०३ मंसिर २०७५, काठमाडौं
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाण्डौका अध्यक्ष विष्णु पराजुलीसँग नेपालको शिक्षा क्षेत्रको वर्तमान अवस्था र शिक्षामा सुधारका उपायहरु, शुल्क विवाद लगायतका विषयमा रहेर परिवर्तन खबरले गरेको कुराकानीलाई उनकै शब्दमा उतार्ने प्रयत्न गरेका छौँ ।
शिक्षा क्षेत्रको वर्तमान अवस्था
नेपालको शिक्षा ढुङ्गे युगबाट सुरुवात भई विभिन्न चरण पार गर्दै हालको अवस्थासम्म आईपुगेको छ । यसरी हेर्दा शिक्षामा धेरै परिवर्तन भएको छ तथापि एकाइसौँ शताब्दीमा आइपुग्दा जुन खालको शिक्षा पद्धति हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । परिवर्तनका लागि सबै भन्दा महत्वपूर्ण कुरा नै शिक्षामा छलाङ मार्नु हो । शिक्षाले मानिसमा चेतनाको सिर्जना गर्दछ तत्पश्चात परिवर्तन आफैँ महशुस हुन थाल्दछ । त्यसकारण हामीले शिक्षालाई प्राथमिकतामा राख्नुपर्दछ । समय सापेक्ष शिक्षामा गुणात्मक फड्को मार्न नसक्नु नै शिक्षा विकासको अधुरो पक्ष हो ।
शिक्षा सुधारका उपायहरु
शिक्षा क्षेत्र सुधारका लागि महत्वपूर्ण पक्ष राजनैतिक स्थिरता हुनु पर्दछ । राजनैतिक अस्थिरताका कारण शिक्षा क्षेत्रले जति फड्को मानु पर्ने हो त्यति मार्न सकेको छैन् । दश वर्षे जनयुद्ध, राजनैतिक खिचातानीले शिक्षा क्षेत्रमा ठूलो असर पुर्यायो । शिक्षा क्षेत्रमा लगानी गर्नका लागि मानिसहरु आतुर भएर बसिरहे पनि राजनीति स्थिर नभएको कारणले अझै राम्रा शैक्षिक संस्थाहरु खुल्न सकिरहेका छैनन् ।
त्यस्तै शैक्षिक नीतिमा समय सापेक्ष उलेख्य परिवर्तन साथै नयाँ नीति निर्माण हुन आवश्यक छ । विद्यालय खोल्ने प्रावधान, शिक्षक व्यवस्थापनका कुरा लगायतका विषयमा व्यवाहारिक पक्ष जटिल छ । प्रष्ट नीति नियम छैन् ।
त्यस्तै अर्को पक्ष हो पाठ्यक्रम परिमार्जन । हामी दुई दशक अघिका विद्वानहरुले बनाएका पाठ्यक्रम अहिले पढाइरहेका छौँ । त्यतिबेला र अहिले धेरै कुराहरु बदलिएका छन् । विश्व परिवेश बदलिएको छ । हामीले विश्व परिवेश र समय सापेक्ष शिक्षा दिन सकिरहेको अवस्था छैन् । पाठ्यक्रम बनाउने ठाउँमा शिक्षा र विश्व बजार बुझेका पर्याप्त विद्धानहरु पुग्न सकि रहेका छैनन् । त्यसैले माटो सुहाउँदो भूगोल अनुसारको पाठ्यक्रम बन्न जरुरी छ ।
संस्थागत विद्यालयको भूमिका
२०४६ सालको परिवर्तन पछाडि नेपालमा संस्थागत विद्यालयहरु तीव्र रुपमा खुल्नेक्रम बढ्यो । यो बीचमा थुपै्र संस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गरे । देशको आवश्यकता, अभिभावकको चाहना र विश्व परिवेशलाई हेरेर थुप्रै विद्यालयहरु स्थापित भए । राज्यका आँखा नपुगेका ठाउँमा पनि संस्थागत विद्यालयहरु खुलेर वर्तमान परिवेश अनुसारको शिक्षा प्रदान गरिरहेका छन् । यसले एकातिर थुप्रै बालबालिकाहरुले गुणस्तरीय शिक्षा प्राप्त गरिरहेका छन् । अर्कोतिर राज्यको स्रोत साधन नपुगिरहेको अवस्थामा निजी तवरबाट अरबौँको लगानी शिक्षा क्षेत्रमा भएको छ । गुणस्तरीय शिक्षा लिनका लागि अन्य मूलुकमा जानुपर्ने अवस्थाको करिब करिब अन्त्य भएको छ । यसले बाहिर जाने अरबौँ रुपैँया देशमा अडिएको छ । लाखौँको संख्यामा शिक्षित ब्यक्तिहरुले रोजगारी प्राप्त गरेका छन् । त्यसले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।
