१६ कार्तिक २०७५, काठमाडौं
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको विज्ञान प्रतिष्ठानले सुरु गरेको युवा खेलाडी प्रशिक्षण शिविरबाट नयाँँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ । नजिकिँदै गरेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता र नेपालमै हुन लागेको १३औँ साग प्रतियोगितालाई ध्यानमा राखेर उक्त प्रतिष्ठानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १० दिने प्रशिक्षण दिइरहेको छ ।
परिषद्ले २०७२, २०७३ र २०७४ सालमा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई सहभागी गराई प्रशिक्षण दिइरहेको हो । यही कात्तिक १० गतेदेखि सुरु भएको प्रशिक्षण १९ गते सकिनेछ । प्रशिक्षणमा १३ वर्षदेखि १९ वर्षसम्मका खेलाडी सहभागी छन् । गत शनिबारदेखि सुरु भएको प्रशिक्षणमा कराँते, उसु, तेक्वान्दो र एथलेटिक्सका युवा खेलाडी सहभागी छन् ।
सातदोबाटोस्थित कराँते प्रशिक्षण केन्द्रमा कराँतेको प्रशिक्षण भइरहेको छ । तेक्वान्दो र उसु त्रिपुरेश्वर राखेप कभर्डहलमा तथा एथलेटिक्स मूलपानीस्थित क्रिकेट मैदानमा भइरहेको छ । प्रशिक्षणमा तेक्वान्दो, कराँते, उसु र एथलेटिक्सका ९० खेलाडी सहभागी छन् ।