप्तशती

नवमोऽध्यायः
राजाले भने-  हे भगवान् ! रक्तबीजवध सम्बन्धी देवीचरित्रको अद्भुत महिमा तिमीले मलाई भन्यौ । रक्तबीजको मृत्यु रिसाहा शुम्भ निशुम्भले के गरे, त्यो सुन्न मन लाग्यो । ऋषिले भने । युद्धमा रक्तबीज र अनेक दैत्य मारिएपछि शुम्भ–निशुम्भ क्रोधले आगो भए । विशाल सेना मरेको देखेर निशुम्भ रिसाई असुरका प्रधान सेनाका साथ देवीतिर दगु¥यो । उसका अघि, पछि र पाश्र्वमा भएका ठूला असुरहरू रिसले ओठ टोक्दै देवीलाई मार्न आए । पौरखी शुम्भ पनि आफ्नो सेनासहित मातृगणसित युद्ध गर्दै रिसले चण्डिकालाई मार्न आयो । अनि देवीसित शुम्भ–निशुम्भको घोर युद्ध भयो । दुवैतर्फ पानी परेझैँ बाणवर्षा गर्न लागे । ती दुईका बाणहरू चण्डिकाले आफ्ना बाणले तुरुन्त काटिन् र शस्त्रवर्षा गर्दै दुवै दैत्यलाई घायल पारिन् । निशुम्भले धारिलो तरबार र टल्कने ढाल लिएर देवीको वाहन सिंहको टाउकामा हान्यो । वाहनलाई हानेपछि देवीले क्षुरप्रले निशुम्भको गतिलो तरबार भाँचेर उसको चम्किलो ढाल टुक््रयाइन् । ढाल र तरबार भत्किएपछि असुरले शक्ति चलायो, अगाडि आउँदा देवीले त्यो पनि चक्रले दुई टुक्रा पारिदिइन् । रिसले काम्दै निशुम्भ दानवले शूल उज्यायो, तर नजिक आउँदै देवीले त्यसलाई पनि मुड्की हानेर धुलो पारिदिइन् । फेरि उसले चण्डिकालाई गदा प्रहार ग¥यो, त्यसलाई पनि देवीका त्रिशूलले काटेर धुल्यायो । अनि परशु हातमा लिएर आउन लागेको निशुम्भलाई देखेर देवीले बाणको वर्षा गरी घाइते बनाएर भुईंमा पसारिन् । निशुम्भ त्यहाँ भुईंमा पसारिएपछि अर्को भाइ साह्रै रिसाएर अम्बिकालाई मार्न अघि स¥यो । रथमै बसेर गतिला आयुधले आठै भुजा सम्पन्न पार्दै आकाशै ढाक्ने गरी त्यो खुब चम्कियो । त्यो आउन लागेको देखेर देवीले शङ्ख बजाइन् र धनुषका प्रत्यञ्चाको कडा टङ्कार गरिन् । सबै दैत्यसेनाको तेजोवध गर्ने उनका घण्टाका शब्दले दिशाहरू ढाक्योे । अनि ठूला गजराजको पनि मद नष्ट पार्ने गर्जन गरेर सिंहले आकाश, भूमि र दसै दिशा थर्कायो । अनि कालीले आकाशमा उफ्रेर दुवै हातले पृथ्वीमा हिर्काइन् । त्यसबाट उत्पन्न भयङ्कर शब्दले पहिलेका अरू सामान्य भए । शिवदूतीले दैत्यहरूका लागि अमङ्गलकारी अट्टहास गरेको सुन्दा असुरहरू डराए तर शुम्भलाई भने खुब रिस उठ्यो । अम्बिकाले- हे दुष्ट ! एकछिन पर्खी, भनेकै बेला आकाशमा बसेका देवगणले- जय होस् जय होस्, भने । शुम्भ आएर हानेको भयानक ज्वाला भएको शक्ति आगाको राँकोझैँ आउँदा त्यसलाई देवीले उल्काले बीचैमा खसालिन् । शुम्भका सिंहनादले तीनै लोक गुन्जिए । वज्रपातझैँ त्यसका प्रतिध्वनिले अन्य शब्दलाई जित्यो । शुम्भले हानेका बाण देवीले र देवीले हानेका बाण शुम्भले आआफ्ना बाणले हजारौँ टुक्रा गराए । अनि चण्डिका रिसाएर त्यसलाई शूलले हान्दा मूच्र्छा परेर भुईंमा ढल्यो । निशुम्भ बिउँझेर धनुष टिपी काली र सिंहलाई बाणले घायल पारिदियो । अनि दैत्यराजले दस हजार हातमा चक्र लिई चण्डिकालाई छोप्यो । कष्टनाश गर्ने दुर्गा भगवती रिसाएर आफ्ना बाणले सबै चक्र काटिन् । अनि दैत्यसेनाका साथमा चण्डिकालाई मार्न निशुम्भ गदा लिई दगु¥यो । आउँदै गरेको त्यसको गदा चण्डिकाले खड्गका धारले काटेपछि त्यसले शूल उज्यायो । देवतलाई दुःख दिने निशुम्भ शूल लिएर आएको देखेर चण्डिकाले आफ्नो शूल त्यसका छातीमा प्रहार गरिन् । शूलले फोरेको त्यसका छातीबाट पर्खी भन्दै अर्को महाबली दैत्य निस्क्योे । त्यो निस्कनेको कुरा सुनेर देवी उच्च स्वरले हाँस्तै खड्गले त्यसको शिर छिनाइन् र त्यो भुईंमा ढल्यो । अनि सिंहले गर्धनमा दाह्रा गाडेर खायो । त्यस्तै डर गरी काली र शिवदूतीले अरू असुरलाई मारेर खाए । कौमारीको महाशक्तिले चिरेर धेरै महासुर मरे । ब्रह्माणीले मन्त्रिएका जलले आत्तिएर कैयौँ भागे । कति महेश्वरीको त्रिशूलले ढले । वाराहीका थुतुनाले कति संहार भयो । वैष्णवीका चक्रले कति दानव टुक्रिए, ऐन्द्रीले हानेका बज्रले कति मरे । केही असुर मारिए, केही महायुद्धबाट भागे, कति काली, शिवदूती र सिंहका गाँस बने ।

