के हो बालबालिकामा हुने अटिजम ? अवश्य पढ्नुहोस्



१८ कार्तिक २०७५, काठमाडौं

बालबालिकामा सामान्य भन्दा फरक किसिमको व्यवहार देखिएमा उनीहरुको त्यस किसिमको व्यवहारलाई ध्यान दिन नितान्त आवश्यक छ । किनकी उनीहरुमा यस किसिमको व्यवहार देखा पर्नु एटिजमको लक्षण भएको विज्ञहरुले बताउँदै आएका छन् । उमेर सुहाउँदो व्यवहार देखिएन भने उनीहरूमा अटिजमको शंका गर्नुपर्ने चिकित्सक बताउँछन् । बच्चामा उमेर सुहाउँदो भाषा र व्यवहारको विकास नहुने, बोलाउँदा नहेर्ने, आँखा नजुधाउने, खेल्न नजान्ने, अनावश्यक रुने, शब्दहरू दोहोर्याउने, कुनै सामान मिलाएर राख्दा दोहोर्याई राख्ने जस्ता व्यवहार देखिए अटिजमको शंका गर्नुपर्ने अटिजम विज्ञ बताउँछन् ।

दिमागको विशेष किसिमको अवस्था मानिने अटिजम कुनै रोग होइन र यसको उपचार पनि सम्भव छैन । अटिजम भएका बालबालिकालाई अरू बालबालिका सरह बनाउन नसकिए पनि बालबालिकाको व्यवहार परिवर्तन गर्ने र उनीहरूको क्षमता बुझेर उनीहरूलाई त्यसमै अघि बढ्न प्रेरित गर्नुपर्ने अटिजम विज्ञ हरु बताउँछन् ।

अटिजम भएका बालबालिकामा बोली ननिस्कने, बोल्ने कुराको ठेगान नहुने, विनाकारण रुने, हाँस्ने, चिन्तित हुने, जिद्दी गर्ने जस्ता समस्या देखिन्छ तर यो मानसिक समस्या होइन । यस्ता बालबालिकाले अति चकचक गर्ने वा निष्क्रिय रहने, आफूले जानेर केही गर्न नसक्ने, अरूसँग नखेल्ने, बोलाउँदा नबोल्ने कान नसुनेको जस्तो गर्ने, कुनै काम राम्रोसँग गर्न नसक्ने, एउटै कुरा दोहोर्याईरहने, चोटपटक लाग्दा पनि प्रतिक्रिया नदिने, शरीर वा हातखुट्टा हल्लाइरहने जस्ता व्यवहार देखाउने गर्छन् ।
नेपालमा अटिजमबाट प्रभावित बालबालिकाको संख्या तीन लाख छ । तीमध्ये ६० देखि ९० हजार बढी प्रभावित छन्

अटिजमको अवस्था जीवनभरि रहिरहने र हरेक मान्छेमा अलग व्यवहार हुन्छ । विज्ञहरुका अनुसार ‘त्यसको व्यवस्थापन कसरी गर्ने सोचेर दिगोढंगबाट गर्नुपर्छ ।’
अटिजम भएका बालबालिका एकोहोरो र जिद्दी हुने भएकाले अभिभावकले कुट्ने, पिट्ने, दुव्र्यवहार, कतै कतै त बाँधेर राख्ने गरेको समेत पाइन्छ । केही अभिभावकले बालबालिकालाई सुस्त मनस्थिति भएको ठानेर उपचारका लागि लैजाने समेत गरेका छन् ।

अटिजम भएका बालबालिकाले अरू सामान्य बालबालिका जस्तो सामान्य व्यवहार देखाउन सक्दैनन् तर उनीहरूमा विशेषखालको क्षमता हुन्छ । नाचगान, आर्ट जस्ता केही विधामा उनीहरूको बेग्लैखाले क्षमता हुन्छ तर व्यावहारिक ज्ञान, सञ्चार र सामाजिक सिपको भने समस्या छ । उनीहरूको क्षमता अभिभावकले बुझ्नुपर्छ । बालबालिकालाई उनीहरूको क्षमता देखाउने उपयुक्त वातावरण मिलाउन र शिक्षा आवश्यक भएको विज्ञ बताउँछन् ।

