युइएफए नेसन्स लिग : पोर्चुगलले पोल्याण्डको सामना गर्दै



०५ मंसिर २०७५, काठमाडौं

युइएफए नेसन्स लिग फुटबलमा आज एक महत्त्वपूर्ण खेल हुँदैछ । जहाँ स्टार क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल र अर्का स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीको टोली पोल्यान्ड आमनेसामन हुँदैछन् । यी दुई टोली नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा भिड्न लागेका हुन् । लिग–१, ग्रुप–३ मा रहेका यी दुई टोलीबीच हुने आजको खेलको नतिजाले उनीहरूलाई कुनै फरक पार्ने छैन ।

किनभने, पोर्चुगल यसअघि इटालीसँग बराबरी खेल्दै अन्तिम खेलअगावै प्रतियोगिताको अन्तिम चारमा पुगिसकेको छ । पोल्यान्ड भने अन्तिम खेल बाँकी छँदै रेलिगेसनमा परेको छ । तसर्थ आजको खेल दुवै टोलीका लागि औपचारिकता मात्रै हुनेछ । यद्यपि, हालसम्म प्रतियोगितामा जितविहीन बनेको पोल्यान्डका लागि भने यो खेल पहिलो जित निकाल्ने अवसर हनेछ । यसअघि उसले खेलेका ३ वटै खेलमा जितविहीन छ । जहाँ उसले २ खेल हारेको छ भने एक खेल बराबरी गरेको छ । यता, पोर्चुगलले भने २ खेल जितेर एक खेल बराबरी गरेको छ । यसअघि भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई उसकै घरमा २–३ ले हराएको थियो । आज आफ्नो घरमा उत्रिँदा पोर्चुगल तेस्रो जितका लागि प्रयास गर्नेछ ।

यस समूहमा हाल पोर्चुगल ७ अंकसहित शीर्ष स्थानमा रहँदा इटाली ५ अंकसहित दोस्रो स्थानमा छ । पोल्यान्डको खातामा मात्रै १ अंक छ ।
आजको खेलमा पोर्चुगलको टोलीका नियमित कप्तान रोनाल्डो हुनेछैनन् । उनी रसिया विश्वकपपछि राष्ट्रिय टोलीमा फर्किएका छैनन् । यता, पोल्यान्डको टोलीमा भने लेवान्डोस्की हुनेछन् । खेल आज राति नेपाली समयअनुसार ठीक १ः३० बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्