११ कार्तिक २०७५, काठमाडौं
गृहमन्त्री थापाले समुदायसँगको साझेदारीबाट मात्रै दिशो शान्ति कायम हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीले ल्याएको अवधारणा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री थापाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने मुलुकको सपना साकार पार्न शान्ति र सुरक्षा सुनिश्चित हुनुपर्ने बताउनुभयो ।
शान्ति र सुरक्षित समाज निर्माणका लागि आजको दिनलाई ऐतिहासिक दिनको सङ्ज्ञा दिँदै गृहमन्त्री थापाले भन्नुभयो, “दिगो शान्ति, सुशासन, कायम गर्न अपराधलाई निस्तेज पार्नुपर्छ, विकास र समृद्धिको बाधक भनेकै अपराध हो, नेपाल प्रहरीको यो अवधारणाले अपराध रोक्न महत्वपूर्ण भूमिका खेल्छ ।”
प्रहरीले मात्रै शान्तिसुरक्षा कायम गर्न नसक्ने भएकाले साझेदारी कार्यक्रममा सक्रिय हुन समुदायलाई उहाँले अपिल गर्नुभयो । अहिलेसम्म अस्थिरता निम्त्याउने तत्वलाई नियन्त्रण गर्न नसक्दा समृद्धि हासिल गर्न नसकिएको उहाँको जिकिर थियो । देशमा मदिरा र लागुऔषधको दुरुपयोगले हिंसा र अपराध बढेकामा चिन्ता प्रकट गर्दै गृहमन्त्री थापाले यसलाई निस्तेज पार्ने नयाँ अभियान थालिएको समेत जानकारी गराउनुभयो ।
गृहसचिव प्रेमकुमार राईले मुलुकको शान्ति र सुव्यवस्थामा शान्तिसुरक्षा र सुशासन पहिलो शर्त रहेको औँल्याउनुभयो । शान्तिसुरक्षामा देखिएको समस्या साझेदारी कार्यक्रमले समाधान गर्ने विश्वास राईको छ । उहाँले विगतका कमजोरी दोहोरिन नदिनतर्फ प्रहरीलाई सचेत गराउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले टोलटोलमा पुग्ने गरी निर्माण भएको संयन्त्र आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्थानीय तहको वार्षिक कार्यक्रमका रुपमा उक्त अवधारणा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी नागरिकको साझेदारीले शान्तिसुरक्षा प्रभावकारी हुने भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो । कलाकार मनोज गजुरेलले संयुक्त अभियान आफैँमा महत्वपूर्ण भएको भन्दै कार्यक्रम सफल पार्न नागरिकको भूमिका पनि उत्तिकै जिम्मेवार रहेको प्रतिक्रिया दिनुभयो ।