०९ कार्तिक २०७५, काठमाडौं
सिन्धुली सदरमुकाम समेत समेटिएको पुरानो नगरपालिका हो–कमलामाई नगरपालिका । ऋषिराज देवकोटा “आजाद” को कर्मभूमि र बलिदानीले सिञ्चित सिन्धुली कम्युनिष्ट पार्टीको लागि उर्भर भूमि समेत हो ।
नगरप्रमुख खड्ग खत्रीसँग गरिएको कुराकानीको भिडियो :
संसारभर साम्राज्य विस्तारमा लागेको अत्याधुनिक हातहतियारले सुसज्जित ब्रिटिस सेनालाई घरेलु हातहतियारको प्रयोग गरी पराजित गराउन सफल सिन्धुली नेपालको ऐतिहासिक जिल्ला समेत हो । अझ कुटनीतिक भाषामा भन्ने हो भने नेपाललाई जिताउन सफल “सिन्धुलीगढी” त्यो बेलाको रणनीतिक महत्वको भूमि समेत हो । त्यसैले “सिन्धुलीगढी” सिन्धुलीको मात्र नभएर सम्पूर्ण नेपालीको गौरवभूमि नै हो ।
आजादको आदर्शलाई अनुशरण गर्ने जनप्रिय नेता खड्ग खत्री स्थानीय निर्वाचनमा विजयी भएपछि पहिलो नगरसभाबाट सिन्धुलीगढीको गुरुयोजना निर्माण तथा संरक्षण गर्ने योजना बनाउने कानुनी हैसियत बनाउन सफल भए । परिवर्तन खबरसँगको कुराकानीमा खत्री भन्छन, “म निर्वाचित भईसकेपछि हिजो हाम्रो पूर्वजले लडेर विजय पाएको ऐतिहासिक सिन्धुलीगढीलाई व्यवस्थित गर्न र विश्व सम्पदा सुचीमा सूचिकृत गराउने निर्यण गराए ।”
उनी थप्छन, “कमलामाई नगरपालिकाले सिन्धुलीगढी कस्तो बनाउने, हिजोको इतिहाससँग कसरी जोड्ने भन्ने सवालमा अध्ययन गर्दा पहिले पनि एउटा गुरुयोजना रहेछ तर त्यो गुरुयोजना पूर्ण देखिएन । पूर्ण गुरुयोजना बनाउन म प्रयत्नशील थिए, त्यहि शिलशिलामा गैर आवासीय नेपाली संघ (एनआरएन) सँग मेरो सम्पर्क भयो । त्यसपछि उहाँहरुले पुरानो अवस्थाका संरचना सहितको गुरुयोजना तयार गरेर हिजोमात्र हस्तान्तरण गर्नुभएको छ । अब कमलामाई नगरपालिकाले यो गुरुयोजना मुतावित काम गर्न सुरु गर्नेछ ।”
सिन्धुलीगढी गुरुयोजनाको भिडियो :
नेपालमा धेरै योजना बन्ने तर कार्यान्वयन नहुने छ नि भन्ने हाम्रो प्रश्नमा उनी भन्छन, “यो गुरुयोजना २ वर्षभित्र निर्माण सम्पन्न गर्न सकिन्छ । ३ बर्ष भित्रमा जसरी भएपनि यो गुरुयोजना सफल बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबै मिलेर गर्नेछौँ । “सिन्धुलीगढी” सिन्धुलीको मात्र नभएर नेपालकै इतिहास राख्ने गढी भएकाले सबैले मिलेर यो गढीलाई संरक्षण गर्दै विश्व सम्पदा सूचीमा समावेश राख्न प्रयत्न गर्नुपर्छ । पर्यटक भित्र्याएर सिन्धुलीको आर्थिक अवस्था सृदृढ गर्नको लागि सिन्धुलीगढी मुख्य आधार हो त्यसैले कमलामाई नगरपालिका निरन्तर लागिरहने छ ।”
सिन्धुलीगढीको ऐतिहासिक पक्ष उजागर गर्दै खत्री भन्छन, “ठूला हातहतियार बोकेर आएका ब्रिटिसहरुलाई घरेलु हातहतियार प्रयोग गरेर हामीले विजयी प्राप्त गरेका थियौँ । २४ सय सेना लिएर आएका कप्तान किनलकको सेनालाई सिन्धुलीमा रहेका लगभग ६ देखि ८ सय नेपालीहरुले १६ सय ब्रिटिश सेनालाई हताहत गराएर ८ सय ब्रिटिश सेना लिएर कप्तान किनलक फर्किन बाध्य भएका थिए ।”
अहिलेको गुरुयोजना निर्माणमा सरोकारवालासँग पर्याप्त छलफल पनि भएन नि भन्ने प्रश्नमा खत्री भन्छन, “गुरुयोजनाहरु सबै पूर्ण हुदैँनन् । काम गर्दै जाने सवालमा त्यसलाई पूर्णता दिदैँ जानुपर्छ । अहिलेको गुरुयोजनाले हिजो छरिएर रहेका क्षेत्रहरुलाई समेटेर ल्याएको छ । थोरै पैसाले पनि राम्रो सम्पदाको पुनर्निर्माण गर्न सकिन्छ भन्ने उदाहरण दिन करिव १७ करोडमा नै गुरुयोजना बनाउन सफल भएका छौँ ।”
करिव १७ करोडको लागतमा सम्पन्न हुने गुरुयोजनालाई नगरपालिकाले १० करोड र गैर आवासीय नेपाली संघले ७ करोड खोज्ने मौखिक सम्झौता भएको नगरप्रमुख खत्रीले बताए ।
तपाईले ३ वर्षमा आम नेपाली र नेपाल घुम्ने पर्यटकहरुलाई आकर्षण गर्न गुरुयोजना अनुसारको सिन्धुलीगढी बनाउनु हुन्छ त ? भन्ने प्रश्नमा नगर प्रमुख भन्छन, “हामीले तयार गरेको गुरुयोजना अनुसार काम गर्नेछौ । गुरुयोजना अनुसारको संरचना निर्माण गरी ३ वर्षभित्रमा सिन्धुलीगढीलाई विश्वसम्पदा सूचीमा समेत सूचीकृत गराएर छाड्छौँ ।”
अहिले देशभरीका स्थानीय तथा प्रदेश सरकारहरु लोकप्रिय छैनन् । पूर्व कर्मचारीको झैँ दैनिक काममा हराईरहेका स्थानीय सरकारहरु भन्दा निकै क्रियाशील हुँदै नगरप्रमुख खड्ग बहादुर खत्रीले आफूलाई विकासवादी नेताको रुपमा स्थापित गराउने प्रयत्न गरेको देखिन्छ ।
काठमाण्डौ मै भएका धेरै नगरप्रमुखहरुले समेत एनआरएनलाई विकासको साझेदार बनाउन सकेका छैनन् तर उनले छोटो समयमा सिन्धुलीगढीको विस्तृत गुरुयोजना बनाएर ५ वर्षे यात्रामा ३०५ को बाटो पार गर्न सफल भएको देखिन्छ । यदि उनले आफ्नो गतिलाई रोकेनन् र निष्ठापूर्वक अहिले झैँ लागिरहे भने ३ वर्षभित्र पुरा गर्ने सिन्धुलीगढी गरुयोजना सम्पन्न गर्न पक्कै उनि सफल हुने देखिन्छ ।
यो पनि पढ्नुहोस्