०६ मंसिर २०७५, काठमाडौं
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) का केन्दीय महासचिव तथा एपेक्स लाइफ स्कुलका कार्यकारी निर्देशक हुन्-सुवास न्यौपाने । नेपालको शिक्षा क्षेत्रको वर्तमान अवस्था र शिक्षामा सुधारका उपायहरु, शुल्क विवाद लगायतका विषयमा रहेर परिवर्तन खबरले गरेको कुराकानीलाई उनकै शब्दमा उतार्ने प्रयत्न गरेका छौँ ।
शिक्षाको वर्तमान अवस्था
शिक्षा समय सापेक्ष हुनुपर्दछ । हामी एक्काइसौं शताब्दीको शिक्षाको कुरा गर्छौ तर त्यस अनुरुपको शिक्षा दिन सकिरहेका छैनौँ । शिक्षाको विषयमा सरकारले जुन किसिमको रणनीति बनाएर अघि बढ्नुपर्थ्यो ,त्यो भएको छैन् ।पाठ्यक्रम पुरानै छ । विद्यार्थीको क्षमता अभिवृद्धिसँग सम्बन्धित पाठ्यक्रम तयार भएको छैन् ।
तथापि अन्तर्राष्ट्रिय तालीम लिएको, अहोरात्र खटेको तथा सिस्टम बसाल्न सकेका कारण संस्थागत विद्यालयमा केही मात्रामा गुणस्तर देखिन्छ । तर संस्थागत विद्यालयले पूर्ण रुपमा समय सापेक्ष शिक्षा दिइरहेको छ भन्ने पक्षमा म पनि छैन् ।
उता सामुदायिक विद्यालयको अवस्था त जर्जर नै छ । सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यार्थीको भविष्य बोकेका छन् जस्तो लाग्दैन् । शिक्षकहरुलाई राजनीतिले गाँजेको छ ।
शिक्षामा सबैलाई समेट्ने भनेको सामुदायिक विद्यालयले हो । निजी विद्यालयले सबैलाई समेट्न सक्दैन् । तर सामुदायिक विद्यालय सबैलाई समेट्ने अवस्थामा छैन् । सामुदायिक विद्यालयप्रति विश्वास गर्ने वातावरण पनि छैन् । क्षमता भएका अभिभावकले संस्थागत विद्यालयमा विद्यार्थीहरु पढाइ रहेका छन् । त्यसैले शिक्षामा उचित दृष्ट्रिकोण तथा निगरानीको अभाव देखिन्छ ।
एनप्यब्सनका गतिविधि
एनप्याब्सन संस्थागत विद्यालयको छाता संगठन हो । एनप्याब्सन अन्तर्गत लगभग २५०० विद्यालय छन् । गुणस्तरीय, समय सापेक्ष र विश्व बजारसँग जोडेर शिक्षालाई कसरी अगाडि लैजान सकिन्छ भन्ने हाम्रो पहिलो ध्येय हो । त्यस्तै शिक्षक कर्मचारी तथा विद्यालयको हकहित र सुरक्षाका लागि काम गछौँ । त्यस्तै शिक्षासँग जोडिएका क्षेत्रमा के योग्दान गर्न सकिन्छ भन्ने बिषयमा हाम्रो उत्तिकै चासो रहन्छ ।
