०५ मङ्सिर २०७५, काठमाडौँ
नायक अनमोल केसी नेपालका मेघास्टारको रुपमा परिचित अभिनेता हुन् । उनी अहिलेका सबैभन्दा महंगा अभिनेता पनि हुन् । त्यस्तै नायिका झरना थापाले निर्माण गरेको चलचित्र ए मेरो हजुर २ बाट नेपाली चलचित्रमा भित्रिएका सलिनमान बानियाँलाई पनि दर्शकले पहिलो चलचित्रबाट नै निकै रुचाएका थिए । उनलाई सम्भावना बोकेका नायकका रुपमा हेरिएको छ ।
यतिबेला नायक अनमोल केसी झरना थापाको चलचित्र ए मेरो हजुर ३ मा व्यस्त छन् भने सलिन केशव भट्टराइको चलचित्र यात्रा मा व्यस्त छन् । दुवै चलचित्रको हाल छायांकन भैरहेको छ । चलचित्र ए मेरो हजुर ३ चैत्रमा रिलिज गरिने भनिएको छ । त्यस्तै अब सलिनको यात्रा पनि चैत्रमा नै रिलिज गरिने भएको छ । नेपालका दुई ठूला सुपरस्टारको चलचित्र अब एकसाथ हलमा आउने भएको छ ।
सलिनको यात्रा र अनमोलको ए मेरो हजुर ३ दुवै एकै दिनमा रिलिज हुने भएका छन् । यसो हुँदा यो भिडन्त यो बर्षमा प्रदर्शनमा आएका चलचित्र रामकहानी र रोज पछिको ठूलो भिडन्त हुने देखिन्छ । दुवै ठूला व्यानरका र चर्चित कलाकारको चलचित्र भएकाले यसले दुवै चलचित्रलाई घाटा पर्ने त देखिन्छ तर कसको चलचित्रले बाजी मार्ने हो त्यो हेर्न भने केहि समय दर्शकले कुर्नैपर्छ ।