“नेपालमा साहित्य सिर्जना मात्रै आत्मसन्तुष्टि” : डा. चालिसे



०९ कार्तिक २०७५, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पसका नेपाली विषयका सहप्राध्यापक डा. विदुर चालिसे एक सुपरिचित नाम हो । काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका -९, आरूबारीमा जन्मनुभएका, उहाँको कलम कविता, कथा, समालोचना तथा  भाषा अनुसन्धानमा चलेको पाइन्छ । उहाँलाई आधुनिक नेपाली गद्यकविताका प्रगतिवादी चेतका यथार्थवादी धारका पक्षधर कवि मानिन्छ । आफ्नो लेखनीमा प्राय प्रकृति, जीवन र प्रेमबारे अत्यन्त शालीन शैलीमा समाजका विकृति तथा विसंगतीप्रति व्यङ्ग्य गर्दै जनजीवनको अभाव, पीडा तथा छटपटीमा व्याप्त जीवनको संद्धर्षशील चित्र उतार्न मूलत सफल कविका रूपमा चिनिन्छ भने अनुसन्धानका क्षेत्रमा उहाँले अभिलेखीय नेपाली भाषाको व्याकरणमा गहिरो अध्ययन गर्नुभएको छ । नेपाली भाषाको व्याकरणको लिखितपरम्पराको क्रमिक विकासमा आएको तथ्य प्रमाणिकरण उहाँको अनुसन्धानको मुख्य विषय हो । प्रस्तुत छ प्रबन्ध सम्पादक अजय वानप्रस्थीले उहाँसँग गरेको कुराकानी ।

अजय वानप्रस्थी : साहित्यमा कहिलेदेखि लाग्नुभयो  ?

डा. विदुर चालिसे : वि.सं.२०३०/३१ तिर आफ्नै जन्मस्थान आरूबारीस्थित ग्राम निर्माण बन्धु मण्डल क्लब थियो । सो क्लबले वार्षिक रूपमा विभिन्न साहित्यिक गोष्ठीको आयोजनाका गर्नुकासाथै आख्यानकार रमेशविकलका पौराणिक तथा ऐतिहासिक नाटकहरूको मञ्चन गर्दथ्यो । त्यहाँ प्रदर्शन हुने नाटकहरूको साजसज्जा नमूनाहरूको तयारी, निर्माण एवं व्यवस्थापन गर्न मलाई दिइन्थ्यो । किनभने मलाई सानैदेखि माटोका मूर्तिहरू, ढुङ्गाका मूर्तिहरू रङ्गिन चित्रहरू तथा कागजका खेलाउने बनाउने चाख थियो । सोहीअनुसार सानैदेखि आख्यानकार रमेशविकलसँग पारिवारिक सम्बन्धका कारण उहाँले गरेका कलाकारिता तथा साहित्यकारिताले मलाई एक खालको प्रभाव र प्रेरणा पनि दिइरहेको थियो । मेरो स्वभावलाई पहिचान गरेर खासगरी आख्यानकार रमेशविकलले स्थानीय रूपमा आयोजित विभिन्न कार्यक्रमहरूको साजसज्जा सजावट, कार्यक्रम आयोजक तथा नाटकका पात्रहरू भएर सहयोग गर्न मलाई भन्नुहुन्थ्यो भने विशेष रूपमा कलाकारिता एवं साहित्यिक लेखनका लागि मलाई प्रेरणा दिनुहुन्थ्यो । यसै क्रममा मैले वरिष्ट कलाकार मनोजबाबु मिश्रसँग उहाँकै सहयोगमा अनौपचारिक रूपमा नौ महिनाजति चित्रहरू बनाउन सिक्ने अवसर पनि प्राप्त भयो ।

