१७ कार्तिक २०७५, काठमाडौं
घरेलु टोली पोखरा पल्टन सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको छ । आज भएको लिगको अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले हराएर शरद भेषवाकरको पोखराले दोस्रो चरणमा स्थान पक्का गरेको हो । पोखरा रंगशालामा काठमाडौंले दिएको १०४ रनको सामान्य लक्ष्य पोखराले १५ ओभर ५ बलमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो ।
पोखराका लागि मोहमद नाभिदले ३६ रन जोड्दा रबि इन्दर सिंहले २२ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले अविजित १५ रन जोड्दा आसिफ शेखले १६ र कुशल भुर्तेलले १४ रन जोडेको छ । काठमाडौंका अमर सिंह रौटेलाले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९ ओभर १ बलमा अलआउट हुँदै १०३ रन जोडेको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३१ रन जोडे । यस्तै अमित श्रेष्ठले २१ रन जोड्दा बसन्त रेग्मीले अविजित १९ रन जोडे । त्यस्तै पवन सरार्फले १२ रन बनाए । काठमाडौंलाई सस्तैमा समेट्न पोखराका ललित नारायण राजवंशीले ३ विकेट लिए । यस्तै मोहमद नाभिद र राशिद खानले २–२ विकेट लिए ।
जितसंगै पोखराले ५ खेलबाट ६ अंक जोडेको छ । र, शीर्ष तिनमा रहदै पोखराले शीर्ष स्थानमा उक्लिएको छ । काठमाडौंको पनि ५ खेलबाट ६ अंक छ । काठमाडौं पनि प्ले अफमा पुगेको छ । पोखराको जितसंगै बुटवल ब्लास्टर्स र विराटनगर टाईटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ । अब चितवन राइनोज र एक्स्पर्ट धनगढीमध्ये एक टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।