श्रीमार्कण्डेयपुराण अन्तर्गत सावर्णिक मन्वन्तरमा देवीको माहात्म्य बताउने क्रममा निशुम्भ वध नामको नवौँ अध्यायः यस प्रकार बयान भयो ।।९।।

दशमोेऽध्यायः
ऋषिले भने- प्राणझैँ प्रिय भाइ निशुम्भ सेनासहित मारिएपछि रिसाएका शुम्भले भन्यो । हे दुष्ट दुर्गा ! तिमी बलका तुजुकमा घमन्ड नदेखाऊ । तिमी अभिमानी भएर अरूका शक्तिले युद्ध गर्दै छ्यौ । देवीले भनिन्- ए दुष्ट ! संसारमा म एक्लै छु, मबाहेक अर्को कोही छैन । ल हेर, यी मेरा विभूति ममा नै प्रवेश गर्दै छन् । अनि ब्रह्माणी आदि देवीहरू अम्बिकाका जिउमा बिलाएर अम्बिका एउटी भइन् । देवीले भनिन्- विभूतिहरूले गर्दा म यहाँ धेरै रूपमा थिएँ, ती सबै समेटेर एक भएँ, युद्धमा अडिग होऊ । ऋषिले भने-  अनि देवी र शुम्भ दुईबीच थालेको विशाल युद्ध सबै देवता र दानवले हेरे । तिखा बाणको वर्षा र कठोर शस्त्रास्त्रले सबै लोकमा डर लाग्दो दोहोरो युद्ध भयो । अम्बिकाले हानेका सयौँ दिव्यास्त्र जति दैत्यराज शुम्भका अस्त्रले छल्यो । उसले हाने जति दिव्यास्त्र परमेश्वरीले ठूलो हुङ्कार गरी सजिलै रोकिन् । अनि त्यो असुरले सयौँ बाणले देवीलाई पु¥यो । देवी रिसाएर बाण हान्दै उसको धनुष काटिन् । धनुष काटिएपछि दैत्यराजले हातमा लिएको शक्ति देवीले चक्रले काटिन् । अनि सूर्यझैँ चम्किलो शतचन्द्र तरबार लिई दैत्यराज देवीतिर दगु¥यो । त्यो आउनासाथ धनुषले तिखा बाण हानेर चण्डिकाले सूर्यझैँ उज्यालो तरबार र ढाल काटिन् । अश्व र सारथि मारिएर धनुष भाँचिएका उसले अम्बिकालाई मार्न भयङ्कर मुद्गर उज्यायो । त्यो आउनै लाग्दा तिखा बाणले देवीले मुद्गर काटेपछि मुड्की ताक्तै उनीतिर वेगले झम्टियो । त्यस दैत्यवीरले देवीका छातीमा मुड्की बजा¥यो, देवीले पनि त्यसका छातीमा थप्पड हानिन् । थप्पड खाएर भुईंमा लडेको दैत्यराज फेरि उसरी नै उठेर तत्काल उभियो । उफ्रिएर देवीलाई आकाशमा पु¥यायो, चण्डिकाले निराधार आकाशमा पनि त्यससँग युद्ध गरिन् । त्यस बेला दैत्य र चण्डिकाले आकाशमा परस्पर लडेर सिद्ध मुनिलाई पनि जिल्ल पारे । उसले अम्बिकासँग निकै युद्ध गरेपछि उचालेर घुमाउँदै भुईंमा पछारिन् । त्यो पछारिएको दुष्टात्मा उठेर मुडकी बटार्दै चण्डिकालाई मार्ने इच्छाले वेगसँग कुद्यो । त्यसरी आउँदा सबै दैत्यका राजाको छाती शूलले हानेर देवीले भुईंमा पछारिन् । देवीका शूलले घाइते भएर प्राण गएको त्यो समुद्र, द्वीप, पर्वत र पृथ्वी थर्काउँदै भुईंमा पछारियो । त्यो दुष्टात्मा मरेपछि सारा जगत् प्रसन्न र स्वस्थ भए, आकाश पनि सफा देखियो । पहिले हुने उल्कापात सबै शान्त भए र त्यो मरेपछि उल्टो बग्ने नदी पनि सोझै बग्न लागे । अनि सबै देवताको मन हर्षले भरियो र गन्धर्व गीत गाउन लागे । कसैले बाजा बजाए, अप्सराहरू नाचे, सफा हावा लाग्यो, सूर्य सफा भए । यज्ञको आगो स्वयं बल्यो र चारै दिशाको त्रासको शब्द शान्त भयो ।

श्रीमार्कण्डेयपुराण अन्तर्गत सावर्णिक मन्वन्तरमा देवीको माहात्म्य बताउने क्रममा शुम्भ वध नामको दसौँ अध्याय यस प्रकार बयान भयो ।।१०।।

