प्रधानमन्त्रीको मृत्यु भन्दै अफवाह फैलाउने एक अनलाइन ‘सम्पादक’ पक्राउ : आपत्तिजनक समाचार दिने अन्यको खोजी पनि तीब्र



१४ कार्तिक २०७५, काठमाडौं,

छातीमा संक्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक ‘पत्रकार’ पक्राउ परेका छन् । पाथिभरा अनलाईन डट् कम नामक अनलाइन समाचार पोर्टलका सम्पादक हरी प्रसाद मानन्धर पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाले मानन्धरलाई पक्राउ गरेको हो । स्याङ्जाको हरिनाथ गाउँपालिका–६ घर भएर काठमाडौंको कागेश्वरी बस्दै आएका मानन्धरविरुद्ध विद्युतीय अपराध तथा कसुर मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जनाए ।

पत्रकारिताका नाममा कलंकित काम गर्ने सम्पादक मानन्धरलाई बिद्युतीय कारोवार ऐनअनुसार कार्वाही अघि बढाइएको भन्दै महाशाखाले उनकै जस्तो भ्रमपुर्ण समाचारप्रकाशन वा प्रशारण नगर्न सवैलाई अपिल पनि गरेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यको बिषयमा आपत्तिजनक समाचार दिने अन्य कथित अनलाइनका सम्पादकको खोजी पनि तीब्र पारिएको प्रहरीले जनाएको छ । करिव आधादर्जन अनलाइनले पत्रकारिता पेशामै कालो धब्बा पोत्दै आपत्तिजनक समाचार दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्