‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ (फोटो फिचर)



११ कार्तिक २०७५, काठमाडौं

नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम शुरु गरेको छ ।  शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि नेपाल प्रहरीले आजबाट ‘हर प्रहर, र नगरी ! टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले मुलुकलाई समृद्ध बनाउन ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रमले  महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए । शान्तिपूर्ण र सुरक्षित समाजका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह निभाउने समेत गृहमन्त्री थापाको भनाई रहेको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कार्यक्रममा सम्बोधन गर्दै समाजमा दिगो शान्ति स्थापना गर्न उक्त कार्यक्रम सञ्चालन गरेको बताए । देशभर एकै साथ सञ्चालनमा ल्याईएको कार्यक्रमले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि महत्वपूर्ण योगदान दिने बिचार व्यक्त गरेका थिए ।

‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रममा नेपाल प्रहरी, स्थानीय तह, समूदाय, सामाजिक संस्था, विद्यालय र मिडिया साझेदारको मुख्य रुपमा रहेको बताईएको थियो ।

यसरी बन्नेछ साझेदारी संयन्त्र
प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ अभियान सञ्चालन गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रमा संयोजन र व्यवस्थापनको काम गर्नेछ । प्रादेशिक तहमा प्रदेश प्रहरी कार्यालयले समन्वय गर्नेछ । जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति, समुदाय–प्रहरीपालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति गठन हुनेछ ।

जिल्ला संयोजकमा प्रजिअ रहने र स्थानीय तहका प्रमुख तथा प्रहरी कार्यालयले तोकेको प्रहरी अधिकृत सहसंयोजक रहनेछन् । उक्त संयन्त्रमा विभिन्न सामाजिक सङ्घसंस्था, नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय समाचार समिति र सरोकार राख्ने सङ्घसंस्थालाई सहभागी गराइने प्रहरी महानिरीक्षक खनालले बताउनुभयो ।

यस्ता छन् गर्ने काम
कार्यक्रमले सुरक्षा समन्वयमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसका लागि विभिन्न १२ वटा प्राथमिकता क्षेत्र छुट्याइएको छ । विद्यालयका लागि १० प्राथमिकता क्षेत्र तोकिएको छ । मुख्यतः प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, सामुदायिक सचेतना र अपराध रोकथाम, सूचना सङ्कलन र आदानप्रदान गर्नेछ । त्यस्तै यसले प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सुरक्षा उपकरण विस्तार, सामाजिक विकृति तथा बेचबिखन नियन्त्रणमा भूमिका खेल्नेछ ।

पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घरघरमा पुगेर जानकारी गराइनेछ । अप्ठ्यारो पर्दा कहाँ सम्पर्क गर्ने भन्ने जानकारीसमेत संयन्त्रमार्फत नै हुने प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । प्रशिक्षण, सामुदायिक गस्ती, अन्तरक्रिया, एकीकृत स्वयंसेवक परिचालन, सूचना आदानप्रदान, सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गरिनेछ ।

   

यो पनि पढ्नुहोस ।

साझेदारीबाट मात्रै दिगो शान्ति र समृद्धि : गृहमन्त्री थापा

प्रतिक्रिया दिनुहोस्