एकादशोऽध्यायः
ऋषिले भने- देवीले असुर महाराजलाई मारेपछि इन्द्रसँगै देवताहरू अघि लाएर अग्निले उनै कात्यायनीको यस्तो स्तुति गर्दा सबै दिशा र उज्याला अनुहार प्रफुल्ल भए । हे शरणागतकी दुःखनाशक देवी ! प्रसन्न होऊ, हे सारा जगत्की माता ! प्रसन्न होऊ, हे विश्वेश्वरि ! विश्वरक्षा गर, हे देवी ! तिमी चराचरकी अधीश्वरी हौ । जगत्को आधार एकमात्र तिमी हौ, किनकि धर्तीका रूपमा तिमी नै रहन्छ्यौ । हे अपार पराक्रमी ! तिमी नै जलरूपमा जगतलाई तृप्त गर्दछ्यौ । हे देवी ! अनन्त पराक्रमी तिमी वैष्णवी शक्ति नै विश्वको बीज र परामाया हौ । समस्त जगत् मोहित पार्ने तिमी प्रसन्न भएर धर्तीमा मोक्ष गराउँछ्यौ । हे देवी ! सबै विद्या तिम्रै रूप र जगत्का स्त्रीहरू तिम्रै मूर्ति हुन् । हे माता ! तिमी एक्लैले विश्व ढाकेकी हुनाले तिम्रो स्तुति के र त्यो परावाणी कसको छ ? स्वर्ग र मोक्ष प्रदान गर्ने सर्व रूपमा देवी रहँदा तिम्रा त्यसै रूपको स्तुति भयो । स्तुति गर्न यसभन्दा राम्रो उक्ति के छ ? बुद्धिरूपले सबैका हृदयमा रहेकी, स्वर्ग र मोक्ष प्रदान गर्ने हे नारायणी देवी ! तिमीलाई नमस्कार छ । कला, काष्ठा आदि रूपले परिणाम दिने र विश्व संहार गर्न सक्ने हे नारायणी शक्ति ! तिमीलाई नमस्कार छ । सबै मङ्गलरूप, मङ्गलमूर्ति, कल्याणी, सबै पुरुषार्थ सिद्ध पार्ने, शरण लिने, तीन नेत्र हुने, गौरीरूप हे नारायणि ! तिमीलाई नमस्कार छ । सृष्टि, स्थिति एवं विनाशकी शक्तिरूप, सनातनी, गुणकी आधार र गुणमयी हे नारायणी ! तिमीलाई नमस्कार छ । शरण पर्ने दुःखीको रक्षामा रहने र सबैको पीडा नाश गर्ने हे नारायणी ! तिमीलाई नमस्कार छ । ब्रह्माणीका रूपमा हाँस सहितको विमानमा बस्तै कुशपानी छर्केर कल्याण गर्ने हे नारायणी ! तिमीलाई नमस्कार छ । माहेश्वरीका रूपमा त्रिशूल, चन्द्र र सर्प लिई वृषभमा बस्ने हे नारायणी ! तिमीलाई नमस्कार छ । मयूर कालिजका बीचमा हुने, महाशक्ति पक्रने, निष्पाप कौमारी रूपकी हे नारायणी ! तिमीलाई नमस्कार छ । शङ्ख, चक्र, गदा, शाङ्र्ग र परमायुध लिने, वैष्णवी रूपकी हे नारायणी ! तिमीलाई नमस्कार छ । भयानक चक्र लिने, दाह्रामा पृथ्वी उचाल्ने, वाराही रूप धारिणी, कल्याणी हे नारायणी ! तिमीलाई नमसकार छ । भयङ्कर नृसिंहरूपले दैत्यहरूको वधका लागि उद्योग गर्ने र त्रिभुवनको रक्षामा संलग्न रहने हे नारायणी तिमीलाई नमस्कार छ । मुकुट लाउने, महावज्र