मंसिर १४ र १५ गते नवलपरासीमा केन्दीय कमिटीको पुन बैठक हुँदैछ । मंसिरको अन्त्य सम्ममा संघीय शिक्षा ऐन आउँदैछ । शिक्षा ऐन कस्तो आउला भन्ने चासको विषय रहेको छ । त्यस बैठकमा यिनै विषयमा विशेष छलफल गर्दैछौँ । शिक्षाको क्षेत्रमा सरकारले जुन खालको नीति निमार्ण गरिरहेको छ । त्यस विषयमा परामर्श तथा सुझाव दिने विषय हाम्रो प्राथमिकता बनेको छ । शिक्षा ऐनका बिषयमा समन्वय गर्ने काम गरेका छौँ ।
त्यस्तै गुणस्तरीय शिक्षा तथा प्रभावकारी शिक्षण सिकाइका लागि कसरी अघि बढ्न सकिन्छ भन्ने बिषयमा तालिम सञ्चालन गरेका छौँ । हामीले लिएको शिक्षा विश्व परिवेशसँग मिल्दो हुनुपर्दछ भन्ने हाम्रो मान्यता छ । भविष्यमा सक्षम नागरिक कसरी बनाउने र ग्लोबल सिटिजन कन्सेप्टमा प्रतिस्पर्धा गर्ने खालको शिक्षा कसरी प्रदान गर्ने जस्ता विषयमा हामी छलफल गरिरहेका छौँ ।हाम्रो ध्येय भनेकै शिक्षा हो ।
शुल्क विवाद
संसार कसरी अघि बढी रहेको छ त्यहि आधारमा हामी जान सक्नुपर्दछ । हामी कुनै पनि कुरामा आत्मनिर्भर छैनौँ । सबै कुरा आयत गर्नुपर्दछ । डलरको भाउ बढी रहेको छ त्यसको आधारमा सबै कुराको मूल्य निर्धारण हुन्छ ।
सरकारको नीति एकदमै कम शुल्क लिनुपर्ने भन्ने छ । सरकार पुरानै सोचबाट ग्रस्रित छ । मूल्य वृद्धि प्रत्येक वर्ष बढी रहेको छ । तीन-तीन वर्षसम्म फि बढाउन पाइदैन भनेर अदालतले फैसला गरेको छ । शिक्षकहरुको तलब वृद्धि भइरहेको छ । थोरै मूल्यमा नै पढाउ भनेको त फेरी ढुंगे युगमा फर्क हामीलाई गुणस्तरीय शिक्षा चाहिँदैन भनेको जस्तो भयो ।
गुणस्तरीय शिक्षाका लागि त शुल्क बढ्छ र बढ्नै पर्छ । अन्य देशको तुलनामा हेर्ने हो भने नेपालको शिक्षा धेरै सस्तो छ । शुल्क धेरै भयो भनेर आरोप लगाउनु आवश्यक छैन् । विश्व बजारसँग प्रतिस्पर्धा गर्नका लागि त्यति शुल्क धेरै होइन् ।समस्या के हो भने नेपालीहरुको आयस्रोत बलियो छैन् । हामी गरिब छौँ । त्यसले गर्दा हामीलाई शुल्क धेरै जस्तो लागेको हो ।
के आधारमा शुल्क लिएको छ , गुणस्तरीय शिक्षा दिएको छ कि छैन त्यो त अभिभावकले मूल्यांकन गर्ने कुरा हो । शुल्कमा ज्याजति गरेको रहेछ भने त त्यो स्कुल नै बन्द हुन्छ । तथापि सरकारको नीति नियम र मोनिटरिङ आवश्यक छ ।
शिक्षा सुधारका उपायहरु
देश विकासको आधार स्तम्भ भनेको शिक्षा हो । शिक्षाको विकास भएन भने देश विकासको परिकल्पना पनि गर्न सकिँदैन् । त्यसैले शिक्षा बुझेका मान्छेले शिक्षाको नेतृत्व गर्नुपर्दछ । त्यस्तै गुणस्तरीय तथा समय सापेक्षा शिक्षाका लागि समय सापेक्ष पाठ्यक्रम निर्माण, प्रभावकारी शिक्षण सिकाइ तथा मोनिटरिङलाई विशेष जोड दिइनुपर्दछ । .
