१० कार्तिक २०७५, काठमाडौं
पार्टीको एकीकरण पछि पहिलो पटक पूर्व नेकपा एमाले र माओवादी केन्द्रले दशैं, तिहार र छठ लगायतका पर्वको अवसरमा संयुक्त चियापान कार्यक्रम आयोजना गरेको छ ।
राजधानीको भृकुटी मण्डपमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा केन्द्रीयदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
चियापान आयोजक कमिटिका एक केन्द्रीय नेताका अनुसार अपेक्षा गरेभन्दा बढी कार्यकर्ता र समर्थकहरुको उपस्थिति रहेको जनाए । धेरै समर्थकको उपस्थितिले शुरुमा निकै व्यवस्थित देखिएको चियापान ३ बजेपछि भने खाजा समेत अपुग देखिएको थियो । १२ बजे अगाडि देखि नै कार्यकर्ताको बाक्लो उपस्थिति रहेको चियापानमा बेलुकी ५ बजे सम्म पनि आगन्तुक आउने जाने क्रम जारी रहेको थियो ।
चियापान समारोहमा उपस्थित कार्यकर्ता तथा पाहुनाहरुलाई भाषण मार्फत स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको र समृद्धि तथा समाजवादको नयाँ युग तयारी गर्ने सन्दर्भमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व रहेको बताए ।
गोमा देवकोटा, डा. राजन भट्टराई, शान्ता चौधरी लगायतका केन्द्रिय नेताहरुले गेटमा नमस्कार गरेर पाहुनाहरुलाई स्वागत गरेका थिए भने चियापान समारोहमा नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगातको उपस्थिति रहेको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अपरान्ह ३ बजे आउने जानकारी भएपनि अस्वस्थताका कारण उपस्थित हुन सकेनन ।
चियापान कार्यक्रममा विपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लगायत विभिन्न पार्टीका नेताहरु, कुटनीतिक तथा दातृ निकायका प्रतिनिधि, कलाकार एवम् सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।