लिर्ने, उज्याला हजार नेत्र हुने, वृत्रको ज्यान लिने र ऐन्द्री रूपकी हे नारायणी ! तिमीलाई नमस्कार छ । शिवदूतीका रूपले दैत्यको महासेना मास्ने, घोर रूप हुने र ठूलो गर्जन गर्ने हे नारायणी ! तिमीलाई नमस्कार छ । भयानक दाह्रा र मुख हुने, मुण्डमाला गहना लाउने, मुण्डलाई मार्ने, चामुण्डा रूपकी हे नारायणि ! तिमीलाई नमस्कार छ । लक्ष्मी, लज्जा, महाविद्या, श्रद्धा, पुष्टि, स्वधा, ध्रुवा, महारात्रि र महाअविद्या रूपकी हे नारायणी ! तिमीलाई नमस्कार छ । हे मेधा, सरस्वती, वरा, भूति, खैरी, काली, नियता, ईशा ! तिमी प्रसन्न होऊ, हे नारायणी ! तिमीलाई नमस्कार छ । सर्वस्वरूपा, सर्वेश्वरी, सबै शक्तिले सम्पन्न, दिव्यरूपा हे दुर्गे देवी ! सबै भयबाट हाम्रो रक्षा गर, तिमीलाई नमस्कार छ । तीन नेत्रले विभूषित तिम्रा यस सौम्य अनुहारले सबै भयबाट हाम्रो रक्षा गरोस् । हे कात्यायनी ! तिमीलाई नमस्कार छ । विकराल ज्वाला जस्तो, सबै भयङ्कर असुर मार्ने तिम्रा त्रिशूलले डरबाट हाम्रो रक्षा गरोस् । हे भद्रकाली ! तिमीलाई नमस्कार छ । हे देवी ! ध्वनिले जगत् थर्काउँदै दैत्यको तेज नष्ट गर्ने त्यस घण्टाले सबै पापबाट सन्तानलाई झैँ रक्षा गरोस् । हे चण्डिका ! असुरको रक्तबोसाका हिलाले ढाडिएर तिम्रो हात सजाएको खड्ग मङ्गलकारी होस् भनी हामी तिमीसँग झुकेका छौँ । प्रसन्न हुँदा सबै रोग र रिसाउँदा सबै लक्ष्य नाश पार्ने तिमी आपद्मा आश्रय लिने मानिस आपद्मुक्त भएर पनि आश्रयदाता बन्छ । हे देवी अम्बिका ! तिमीले अहिले गरेझैँ अनेक रूपमा, अनेक भागमा बाँडिएर धर्मद्रोही महासुरको नाश गर्न अरू कसैले सक्तैन । विद्यामा, शास्त्रमा, ज्ञान प्रकाशित गर्ने वेदवाक्यमा र ममताको महान्धकार खडलमा विश्वलाई भ्रमित पार्ने पनि तिमीबाहेक अरू को छ ? राक्षस, महाविषालु सर्प, शत्रु, चोर, डाका, डढेलो जहाजहाँ छ त्यहाँ र समुद्रका माझमा पनि साथै रहेर विश्वको रक्षा गर्दछ्यौ । हे विश्वेश्वरी ! तिमी विश्वलाई पाल्छ्यौ, विश्वाव्यापी भएर विश्व थाम्छ्यौ । विश्वनाथकी वन्दनीया तिमीमा भक्तिले झुक्नेहरू विश्वका आश्रय हुन्छन् । हे देवी ! अहिले असुरहरू मारेर रक्षा गरेझैँ सधैँ शत्रुको भयबाट हाम्रो रक्षा गर । सारा जगत्को पाप मेटाएर उत्पात र पापजन्य उपद्रवहरू नष्ट गर । हे विश्वको पीडा हटाउने देवी ! शरण पर्नेसँग प्रसन्न होऊ । त्रिलोक निवासीकी हे पूजनीय ! सबैलाई वरदान देऊ ।

