१६ कार्तिक २०७५, काठमाडौं
तिरुवन्तपुरमा आज भएको खेलमा भारतले वेष्टईन्डिजलाई ९ विकेटले पराजित गरेको छ । यो सँगै पाँच खेलको एकदिवसीय शृङ्खला ३–१ ले आफ्नो नाम गर्यो । विशाखापट्टनममा भएको दोस्रो एकदिवसीय वानडे बराबरी भएको थियो । भारतले घरेलु मैदानमा जितेको लगातार छैटौँ शृङ्खला हो ।
पछिल्लो पटक भारत दक्षिण अफ्रिकाबिरुद्ध सन् २०१५ मा २–३ ले शृङ्खला हारेको थियो । वेस्ट इन्डिजबिरुद्ध भारतको यो लगातार आठौँ शृङ्खला जीत हो । भारतले सन् २००७ यता वेस्ट इन्डिजबिरुद्ध कुनै शृङ्खला हारेको छैन । वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर, उसको फैसला गलत साबित भयो । वेस्ट इन्डिजको पूरै टोली ३१।५ ओभरमा १०४ रनमा अलआउट भयो । भारतबिरुद्ध एकदिवसीय खेलमा वेस्ट इन्डिजको सबैभन्दा कम स्कोर हो ।
यसअघि सन् १९९७ मा उसले पोर्ट स्पेनमा १ सय २१ रन बनाएको थियो । यस खेलमा जेसन होल्डरले सर्वाधिक २५ रन बनाए । भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक चार विकेट लिए ।
१०५ रनको लक्ष्य भारतले मात्र १४.५ ओभरमा एक विकेटको नोक्सानीमा हासिल गर्यो । रोहित शर्माले ६३ तथा विराट कोहली ३३ रन बनाउँदै नटआउट रहे ।
शृङ्खलामा विराट कोहलीले सर्वाधिक ४ सय ५३ रन बनाए भने कुलदीप यादवले सर्वाधिक नौ विकेट लिए ।