०९ कार्तिक २०७५, काठमाडौँ
आजका दिनमा नेपाली साहित्य र शिक्षाका क्षेत्रमा चर्चाको पात्र बनेकी सीता कुमारी सापकोटाको साहित्यिक नाम सीता भट्टराई हो । सङ्घर्षद्वारा शिक्षा, साहित्य र समाजसेवाको त्रिवेणीमा स्थापित भट्टराई अहिले ज्ञानदीप शिक्षा सदनको संस्थापक प्रधानाध्यापकका रूपमा कार्यरत छिन् ।
सीता भट्टराई कक्षा नौमा अध्ययन गर्दा नै विवाह बन्धनमा बाँधिन पुगेकी थिइन् । २०२७ सालमा धनगढीमा जन्मिएकी उनी पाँच वर्षको उमेरमा नै पितृस्नेहबाट वञ्चित भइन् ।
सीताकी आमा दीपकुमारीले विभिन्न सङ्घर्ष गर्दै भाइ र उनलाई हुर्काइन् । केही वर्षपछि उनकी आमा दुई सन्तान लिएर काभ्रेबाट राजधानी प्रवेश गरिन् । टंगाल माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययन गर्दा गर्दै उनको विवाह भयो ।
सायद, त्यति बेलाको अवस्था नै त्यस्तो थियो । परिवारमा अभिभावकले रोजेको र चाहेको व्यक्तिसँग विशेष गरी केटीहरुमा विवाह गर्दिन भन्ने क्षमता हुँदैनथ्यो । एक त कम उमेरका केटाकेटी बाबुआमाका आज्ञाकारी नै हुन्थे ।
विवाहको प्रस्ताव अस्वीकार गर्न नसके पनि उनले विवाहपछि पनि पढ्न पाउनुपर्दछ भन्ने सर्त राखिन् । यस्तो प्रस्ताव राख्न सक्ने केटीहरु पनि त्यस बेलामा कमै हुन्थे । त्यसैले उनलाई जीवनमा केही गर्नुपर्छ भन्ने चेतना सानैमा आइसकेको थियो भन्न सकिन्छ ।
एसएलसी परीक्षा दिनु अगावै उनी आमा भइसकेकी थिइन् । २०४५ सालमा एसएसली परीक्षामा सामेल हुँदा उनकी दुई महिनाकी छोरी थिइन् ।
आफूमा कुनै कुराको इच्छाले डेरा जमाएपछि केहीले पनि रोक्न सक्दैन । यस्तै भित्री मान्यता राखेकी सीताले विभिन्न परिस्थितिको सामना गर्दै पढाइलाई निरन्तरता दिइन् । एसएलसी दिए लगत्तै उनी विद्यालयमा शिक्षिका पनि बनिन् ।
संयोग कस्तो रह्यो भने २०५२ मा स्नातक तहको परीक्षाको नतिजा आउँदा उनी छोराकी पनि आमा बन्न पुगिन् । टंगाल माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिएकी सीताले कन्या कलेजबाट बिए, पद्म कन्या क्यामपसबाट एमए तथा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा दर्शनाचार्य अर्थात् एमफिल सम्मको अध्ययन गरेकी छिन् ।
विभिन्न आरोहअवरोहका बीच पनि घरायसी कामकाज सम्हाल्दै अध्ययन गर्ने वातावरणको सृजना गरेकी सीता सम्झन्छिन्- ‘घरायसी काम सकेपछि समय निकालेर म आफ्नो अध्ययन सुरु गर्थें । सधैँ कलेज जाने वातावरण नमिले पनि आफूले समय व्यवस्थापन गरेर पढ्ने गर्थें ।’
एमए उत्तीर्ण गरेपश्चात उनले अमृत साइन्स क्याम्पस, स्किम कलेज, लोयला कलेज, केब्स कलेज लगायतका अन्य संस्थामा नेपाली विषय पढाइन् ।
‘समय मिलाएर एकैपटक चार पाँचवटा स्कुल तथा कलेज पढाउथेँ र राम्रै आम्दानी हुन्थ्यो ।’ – उनले सुनाइन् । तत्पश्ताच उनले स्कुल तथा कलेज पढाएर जम्मा गरेको रकम विभिन्न शिक्षण संस्थामा लगानी समेत गरिन् । उनी २०६१ सालमा ज्ञानदीप शिक्षा सदनको संस्थापक प्रधानाध्यापक बनिन् । यता ज्ञानदीप शिक्षा सदन सञ्चालन गर्दै उनी २०६२ सालमा भद्रघले शिक्षा सदनको संस्थापक प्राचार्य पनि बनिन् ।
त्यस्तै उनले केही समय भद्रघले बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारी बहन गरिन् । ज्ञानदीप शिक्षा सदन सञ्चालन गर्दाको सुरुवाती दिन सम्झँदै उनी भन्छिन् – ‘अन्यत्र पढाएर शिक्षकहरुलाई तलब ख्वाउथेँ । मैले नाजुक अवस्थाको स्कुललाई दर्ता गरी अघि बढाएँ ।’