देवीले भनिन्- हे देवताहरू ! मनमा इच्छा भएको वर माग, म वर दिन्छु । संसारको उपकार हुने वर माग, म दिन्छु ।

देवताले भने-  हे सर्वेश्वरी ! तिमी यसै प्रकार तीनै लोकका समस्त बाधा शान्त गर र हाम्रा शत्रुको नाश हुने काम गरिराख ।

देवीले भनिन्- वैवस्वत मन्वन्तरको अठ्ठाइसौँ युगमा शुम्भ र निशुम्भ दुई महासुर अर्कै रूपमा उत्पन्न हुनेछन् । नन्दगोपका घरमा यशोदाको गर्भबाट जन्मिएर विन्ध्याचलमा बस्तै र ती दुवैको नाश गर्नेछु । फेरि अति भयङ्कर रूपले पृथ्वीमा आएर वैप्रचित्त नामका दानव मार्नेछु । ती उग्र वैप्रचित्त महासुरहरूलाई भक्षण गर्दा मेरा दाँत अनारको फूल जस्तै राता हुनेछन् । अनि स्वर्गमा देवता र मत्र्यलोकमा मनुष्यले सधैँ रक्तदन्तिका भनी मेरो स्तुति गर्छन् । फेरि पृथ्वीमा सय वर्ष झरी नपरी पानीको अभाव होला, त्यो बेला मुनिहरूले स्तुति गर्दा म अयोनिजा रूपमा प्रकट हुनेछु । अनि सय नेत्रले मुनिगणलाई हेर्नेछु । अनि मनुष्यले शताक्षी नामले मेरो कीर्तन गर्नेछन् । हे देवताहरू ! त्यस बेला पानी नपरुन्जेल आफ्ना शरीरबाट उत्पन्न शाकले पृथ्वीमा शाकम्भरी नामले मेरो ख्याति गाउनेछन् र त्यसै अवतारमा म दुर्ग नामका महादैत्यको वध गर्नेछु संसारको भरणपोषण गरी प्राणीको रक्षा गर्दा बाँच्नेहरूले त्यसले मेरो नाम दुर्गादेवी भन्ने प्रसिद्ध हुनेछ र फेरि म भीमा रूप लिएर हिमालयमा बस्नेछु । मुनिहरूको रक्षा गर्न राक्षसहरूको भक्षण गर्नेछु, त्यस बेला सबै मुनिहरू नतमस्तक भएर मेरो स्तुति गर्नेछन् । अनि मेरो नाम भीमादेवी भनी विख्यात हुनेछ । त्यस बेला अरूण नामका दैत्यले तीनै लोकमा उपद्रव गर्नेछ । तब म तीनै लोकको हित गर्नका निम्ति छ खुट्टा हुने असङ्ख्य भ्रमराको रूप लिएर त्यस दैत्यको वध गर्नेछु । त्यो बेला मानिसले भ्रामरी भनेर मेरो स्तुति गर्नेछन् । त्यसैगरी जब–जब संसारमा दानवी बाधा उपस्थित होला । तब अवतार लिएर म शत्रुहरूको संहार गर्नेछु ।

श्रीमार्कण्डेयपुराण अन्तर्गत सावर्णिक मन्वन्तरमा देवीको माहात्म्य बताउने देवीको स्तुति नामको एघारौँ अध्याय यस प्रकार बयान भयो ।।११।।

