४ कार्तिक २०७५, काठमाडौँ
आजभोली नेपाली चलचित्र क्षेत्रमा हप्तामा एकैचोटी ३, ४ बटा चलचित्रहरु प्रदर्शनमा आउँछन् र सबै असफल हुँदै एक हप्तामै हलबाट बाहिरिन्छन् । नेपाली चलचित्रलाई हेर्ने हो भने बर्षभरि १०० भन्दा बढी चलचित्रहरु प्रदर्शनमा आउँछन् तर तीमध्ये मुस्किलले २ देखि ३ वटा चलचित्रहरु सफल हुन्छन् । अझै आजभोली त चलचित्र जुधाउँनु निर्माता निर्देशकको बानी नै भैसकेको छ । कुनै पनि चलचित्र जुधाउँदा घााटा हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि निर्माता निर्देशक चलचित्र जुधाउँछन् र चलचित्र सफल नहुँदा टाउकोमा हात राखेर बस्छन् ।
आजभोली यो चलन खुब चलेको छ नेपाली चलचित्र क्षेत्रमा । यसको जल्दोबल्दो उदाहरणका लागि आगामी शुक्रबार अर्थात् कार्तिक १६ मा प्रदर्शन हुने दुई चलचित्रलाई नै हेर्न सकिन्छ । मल्टिस्टारर चलचित्र चङ्गा चेट र बरिष्ठ नायिका रेखा थापाको चलचित्र मालिका एकैदिन प्रदर्शन हुने भएका छन् । पछिल्लो समयमा नायिका रेखा थापाका चलचित्रहरु असफल हुँदै आएका छन् । त्यसैले पनि दर्शकहरुले यसपालि मालिका हेर्न त्यति जागर देखाएका छैनन् । मालिकाको तुलनामा चङ्गा चेटको हाइप निकै राम्रो देखिएको छ । गीतसंगीत र ट्र्ेलरबाट राम्रो प्रतिक्रिया पाईरहेको चलचित्र यो बर्षको प्रतिक्षित चलचित्र भएकाले पनि दर्शकले यसलाई मन पराउने देखिएको छ ।
यी दुवै चलचित्रले मल्टिप्लेक्समा भने अत्यन्तै न्युन शो पाएका छन् । अझ नायिका रेखा थापाको मालिका को त दयनीय अवस्था छ । यसरी हेर्दा चलचित्र जुधाउने हुँदा यी दुवै चलचित्रहरुले मल्टिप्लेक्समा राम्रो शो पाउन सफल भएका छैनन् । रेखा र प्रियंका दुवै मिल्ने साथी हुन् तर यसपटक दुवै आ–आफ्नो चलचित्र मार्फत एकअर्काको आमनेसामने आउने भएका छन् । अब चङ्गा चेट र मालिका मा बाजी कसले मार्ने हो त्यो भने केहिदिन पछि नै थाहा हुनेछ ।