१४ कार्तिक २०७५, काठमाडौं
एक सिङ्गे गैंडा संरक्षण गर्न नवलपरासीमा ‘राईनो संरक्षण गोल्डकप’ हुने भएको छ । भोली (बिहिबार) बाट सञ्चालनमा आउने खेल आगामी १९ कार्तिकसम्म चल्ने जनाईएको छ ।
मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा हुने खेलमा १२ टोलीको सहभागिता रहने बताईएको छ । वर्षेनी एकसिङ्गे गैँडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिले प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिताको विजेताले रु चार लाख ९९ हजार ५५५ पुरस्कार तथा आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि रु ५१ हजार तथा उपविजेताले रु दुई लाख ५० हजार ५५५ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु १० हजार र सर्वाधिक गोलकर्तालाई रु १० हजार प्रदान गरिनेछ । गैंडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउन, खेलकूद र पर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक संस्थाले जनाएको छ ।