द्वादशोऽध्यायः
देवीले भनिन्-  एकाग्र चित्त भएर प्रतिदिन यी स्तुतिहरूले मेरो स्तवन गर्नेका सबै बाधा म अवश्य निवारण गरिदिनेछु । मधु–कैटभको नाश, महिषासुरवध र शुम्भ–निशुम्भ संहारको प्रसङ्ग पाठ गर्नेलाई पनि अष्टमी, चतुर्दशी र नवमीमा एकाग्र चित्तले भक्तिपूर्वक मेरो उत्तम महात्म्य सुन्नेहरू तिनलाई कुनै पापले छुँदैन, दुःखद आपत्ति आउँदैन, दरिद्रता आउँदैन र प्रियको वियोग खप्नुपर्दैन । तिनलाई शत्रु, चोरडाका, राजा, शस्त्र, अग्नि र जलराशिबाट पनि डर हुँदैन । त्यसैले यो महात्म्य भक्तिसाथ सबैले पढ्नु र सुन्नु परम कल्याणकारी छ । मेरो यस माहात्म्यले महामारीजन्य सबै उपद्रव, दैहिक, दैविक र भौतिक तीनै खालका उत्पात शान्त पार्नेछ । मेरा मन्दिरमा सधैँ विधिवत् मेरो यस माहात्म्यको पाठ गरिने ठाउँ म छोड्दिनँ र सधैँ त्यहीँ रहन्छु । बलि चढाउँदा, पूजा, होम र महोत्सवका अवसरमा मेरा यस चरित्रलाई पाठ र श्रवण गर्नुपर्दछ । विधि जानेर वा नजानी त्यसरी गरेको मेरो बलि, पूजा वा होम म प्रसन्न भएर ग्रहण गर्दछु । शरत्कालमा वार्षिक महापूजा गरी जसले मेरो यो महात्म्य भक्तिपूर्वक सुन्छ त्यो मानिस मेरा प्रसादले सबै बाधाबाट मुक्त हुँदै धनधान्य र पुत्रले सम्पन्न हुन्छ भन्नेमा शङ्का छैन । मेरो यो माहात्म्य, मेरो उत्पत्तिको कथा र युद्धको पराक्रम सुन्ने मानिस निर्भय हुनेछ । मेरो माहात्म्य सुन्ने मान्छेका शत्रु मासिन्छन्, कल्याण हुन्छ र कुल खुसी रहन्छ । सर्वत्र शान्ति कर्ममा, दूषित स्वप्नमा र ग्रहपीडा भएमा मेरो माहात्म्य श्रवण गर्नुपर्दछ । विघ्न हटाउँछ र कडा ग्रहको पीडा शान्त हुन्छ, मानिसले देखेको दुःस्वप्न पनि शुभ स्वप्नमा बदलिन्छ । बालग्रहले बालकलाई दुःख दिँदा शान्ति र मानिसका समूहमा विरोध पर्दा यसले स्थिर मित्रता गराउँछ । यसले सबै दुराचारीको बल नाश गरी मेरो निकटता प्राप्त हुन्छ । यसको पाठ गर्दा राक्षस, भूतपिशाच नाश हुन्छन् । मेरा यस माहात्म्यले सर्वथा मेरो निकटता प्राप्त हुन्छ । पशु, पुष्प, अघ्र्य, धुप, दीप, गन्धादि उत्तम सामग्री चढाएर .