मोहनविक्रम स्मृति कप फुटबल शुरु



०८ कार्तिक २०७५, सिन्धुली

समाजसेवी एवं राजनीतिज्ञ स्व. मोहनविक्रम थापाको स्मृतिमा विहीवार (आज)देखि सिन्धुलीको भिमानमा ‘मोहनविक्रम स्मृति कप फूटबल प्रतियोगिता’ शुरु  भएको छ । सिन्धुली जिल्लामा आयोजना भएका अहिलेसम्मका खेलकुदहरुमा  सबैभन्दा ठूलो धनरासीको पुरस्कार यसपटक राखिएको छ ।

फाइनल खेलमा  प्रथम हुने टिमलाई डेढ लाख रुपियाँ नगद र तक्मा पुरस्कार राखिएको छ । दोस्रो हुने टिमलाई रु पचार हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

बरिष्ठ समाजसेवी एवं सिन्धुली ट्रष्ट्का अध्यक्ष  उज्ज्वल बिक्रम  थापाले विहीवार फुटबल खेल उद्घाटन गरे । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा खेलाडी अनि सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । प्रतियोगिता कात्तिक १७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको आयोजक स्थानीय भीमान युवा क्लब आयोजक  हो भने सिन्धुली ट्रष्ट नेपाल सहयोगी संस्थाको रुपमा रहेको छ । भीमानस्थित जनजागृति माध्यामिक विद्यालयको खेलमैदानमा प्रतियोगिता शुरु भएको छ । खेलका लागि बुधवार साँझसम्म १४ टिमले दर्ता गराएको भीमान युवा क्लबका सचिव दिनेश न्यौपानेले जानकारी दिए ।

अध्यक्ष थापाले सिन्धुलीलाई खेलकुदमा अगाडि बढाउन आफ्नो प्रयासमा ठूलो पुरस्कारको रासी राखिएको र भविश्यमा थपिँदै जाने घोषणा गरेका छन्  ।

गत बर्ष स्व. मोहन विक्रम थापा स्मृति कप फुटबल आयोजना भएको थियो । यसपटक हुन लागेको प्रतियोगिता दोस्रो हो । भीमान युवा क्लबले भविश्यमा गोल्ड कप आयोजना गर्ने गरी क्लबको क्षमताबृद्धिसँगै तयारी थाल्ने  भएको छ।

आज उद्घाटन खेलमा आयोजक भीमान युवा क्लब ए र जनसंगम युवा क्लब चन्दनपुरबीच प्रतिस्पर्धा छ ।

 

प्रतिक्रिया दिनुहोस्