अटिजम भएका बालबालिकालाई कतिपयले रोगी भन्ने गर्छन् । तर, यो मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था हो । सामान्यतया बालबालिका जन्मेपछि शारीरिक विकाससँगै बौद्धिक विकास हुन्छ । हिड्डुल गर्ने, सञ्चारको सीपलाई प्रयोग गर्ने, सामाजिक व्यवहारहरू सिक्दै जाने हुन्छ । तर अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप सिक्ने क्षमता कम हुन्छ ।

त्यस्तै, प्रतिक्रियात्मक सञ्चार गर्ने क्षमता देखिदैंन । अरूले गरेको व्यवहार (विशेषतः सोधिएका प्रश्नहरु) लाई दोहोर्याउने स्वभाव पाइन्छ । यस्तै, बच्चाहरूले विशेषगरी एउटै कुरामा मात्र बढी ध्यान दिएको पाइन्छ । यसलाई हामी मस्तिष्क विकासको क्रममा आउने ढिलाइ भन्छौं । असामान्य क्षमताका हुन्छन् अटिजम भएका बालबालिकामा स्मरणशक्ति असामान्य हुन्छ । तर, सही सञ्चार गर्ने सीप नहुँदा सामाजीकरणमा समस्या देखिन्छ ।

सामान्य मानिसका सबै इन्द्रियहरूको समन्वय मस्तिष्कले गर्छ । तर, अटिजम भएका बालबालिकाहरूमा यस्तो समन्वय नहुने हुँदा एकोहोरो स्वभावका हुन्छन् । अटिजम भएका बालबालिकामा यिनै तीनओटा अवस्था देखिने भए तापनि केही अवसर पनि लिएर आएका हुन्छन् । त्यही एकोहोरोपना या एउटै कुरामा धेरै लगाव भएका कारण उनीहरूमा असामान्य क्षमता पनि देखिने गरेको छ ।

बेलैमा उनीहरूको क्षमतालाई बुझेर सहजीकरण गर्न सकियो भने यस्ता बच्चा सामान्य मानिसभन्दा धेरै सफल भएका उदाहरणहरू पनि छन् । एउटै कुरामा बढी ध्यान दिने बानीका कारण उनीहरूले यस्तो सफलता हासिल गर्न सक्छन् । अटिजम भएका बालबालिकामा देखिने व्यवहार बोलाउँदा नहेर्ने आँखा नजुधाउने अरूले जे बोल्यो त्यही बोल्ने उमेरअनुसारको भाषागत विकास नहुने आवाजमा अत्यधिक प्रतिक्रिया जनाउने या वास्तै नगर्ने डर या त्रासप्रति ख्याल नगर्ने बालबालिकाले खेल्ने सामान्य सामानभन्दा अन्य कुराहरूमा अत्यधिक लगाव दिने नियमित शिक्षण विधिबाट सिक्न गाह्रो हुने आफ्नो उमेरका साथीसँग खेल्न मन नगर्ने या खेल्न नै इच्छा नदेखाउने ठीक समयमा ठीक तरिकाले प्रतिक्रिया नदिने बच्चालाई इच्छा भएको एउटै कुरामा ध्यान दिएर एकोहोरो लागिरहने अभिभावकले के गर्ने जन्मनेबित्तिकै यस्तो समस्या भएका बालबालिकामा थाहा नभए तापनि अभिभावकले विशेष ख्याल गरेमा जन्मेको तीन वर्षको हुँदा प्रष्ट रूपमा थाहा पाउन सकिन्छ जति चाँडो बच्चाको अवस्था थाहा पाइयो त्यति नै उनीहरूको सञ्चार सहज बनाउन मद्दत हुन्छ ।

अटिजम भएका मानिस असहज व्यवहारका कारण सामाजिक रूपमा सामान्य जीवन बिताउन सक्दैनन् । उनीहरूलाई दैनिक व्यवहार, आचरणसम्बन्धी विशेष थेरापीको आवश्यक हुन्छ । जति सानो उमेरमा यसको पहिचान गरियो उनीहरूलाई थेरापीद्वारा त्यति सहज तरिकाले सञ्चार प्रतिक्रियाका लागि सक्रिय बनाउन सकिन्छ । यसमा बच्चाले भन्दा पनि पहिले अभिभावकले पहिले थेरापी लिनुपर्छ । विद्यालय या अन्य स्थानमा गरिएको थेरापी केही समयका लागि भए पनि अभिभावकले नै उनीहरूको क्षमताका आधारमा थेरापी प्रशिक्षण लिई सिकाउनु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्