स्थानीय स्तरमा हुने गरेका साहित्यिक तथा अन्य साहित्यिक घुम्टी गोष्ठीहरू, २०३४ सालतिर स्थापना भएको उत्साह पत्रिका र सो पत्रिकाका माध्यमबाट आयोजना हुने साहित्यिक कार्यक्रमहरूका साथै काठमाडौंको पूर्वोत्तर भेगमा हुने साहित्यिक कार्यक्रमहरूले मलाई साहित्यि लेखनमा झन् गहिरो प्रभाव पार्यो भने त्यतिबेलासम्म रचनाहरू लेख्ने, सुन्ने, सुनाउने तथा देश विदेशका  उन्नत स्तरका लेखकहरूको कृतिहरू पढ्ने प्रयास र प्रयत्नहरू क्रमिक रूपमा अगाडि बढ्दै गए ।

अजय वानप्रस्थी : साहित्य लेखन कुन विधाबाट सुरू भयो र कसरी प्रकाशमा कहिलेदेखि आए  ?

डा. विदुर चालिसे : प्रारम्भमा मेरो लेखन कविता विधाबाटै शुरू भएको हो तापनि कथा लेखनमा पनि सँगसँगै कलम चलाउँथेँ । समयक्रममा उत्साह पत्रिकाले साहित्य लेखनका लागि मलाई जति उर्जा थपेको थियो त्यति नै उर्जा ग्राम निर्माण बन्धु मण्डल क्लब आरूवारी, बौद्ध पुस्तकालय बौद्ध पीपलबोट तथा मित्र वाचनालय चावहिलले पनि गरेको छ । ती पुस्तकालयहरूमा हुने विभिन्न साहित्यिक सन्दर्भका आयोजित साहित्यिक कार्यक्रमहरूमा रचना वाचनका अवसरहरू प्राप्त थिए । सबैभन्दा पहिला मैले सम्झेसम्म २०३३ सालको माघतिर बौद्ध पुस्तकालय बौद्ध पीपलबोटमा स्थानीयस्तरका लेखकहरू जम्मा भएर एउटा साहित्यिक कार्यक्रमको आयोजना भएको थियो । सो कार्यक्रममा मैले “विदेशको रिक्सा” भन्ने कथा वाचन गरेको थिएँ । लेखनका हिसाबले कविता तथा कथाहरू लेख्दै गरेको भएपनि पहिलो सार्वजविक रूपमा वाचन गरेको रचना चाहिँ सोही कथा थियो । प्रकाशनका दृष्टिले २०३५ सालको स्वदेश पत्रिकामा प्रकाशित पहिलो कविता “आमा” हो भने वि.सं. २०४३ सालको “देउराली”मा प्रकाशित “यो गीत त मान्छेले गाउनुपर्छ“ भन्ने कथा पहिलो हो ।

अजय वानप्रस्थी : साहित्यिक कृतिहरूको प्रकाशन कहिलेदेखि भए र कुन कुन छन् ?

डा. विदुर चालिसे : साहित्य साधनाको निरन्तरता कायमै थियो । आफ्ना औपचारिक शिक्षा प्राप्तिका अवसरहरू पनि जुट्दै जानेक्रममा २०३७ सालमा स्थापना भएको पशुपति क्याम्पसकै पहिलो  वर्षको विद्यार्थी हुने अवसरहरू प्राप्त भयो । यसै क्रममा साहित्यिक वातावरणहरू थप विकास हुँदै गए भने आफूले विभिन्न समयमा सिर्जना गरेका कविताहरूको संगालोको रूपमा २०४७ सालमा युगबोल्छ भन्ने कवितासंग्रह प्रकाशित हुनपुग्यो । यसपछि २०५१ सालमा ग्रिसेली मिथमा आधारित एउटा आशावादी पात्र ‘सिसिफस’ को कथ्य केन्द्रमा रहेर लघुकाव्यको प्रकाशन भयो ।

अजय वानप्रस्थी : यसबाहेक अरू साहित्यिक कृतिहरूको प्रकाशन भएनन् ?

