जान्नुहोस् ! भाईटीकामा दाजुभाइलाई कस्तो मिठाइ खुवाउने ?



२३ कार्तिक २०७५, काठमाडौं

यतिबेला नेपालीहरू दोस्रो महान चाड तिहारको माहोलमा रमाइरहेका छन् । तिहारको विशेष दिन भाइटीका हो । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउने र मीठामीठा परिकार खुवाउने चलन रहेको छ ।

दशैंमा मासु खाएजस्तै तिहारमा मैदा तथा सोडा मिसाइएका गुलियो परिकारहरू, सेलरोटी, भाइमसला र फलफूल खाने चलन छ । धेरै चिल्लो र गुलियो मिसाइएका परिकारले मुटुरोग तथा उच्च रक्तचापको समस्या देखिन सक्ने पोषणविद् अतुल उपाध्याय बताउँछन् । ‘तिहारमा धेरैजस्तो मैदा, सोडा हालेर रोटी र अन्य परिकारहरू बनाइन्छ, जसमा चिल्लो पदार्थ, सोडियम र कार्वोहाइडेट बढि हुन्छ,’ पोषणविद् उपाध्याय भन्छन्, ‘यस्तो परिकारहरू धेरै मात्रामा खाए मोटोपन, उच्च रक्तचाप, मुटुसम्बन्धि रोग लाग्न सक्छ ।’

आफ्नो शरीरलाई चाहिनेभन्दा बढि खानेकुरा खाएमा वान्ता हुने, झाडापखाला लाग्ने र पेट दुख्ने समस्या हुन सक्ने उनले बताए । मोटोपन, उच्च रक्तचाप, मुटुसम्बन्धि रोग लागेका र क्यान्सरका विरामीले गुलियो मिठाइ खानै नहुने उनको भनाइ छ ।

बजारको मिठाइ नखानुस्
तिहारको समयमा बजारमा जेरी, पुरी, पेडालगायत विभिन्न थरिका मिठाइका परिकार पाइन्छन् । मिठाइलाई आर्कषक बनाउन व्यपारीहरूले विभिन्न रंगको प्रयोग गर्ने गरेका हुन्छन् । रंग पनि दुई किसिमका हुन्छन् ।

मिठाइमा हाल्ने छुट्टै किसिमको रंग हुन्छ । जसको सहि मात्रामा प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्दैन । तर, व्यापारीहरूले प्रयोग गर्ने रंग गुणस्तर छ छैन सजिलै छुट्याउन सकिदैन । त्यसैले तिहारमा दाजुभाइको स्वास्थ्यलाई ख्याल गर्दै बजारको मिठाइ सकेसम्म प्रयोग नगर्न पोषण विद् उपाध्यायको सुझाव छ ।

‘दाजुभाइको सुस्वास्थ्य र दिर्घायुका लागि दिदीबहिनीले बजारका मिठाइ भन्दा पनि फलफूलमा जोड दिनुपर्छ,’ उपाध्याय भन्छन्, ‘स्वास्थकर खानाले तिहार रमाइलो पनि हुन्छ, स्वस्थ पनि भइन्छ । साभार : लोकान्तर डट कम

प्रतिक्रिया दिनुहोस्