शुल्क विवाद
संस्थागत विद्यालयहरुले शुल्क धेरै लिए भन्ने आरोप लाग्ने गर्दछ । तर लगानी अनुसारको शुल्क धेरै होइन् । लिएको शुल्कको औचित्यपुष्टि गरेकी गरेनन् भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । एउटा भूगोलमा फरक फरक शुल्क लिने थुपै्र विद्यालयहरु खुलेका छन् । सुविधा हेरेर अभिभावकहरुले विद्यालय राजीखुसी विद्यालय छनौट गरेका छन् । नेपाल सरकारले पनि विशिष्ठ, क, ख, ग, घ गरी सुविधाको आधारमा शुल्क लिने व्यवस्था मिलाएको छ । अपवाद बाहेक तोकिएको शुल्कको मापदण्ड भन्दा बढी शुल्क लिएको जस्तो लाग्दैन । शुल्कका सन्दर्भमा सेवाग्राहीले भन्दा पनि यसमा सरोकार नराख्ने बाह्य व्यक्तिहरुले राजनैतिक र व्यक्तिगत स्वार्थका लागि बढी हल्ला मच्चाएको अवस्था छ ।
नेशनल प्याब्सनका गतिविधि
नेशनल प्याब्सन देशभरि रहेका संस्थागत विद्यालयहरुको नेतृत्वदायी छाता संगठन हो । जसले विद्यालय, शिक्षक, विद्यार्थीहरुको हकहित संरक्षण एवम् शैक्षिक उन्नयनका खातिर महत्वपूर्ण योगदान गर्दछ । नेशनल प्याब्सन काठमाण्डौले शैक्षिक क्यालेण्डर निर्धाण गरेको छ । छुट्टै परीक्षा समिति बनाएर शिक्षालाई अझ गुणात्मक बनाउनका लागि नेशनल प्याब्सन अन्तर्गतका विद्यालयहरुमा विषयगत विज्ञहरुको समुहले प्रश्नपत्र तयार गरी परीक्षा सञ्चालन गरिएको छ । त्यसले गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ ।
विद्यालयमा हुने प्रतिस्पर्धालाई विस्तार गर्ने उद्देश्यका साथ जिल्ला तथा उपत्यका स्तरीय खेलकुद , वकृत्वकला, निबन्ध प्रतियोगिता लगायतका सृजनात्मक तथा शारीरिक, मानसिक क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । त्यस्तै विद्यार्थीहरुमा रहेको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्नतर्फ ध्यान केन्द्रीत भएको छ । विकसित देशहरुबाट दक्ष प्रशिक्षकहरु झिकाई शिक्षकहरुको क्षमता अभिवृद्धि हुने तालिमहरु प्रदान गरिएको छ । समग्रमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि थुप्रै खालका प्रयत्नहरु नेशनल प्याब्सनले गरिरहेको छ ।
सामुदायिक विद्यालय सुधारका उपायहरु
सबैको सरोकार सामुदायिक विद्यालयको शैक्षिक स्तर सुध्रिनुपर्छ भन्ने नै छ । तर चिन्ता र चिन्तनले मात्रै शैक्षिक स्तर उक्सिदैन । शिक्षकहरुलाई दोष दिएर मात्रै राज्य पन्छिन् मिल्दैन । मुख्यतः आर्थिक र सामाजिक अवस्थाले पनि प्रभाव पारिरहेको हुन्छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर सुध्रन आर्थिक तथा सामाजिक अवस्था सुध्रन आवश्यक छ । भौतिक पुर्बाधार, शिक्षकको उचित व्यवस्थापन, राजनैतिक हस्तक्षेपको अन्त्य, समय सापेक्ष पाठ्यक्रममा परिमार्जन भयो भने सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउछ ।
अन्त्यमा
व्यवहारिक र जीवन उपयोगी शिक्षा अबको आवश्यकता हो । प्राबिधिक र व्यवसायिक शिक्षाले मात्रै नेपालको विकास सम्भव छ । भूगोल सुहाँउदो र विश्व बजारमा प्रतिस्पर्धा गर्ने खालको शिक्षामा जोड दिइनुपर्दछ । शिक्षामा नयाँ सोच र परिवर्तनको आवश्यकता छ । नैतिक शिक्षाको खडेरी पर्दै गएको आभाष भएको हुँदा मानिसलाई कसरी नैतिकवान बनाउन सकिन्छ भन्ने कुरा सोचनीय बनेको छ ।