१३ कार्तिक २०७५, काठमाडौं
चौथो एक दिवसीय क्रिकेट खेलमा भारतद्वारा वेष्ट इन्डिज २२४ रनको फराकिलो अन्तरले पराजित भएको छ । हिजो राति सम्पन्न खेलमा भारतले वेष्टईन्डिजलाई हराएको हो । ३७८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ३६.२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन मात्रै बनाएको थियो ।
वेष्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन नसकेपछि लज्जास्पद हार बेहोर्नु परेको हो । वेष्ट इन्डिजका लागि कप्तान जासन होल्डरले अविजित ५४ रन बनाए । वेष्ट इन्डिजका ब्याट्सम्यानलाई धरासायी बनाउन भारतका कुलदीप यादव र खालिल अहमदले समान ३–३ विकेट लिए । मुम्बईमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले वेष्ट इन्डिजविरुद्ध ३७७ रनको विशाल स्कोर बनाएको थियो । भारतका लागि दुई जना खेलाडीले शतक प्रहार गरे । भारतका ओपनर रोहित शर्माले १६२ रन बनाए । उनले १३७ बलमा २० चौका र ४ छक्का प्रहार गर्दै १६२ रन बनाएका थिए ।
त्यस्तै, भारतका लागि आमबती रयुडुले १०० रन बनाए । उनले ८१ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, भारतका लागि शिखर धवनले ३८ रन बनाए ।
बलिङतर्फ वेष्ट इन्डिजका केमार रोयचले २ विकेट लिए । ५ खेलको एक दिवसीय सिरिजमा भारतले २–१ ले लिड गरेको छ ।