११ कार्तिक २०७५, काठमाडौं
तेस्रो एकदिवसीय क्रिकेटमा वेष्टईन्डिजले भारतलाई पराजित गरेको छ । भारतीय टिमका कप्तान विराट कोहलीले शतक प्रहार गरेपनि भारत परजित हुन पुगेको हो ।
पहिलो खेलमा भारत विजयी भएको थियो भने दोस्रो खेल बराबरीमा सकिएको थियो । वेष्टईन्डिजको यस जितसँगैं पाँच एकदिवसीय सिरिज समान १–१ भएको छ ।भोली (सोमबार) अर्को चरणको हुने भएको छ ।
शनिबार टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८३ रनको योगफल तयार पारेको थियो । २८४ रनको विजय लक्ष्य पाएको घरेलु टोली भारत ४७ दशमलव ४ ओभरमा २४० रनमै समेटियो ।भारतका लागि कप्तान विराट कोहलीले १०७ रन बनाए । कोहलीको यस शृंखलामा लगातार तीन खेलमा लगातार तेस्रो शतक हो । लगातार तीन म्याचमा शतक प्रहार गर्ने उनी भारतको पहिलो र विश्वको दशौं क्रिकेटर बने । श्रीलंकाका कुमारा संगाकाराले सन् २०१५ मा लगातार चार शतक प्रहार गरेका थिए । यस्तो खेल प्रदर्शन गर्ने उनी एक्ला ब्याट्सम्यान हुन् ।
बलिङतर्फ वेष्टइण्डिजका मार्लुन स्यामुयल्सले सबैभन्दा धेरै ३ विकेट लिए । जेसन होल्डर, ओबेड मेकोय र एस्ले नर्सले समान २–२ विकेट लिए । वेष्टइन्डिजका शाइ होपले सबैभन्दा धेरै ९५ रन योगदान गरे । यस्ले नर्सले ४०, सिमरोन हेट्मायरले ३७ र कप्तान जेसन होल्डरले ३२ रन थपे । बलिङतर्फ भारतका जसप्रित बुम्राहले चार विकेट लिए ।