डा. विदुर चालिसे : आफ्ना जीवनका यावत व्यवस्तताका बीचमा फुटकर रूपमा कविता, कथा, लघु नाटक तथा साहित्य तथा भाषा समालोजनासम्बन्धी सिर्जनाहरू गरेर विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित गरेपनि पुस्तकाकार कृतिको रूपमा लामो समयसम्म आउन सकेन । वि.सं.२०७० सालमा एकै चोटी प्राचीन अभिलेखीय नेपाली भाषाको व्याकरणसम्बन्धी अनुसन्धानात्मक पुस्तक ‘अभिलेखीय नेपाली क्रिया’ र ‘ऐतिहासिक नेपाली अव्यय’ भन्ने कृति प्रकाशित भयो । यी सिर्जनात्मक तथा अनुसन्धानात्मक कृतिहरू बाहेक वि.सं. २०७४ मा प्रकाशित ‘सेनेगल(कवितासंग्रह)’ तथा  अभिलेखीय नेपाली व्याकरणको इतिहास(अनुसन्धान ग्रन्थ) जस्ता कृतिहरू रहेका छन् । यस वर्ष अभिलेखीय नेपाली व्याकरणको थप महत्वपूर्ण अनुसन्धानात्मक कृतिको रूपमा ‘अभिलेखीय नेपाली नामधातु(२०७५)’, सिर्जनात्मक कृतिको रूपमा ‘स्मृतिका पहाड(कवितासंग्रह) २०७५’ तथा ‘कोशीका उडान(कवितासंग्रह) २०७५’ पनि प्रकाशित भइसकेका छन् ।

अजय वानप्रस्थी : सिर्जनात्मक लेखन र अनुसन्धानात्मक कामलाई सँगसँगै लैजान कठिन छैन र ?

डा. विदुर चालिसे : सिर्जनात्मक कार्य व्यक्ति विशेषको निजी विषय हो भने अनुसन्धानात्मक काम तथ्यहरूका प्रमाणिकरणबाट प्राप्त हुने सार्वजनीन विषय हो । साहित्य सिर्जनाका लागि विषयवस्तु, भावुकता र शैलीगत ढाँचाहरू भए सिर्जनात्मक लेखनको कार्य अगाडि बढिहाल्छ, बढिरहन्छ । यसका लागि कुनै सर्जकले कुनै प्राविधिक विधिहरूको चाह र आवश्यकता नराख्न पनि सक्छ तर अनुसन्धानको विषय त्यस्तो होइन । यसका लागि निश्चित विधि प्रकृयाहरू हुन्छन् । सत्यको पहिचान गरिनुपर्ने हुनाले अनुसन्धान सिर्जनात्मक कलाको तुलनामा बढी यान्त्रिक हुन्छ । यी दूवै क्षेत्रलाई सँगसँगै अगाडि बढाउन अति कठिन पनि छ । सावधानीपूर्वक अनुसन्धानका क्षेत्रमा लागिएन भने प्राप्त हुने निष्कर्ष र त्यसले समाजमा दिने सन्देश भ्रमपूर्ण एवं असहज पनि हुन्छ । त्यसैले सिर्जना कलामा भावुकताको अगुवाइ हुन्छ भने अनुसन्धानमा तथ्य निरूपणको प्राविधिक अगुवाइ हुन्छ । त्यसैले यी दुवैका आफ्ना प्रकृतिगत सिर्जना र व्यवस्थापनका स्वभावहरू छन् । यति हो, सक्दासम्म सर्जक वा अनुसन्धाताको क्षमताले गुणात्मक ज्ञानको मूल्य निर्धारण गर्ने विषय चाहिँ पक्कै हो ।

अजय वानप्रस्थी : सिर्जनात्मक  तथा अनुसधानात्मक विषयलाई कसरी संयोजन गर्न भ्याउनुभएको छ त ?

