संस्कृति पुर्नजागरण अभियान



०३ कार्तिक २०७५, काठमाडौं

सनातन संस्कृति र संस्कारलाई आधुनिकीकरणको नाममा हामीले अनुसरण गर्न सकेनौँ वा चाहेनौं । पश्चिमा समाजमा लोकप्रिय बन्दै गएको सबै भाषाको जननी भाषा ‘संस्कृत’ नेपालमा लोप हुने अवस्थामा पुगेको छ ।

हाम्रा पुर्खाले हजारौँ वर्ष पहिले अध्ययन, अनुभव र प्रयोग गरेका वैज्ञानिक खोज, अनुसन्धान र आविष्कारहरूलाई नयाँ नाम दिँदै पश्चिमाहरू आफूलाई वैज्ञानिकको रूपमा स्थापित गर्न सफल भइरहेका छन् । अहिले ज्ञान र विज्ञानले भरिएका वेद, उपनिषद्, पुराण जस्ता ग्रन्थहरू नेपाली जनजीवनमा चर्चा योग्य पुस्तक नै बन्न छोडे । संस्कृत जस्तो समृद्ध भाषालाई रुढीवादी वा कर्मकाण्डी भाषामा सीमित बनाइयो ।

दुनियाँलाई सभ्यता सिकाउने हाम्रो भाषा, साहित्य, संस्कृति र दर्शनलाई हामीले कहिल्यै अनुसरण गर्न चाहेनौँ । परिणाम स्वरूप पूर्वीय दर्शन, वैदिक ज्ञान कहिल्यै हाम्रो प्राथमिकतामा परेन । ज्ञान, अनुभवको कमीले वैदिक सभ्यताका प्रचारकहरूले समेत हाम्रो संस्कृति र ज्ञानलाई आफू अनुकूल व्याख्या गर्दै यसको विकास र विस्तारमा रोक लगाए ।

अमेरिका र  युरोप जस्ता महादेश अस्तित्वमा नै नहुँदा हाम्रा पुर्खाले प्रयोग गरेका शिव सभ्यता, मिथिला वा जनक सभ्यता, शाक्य वा कपिलवस्तु सभ्यता, किराँत सभ्यता, लिच्छवि सभ्यता नपढी, नपढाई पश्चिमा विकासक्रमलाई मानवीय जीवन, विकास र संस्कृतिको खानी भनेर पढ्न/ पढाउन बाध्य बनाइयो ।

संस्कृत भाषाहरूको पनि मातृभाषा हो । हाम्रा पुर्खाले त्यही भाषालाई आफ्नो बोलचालको भाषा बनाएका थिए । लेखनको भाषा बनाए । त्यसैले वेद, उपनिषद्, पुराण, त्रिपिटक जस्ता हजारौँ हजार ग्रन्थहरू संस्कृतमा नै लेखे ।

संस्कृत भाषाको ज्ञान भएपछि हाम्रा पुर्खाका सिर्जनाहरू सबैले पढ्न सक्छन् । वेद, उपनिषद्, पुराणहरू र त्रिपिटक जानेपछि पश्चिमा विद्वानको बोक्रे ज्ञानलाई गुदी मान्दैनन् भन्ने जानेर नै नेपाल, भारत लगायतका वैदिक संस्कृतिमा बाहुल्य देशमा प्रचलनमा रहेको संस्कृत भाषालाई लोप गराएर पश्चिमा जगतमा लोकप्रिय बनाइँदै छ ।

हाम्रा नीतिनिर्माता, शासक, प्रशासकहरू व्यक्तिगत लाभहानिमा केन्द्रित भएर हाम्रो भाषा, संस्कृति, दर्शन र जीवनशैलीलाई  खरानी बनाउने दुष्प्रयास गर्दै छन् । हामी जस्ता युवाले अब पनि बुझेनौँ भने शुद्ध नेपाली भाषा बोल्न र लेख्न दार्जिलिङ्ग वा सिक्किम र शुद्ध संस्कृत बोल्न र लेख्न जर्मनी जानुपर्ने अवस्था आउन आधा शताब्दी पनि कुर्नु नपर्ला ।