तर यी कुरामा सरकारको विशेष ध्यान गएको देखिँदैन् । सरकार कता-कता अलमलमा देखिन्छ । संस्थागत विद्यालयलाई कसरी रोक्न सकिन्छ भनेर लागि रहेको जस्तो देखिन्छ । सरकारले सामुदायिक विद्यालयको प्रगतिको बाधक नै संस्थागत विद्यालय हो भन्ने हिसाबले हेरेको देखिन्छ ।
संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी पनि विदेशी वा अर्को गह्रको नागरिक पनि होइन् । संस्थागत विद्यालयले अहोरात्र मेहनत गरेको छ । गुणस्तरीय शिक्षाका दिन लागि परेको छ साथै अभिभावकले विश्वास गर्ने वातावरण बनेको छ । तर सामुदायिक विद्यालय विश्वासको वातावरण बनेको छैन् ।जबसम्म सामुदायिक विद्यालय सुध्रदैन तबसम्म शिक्षामा विकास हुन सक्दैन् ।
सामुदायिक विद्यालय सुधारका उपायहरु
शिक्षा नीति बनाउने ठाउँमा विश्व शिक्षा बजार बुझेका बुझेका व्यक्तिहरु पुग्नु आवश्यक छ । तब मात्र समय सापेक्ष शिक्षा नीति निर्माण हुन्छ ।सरकार बलियो बन्नुपर्दछ । सामुदायिक विद्यालयका बिषयमा उचित नीति निर्माण हुनुपर्दछ । नियमहरु कडा रुपमा कार्यान्वय हुनुपर्दछ ।
त्यस्तै कतिपय संस्थागत विद्यालय भन्दा राम्रा सामुदायिक विद्यालय छन् । ति विद्यालयबाट अन्य विद्यालयले केहि कुरा सिक्न जरुरी छ ।
गम्भीर भएर लाग्ने हो भने सामुदायिक विद्यालय सुधार्न धेरै समय लाग्दैन् । सरकारले सामुदायिक विद्यालय सुर्धान सक्दैन भने हामी तयार छौँ । एउटा सफल संस्थागत विद्यालयलाई नजिकैको सामुदायिक विद्यालय सुर्धानका लागि सबै अधिकारसहित समय तोकेमा पनि हामी सामुदायिक विद्यालय संस्थागत जस्तै बनाउन सक्छौँ । अर्थात शिक्षा बुझेका मानिसलाई नेतृत्व दिनुपर्यो ।
बच्चालाई हामीले चाहे जस्तो बनाउने गलत पद्धतीमा छौँ । त्यसले बालकको विकास हुन सक्दैन् र एउटा बालक पूर्ण मानव पनि बन्न सक्दैन् । त्यसैले उनीहरुसँग भएको अन्तरनिहित प्रतिभालाई विकास गर्दै उसले चाहेको शिक्षा दिनु आजको शिक्षा हो । हिजोको शिक्षा र आजको शिक्षामा फरक छ । उनीहरुको ज्ञानलाई बढाउने उचित वातावरणको निर्माण गर्नु आजको आवश्यक्ता हो ।
शिक्षामा आध्यात्मिकता जोडिनुपर्दछ
त्यस्तै निजी क्षेत्रमा लागे पनि हामीले बनाउने भनेको नेपाली नागरिक हो , बालकलाई पूर्ण मानव बनाउने नै हो । महत्वपूर्ण कुरा संस्कृति, रितिरिवाज, मूल्य मान्यता सबैभन्दा ठूला कुरा हुन् । यि कुराहरुको विकासले संस्कारमा परिवर्तन ल्याउँदछ । संस्कारले विचारमा र विचारले व्यवहारमा परिवर्तन गर्न सक्दछ । व्यवहारले आचारमा परिवर्तन आउँछ । यो कुरा प्राथमिकताको विषय हो । संस्कारगत शिक्षा दिनुपर्दछ । शिक्षामा आध्यात्मिकता जोडिनुपर्दछ ।
आध्यात्मिकता भनेको मन्दिरमा पूजा गर्ने , ढोगीं बन्ने भन्न खोजको होइन् । जहाँ विज्ञानको अन्य हुन्छ त्यहाँ आध्यात्मिकता सुरु हुन्छ । आध्यामिकताले दिने भनेको आनन्द, खुसी , जोश , रुपान्तरणको चेतना हो । त्यो अहिलेको बालकलाई आवश्यक्ता छ ।एक्काइसौं शताब्दीको शिक्षामा आध्यात्मिकता जोडिनुपर्दछ । तब शिक्षा समय सापेक्ष , परिष्कृत र प्रभावकारी हुन्छ ।