डा. विदुर चालिसे : हजुर, यी दुवै विषयलाई संयोजन गरेर जीवनलाई अगाडि बढाउने काम वास्तवमा समयको व्यस्तताका बीचमा निकै चुनौतिपूर्ण नै छ । एकातिर सिर्जना गर्दा भावुकतालाई च्याप्प समाएर विषयवस्तुलाई कलात्मक ढङ्गले प्रक्षेपण गर्नुपर्ने काम र अर्कोतर्फ भावुकताका विपरित यथार्थपरक विषयहरूलाई खास  विधिद्वारा निष्कर्ष दिएर प्रक्षेपण गर्नुपर्ने काम अत्यन्त जटिल छ । तापनि यी दुवै साहित्य सिर्जनाका विशेष र सामान्य अवस्थाहरू हुन् । सुरूसुरूमा प्रतिभाहरूका लागि कष्ठपूर्ण रहे पनि अभ्यासहरू क्रमश एवं निरन्तर गर्दैजाँदा पछिल्ला दिनहरूमा छुट्टै आनन्दको अनुभूति प्राप्त पनि गर्न सकिने रहेछ । कहिलेकाँही सिर्जना र अनुसन्धानले भेद्यभेदकका रूपमा सर्जकहरूलाई नयाँ ज्ञान र अनुभव पनि हुने रहेछ । अभिलेखीय नेपाली भाषामा भएका तथा अध्ययन अनुसन्धानले दिएका भाषा व्याकरणका निष्कर्षहरूले मलाई साहित्य सिर्जनामा पूरक थप शक्ति प्रदान गरेका छन् भने साहित्य सिर्जनाले भावित गर्नसक्ने विषयहरूलाई अनुसन्धानका लागि प्रयोग गरिने तथ्यहरूका व्याख्याहरूलाई कलात्मक बनाउन सहयोग गरेका छन् ।

अब त बानी नै परिसक्यो, मेरो आफ्नो प्रतिभा प्रदर्शनका लागि पनि यी दुवै क्षेत्र एउटै सिक्काका दुईपाटाका रूपमा स्थापित भएका छन् । आफ्ना अधिकतम समयहरूलाई जोगाउँदै यिनै क्षेत्रमा लगाएर मानिसको जीवनको सर्वोत्तम आनन्द लिइरहेछु भन्ने सन्तुष्टि प्राप्त भएका छन् । मुख्य कुरा मानिसले केही गरौं भन्ने अग्रगामी इच्छाशक्ति जागृत गराएर जाँगर चलाएमा सबै कुरा सम्भव हुन सक्छन् भन्ने मेरो दृढ मान्यताहरू पनि छन् । त्यसैले सिर्जना तथा अनुसन्धानको क्षेत्रमा काम गर्न भ्याइएको होला ।

अजय वानप्रस्थी : गद्यकविता लेख्य रूचाउने सुपरिचित गद्यकवि हुनुहुन्छ  ? गद्यकवितामा के त्यस्तो अब्बल सकलता देख्नुहुन्छ ?

डा. विदुर चालिसे : कवितालाई मूल रूपमा पहिचान गर्ने सारतत्व लय हो तथापि प्रचलित पद्यकुिवता, गजल एवं मुक्तक लगायत्का कविता विधाका क्षेत्रमा लयले कवितालाई थिचेको हुन्छ । विषयवस्तु, भाव एवं ध्वनि संयोजनका विषयहरू लयमा संलयित भएर बाँकी विषयहरू प्रकटीकरण भइदिन्छन् । तर गद्यकवितामा बौद्धिकता र लय सारतत्वका रूपमा सँगसँगै आइदिन्छन् । यिनीहरूको लुकामारी प्रयोगको प्रधानताले नै गद्यकविता कहिले अलि बढी श्रुतिमधुर त कहिले अलि बढी बौद्धिकताका बीचमा दुर्वोध्य र दार्शनिक तहका बान्कीका धरातलमा रहन पुगिदिन्छन् ।  साथै कथ्यताका बीचमा बिम्बहरूले विषयबस्तुहरूलाई बाँधिदिन्छन् । तसर्थ कविता लयको सोझो व्याख्यामा मात्र सीमित गरिनु हुँदैन भन्ने मान्यताका आधारमा यसलाई नयाँ मतावका साथ व्याख्याको आवश्यकता पनि छ ।

