१४ कार्तिक २०७५, काठमाडौँ
काभ्रे जिल्लाको अनैकोट गाउँ विकास समिति अर्थात हालको पाँचखाल नगरपालिकामा २०३३ सालमा जन्मिएका हुन्, प्रल्हाद दाहाल । उनी नेपाल डेरी एसोसियसनका महासचिव, सेन्ट जर्ज इन्टरनेशनल स्कुलको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, एनप्याबसनका निवर्तमान सचिव, धुम्बाराही डेरीका सञ्चालक तथा आदिमा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् ।
बाल्यकाल
उनको बाल्यकाल त्यति सहज रहेन् । उनी शारिरिक रुपमा केही मात्रामा कमजोर थिए अर्थात उनका दुवै गोडा बाङ्गा थिए । जुत्ता लगाउन मिल्दैनथ्यो । उनको घर रहेको ज्यामिरकोटबाट पैदल एक घण्टा उकालो र कच्चीबाटो हिडेपछि ज्ञानेश्वरी माद्यामिक विद्यालय पुगिन्थ्यो । जुत्ता लगाउन नमिल्ने मात्र होइन् उनी गोडा पनि राम्रोसँग टेक्न सक्दैनथे । तथापी उनी एक डेढ घण्टा आफैँ हिँडेर स्कुल पुग्दथे । स्कुल जाँदा साथीहरुको नजर उनीमाथि नै हुने गर्दथ्यो ।
उनका केही साथीहरुले माया गर्थे भने केही साथीहरुले जिस्क्याउने गर्दथे । उनले अध्ययनको औपचारिक सुरुवात गर्दा अहिलेको जस्तो डेक्स बेन्च थिएन् । ‘हामी ढुङ्गाको चाङ बनाएर त्यसमाथि काठ राखेर बस्ने ठाउँ बनाथ्यौँ त कहिलेकाहीँ गुन्द्री र चकटीमा बसेर पढ्ने गर्थ्यौँ । अरुले खाजा चोरेर खाइदिने भएकाले बाटोमा ढुङ्गाको चेपमा खाजा लुकाएर स्कुलबाट फर्कदा खाने गर्थ्यौँ । त्यतिखेर विभिन्न किसिमका खेल खेलेको सम्झन्छु । ती कुराहरु हाल आफैँले सम्झदा पनि कथा जस्तो लाग्छ ।
शैक्षिक पाटो
‘२०४६ भदौ ५ गते भूकम्प आउँदा नवजीवन केन्द्रमा मेरो गोडाको अप्रेशन भएको थियो । अलिक ठूलो भएपछि उपचार गरेकाले एकै पटक दुईवटै गोडाको अप्रेशन गर्न मिलेन । २०४५ र ०४६ गरी मेरो गोडाको अप्रेशन भयो । दुई वर्ष म आफैँ हिड्न सक्दैनथेँ,उनले भने । ‘मैले त्यहाँ भन्दा पहिले टेलिफोन देखेको थिइन्ँ । दिनभर अरुले फोनमा बोलको देखेर दंग परी हेरिरहेँ । राती सबै जना सुतेपछि फोनको घण्टी बज्यो, दिनभर अरुले बोलेको हेरेकाले फोन उठाएँ । उताबाट मान्छे बोल्यो, डराएर भागेँ , यो मेरो जीवनको अविस्मरणीय क्षण हो, उनले भने ।
उनका हजुरबुवाले एउटा नातीको उपचार गराउनुपर्छ र पढाउनुपर्दछ भन्दै महाराजगञ्जमा रहेको कान्तिपूर स्कुलमा काम गर्न थाले । कान्तिपुरमा काम गर्दा गर्दै उनले नातीलाई त्यहि भर्ना गरिदिए । गाउँमा कक्षा तीनसम्म अध्ययन गरेका दाहाललाई कान्तिपुर स्कुलमा एल.केजीमा भर्ना लिइयो । उनको उमेर भने अरुको तुलनामा बढी थियो । नेपाली र गणितमा अब्बलै रहेका दाहालले कक्षा फड्को मार्दै कक्षा सातसम्म कान्तिपुर स्कुलमा पढे । उनले त्यहाँ छात्रवृतीमा अध्ययन गर्ने अवसर पाएका थिए । बीचमा उनको हजुरबुवाको निधन भयो । तत्पश्चात प्राइभेट पढ्दै एसएलसी दिएका हुन् । काठमाण्डौ बसाइ उनका लागि त्यति सहज थिएन् ।