२०६५ देखि एसएलसी परीक्षा दिँदै आएको ज्ञानदीप गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको रुपमा परिचित छ । विद्यालयमा राष्ट्रिय रुपमा रहेका विभिन्न क्रियाकलापहरू सञ्चालन हुँदै आएका छन् । विभिन्न समस्या चिर्दै अघि बढेकी सीता हाल लेखन तथा प्रशासनिक कार्यमा व्यस्त छिन् ।
उनी स्कुल पढ्दादेखि नै साहित्य लेखनमा रुचि राख्थिन् । साहित्यमा रुचि राख्ने सीतालाई महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतका कविता मन पथ्र्याे र उनी मनग्गे पढ्ने पनि गर्दथिन् । त्यस्तै पछिल्लो पुस्तामा डा. रामप्रसाद ज्ञवालीको कविताबाट पनि निकै प्रभावित भइन् । ‘डा. ज्ञवालीबाट साहित्यका क्षेत्रमा प्रेरणा र प्रोत्साहन प्राप्त गरेको छु’ उनले भनिन् ।
‘बिए अध्ययन गर्दा पद्मकन्या क्याम्पसबाट निस्कने पत्रिकामा उनको कविता ‘हे प्रकृति मलाई पनि तिमी जस्तै बनाइदेऊ ‘ छापिएको थियो । २०५९ सालमा उनले एमएको शोधपत्रका लागि तयार गरेको सामग्री सम्पादन गरी भद्रघले सेवा र साधना नामक शोधपरक समालोचना प्रकाशन गरिन् ।
तत्पश्चात उनी एकसाथ २०६९ मा पाँचवटा साहित्यिक पुस्तक तथा एउटा गीतको अडियो एल्बम लिएर आइन् । हालसम्म उनका नौवटा पुस्तक प्रकाशित भएका छन् । साथै एउटा महकाव्य तथा समालोचनात्मक कृति प्रकाशोन्मुख छन् ।
प्रकाशित कृति
भद्रघले सेवा र साधना (शोधपरक समालोचना) २०५९, कला र भावको सङ्गम (छन्द कविता सङ्ग्रह) २०६९, रहस्य (उपन्यास) २०६९, फूलका साथी हामी (बालकविता सङ्ग्रह), को हो आफ्नो (गीति एल्बम सिडी) २०६९, मुक्तिनाथ बाबा (महाकाव्य) २०७१, सहस्राक्ष (छन्द कविता सङ्ग्रह) २०७५, मैले पढेका कथा २०७५ ।
शिक्षा र साहित्यमा आफूलाई समर्पित गरेकी सीताले विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेकी छिन् । भन्छिन्- ‘कतिपय ठाउँमा महिला भएर पनि आफूलाई शिक्षा र साहित्यको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गर्नुहुन्छ ।’
सम्मान तथा पुरस्कार
भद्रघले सेवा सम्मान-२०६६, नव जागरुक युवा सम्मान– २०६६, राष्ट्रिय शिक्षा सेवा सम्मान-२०७१, हातेमालो अभियान नेपालद्वारा स्रष्टा सम्मान- २०७१, मिडिया इन्टरनेसनल विशेष स्रष्टा सम्मान-२०७१, रिर्डस इन्टरनेसनल स्कुलबाट सम्मान-२०७१, विशेष सेवा सम्मान-२०७२, साहित्यिक सेवा सम्मान-२०७३, राष्ट्रिय नारी सम्मान-२०७३, वाग्मती सम्मान-२०७३, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा पुरस्कृत-२०७३, जिल्ला शिक्षा काठमाडौँबाट सम्मान-२०७४, नवलतारा शिक्षा सेवी सम्मान-२०७४, रामकुमार राई प्रतिष्ठानद्वारा राष्ट्रिय कविता महोत्सवको अवसरमा पुरस्कृत-२०७४ लगायतका विविध साहित्यिक पुरस्कार तथा विविध शैक्षिक, सामाजिक सेवा सम्मान ।
संलग्नता
ज्ञानदीप शिक्षा सदनको सञ्चालक अध्यक्ष, ज्ञानदीप शिक्षा सदनको संस्थापक प्रधानाध्यापक, अभिनव साहित्य समाजको आजीवन सदस्य, साहित्य समाज नेपालको आजीवन सदस्य, रमेश विकल साहित्य प्रतिष्ठानको आजीवन सदस्य, अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य लगायतका विभिन्न संस्थामा आबद्ध ।
विभिन्न समस्याहरुलाई चिर्दै शिक्षा र साहित्यमा निरन्तर रुपमा लागिपरेकी सीता भट्टराईको यो अविराम यात्रा आगामी समयमा अझ अर्थपूर्ण रहोस्, अझ प्रेरणादायक होस् र सफलताको शिखरमा पुगोस् भन्ने हाम्रो शुभकामना ।