मलाई यस्तै र यसै विषयहरूमा रमाउन मनलाग्छ त्यसैले मलाई कविता विधाका अन्य शैलीभन्दा गद्यकविता शैली रूचिकर र आनन्ददायक लाग्दछ । मेरा गद्यकविताहरूले आफ्ना विचारवान् कल्पनाहरूलाई विषयवस्तुको मेरूदण्डमा अड्याएर कलात्मक शैली एवं उन्मुक्त भावचेतनाका मार्फत जीवनजगत्का खास सत्यको रहस्योदघाटन गरिदिनु अनि प्रस्तुत विषयमार्फत मानव समाजका खास अनुभूतिहरूलाई खास जीवनसँग प्रकट गराइदिनु नै हो भन्ने अर्थमा अर्थपूर्ण लाग्दछ । अर्को अर्थमा परिवेशमा रहेका प्रकृति, जीवन र प्रेम बीचको सम्मिलनबाट उत्पादित, विचार, घटना, आदर्श, मूल्य एवं मान्यताको चरम अनुभूतिमा उत्कर्षको मस्तिष्क प्रक्षेपण नै मेरो गद्यकविता हो ।

रूप फरक भए पनि गद्यकविता पनि कविता विधा नै भएकाले यसका विशिष्ट स्वशैलीगत प्रवृतिहरूको पहिचानसहित अब्बल कलाको सकल मूल्यमा पद्यकवतिाभन्दा पनि विशिष्ट रहेको छ । त्यसैले मेरो विचारमा गद्यकविता कविता विधाको विशिष्ट आदर्शले ओतप्रोत भएको बान्कीको अब्बल सकल साहित्य विधा हो ।

अजय वानप्रस्थी : गद्यकविता र अन्य कविता ढाँचामा के भिन्नताहरू छन् ?

डा. विदुर चालिसे : गद्यकवितामा मात्रा वा अक्षर गणना गरेर खास ढाँचाको लयात्मक शैलीमा कविताको मोडलको रूपमा प्रयोग गरिदैन । यसका लेखकीय आफ्नै स्वशैलीगत ढाँचा एवं वाचन कलाहरू हुन्छन् । कविता संरचनाको वाक्यात्मक घटकहरूमा गरिने संचलन, विशेष शब्दहरूमा गरिने उच्चारण वा लयगत बलाघात, कृदन्तीकरणका आधारमा  कवितात्मक वाक्यसंरचनाको संयोजन, कवितामा प्रयुक्त भाषाको संरचना भंगक्रम र शीर्षक र कवितात्मक सन्देशबीचको कसिलो भावव्यञ्जना यसको प्रमुख आधार हो भने यसलाई परम्परागत रूपमा मुक्त शैलीको रूपमा लिइन्छ । बरू ‘एलाक’ जस्लाई ‘एक लाइन कविता’ भनिन्छ । यस्ता कविताहरूका बान्कीहरूले भने चाँहि गद्यकविताका बान्कीहरूलाई साथ दिएको पनि देखिन्छ ।

त्यसै गरी प्रचलित गेयात्मक शब्दचयन र प्रयोग, प्राय अन्त्यानुप्रास विहीन, प्रतिकात्मकता अनि बिम्बहरूको प्रयोग यसको अर्को मान्यता हो । तर अन्य(पद्यकविता, गजल, हाइकु, तान्का) जस्ता कविताहरूका बान्कीमा अक्षर वा मात्रा गन्ने, ध्वनि पुनरूक्ती गर्ने, अन्त्यानुप्रास मिलाउने वा शास्त्रीय सूत्रहरूलाई प्रयोग गरिने काम गरिन्छ । परम्परागत रूपमा यसलाई बद्ध शैलीको रूपमा लिइन्छ ।

अजय वानप्रस्थी : नेपाली गद्यकविताका प्रवृत्तिहरू के के छन् ?