ब्राह्मण भोजन, होम, निरन्तर अभिषेक, विभिन्न भोज्य वस्तु वर्षदिन अर्पण गर्नाले । त्यसले मलाई खुसी हुन्छ । त्यस्तै मेरो यो उत्तम चरित्रको श्रवण गर्नाले पाप नाश भरी आरोग्य प्रदान गर्दछ । मेरा जन्मका कीर्तनले भूतबाट रक्षा गर्छ र युद्धको चरित्रले दुष्ट दैत्य संहार गर्छ । यसका श्रवणले शत्रुको भय रहन्न । तिमीहरूले र ब्रह्मर्षिहरूले गरेको मेरो स्तुति र ब्रह्माले गरेका स्तुतिले कल्याणमयी बुद्धि प्रदान गर्दछन् । वनमा, एकान्तमा वा डढेलामा परेका बेला एकान्तमा, डाकाको घेरा वा शत्रुको फेला पर्दा वा वनमा सिंह, बाघ, जङ्गली हात्तीले लखेट्ता राजा रिसाएर मार्ने वा थुन्ने आदेश लिएर लैजाँदा वा महासागरमा डुँगामा बस्ता आँधी आएमा । भीषण युद्धमा हतियारले लाग्दा, रोगले पीडित हुँदा वा सबै ठूला बाधा उपस्थित हुँदा । मेरो यो चरित्र स्मरण गर्ने मानिस सङ्कटबाट मुक्त हुन्छ । मेरो प्रभावले सिंह आदि, डाका र शत्रु मेरो चरित्र स्मरण गर्ने व्यक्तिसँग पर भाग्छन् ।

ऋषिले भने-  यति भनेर प्रचण्ड पराक्रम हुने ती भगवती चण्डिका देवताका सामु त्यहीँ अन्तध्र्यान भइन् । पहिले जस्तै निर्भय देवताहरू सबै शत्रुविहीन भई यज्ञभागको उपभोग गरे । देवीले पनि युद्धमा देवशत्रु शुम्भ मारेर संसार विध्वंश गर्ने, अति उग्र, महाबली निशुम्भ पनि मारेपछि बाँकी पातालमा गए । हे राजा ! यी भगवती देवी नित्य भए पनि बारबार प्रकट हुँदै जगतको रक्षा गर्दछिन् । उनैले विश्व मोहित गर्छिन् र उनै विश्व उत्पन्न गर्छिन् । प्रार्थना गर्दा सन्तुष्ट भई विज्ञान र समृद्धि प्रदान गर्दछिन् । हे राजा ! प्रलयकालमा महामारीको स्वरूप लिने ती महाकाली यस समस्त ब्रह्माण्डमा व्याप्त छिन् । तिनै अजन्मा कहिले महामारी र कहिले सृष्टि रूप हुन्छिन् । उनै सनातनी देवीले समयमा जीवको रक्षा गर्दछिन् । मानिसको उन्नति कालमा उनै लक्ष्मीका रूपमा वृद्धि गराउँछिन् र अभावमा दरिद्रता बनेर विनाशको कारण हुन्छिन् । फूल, धुप, गन्धादिले पूजा गरेर उनको स्तुति गर्नेलाई धन, पुत्र, धार्मिक बुद्धि र उत्तम गति दिन्छिन् ।