ज्ञान, विज्ञान, ध्यान, योग, साधना र सेवालाई जीवन पद्धति मान्ने हाम्रो वैदिक सभ्यता रक्षात्मक अवस्थामा पुगिसकेको छ । हाम्रा संस्कृतिमा भएका राम्रा पक्षहरूको लेखन, व्यवस्थापन र बजारीकरण गर्न नजान्दा वा नचाहँदा हाम्रो सभ्यताको ठुलो अंश थन्कियो, चोरियो वा हरायो । हाम्रै वाङ्मयको ज्ञान र अनुसन्धानका भरमा पश्चिमाहरू आफूलाई दार्शनिक बनाउन सफल भएका छन् ।

ज्ञान लिने र दिने पहिलो आधार भाषा हो ।  हाम्रा पुर्खाले संस्कृत भाषालाई विकास, प्रयोग र प्रचार गरे । आफ्ना सबै अनुभव संस्कृत भाषामै लेखे । तर नेपालमा सञ्चालित एउटा संस्कृत विश्वविद्यालय पनि बन्द हुने हो कि भन्ने अवस्थामा पुगेको छ । करिब अर्ब वैदिक जनसङ्ख्या भएको भारतमा सीमित संस्कृत विश्वविद्यालयहरू छन् जहाँ संस्कृत पढ्न आकर्षण नहुने तर हजारमा सीमित वैदिक जनसङ्ख्या भएको जर्मनीमा ३ दर्जनभन्दा बढी विश्वविद्यालयले संस्कृत भाषालाई पठन–पाठन गराउँदै आएका छन् । त्यही युरोपमा संस्कृत पढ्न भर्ना हुन चाहने विद्यार्थीले सीमित कोटाका कारण वर्षाैं पालो कुर्नुपर्ने ! किन ?

नेपाली विद्यालयका आधारभूत तहमा राखिएको ऐच्छिक संस्कृत समेत खारेज हुने तर युरोपका कतिपय राज्यहरूमा संस्कृतलाई अनिवार्य विषयमा समावेश गरिने, किन ? किनभने कस्तुरीको खोजीमा आफूलाई बिर्सिएको मृग जस्तै, आफ्नो वैदिक संस्कृति, सभ्यता र भाषालाई बिर्सिएर मैनबत्तीबाट दुनियाँलाई उज्यालो दिने खोजीमा छौं- हामी !

अब हामीले ढिला गर्नु हुँदैन, हाम्रा पुर्खाको अध्ययन, अनुसन्धान र अनुभवबाट निर्मित हजारौँ वर्ष पुरानो हाम्रो संस्कृत भाषा, वैदिक सभ्यता र संस्कृतिलाई हाम्रै जीवनमा प्रयोग गर्न ।

पुर्खाको ज्ञानलाई अनुसरण गर्न दुनियाँ जगाउने हाम्रो संकल्प ‘‘पुर्खाको ज्ञानलाई अपनाउन : संस्कृति पुर्नजागरण अभियान ” सुरु गर्दै छौँ । प्रष्ट र पवित्र भावनाले शुरु गर्न लागिएको हाम्रो अभियान पुरा गर्न दुर्गा भवानीले हामी सबैलाई प्रेरणा दिउन। त्यसैले सामुहिक संकल्प गरौँ -कुनै वाद, विचार, भूगोल, रङ्ग र भाषाको घेराभन्दा माथि उठेर अघि बढौँ। हाम्रो सभ्यता, संस्कार, भाषा र संस्कृतिको उत्थान हामीले नै गर्ने हो- अर्काले गरिदिँदैन । त्यसैले जुटौं, जागौं र आजैबाट लागौँ – सर्वाङ्गीण पुनर्जागण हेतु स्वयं जागरुक बनौँ ।

प्रतिक्रिया दिनुहोस्