डा. विदुर चालिसे : गद्यकविताको प्रवृत्तिगत दृष्टिकोणले हेर्ने हो भने प्रारम्भदेखि हालसम्म क्रान्ति चेतनाका धरातलमा यथार्थवादी, प्रगतिवादी एवं समसायिकी प्रवृत्तिहरू नि:शर्त रूपमा नेपाली कविहरूका गद्यकविताहरूमा अग्रगामी विषयवस्तु बनेर देखिएका छन् । तरपनि यस चेतका धरातलमा छेउकुनामा संलयित भएर आएका विकृति विसंगतीप्रति व्यंग्य चेत, कुण्ठीत एवं जटिल प्रस्तुती शैलीका कारण दुर्बोध्य कविताहरूले पनि परिवर्तनमुखी जीवनदृष्टिलाई आत्मसात गरेको देखिन्छ । मूलत नेपाली गद्यकविताको उर्बरताको अवस्था विभिन्न कालखण्डमा भएका जनविद्रोहको प्रमुख कारक तत्वका रूपमा रहेको छ भने जीवनका सापेक्षताका आवश्यकताहरूलाई आत्मसात् गर्दै नेपाली गद्यकविताले आफ्नो प्रवृत्ति र स्वरहरूलाई मूल रूपमा अँगालेको देखिन्छ ।

अजय वानप्रस्थी : आफ्नै गद्यकविताका प्रवृत्तिहरू के के हुन् ?

डा. विदुर चालिसे : ‘युगबोल्छ’ भन्ने कवितासंग्रहमा प्रकाशित कविताहरूमा प्रगतिवादी चेतले ओतप्रोत भएका अनि प्रवृत्तिका रूपमा मूलत तत्कालीन समाजको विकृति विसंगतिप्रति आक्रोसका स्वरहरू उक्त संग्रहका कविताहरू देखिन्छन् । लघुकाव्यका रूपमा प्रकाशित अर्को कृति ‘सिसिफसको श्रापित मांसपिण्ड’ हो  । यस काव्यमा मूलत नेपाली समाजको अस्तित्ववादी चेतनाको धरातलमा ग्रीसेली मिथमा रहेको ‘सिसिफस’ भन्ने पात्र जीवनप्रति आशावादी रहेको तर जीवनको उपलव्धी निराशामा गएर टुंगिएको कथ्यतालाई आधार बनाएर वर्तमान नेपाली समाजमा एउटा सतत् परिश्रमी पात्र कसरी परिस्थिति एवं परिवेशले उसलाई निराशामा बदलिदिन्छ भन्ने मान्यतामा आधारित रहेको छ । उक्त कृतिमा पनि अनस्तित्वप्रतिको मान्यतामा विरोध, विद्रोह एवं जीवनप्रतिको मूल्यबोधको प्रवृत्ति देखिन्छ । मूलत प्रगतिशील विचारको कलेवरमा रंगिएको उक्त कृतिले नेपाली समाजको विवशता, परम्परा र धार्मिक आस्थालाई ‘सिसिफस’ रूपी नेपाली जीवनको पात्र अस्तित्वबोधका लागि चुनौति भोगिदिन्छन् । ‘सेनेगल’, ‘स्मृतिका पहाड’ र ‘कोशीका उडान’ कवितासंग्रहमा आधुनिक नेपाली गद्यकविताको लेखकीय परिष्कारका रूपमा अगाडि आएको छ । यी तिनैवटा कवितासंग्रहहरूमा गद्यकविता शैलीका हिसाबले प्रकृति, जीवन र प्रेमको त्रिपक्षीय विषयवस्तुहरूको संयोजनमा समाजका विभिन्न पीडा, निराशा, कुण्ठा, अभाव, अस्थिरता, भ्रष्टाचार, राष्ट्रिय एकता, राष्ट्रिय विद्वैष, राजनीतिक अन्यौलता एवं विकृति आदि बारेका विषयवस्तुलाई समेटेर विभिन्न बिम्ब एवं प्रतीकका माध्यमबाट कविताहरू प्रकट भएका छन् ।