उनी कक्षा पाँचमा अध्ययन गर्दा नै साना भाइबहिनीहरुलाई ट्युसन पढाउँथे । त्यही क्रममा उनले एक विदेशीलाई नेपाली सिकाउथे भने उनीबाट अंग्रेजी सिक्ने गर्दथे । ‘म बेलुका जुन घरमा पढाउन जान्थेँ , त्यही घरमा खाना खान्थेँ । कान्तिपुरमा पढ्न थालेपछि मेरो पढाइ राम्रो भएको थियो । म अरु साथीभाइहरुको होमओर्क गरिदिन्थेँ र उनीहरुले मलाई केही साथीहरुले पेन त केही साथीहरुले पैसा दिने गर्दथे । मैले मेरो बाहेक दुई तीन जना साथीहरुको होमओर्क गर्दथेँ ।’ उनले प्राइभेट अध्ययन गर्दै स्नातक तह उत्तीर्ण गरेका छन् । एसएलसी दिए लगत्तै उनले एक वर्ष महाराजगञ्जमा रहेको ओलीभर स्कुलमा पढाए ।
‘२०५३–५४ मा साथीभाई मिलेर बानेश्वरमा क्यामब्रिज एकेडेमीको सुरुवात गर्यौँ । त्यहाँ म तीन बर्ष रहेँ । तत्पश्चात गोंगबुको कान्तिपुर एकेडेमीमा भाइस प्रिन्सिपलको रुपमा एक वर्ष पढाएँ । त्यसपछि केहि वर्ष पोलस्टार र चाबहिलमा सुप्रिम स्कुल सञ्चालन गर्यौँ । उनले क्यामब्रिज र पोलस्टारमा कूशलतापूर्वक प्रिन्सपलको जिम्मेवारी निर्वाह गरे । हाल उनी ११ वर्षदेखि हाँडी गाउँमा सञ्चालन भइरहेको सेन्ट जर्ज स्कुलको विद्यालय व्यवस्थापन समितीको अध्यक्ष हुन् । सामाजिक पाटो ‘२०५२–२०५३ मा मेरो विवाह भयो । २०६२–६३ मा छोरा पढ्नका लागि काठमाण्डौ ल्याउने सल्लाह गरियो । तर गाउँघरमा दही दुध खाएर हुर्कीएको नातीलाई बुवाआमाले काठमाण्डौ पठाउन अप्ठ्यारो मानेपछि आफन्तहरुले डेरी खोल्न सुझाव दिनुभयो । त्यसपछि धुम्बाराही डेरीको सुरुवात गरेँ । हाल उक्त डेरी एउटा उद्योगको रुपमा विकास भइरहेको छ ।’
विद्यालयमा आबद्ध भएकाले उनी एनप्याबसनको काठमाण्डौ जिल्ला कमिटी हुदैँ केन्दीय सदस्य तथा केन्द्रीय सचिवसम्मको जिम्मेवारीमा रहे । उनी डेरी सञ्चालका हिसाबले २०६४ तिर डेरी एसोसियसनमा पनि आबद्ध भए । डेरी एसोसियसनमा दुई कार्यकाल केन्द्रिय सदस्य, एक कार्यकाल उपाध्यक्ष हुँदै तथा हाल महासचिवको रुपमा कूशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । उनी २०६५ सालदेखी सुरुवात भएको आदिमा सहकारीको अध्यक्ष पनि हुन् । दाहाल सहकारीमा सल्लाहकारको भूमिकामा पनि छन् । त्यस्तै उनी बुढानिलकण्ठ नगरपालिका कपनमा रहेको बुढानिलकण्ठ पब्लिक स्कुलको डाइरेक्टर पनि हुन् ।