श्रीमार्कण्डेयपुराण अन्तर्गत सावर्णिक मन्वन्तरमा देवीको माहात्म्य बताउने फलस्तुति नामको बाह्रौँ अध्याय यस प्रकार बयान भयो ।।१२।।

त्रयोदशोऽध्यायः
ऋषिले भने-  हे राजा ! तिमीलाई देवीको यो उत्तम महात्म्य भनेँ । यो जगत् धान्ने ती देवीको प्रभाव यस्तै छ । भगवान् विष्णुका मायाले त्यस्तै विद्या उत्पन्न गर्छिन् । तिमी, यो वैश्य र अरू विवेकी व्यक्ति पनि उनै देवीसँग मोहित हुन्छन्, मोहित छन् र मोहित हुनेछन् । हे महाराज ! उनै परमेश्वरका शरणमा जाऊ । आराधना गर्दा उनैले मानिसलाई भोग, स्वर्ग र मोक्ष प्रदान गर्दछिन् ।

मार्कण्डेयले भने-  उनको यस्तो कुरो सुनेर उनै सुरथ राजाले उत्तम व्रत पालन गर्ने ती महाभाग ऋषिलाई प्रणाम गरे । अति ममता र राज्य खोसिएर साह्रै खिन्न भइसकेका तिनी र वैश्य विरक्त हुँदै तत्काल तपस्या गर्न हिँडे । हे महामुनि ! अम्बाको दर्शन गर्न नदीतटमा बसे । तटमा देवीको माटाको प्रतिमा बनाएर ती र वैश्य दुवै देवीसूक्त जप्तै तपस्यामा लागे । पुष्प, धुप, हवन तर्पण आदिले उनको आराधना गर्दा आहार नियमित गर्दै र निराहार रहँदै मनले देवीमै चित्त लगाए । ती दुवैले आफ्ना शरीरका रक्तले धोएर बलि अर्पण गर्दै संयमसँग तीन वर्ष आराधना गरे । जगत्लाई धारण गर्ने चण्डिका प्रसन्न भएपछि प्रत्यक्ष भएर भनिन्- हे राजा र कुलपुत्र ! तिमीहरू जे खोज्छौ, त्यो मसँग लेओ । सन्तुष्ट छु, म दिन्छु ।

मार्कण्डेयले भने- अनि राजाले अरू जन्ममा नाश नहुने गरी अहिले नै शत्रुसेनालाई जितेर आफ्नो राज्य प्राप्त होस् भनी मागे । बुद्धिमान् वैश्यको चित्त संसारबाट विरक्त भएको हुनाले म र मेरो भन्ने आसक्ति नाश गर्ने ज्ञान मागे ।

देवीले भनिन्-  हे राजा ! केही दिनमा तिमीले आफ्नो राज्य पाउँछौ । सबै शत्रु मारेपछि त्यहाँ तिम्रो राज्य रहनेछ । अनि मृत्युपछि तिमी विवस्वान् देवताको अंशबाट । सावर्णि नामका नामका मनु भई पृथ्वीमा रहनेछौ । हे वैश्यवर्य ! तिमीले जुन वर मसित मागेका छौ । त्यही दिन्छु, तिमीलाई सिद्धिका लागि ज्ञान प्राप्त हुनेछ ।

मार्कण्डेयले भने- ती दुवैलाई यस्तो इच्छित वर दिएर देवी उनीहरूले भक्तिपूर्वक स्तुति गरेको सुन्दै तत्काल अन्तर्धान भइन् । सूर्यबाट जन्म पाएर सावर्णि मनु हुनेछौ । भन्ने देवीको वरदान पाएका क्षत्रियवीर सुरथले सूर्यबाट जन्म पाएपछि सावार्णि मनु हुनेछन् ।

श्रीमार्कण्डेयपुराण अन्तर्गत सावर्णिक मन्वन्तरमा देवीको माहात्म्य बताउने सुरथ र वैश्यलाई वर प्रदान नामको तेह्रौँ अध्याय यस प्रकार बयान भयो ।।१३।।

प्रतिक्रिया दिनुहोस्