यी तिनैवटा कवितासंग्रहमा मूलत, गद्यकवितामा श्रुतिललित शब्दहरूको प्रयोग र आन्तरिक लय सिर्जना, कथ्य भाषामा केन्द्रीत कोमलता, नवीन प्राचीन कथ्य शब्दहरूको प्रयोग,  कथ्यतामा भूतकालिक कथ्य क्रियाहरूको प्रयोग र अनुभूति, दार्शनिक तहमा प्रगतिशीलताको निरन्तरता, समसामयिक बहुमुखी विषयवस्तुको छनौट, बौद्धिक हार्दिकताका साथ बहुमुखी  दार्शनिक चेत, प्राचीन तथा मध्यकालीन समयमा प्रयोग भएका शब्दहरूको प्रयोग, नामधातुका आधारमा क्रिया संरचनाको बनोट र प्रयोग, गद्यकविता भइकन पनि भाषिक प्रस्तुतीमा लयात्मकता, अन्त्यानुप्रासको प्रयोगको अभ्यास, अधिक बिम्बहरूको प्रयोग, एउटै कवितामा अनेकौं बिम्बहरूको स्थापन, कविताको सन्देशात्मक परिस्थितिलाई पाठक वा स्रोता आफैले खुट्याउन स्वतन्त्र छोडिदिनु र कवि स्वयम् कविताको न्यायाधीस नबनीदिनु कवितासंग्रह भित्र प्रकाशित कविताहरूका प्रवृत्तिहरू रहेको अनुभव हुन्छन् । तसर्थ अन्त्यमा भन्नुपर्दा कविताले समसामयिक चेतनाको मूल स्वरलाई अँगाल्दै नयाँ गद्यकवितात्मक स्वशैलीलाई मुख्य प्रवृत्तिको रूपमा अँगालेको छ ।

अजय वानप्रस्थी : साहित्यिक उर्जा कसरी प्राप्त हुन्छ  ?

डा. विदुर चालिसे : सर्जकहरूलाई चाहिने विषयवस्तु यही समाजमा व्याप्त छन् तापनि बाँकी कुरा लेखकको आफ्नो कलागत क्षमता प्रदर्शन मात्रै हो । त्यसैले मानवसँग जोडिएका विभिन्न विषयहरू साहित्यिक उर्जाका आधार बनिदिन्छन् । समाजलाई हेर्ने आँखा, त्यसबाट उत्पन्न हुने संवेदना, सार्थक जीवनका लागि भोगेका पीडा, सास्ती तथा त्यसबाट उठ्न नसकेका संघर्षरत् विषय नै साहित्यिक लेखनका उर्जा पनि हुन । यसका अतिरिक्त सर्जकको साधना, अध्ययन तथा अनुसन्धानले सर्जकलाई उर्जाशील समेत बनाउँछ भने विषयवस्तुलाई नियाल्नु, पर्यवेक्षण गर्नु, निष्कर्ष प्रक्षेपण गर्नु साहित्यिक उर्जाबाट प्रकाशित मूल्य हुन ।

अजय वानप्रस्थी : तपाईको गद्यकविता सिर्जनाको मूल्य के हो  ?

डा. विदुर चालिसे : गद्यकविता लेखेर व्यावसायिक मूल्य प्राप्तीको अपेक्षा म भित्रको सर्जक चेतनाले गर्दैन । तर समाजका विविध विषयगत अनुभूतिलाई महसुस गरेर विचार प्रकाशन गर्दा समाजले सकारात्मक स्वनिर्माणका लागि केही सन्देश पक्कै पाएको हुन्छ । त्यसैले मेरा गद्यकविताहरूले पनि सिर्जनाको मूल्य समाजलाई नै प्रदान गर्दछ । तथापि समग्रमा साहित्यलाई पेशाको रूपमा लिइँदैन, त्यसैले यो आय आर्जन गर्ने वा नाफामुखी व्यावसायिक चिन्तन उद्योग पनि होइन । त्यसमाथि पनि नेपालमा त साहित्य सिर्जनालाई अनुत्पादक सन्दर्भमा परिभाषित गरिन्छ । तसर्थ साहित्य लेख्नु विदेशका तुलनामा नेपालमा सर्जकको आफ्नो आत्मसन्तुष्टि, सिर्जना भोक वा परमआनन्दको अनुभूति बाहेक केही होइन भन्ने लाग्दछ । मेरो सिर्जनाको मूल्य पनि यस्तै परिस्थितिको सेरोफेरोमा परिक्रमा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्