सेन्ट जर्जमा हाल लगभग चार सय विद्यार्थी अध्ययनरत छन् । उनी भन्छन्, विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापका साथ साथै जीवन के हो भन्ने कुराको पनि जानकारी पाउनुपर्दछ । विद्यार्थीहरुले दुख सुख महशुस गर्न सकुन् । हामी स्कुलमा विद्यार्थीहरुले नाम सुनेका र भेट्न चाहेका व्यक्तिहरुलाई महिनामा एकपटक उपस्थित गराएर परिचय गराउने र उहाँहरुको जीवन सुनाउने गर्दछौँ । विभिन्न स्थानमा विद्यार्थीहरुलाई घुमाउन लैजाने गर्दछौँ । विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षामा जोड दिँदै सरसफाई , पिक्निक जाँदा खाना बनाउने लगायतका कुराहरुमा विद्यार्थीहरुलाई सहभागी गराउने गरेका छौँ ।
’ उनले विद्यालयमा अध्ययन गर्न चाहने तर आर्थिक अवस्था कमजोर भएकाले पढ्नै नसक्ने १० जना विद्यार्थीलाई सेन्ट जर्जमा निःशुल्क अध्ययन गराउँदै आएका छन् । साथै पढ्नै नपाउने अवस्थाका बालबालिकालाई विभिन्न स्कुलहरुमा निशुल्क पढ्ने व्यवस्था पनि मिलाएका छन् । त्यस्तै उनले अनैकोटमा रहेको ज्ञानोदय प्राथामिक विद्यालयमा मानव सेवा नामक संस्थासँग हातेमालो गर्दै तथा व्यक्तिगत रुपमा पहिलोपटक कम्प्युटर हस्न्तान्तरण गरेका थिए । साथै भूकम्पको बेला कोरियनसँग सहकार्य गर्दै पाँचखाल नगरपालिकामा ३० वटा टहरा निर्माण गरिदिएका छन् । उनले विभिन्न ठाउँमा शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् । फरक पहिचान ‘डेरी एसोसियसनमा हामी प्रवेश गरेपछि पछि वार्षिक क्यालेन्डरको सुरुवात भएको हो । त्यस्तै एसोसियसनबाट निस्कने डेरी दर्पण हाल चौथो अंक प्रकाशित भयो । त्यसको दोस्रो अंकदेखि मैले नै संयोजकको भूमिका निर्वाह गरिरहेको छु ।
जहाँ काम गरेपनि त्यहाँ सकारात्मक छाप छाड्नुपर्दछ भन्ने मान्यतामा अडिग रहेका दाहाल विभिन्न कार्यक्रममा नयाँ कन्सेप्टका साथ उपस्थित हुने गर्दछन् । उनी कार्यरत संस्थाहरुमा कार्यक्रमलाई अर्थपूर्ण बनाउन भूमिका खेल्दछन् । ‘मैले कार्यक्रमहरुमा मायाको चिनो प्रदान गर्दा फरक कन्सेप्ट ल्याउने गर्दछु, मायाको चिनो पाउनेहरुले सँधै सम्झिरहन्छन् । हामीले कार्यक्रम उद्घाटनको ढाँचा परिवर्तन गर्दै दुध खुवाएर कार्यक्रम उद्घाटन गरेका थियौँ । जेहोस कार्यक्रममा उपस्थित हुनेहरुले नयाँ कुरा पाउनुपर्दछ भन्ने मान्यता राख्दछु ।’ उनी रोटरी तथा लायन्स क्लबमा पनि आबद्ध दाहाल विभिन्न पत्रपत्रिकामार्फत आफ्नो विचार राख्दै आएका छन् ।
सम्मान
शिक्षा र कृषि क्षेत्रमा पुर्याएको योग्दानका कारण उनले विभिन्न सम्मान तथा पुरष्कार प्राप्त गरेका छन् । उनी राष्ट्रिय दुग्ध विकास सम्मान, शिक्षा सम्मान, काठमाण्डौबाट सम्मानित भएका छन् । साथै उनले नेपाल डेरी एसोसियशनबाट सम्मान, विभिन्न संघसंस्थाबाट सम्मान तथा अन्य दर्जनौ सम्मान प्राप्त गरेका छन् ।
भ्रमण
चीन, भारत, थाइल्याण्ड, मलेसिया, सिंगापूर, कतार, श्रिलंका, जर्मन, वंगलादेश, भुटान आदि देशकोे भ्रमण पनि गरेका छन् । नयाँ ठाउँ घुम्न रुचाउने दाहाल शिक्षा र कृषि क्षेत्रमा आफूलाई समर्पित गर्ने योजनामा छन् ।